शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कश्यपको कथा : आफैँले खनेको खाल्टोमा यसरी परे व्यापारी

शनिबार, २८ फागुन २०७८, ०८ : ४८
शनिबार, २८ फागुन २०७८

परापूर्व कालमा कुनै गाउँमा एक व्यापारी थिए । उनी निकै चलाख र धूर्त थिए । गाउँलेहरू जति सिधा थिए त्यत्तिकै गरीब पनि । सेठ यसैलाई भजाएर विभिन्न बहाना पारी पैसा असूल्ने गर्थे । गाह्रो अफ्ठ्यारो पर्दा सहयोग गरे जस्तो गर्थे तर मौका मिल्नासाथ एकको चार बनाउन पुगिसकेका हुन्थे । उनका एकजना हरिदास नामका मुन्सी थिए । उनी पनि गाउँले जस्तै गरीब थिए । सेठबाट पाइने तलब नाम मात्रको थियो । तैपनि अर्को उपाय नभएकाले सेठजी जे भन्थे त्यही गर्न बाध्य हुँदै आएका थिए । 

बिस्तारै हरिदासको बालबच्चा बढ्दै गए, खर्च पानी बढ्दै गयो । आम्दानीले भ्याउन छाडेपछि श्रीमती रामकलीलाई समेत सेठजीकै घरधन्दामा लगाए । उनीहरू दुईको कमाइले जेनतेन घर चलेको भए पनि जब छोराछोरीको विवाह गर्ने बेला भयो तब ठूलै नौमत आइलाग्यो । सरसापटले चलाउँ भने गाउँले सबै आफू जस्तै थिए । सेठसँग मागौँ भने उनको बानी थाहा थियो । कतिबेला एकको चार हुन पुग्थ्यो पत्तै हुँदैनथ्यो ।

केही दिनसम्म अन्यत्रबाटै काम चलाउन खोजे तर केही लागेन । त्यसैले एकदिन सेठसमक्ष गएर टाउको कन्याउँदै भने–

‘मालिक केही कुरा गर्नु थियो ।’

‘भन न हरिदास ! के कुरा हो ।’

‘कुरा अप्ठ्यारै छ मालिक !’

‘धत् लाटा ! प्रष्ट भन्न के कुरा हो । मसँग कुरा गर्न पनि अनकनाउनुपर्छ ?’

‘केही पैसा चाहिएको थियो ।’

‘के भन्यौ, पैसा चाहिएको थियो रे ? किन नि ?’

‘किन भन्ने मालिक ! घर खर्च त जेनतेन चलेकै थियो ...।’

‘अनि ?’

छोराछोरीको विवाह गर्ने बेला भयो ।’

‘एऽऽ राम्रो, त्यसैका लागि पैसा चाहियो होइन ?’

‘हो मालिक !’

‘कति चाहियो ?’

‘त्यस्तै गोडा दोएक हजार त चाहिएला कि ।’

‘ठीक छ चिन्ता गर्नु पर्दैन तर...।’

‘के तर मालिक !’

‘यही कि खरो स्वाभावको छु । तिमीलाई थाहै छ भनेकै दिन फिर्ता हुनुपर्छ । सक्छौ ?’

‘हो मालिक ! थाहा छ प्रयास गर्छु ।’

यति भनेर हरिदास दुई हजार सापटी लिएर गए । छोराछोरीको विवाह पनि गरे तर म्यादभित्र ऋण तिर्न भने सकेनन् । सेठजी भाका नाघेदेखि नै ताकेता गर्न लागे । हुँदाहुँदै घरखेत जफत गर्छु भन्नसमेत पछि परेनन् । विचरा हरिदास गरुन् पनि के । सम्पत्तिको नाममा एउटा घर र दुई सुर्को वारी थियो । त्यो पनि सेठलाई पास गरेपछि कहाँ बस्ने, के खाने । निकै सोचे तैपनि ऋण तिर्ने उपाय नदेखेपछि एकदिन साँझ हरिदास दम्पतीले चतुरे (चतुर्भुज शर्मा) समक्ष गएर दुःख बिसाए ।

चतुरेलाई सेठको बानी थाहा थियो । उनले तत्कालै उनीहरूलाई केही जुक्ति सिकाएर पठाए ।

चतुरेले भने बमोजिम हरिदासले भोलिपल्टै सेठसमक्ष बिरामी भएकाले काममा आउन नसक्ने खबर पठाए । एकदिन दुई दिन गर्दै हप्ता दिन बित्यो । तैपनि हरिदास आएनन्, जसले गर्दा सेठजी चिन्तामा डुब्न थाले । कारण, हरिदास उनको दाहिने हात थिए । उनी नआएको दिनदेखि नै सेठको व्यवसाय सुक्न थालिसकेको थियो । त्यसैले एकदिन साँझ उनी आफैँ हरिदासलाई भेट्न गए ।

सेठजी आउँदै गरेको रामकलीले टाडैबाट देखी र हरिदासलाई सङ्केत गरी । सङ्केत मिल्नु के थियो हरिदास सिरक ओडेर सुते । उनको अवस्था देखेर सेठजीले सोधे–

‘भन हरिदास !  के भयो ? बेथा कडै जस्तो छ नि ?’

हरिदास बोलेनन् । हुँहुँ मात्र गरे । उनलाई चतुरेले सिकाएकै यही थिए । उनी नबोलेपछि सेठले रामकलीतर्फ हेरे । रामकली पनि के कम थिई र अँध्यारो मुख लगाउँदै भनी–

‘के भनौँ मालिक ! जबदेखि ऋण लिएर आएका थिए त्यति बेलादेखि नै बिरामी पर्न थालेका थिए । बिस्तारै यति बढी गले कि बोल्नै नसक्ने भएका छन् ।’

रामकलीको कुरा सुनेपछि सेठ सोच्न लागे– ‘यो त राम्रो सङ्केत होइन । लिन खोजेको दिनुपर्ला जस्तो पो होला जस्तो छ । ऋणकै कारण हरिदास बिरामी परेका हुन् भने त अनर्थ हुने भो । अहिले नै व्यवसाय सुक्न थालिसकेको छ । अब पनि ढिलो गर्नु भनेको थप चौपट हुनु हो ।’

सेठजी सोचमा डुबेको देखेर रामकलीले सोधी–

‘के भो मालिक ! चिन्तित देखिनु हुन्छ नि ?’

‘हो रामकली ! ठीक भन्यौ ।’ सेठले लामो सास फेर्दै भने–

‘हरिदासको अवस्था देखेर चिन्ता लागेको छ । आखिर तिमीहरू भनेका पनि आफ्नै हौ । आफ्ना कर्मचारी बिरामी परेको देखेपछि कसरी सुखी रहन सक्छु र । घरव्यवहार पनि धान्नै प¥यो । त्यसमाथि ऋणको भारी । त्यसैको चिन्ताले बिरामी परेको हुनुपर्छ । त्यस्तै हो भने आजैको मितिबाट ऋण मिनाहा गरिदिएको छु । ठीक हुनासाथ काममा पठाउने छ्यौ ।’ यति भनेर सेठजी हिँडे । 

भोलिपल्ट बिहानै हरिदास काममा आएको देखेर सेठले आश्चर्य मान्दै सोधे–

‘बिरामी थियौ होइन ? हिजोको आजै कसरी ठीक भयौ ? भन के चलाखी हो । मेरा अगाडि लप्पनछप्पन चल्दैन बुझ्यौ ? अहिले नै घरवास पास गरेर लिन सकिन भने व्यापारीको छोरै होइन ।’

सेठजी रिसाएको देखेर हरिदासले दुई हात जोर्दै भने–

‘रिसानी माफ होस् मालिक ! ऋणको भारले थिचेर बिरामी परेको थिएँ । जब हजुरले ऋण मिनाहा गरिदिनु भयो तब टाउकोबाट त्यसको भार हटेकाले होला तत्कालै स्वस्थ हुन पुगेको हुँ ।’

विचरा सेठ हेरेको हे-यै भए । अरूलाई ठग्छु भन्दा आफैँ ठगिन पुगेको पत्तै पाएनन् । भनाइ नै छ नि अरूलाई पार्ने खाल्टो खन्नु भनेको आफैँ पर्ने खाल्टो खन्नु हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप