बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा शुक्रबारदेखि यात्रा प्रतिबन्ध पूर्ण रुपमा खुला

मङ्गलबार, ०१ चैत २०७८, २१ : ४८
मङ्गलबार, ०१ चैत २०७८

झन्डै दुई वर्ष अघिदेखि कोभिड–१९ का कारण  बेलायतले लगाउँदै आएको यात्रा प्रतिबन्ध अब पूर्ण रुपमा खुला गरिने भएको छ । यसअघि नै यात्रालाई सहज पार्दै विभिन्न किसिमका प्रतिबन्ध हटाइए पनि बेलायत आउने यात्रुले प्यासेन्जर लोकेटर फारम, पूर्ण रुपमा खोप नलगाएकाहरुले यात्रा गर्नुअघि कोभिड टेस्ट गर्नुका साथै यहाँ आइसकेपछि पीसीआर टेस्ट गर्नुपर्ने जस्ता नियम कायमै छ ।

आउँदो शुक्रबार मार्च १८ देखि भने बाँकी रहेका सम्पूर्ण प्रतिबन्धहरुको अन्त्य गरिने बेलायती यातायातमन्त्री ग्रान्ट शाप्सले बताए । स्कटल्याण्ड र वेल्सले पनि बाँकी प्रतिबन्ध हटाउने विषयमा गरेको बेलायतको निर्णयप्रति सहमत जनाएका छन् ।
शुक्रबार बिहान ४ बजेबाट बेलायत आउने यात्रुहरुले कोभिडविरुद्धको खोप नलगाएको भएपनि कोभिड सम्बन्धि कुनैपनि परीक्षण तथा कागजपत्र पेश गर्नुपर्ने छैन । तर बेलायतबाट बाहिर जानेहरुले भने सम्बन्धित मुलुकको नियमको पालना गर्नुपर्नेछ । सरकारको पछिल्लो कदमलाई ट्राभल्स व्यवसायीहरूले स्वागत गरेका छन् । बेलायत यात्राको लागि सुरक्षित रहेको विश्वभरमा सन्देश गएको व्यवसायीहरु बताउँछन् ।  

 तर, बेलायतमा कोरोना संक्रमण अझै पनि समाप्त नभएकाले कतिपय मानिसहरुले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय एक सातामा चार लाख भन्दा बढी मानिसहरु संक्रमित हुने गरेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांकमा उल्लेख छ । 

हालसम्म बेलायतमा करिब दुई करोड मानिसहरु संक्रमित भएका छन् । यसैगरि एक सातामा सात सय भन्दा बढी मानिसहरुको कोरोनाका कारण मृत्यु हुने गरेको छ । हालसम्म बेलायतमा एक लाख ६२ हजार भन्दा बढीको कोरोनाबाट मृत्यु भएको छ ।

बेलायतमा ९१.७ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्र र ८५.६ प्रतिशतले खोपको दोस्रो मात्रा लगाएका छन् । यसैगरी ६७ प्रतिशतले तेस्रो अर्थात बुस्टर डोज लगाएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप