शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निगमको ग्राउन्डेड न्यारो बडी जहाज उड्यो

शनिबार, २८ फागुन २०७८, १४ : ४६
शनिबार, २८ फागुन २०७८

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड भएको न्यारो बडी ए–३२० जहाजले आजदेखि पुनः नियमित उडान सुरु गरेको छ । इन्जिनमा समस्या आएर कतारको दोहामा दुई महिनाअघि ग्राउन्डेड भएको उक्त जहाज मर्मतपछि उडानयोग्य भएको थियो । उक्त जहाजको एउटा इन्जिन भाडामा लिएर उडान योग्य बनाइएको हो ।

ग्राउन्डेड जहाजले मर्मतपछि आजदेखि नियमित उडान सुरु गरेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘जहाज आजदेखि उडिसक्यो, यो जहाज बन्दै नबनोस्, नउडोस् र यसको विरोध गरेरै खान पाइयोस् भनेर केही मान्छे लागेका थिए मैले काम गरेर उनीहरुको मुखमा बुझो लगाइदिएको छु ।’

कार्यकारी अध्यक्ष अधिकारीले निगमको व्यवस्थापन सुधारदेखि सेवा सुदृढिकरण र बजार विस्तारमा आफू अहोरात्र लागि परेको बताए । आफ्नो मेहनत, कर्मचारीको साथ र सहयोगले नै छोटो समयमा निगमभित्र धेरै सकारात्मक परिवर्तन गरिएको र यसलाई परिणाममुखी बनाउने दिशामा अग्रसर रहेको उनले उल्लेख गरे । अन्य काममा पनि निगमभित्रका कर्मचारीहरुको सहयोग र तालुकदार मन्त्रालय र नियामक निकायसँगको समन्वयमा केही नतिजामुखी काम भएको पनि उनको जिकिर थियो ।

निगमको उक्त जहाज २८ डिसेम्बर २०२१ मा काठमाडौँ दोहा नियमित उडानमा सुरक्षित अवतरण पश्चात् पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो । दोहास्थित कतार एयरवेजका इन्जिनियरले जहाज निरीक्षण गर्दा बायाँतर्फको इन्जिनमा खराबी पहिचान भएको थियो । इन्जिन फेर्नुपर्ने प्राथमिक राय प्राप्त भएकाले निगम व्यवस्थापनले जहाजलाई छिटो उडानयोग्य बनाउन इन्जिन भाडामा लिएर उडाउने निर्णय गरेको थियो । इन्जिन भाडामा लिन ९ जनवरी २०२२ मा आरएफपी आह्वान गरिएको थियो । 

इच्छुक कम्पनीबाट बोलपत्र आह्वान गरिएकामा छनौट भएको एमटीयू मेन्टिनेन्स लेन्स सर्भिसले इन्जिन भाडामा दिएर जहाज उडानयोग्य बनाएको निगमले उल्लेख गरेको छ । उक्त इन्जिन मर्मतका लागि निगमले २४ जनवरी २०२२ मा बोलपत्र आह्वान गरिसकेको छ । निगमको अन्तरराष्ट्रिय उडानका लागि दुई थान वाइड बडी र दुई थान न्यारो बडी जहाज छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप