शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सपुतदेखि पशुपतिसम्म, दुर्गेशदेखि भिटेनसम्मका गीत विवादमा : यी गीत पनि तानिए विवादमा

आइतबार, २९ फागुन २०७८, १७ : ०९
आइतबार, २९ फागुन २०७८

गायक प्रकाश सपुतले भर्खर सार्वजनिक गरेको नयाँ गीत ‘पीर’ विवादमा तानिएको छ । सार्वजनिक भएलगत्तै विवादमा तानिएको गीत जनयुद्धमा सहभागी जनमुक्ति सेनाको बिषयबस्तुमा छ । १६ मिनेट २५ सेकेण्ड लामो युट्युबको ट्रेन्डिङमा समेत आउन सफल गीतको बिषयबस्तुलाई लिएर नेकपा माओवादी वृत्तमा चर्को आलोचना समेत भइरहेको छ ।

नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी दिएकी छन् । गीतको बिषयमा सामाजिक सञ्जालमा पक्ष र विपक्षमा चर्काे बहस हुन थालेको छ । कतिपयले सार्वजनिक गीत हटाएर सर्जकले माफी माग्नुपर्ने धारणा राख्दा, कतिपयले गीत सही भएको विचार अगाडि सारेका छन् ।

नेपाली सांगीतिक क्षेत्रमा यसरी गीत विवादमा आउनु कुनै नौलो भने होइन । कतिपय अवस्थामा गायकहरुले नै चर्चाका लागि विवाद उत्पन्न हुने गीत बनाउछन् भने कतिपय समय गतिका शब्द, बिषय, चोरी लगायत कारणले समेत गीत विवादमा पर्ने गरेको छ । नेपाली सांगीतिक क्षेत्रमा लोकगायक पशुपति शर्मादेखि र्यापर भिटेनसम्मका गीत विवादमा परेका छन् । यस्ता छन् नेपाली सांगीतिक क्षेत्रका विवादित गीत :

 

‘गलबन्दी च्यातियो तिम्ले तानेर..’ :

गायक प्रकाश सपुतले नै २०७६ मा सार्वजनिक गरेको ‘गलबन्दी च्यातियो तिम्ले तानेर..’ बोलको गीतले छोटो समयमै लोकप्रियता हासिल गरेको थियो । यूट्युबमा राम्रो भ्युज पाएको गीतमा प्रकाश सपुत र शान्तीश्री परियारको स्वर छ । यो गीत चोरीका कारण विवादमा तानिएको थियो । गीतको लय चोरिएको भन्दै गायक तथा संगीतकार शम्भु राईले उजुरी समेत गरेका थिए ।

उक्त विवादमा शम्भु राईकै जित भएको थियो । गीतको शीर्षकमा सिर्जनामा गायक तथा सङ्गीतकार शम्भु राईको नाम थपिने गरी विवाद मिलेको थियो । यो गीत राईको ‘देउसी भैलो’ बोलको गीतमा रहेको ‘आउ नाचौँ साथी हो कम्मर कसेर, दुई दिनको जिन्दगी बिताऊँ हाँसेर’ भन्ने लयबाट सपुतले लिएको ठहर भएको थियो ।

‘ह्याप्पी तिहार, चिसो बियर’ र ‘ख्यास्स पुतली :

गायक दुर्गेश थापाको यी दुबै गीत विवादमा परे । ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत दुर्गेशले २०७६ को कार्तिकमा ल्याएका थिए । गीतमा धुम्रपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने शब्दावली प्रयोग भएको थियो । यस्ता शब्दले समाजमा गलत सन्देश जाने भन्दै थापाको निकै आलोचना भयो । गीतलाई लिएर अपराध महाशाखाको टोलीले उनलाई पक्राउ समेत गरेको थियो । आफूले गल्ती गरेको भन्दै माफी मागेर गीत सच्याउने शर्तमा थापा छुटेका थिए ।

त्यस्तै दुर्गेशले गत तीजका लागि ल्याएको गीत हो ‘ख्यास्स पुतली’ । यस गीतमा प्रयोग भएका शब्दमा महिला अधिकारकर्मीदेखि लोकदोहोरी प्रतिष्ठानले समेत आपत्तिजनक रहेको भन्दै विरोध जनाएका थिए । गीत सच्याउन लोकदोहोरी प्रतिष्ठानले गरेको अनुरोध नमानेको कारण दुर्गेशलाई सदस्यबाट समेत प्रतिष्ठानले निष्काशन गरेको थियो ।

‘पैसा’ र ‘डन आयो डन’ :

सांगीतिक क्षेत्रमा विवाद र आलोचनाका पर्याय मानिन्छन् दुर्गेश थापा । उनका एकपछि अर्को गीत विवादित भए । यसै क्रममा ‘पैसा’ र ‘डन आयो डन’ यी दुई गीत पनि विवादित बन्यो । यसै बर्ष माघमा उनले ल्याएको गीत ‘पैसा’मा शब्द, संगीत, स्वर र अभिनय दुर्गेशकै छ । गीतमा उनले पैसाले देश ध्वस्त बनाएको बताउँदै पैसाले हरेक कुरा गर्ने आशय राखेका थिए । आपत्तिजनक र छाडा शब्दहरू समेत प्रयोग गरिएको गीत रक शैलीमा छ ।

त्यस्तै ‘डन आयो डन’ २०७७ कार्तिकमा सार्वजनिक भएको थियो । दुर्गेश र योगेश काजीको स्वर रहेको गीतमा पल शाहको अभिनय छ । दुर्गेशकै शब्द र संगीत रहेको यो गीतका कारण दुर्गेश प्रहरी खोरमा समेत पुगेका थिए ।  प्रहरी कार्यालयबाटै गीत युट्युबाट हटाएका कारण छुटेका उनले विवादित शब्द ‘म्युट’ गरेर गीत पुनः ल्याएका थिए ।

‘लुट्न सके लुट कान्छा’ :

चर्चित लोकदोहोरी गायक पशुपति शर्माले नेपालको राजनीतिक स्थितिलाई व्यङ्ग्य गर्दै २०७५ फागुनमा ल्याएको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतले निकै विवाद निम्त्यायो । शर्माले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत् भिडियोसहित ल्याएको गीतमा देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार जस्ता विषयले प्राथमिकता पाएको थियो । शर्माकै शब्द, संगीत समेत रहेको गीतको भिडियोमा पशुपति शर्मा, मञ्जु विक र प्रज्वल भण्डारीको अभिनय थियो । तात्कालीन केपी ओली सरकारको विरोध गरिएको भन्दै गीतमा प्रयोग भएका शब्दका बिषयमा विवाद उत्पन्न भएपछि शर्माले युट्युबबाट गीत नै हटाएका थिए ।

‘अबको तीज नो ब्रत प्लिज’ :

गायिका सोफिया थापाले २०७७ को तीजमा ल्याएको ‘अबको तीज नो ब्रत प्लिज’ गीत समेत विवादमा पर्यो । यूट्युबबाट सार्वजनिक भएलगत्तै यस गीतले चर्को आलोचना खेपेको थियो । गीतका शब्दले तीजको मर्म र हिन्दू महिलाहरुको भावनामा ठेस पुर्याएको टिप्पणी धेरैले गरेका थिए । गीतमा तीजको व्रत नबस्न महिलाहरुलाई आह्वान गरिएको थियो । अबको तीज नो ब्रत प्लिज, नो खुट्टाको पानी, रंगीविरंगी चुरा र साडी गहनाको भारी लगायतका शब्द रहेको कारण गीत विवादमा परेको थियो । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति, हिन्दूवादी संगठन लगायतको चर्काे बिरोधका कारण पछि गीत युट्युवबाट समेत हटाइयो ।

‘देशद्रोही’ :

‘देशद्रोही’ शीर्षकमा सार्वजनिक गीत भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृष्यका कारण विवादमा परेको थियो ।  मंगोल हव अफिसियलबाट युट्युव च्यानलबाट सार्वजनिक गीत २०७७ भदौमा सार्वजनिक भएको थियो । गीतका शब्दमा झण्डालाई ‘ब्रा’ जस्तो भनेर संकेत गरिएको थियो । जातीय द्वन्द्वलाई प्रशय दिने खालको गीतमा ढाका टोपीलाई पनि अपमानजनक शब्द प्रयोग भएको थियो ।

रचनाकार र गायक मंगोल ग्याल्जे लि र एटिएम रहेको गीतमा ‘बाहुन, क्षेत्री लुटेरा शरणार्थी’ भएको भन्ने जस्ता आपत्तिजनक शब्द प्रयोग गरेर नेपालबाट खेद्नुपर्छ भनिएको छ । राष्ट्रिय भण्डा जलाएको बिषयमा भिडियो निर्माणमा संग्लग्न ११ जनाभन्दा बढी पक्राउ परेका थिए । यस काण्डमा केही ब्यक्ति अझै जेलमा छन् ।

‘पारा’ र ‘हामी यस्तै त हो नि ब्रो’ :

नेपाली र्यापर समिर घिसिङ ‘भिटेन’को ‘पारा’ र ‘हामी यस्तै त हो नि ब्रो’ गीत विवादमा मुछिएको थियो । २०७७ कात्र्तिकमा सार्वजनिक ‘पारा’ मा अश्लील शब्द प्रयोग गरिएको भनी प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो । उजुरीपछि भिटेन पक्राउ परेका थिए । गीतमा रहेको आपत्तिजनक शब्द हटाउने सर्तमा प्रहरीले उनलाइ छोडेको थियो ।

यसअघि भिटेनको अगाडि ‘हामी यस्तै त हो नि ब्रो’ गीत समेत विवादमा परेको थियो । त्यतिबेला पनि पक्राउ परेका भिटेन।गीत युट्युबमार्फत् हटाएरपछि बल्ल छुटेका थिए । २४ घण्टा भन्दा बढी समय प्रहरी हिरासतमा बिताएका भिटेन अबदेखि अश्लील शब्द प्रयोग गरेर भिडियो सार्वजनिक नगर्ने सर्तमा रिहा भएका थिए ।

‘लाजले छोपेको’ :

२०७८ साउनमा आएको यज्ञ विक र शान्तिश्री परियारको स्वर रहेको गीत ‘लाजले छोपेको’ बोलको गीत विवादमा तानिएको छ । गीतको प्रयोग भएको शब्द दुईअर्थी भएकाले गीत विवादमा तानिएको हो । गीतमा गायिकाले ‘हेर्ने हो र देखाइदिम् ?’ भन्ने शब्द दोहोर्याई तेह्र्याई प्रयोग गरेकी छिन् भने गायकले ‘के’ भनेर प्रतिप्रश्न गरेका छन् । झट्ट सुन्दा नि गलत अर्थझैँ लाग्ने यो शब्दलाई लिएर सामाजिक सञ्जालमा विवाद उत्पन्न भएको थियो । राजु सुनामको शब्द तथा संगीत रहेको गीतको भिडियोमा पुष्प खड्का र जिसु कोइरालाको अभिनय थियो ।

‘न बिर्सेँ तिमीलाई’ :

गायिका अञ्जु पन्तको स्वर रहेको यो गीत केही अगाडि विवादमा छाएको थियो । सर्जक विपिन किरणले नयाँ भर्सनको रुपमा गायिका रचना रिमालको स्वरमा ल्याएपछि गीत विवादमा तानिएको थियो । गीतमा पुराना गायक गायिकाको नाम नराखेको, गीतमा स्वर नमिलेको भन्दैै सामाजिक सञ्जालमा आलोचना भएको थियो । विवादका कारण पछि गीतमा पहिलेका गायक अञ्जु र जगदीश समालको नाम समावेश गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप