शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कामवासनाको रूपान्तर र व्यवस्थापन

मङ्गलबार, ०१ चैत २०७८, १० : १३
मङ्गलबार, ०१ चैत २०७८

ध्यायतो विषयान् पुसः सङ्गस्तेषूपजायते । 
सङ्गात् संजायते कामः कामात् कोधोऽभिजायते । 
क्रोधाद्भवति सम्मोहः सम्मोहात् स्मृतिविभ्रमः । 
स्मृतिभ्रंसाद् बुद्धि नाशो बुद्धिनाशात् प्रणस्यति । (गीता २/६२–६३)

अर्थात् विषय वासनाको चिन्तन बढेपछि आशक्ति बढ्न थाल्छ र बिस्तारै कामवासना उत्पत्ति हुन पुग्छ । कामवासनालाई उत्पत्ति हुन मात्र बेर हो, करामत देखाउन बेर लाग्दैन । उसले देखाउने करामतमध्ये एउटा क्रोधलाई जन्माउनु पनि हो । जब क्रोधको जन्म हुन्छ, तब उसले सम्मोहनको अवस्थामा पुर्याइदिन्छ । सम्मोहनले गर्ने भनेको स्मृतिनाश हो भने स्मृति नाश हुनु भनेको बुद्धि भ्रष्ट हुनु र बुद्धि भ्रष्ट हुनु भनेको सर्वनाशको अवस्थामा पुग्नु हो ।   

गीतामा कृष्णले यस्तो कुरा कुन परिवेशमा, किन र कसरी भनेका थिए छुट्टै कहानी छ तर यसको अर्थ भने जहिले पनि उत्तिकै सान्दर्भिक देखिन्छ । संसारमा न कोही विषय वासनाको घेराबाट बाहिर आउन सकेका छन्, न कामवासनाबाट अछुत रहन सकेका छन् । बालकदेखि वृद्धसम्म सबै यसैको सेरोफेरोमा घुमेका हुन्छन् । काम जन्मसँगै आउँछ र जीवनभर अभिन्न अङ्ग बनेर साथमै रहन्छ । कामको कुरा गर्ने बित्तिकै प्रौढहरूका समेत कान ठाडो हुन्छ । बाल–बालिकाहरूसमेत यसबारे सुन्न उत्सुक हुन्छन् । सर्वप्रथम काम आँखा, कान, छाला जस्ता केही ज्ञानेन्द्रियबाट शरीरमा प्रवेश गर्छ र प्रत्येक अङ्गमा फैलिन पुगेको हुन्छ । 

बुद्धले पाप तीन ठाउँबाट हुन्छ भनेका छन्, जसमा मस्तिष्क, मुख र शरीर पर्छन् । यीमध्ये लोभ, छलकपट, घृणा र द्वेष मस्तिष्कबाट हुने पाप हुन् भने झुट बोल्नु, अनावश्यक गफ गरेर समय बरबाद गर्नु र कठोर बोलीवचन गर्नु मुखबाट हुने पाप हुन् । जहाँसम्म शरीरबाट हुने पापको कुरा छ, हत्या, चोरी डकैतीको साथमा कामवासना पनि पर्छ ।

कामवासनाले कसलाई खेलाएको छैन र संसारमा । ठूल्ठूला ऋषिमुनिहरूलाई समेत बाँकी राखेको छैन यसले । विश्वामित्र त्यति माथि पुगेका ऋषि थिए, जसले तपोबलद्वारा अर्कै स्वर्ग रचना गरेका थिए । तर, उनीसमेत कामवासनासँग हारेका छन् र यसैको कारण राजा दुष्यन्त पत्नी शकुन्तलाको जन्म हुन पुगेको छ । त्यस्तै परासर ऋषि त्यस्ता थिए, जो प्रकृतिको गतिलाई समेत रोक्न सक्थे तर उनीसमेत कामवासनासँग हारेर व्यासलाई जन्म दिन पुगेका छन् । 

व्यासजीको अवस्था पनि त्यस्तै छ । उनी त्यस्ता महर्षि थिए, जसले १८ महापुराणका रचना गर्नुका साथै वेद विभाग गर्नसमेत सकेका थिए । तर, उनले समेत कामलाई रोक्न सकेनन् र शुकदेव स्वामी जन्मनुको कारण बन्न पुगे । यी केही उदाहरण हुन् । सूची बनाउँदै जाँदा यस्ता अनगिन्ती उदाहरण पाउन सकिन्छ ।

यसो त काम समाधिपछि मानिस तत्काल शान्त हुन्छ तर क्रोधको समाधिमा पुगेका मानिसलाई शान्त हुन निकै बेर लाग्छ । त्यस्तै कामवासनाबाट हुने क्षति पनि एकपक्षीय नै हुन्छ । सके जो फसेको छ, उसैले मात्र सजाय पाउला, नभए पनि एकाध व्यक्ति त्यसमा थपिएलान् तर क्रोधारुढ भएका मानिसले गरेको नोक्सानीको भरपाई भने धेरैले गर्नुपर्ने हुन सक्छ । यसबाट हामीलाई काममा भन्दा क्रोधमा बढी उर्जा खर्च हुने हो कि जस्तो लाग्न सक्छ तर त्यो रूपमा मात्र हो, सारमा होइन । सारमा भन्नुपर्दा क्रोधको समेत मूलमा कामकै भूमिका रहेको हुन्छ, किनकि उसको पनि जननी काम नै हो ।

आज संसारमा जति पनि हत्या, हिंसा, आतङ्क, मारकाट हुने गरेका छन्, तीमध्ये अधिकांशको मूल कारण कुनै न कुनै रूपमा काम नै रहेको अनुभूत गर्न सकिन्छ । कामवासनाकै कारण कैयौँको ज्यानै गएको छ । हुन सक्छ, कतिले अङ्गभङ्ग भएर जीवनभर पछुताउनु परेको होला । विगतमा यसैका कारण कैयौँ पटक युद्ध भएका छन् भने अपवादमा चलिरहेको युद्ध रोकिएका पनि छन् । 

इतिहास साक्षी छ, विगतमा कैयौँ राजा, महाराजाहरूले शत्रु देशको गुह्य पत्ता लगाउन कामशास्त्रलाई प्रयोगमा ल्याएका छन् । देवताका राजा इन्द्रसमेत गाह्रो अफ्ठ्यारो पर्दा अप्सराहरू मार्फत् यसैलाई प्रयोग ल्याउने गर्थे रे । हालकै कुरा गर्ने हो भने पनि यसैका कारण कतिको विचल्ली भएको छ । कैयौँको घरबास उठेको पाइएको छ । उदाहरण खोज्न त्यति टाढा जानै पर्दैन । हाम्रै देशका वैदेशिक रोजगारलाई हेरे पुग्छ । अर्थोपार्जनका लागि हाम्रा कैयौँ युवकहरू देश, विदेश पुगेका छन् । तीमध्ये कतिको घर फर्किंदा पैसा मात्र होइन, परिवारसमेत बरबाद हुन पुगेको पाइएको छ ।   

तर, यसको अर्थ यो होइन कि कामवासना खराब नै हो, यसको पछाडि लाग्नु हुँदैन । यसो भन्नु भनेको सरासर ढोङ बाहेक केही होइन । लाग्नु हुँदैन भनेको भरमा न कोही नलागी रहन सक्छ न व्यवहार नै चल्छ । यो बिना सृष्टि नै सम्भव हुँदैन भने पछि नलाग्ने पनि कसरी ? त्यसो भए के गर्ने त ? प्रश्न जटिल छ तर उत्तर जटिल छैन । यसको उत्तर यही हो कि त्यसलाई हेर्ने र रूपान्तर वा व्यवस्थापनमा ध्यान दिने । पुनः प्रश्न उठ्न सक्छ, त्यो भनेको के हो र कसरी गर्ने ? यसका लागि केही यस्ता सूत्र छन्, जसको लिङ्क तल दिइएको छ । ईच्छा हुनेले त्यसैलाई हेर्न र अप्नाउन सक्नुहुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप