शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा ‘कर्णाली उत्सव’ हुँदै

बिहीबार, २६ फागुन २०७८, २१ : १३
बिहीबार, २६ फागुन २०७८

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबार (भोली)देखि कर्णाली उत्सव (कुडा कर्णालीका)को तेस्रो संस्करण सुरु हुने भएको छ । वीरेन्द्रनगरको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानमा कार्यक्रमको आयोजना गरिएको हाे ।

भोलिदेखि फागुन २९ गतेसम्म चल्ने उत्सवमा यो पटक कर्णालीको आर्थिक समृद्धिसँग जोडिएका विषयमा रहेर विचार, विमर्श गरिने आयोजक संस्था ऋति फाउण्डेशनका अध्यक्ष तथा कर्णाली उत्सवका संयोजक कमलराज लम्सालले जानकारी दिए । आयोजकले वीरेन्द्रनगरमा आज पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा जानकारी गराएको थियो । लम्लासले भने,‘यो उत्सव भनेको विचारको उत्सव हो। उत्सव चल्ने अवधिभर १२ वटा सत्र सञ्चालन हुनेछन्।’

विशेषगरी कर्णालीको सन्दर्भलाई उठान गर्नेगरी यो वर्ष पनि सत्रहरु सञ्चालन गर्न लागिएको हो । यो पटक उत्सवमा पहिलो सत्र ‘कर्णाली भेरी सुसेल्दो छ’, दोस्रोमा ‘बजार विकास र हजार निकास’, तेस्रो ‘आरन अन्वेषण र आविष्कार’, चौथोमा ‘लगानीमा लगाम’, पाँचौमा ‘झरो–उजेलोको खरो’, छैटौंमा ‘कर्णाली भेरी तीरैतीर भविष्यको पीर’ सत्र सञ्चालन हुनेछन्। सातौंमा ‘रैबार र रैला’, आठौंमा ‘शुन्य समय’, नवौंमा ‘वाद विवाद र संवाद’, दशौंमा ‘विकासको बाटो’, एघारौंमा ‘उमेरको उमंग’ र बाह्रौंमा ‘कर्णाली चिन्तन (दीगो विकास र कर्णाली)’ शिर्षकमा सत्रहरु सञ्चालन गरिनेछ ।

पहिलो सत्र ‘कर्णाली भेरी सुसेल्दो छ’ मा गंगा केसी, प्रेमदेव गिरी, नन्दकृष्ण जोशी र विजया शर्मा, दोस्रो ‘बजार विकास र हजार निकास’ सत्रमा रेवती गुरुङ, बसन्त अधिकारी, जेबी चौधरी र सुरथ चौधरी, तेस्रो ‘आरन, अन्वेषण र आविस्कार’मा महाविर पुन, सहवीर कामी, डिबी नेपाली, कविता पाण्डे वक्ताका रुपमा रहनेछन् । चौथो सत्र ‘लगानीमा लगाम’मा चन्द्र ढकाल, निरक केसी र तारा शाह, पाचौं सत्र ‘झरो–उजेलोको खरो’मा गजेन्द्रबहादुर महत, कुलमान घिसिङ र निशा राना वक्ता छन् ।

‘कर्णाली भेरी तीरैतीर भविष्यको पीर’ सत्रमा डा. सुदीप ठकुरी, डा. राधा वाग्ले, कृष्ण रोकाया र युवराज कार्की, ‘रैबार र रैला’ सत्रमा डा. बैकुण्ठ अर्याल, युवराज घिमिरे, टीकाराम यात्री र दीपा कोइराला वक्ताका रुपमा हुनेछन् । ‘शुन्य समय’ सत्रमा कर्णाली प्रदेश सभा सदस्यहरु देवी ओली, दानसिंह परियार र प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकी वक्ताका रुपमा रहनेछन्। ‘वाद विवाद र संवाद’ सत्रमा प्रतिनिधि सभा सदस्य तथा काँग्रेस महामन्त्री गगन थापा र शहरी विकास मन्त्री रामकुमारी झाँक्री वक्ता हुनेछन् ।

‘विकासको बाटो’ सत्रमा डा. विमला राई पौडेल, कर्णाली प्रदेशका अर्थमन्त्री विन्दमान विष्ट, मधु मरासिनी वक्ताका रुपमा रहनेछन्। ‘उमेरको उमंग’ सत्रमा सुनिता रावल, पञ्चा सिंह, आरती लामा र पुनम भट्ट भट्टराई वक्ता छन्। कर्णाली चिन्तन सत्र डा. विश्व पौडेलले सञ्चालन गर्नेछन्। कर्णाली उत्सवभर तीनवटा पैकलो (आत्मकथा), कविता साँझ र गजल महाफिल पनि सञ्चालन गरिने आयोजक संस्थाले जनाएको छ।
यो कार्यक्रमलाई विशेषगरी कर्णालीलाई चिन्ने र चिनाउने कार्यक्रमका रुपमा लिइएको छ। यो वर्ष कार्यक्रमका लागि झण्डै ५० लाख बजेट लाग्ने अनुमान गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप