शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल ल्याउने सामान बोकेका २ हजार कन्टेनर विशाखपटनममै अड्किए

​जाडोयामका लागि मगाइएका सामान अझैसम्म कन्टेनरमै
बुधबार, ०२ चैत २०७८, १८ : २०
बुधबार, ०२ चैत २०७८

तेस्रो मुलुकबाट भारत हुँदै नेपालतर्फ आयात गरिएका सामान बोकेका २ हजारभन्दा बढी कन्टेनर भारतको आन्द्र प्रदेशस्थित विशाखपटनम बन्दरगाहमै अड्किएका छन् । तेस्रो मुलुकबाट मगाइएका सामान ‘लोड’ गरिएका कन्टेनर विशाखपटनम बन्दरगाहमा अड्किएका हुन् ।

फ्रेट (freight) ​फरवाडर्स एसोसिएशनका अनुसार भारतको विशाखपटनम बन्दरगाहमा २ हजारभन्दा बढी कन्टेनर अड्किएका छन् । एसोसिएशनका अध्यक्ष मनोज अधिकारीले भारतीय रेलले ढिला गरिदिँदा नेपाली व्यापारीले मगाएको सामान बन्दरगाहमै रोकिएको बताए ।

‘नेपाली व्यापारीले तेस्रो मुलुकबाट आयात गरेको सामान विशाखपटनममै रोकिएको छ । आयातमा अन्य कुनै समस्या भइरहेको छैन । तर, रेल कम्पनीले ढिलाइ गरिदिँदा नेपालतर्फको आयात प्रभावित बनेको छ,’ उनले भने । उनका अनुसार ढुवानीको जिम्मेवारी लिएको भारतीय सरकारी रेल कोंकणले ढिलाई गर्दा सामान विशाखपटन मै अड्किएको हो ।

विदेशबाट सामान ढुवानीको जिम्मेवारी लिने सिपिङ कम्पनीले नेपालको सिर्सिया (वीरगञ्ज सुख्खा बन्दरगाह) सम्मै वस्तु ढुवानीबापतको रकम लिएका हुन्छन् । सोहीअनुसार विशाखपटनमदेखि वीरगञ्जसम्म भारतीय स्वामित्वको रेलले नै ढुवानी गरिदिनुपर्ने हुन्छ । तर, सोअनुसार काम नहुँदा सामान रोकिएको अधिकारीले जानकारी दिए ।

भारतबाट आयात गरिने वस्तुको ढुवानीमा समस्या छैन । भारतबाहेकका अन्य मुलुकबाट आउने सामान बोकेका कन्टेनर भने विशाखपटनममै रोकिएका हुन् । २०७६ देखि कोभिड–१९ महामारी फैलिएसँगै नेपाल–चीन व्यापारिक नाका राम्रोसँग चल्न सकेका छैनन् । चीनले कोटा प्रणाली लगाएसँगै तातोपानी र रसुवागढी भन्सार नाकाबाट सहजै वस्तु आयात गर्न सक्ने स्थिति छैन ।

चीनसँग सीधा जोडिएका दुई व्यापारिक नाका राम्रोसँग नचलेपछि व्यापारीहरूले भारत हुँदै सामान आयात गर्न थालेका थिए । ती सामान चीनको संघाइ सहरदेखि समुन्द्रीमार्ग हुँदै सिंगापुर र श्रीलंकाको कोलम्बोबाट विशाखपटनमसम्म ल्याइन्छ । विशाखपटनदेखि वीरगञ्जसम्म रेलमा सामान ल्याइन्छ । यसबाहेक, अन्य मुलुकबाट पनि विशाखपटनम हुँदै नेपालसम्म सामान आयात गरिन्छ । 

भारतबाट सामान बोकेर नेपाल आउने रेलको संख्या कम हुँदा सामान उतै रोकिएको अध्यक्ष अधिकारीको भनाइ छ । हाल प्रतिसाता १२ वटा रेल नेपालतर्फ आउने गरेको र ती रेलमा अटाउने सामानभन्दा बढी पानीजहाजले विशाखपटनममा ल्याउने गर्छन् । सोहीकारण, विशाखपटनममा नेपाली सामान बोकेका कन्टेनर रोकिएका हुन् ।

विशाखपटनमबाट नेपाल (वीरगञ्ज)सम्म रेलबाट मात्रै सामान ल्याइन्छ । भारत सरकारले नेपाललाई विशाखपटनमबाट सडकमार्ग हुँदै वस्तु ल्याउन पहुँचमार्ग दिइसकेको छैन । उता कलकत्ता बन्दरगाहमा ल्याइएको सामान त्यसरी अड्किएको भए सडकमार्गबाट समेत ल्याउन सक्ने स्थिति हुन्थ्यो ।

‘करिब दुई महिनाभन्दा अघिदेखि मगाइएको सामान बोकेका कन्टेनर रोकिएका छन् । ती कन्टेनर अझैसम्म नेपाल ल्याउन सकिएको छैन’, अधिकारीले रातोपाटीसँग भने, ‘दुई महिनाभन्दा बढी समयसम्म सामान ल्याउन नसक्दा व्यवसायीलाई आर्थिक नोक्सानी समेत हुन्छ ।’ ऋण लिएर लिएर मगाइएका सामान उतै अड्किँदा बैंकको ब्याज बढ्दै जाने र लागत बढ्ने उनको भनाइ छ ।

‘जाडोयामका लागि आयात गरिएका सामान अहिलेसम्म नआउँदा व्यवसायीलाई समस्या परेको छ । जाडोको लत्ताकपडा, जुत्ता लगायतका सामान त्यहीँ अड्किएका छन्,’ उनले भने, ‘ती सामान अब अर्को वर्षको जाडोसम्म थन्क्याउनुपर्छ । यस्तै, खाद्यान्न राखिएका कन्टेनर पनि त्यहीँ अड्किँदा प्रयोग मिति सकिने चिन्ता व्यवसायीमा देखिन्छ ।’

खासगरी नेपाल र चीनका व्यापारिक नाका राम्रोसँग चल्न छाडेपछि व्यापारीहरूले भारत हुँदै सामान आयात गर्न थालेका थिए । छिटो र चाडो सामान ल्याउने अपेक्षासहित भारतको विशाखपटनम हुँदै सामान मगाएपनि अड्किँदा समस्या सृजना भएको एसोसिएशनले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप