मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कुडा कर्नालीका : उद्देश्य एकातिर, बहस अर्कोतिर !

आइतबार, २९ फागुन २०७८, २१ : ४६
आइतबार, २९ फागुन २०७८

शुक्रबारदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा ‘कर्णाली उत्सव’ अर्थात् ‘कुडा कर्नाली’का कार्यक्रम तीन दिनसम्म सञ्चालन भयो । कर्णालीलाई चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भनेर आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । तर कार्यक्रमका सत्रहरुको मोडालिटी भने उद्देश्यभन्दा भिन्न रुपमा प्रस्तुत गरियो ।

कार्यक्रमको तेस्रो दिनमा ‘वाद, विवाद र संवाद’ सत्र थियो । सत्रका वक्तामा नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा र सहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री थिए । कार्यक्रमको सञ्चालन पत्रकार मनऋषि धितालले गरेका थिए ।

कर्णाली उत्सवको फेसबुक पेजमा सत्रको बारेमा लेखिएको थियो, ‘नेपालका विभिन्न राजनीतिक दलहरुले अंगिकार गर्ने राजनीतिक सिद्धान्त (वाद)को सान्दर्भिकता के छ ? सिद्धान्तलाई व्यवहारमा कसरी ढाल्न सकिन्छ ? समृद्धिको सिद्धान्त के हो ? भन्ने विषयमा बहस हुनेछ ।’

तर सत्रको समयावधि नै एक घण्टा तोकिएपछि कार्यक्रम न वाद जस्तो बन्यो, न संवाद जस्तो, त न विवाद जस्तो । देशको मुल राजनीतिमा चर्चा र युवाहरूबीच परिचित नेताहरुबीचको बहस बौद्धिक, रोचक, गहन विषयमा हुनेछ भन्ने धेरैको अपेक्षा थियो । तर बहस सामान्यतः वर्तमान अवस्थामा देशमा उठिरहेका विषयहरुकै सन्दर्भमा केन्द्रित भयो ।

जब सञ्चालकले गठबन्धन, एमसीसी, स्वास्थ्यमन्त्री हुँदा के गर्नुभयो, सहरी क्षेत्रमा के गर्नुभयो ? जस्ता प्रश्नमै बहस केन्द्रित गर्दा मन्त्री झाँक्रीले ‘कुडा कर्नालीका’ जस्तो गहन विषयमा बहस गराउन सञ्चालकलाई सुझाव दिइरहिन् ।

मन्त्री झाँक्रीले सुदूरपश्चिम प्रदेशमा जाँदा पत्रकारले के कुरा सोध्छन् भन्ने पहिला नै थाहा पाएकाले आफूले त्यो कुराबारे नसोध्न आग्रह गर्दै विषयवस्तु मोडेको जानकारी गराउँदा पनि सञ्चालकले त्यही कुरालाई दोहो¥याई रहे । उनले वक्ता र दर्शकले चाहेजस्तो बहसलाई सार्थकता दिन सकेनन् ।

यो कुरा स्वयं काँग्रेस महामन्त्री गगन थापाले पनि भने । उनले भने, ‘यहाँ बहस अलि गम्भीर, गहन होस्, समस्यामात्रै होइन, समाधानको बहस पनि होस भन्ने अपेक्षा हो ।’

थापाले सञ्चालकले सोधेको प्रश्नमा टेकेर केही नयाँ कुराहरु भन्ने प्रयास गरेका थिए । उनले वर्तमान राजनीतिक परिवेशलाई मूल्यांकन गर्दै ‘स्मार्ट गभर्मेन्ट’ चाहिएको बताए । त्यसका लागि ‘ब्युरोक्रेशी र जनप्रतिनिधिबीचको ‘ल्याकिङ’का बारेमा उनले प्रष्ट्याए । ‘सबैको समाजवादले सबैलाई न्याय दे भन्छ,’ उनले भने, ‘हामी मन्त्री भएर गएपछि सचिवले हामीलाई ब्रिफिङ गर्छ । त्यो उल्टो भयो । बरु मन्त्रीले म यो गर्छु, यो–यो काम गर्न मन्त्री बनेर आएको हुँ भन्नुपर्ने स्थिति हुनप¥यो ।’

थापाले यी कुराहरु भनिरहँदा मन्त्री झाँक्रीले एउटा नेताको बाध्यात्मक प्रवृत्तिका बारेमा चित्रण गर्ने प्रयास गरिन् । उनले भनिन्, ‘मान्छेका असीमित चाहनाहरु एउटा मन्त्रीले एक रातमा गरिदेओस् भन्ने हुन्छ । तर त्यो सम्भव छैन । भोटको राजनीति गर्नुपर्ने भएका कारण हुन्छ–हुन्छ भन्नुपर्ने बाध्यता हुन्छ । हुँदैन भन्यो भने मतदाता रिसाउँछन् ।’

एउटा मान्छेले सबै सम्भव गर्न त बलिउड फिल्मको एउटा नायकले मात्र सम्भव हुने उनको भनाइ थियो । उनले भनिन्, ‘रियल लाइफमा त्यो सम्भव छैन । आज मैले गरेका कामको ५० वर्षपछि मूल्यांकन हुन्छ ।’

बहसबारे कार्यक्रमका सहभागी दर्शकले नै प्रश्न उठाएका थिए । ‘यो सत्र कुनै पनि दृष्टिकोणबाट कर्णाली केन्द्रित भएको देखिएन,’ कार्यक्रमका सहभागी युवा आदर्शविक्रम सिंह भन्छन्, ‘कार्यक्रम चाहिँ कुडा कर्नालीका भन्ने छ । यहाँ त बरु काठमाडौंबाट हेर्दा कर्णालीलाई कसरी चिन्नुहुन्छ ? यहाँको सम्भावना, समृद्धिका विषयमा वाद, विवाद र संवाद हुनुपर्ने हो । तर कुडा कर्नालीकामा वहस काठमाडौं केन्द्रित भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप