शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घनश्याम भुसाललाई माधव नेपालको जवाफ : वाम एकता गर्न त ओली वामपन्थी हुनुपर्‍यो नि !

बुधबार, ०२ चैत २०७८, २३ : ०९
बुधबार, ०२ चैत २०७८

नेकपा एमालेका नेता घनश्याम भुसालले मंगलबार एक पत्रिकामा लेख लेख्दै एमाले, माओवादी र एकीकृत समाजवादीबीच एकता हुनुपर्ने लबिङ गरेका छन् । भुसालले लेखमा अब वाम एकताको अभियान नै चलाउने बताएका हुन् ।

एमाले नेता भुसालले बहस प्रारम्भ गरेको भोलिपल्ट बुधबार लुम्बिनी प्रदेशको बैठकलाई सम्बोधन गर्दै माओवादी नेता वर्षमान पुनले पनि एमालेसँग चुनावी तालमेलको ढोका खुल्लै रहेको बताएका छन् । तर,  तीन पार्टीबीच एकता गर्नुपर्छ भन्ने एमाले नेता भुसालको ‘अभियान’ का सन्दर्भमा बुधबार रातोपाटीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई प्रश्न गर्दा उनले केपी ओली नै वाम एकताको बाधक रहेको बताए ।

केपी ओली वामपन्थी नै नभएकाले उनीसँग वाम एकताको कुरा गर्नुको कुनै अर्थ नहुने भन्दै एकताको भ्रम नपाल्न नेपालले आग्रह गरे । उनले भने, ‘भ्रम पाल्ने मान्छेलाई भ्रममै बाँच्न दिनुपर्छ ।’  

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री नेपालले रातोपाटीसँग भने, ‘केपी ओली नै एकताका बाधक हुन्छन् । ओलीलाई सम्झाउनु भनेको बालुवा पेलेर तेल निकाल्नुजस्तै हो ।’   अध्यक्ष नेपालले अगाडि भने, ‘केपी ओलीसँग वाम एकता गर्न त ओली वामपन्थी हुनुपर्‍यो नि । केपी ओली नेतृत्वमा हुँदासम्म नेकपा एमाले वामपन्थी चरित्र गुमाएको, खुइलिएको वामपन्थी हुन्छ त्यो । त्यसो भएकाले त्यसलाई वामपन्थी भन्नु नै भ्रम हो ।’

एमाले अध्यक्ष ओली दक्षिणपन्थी भड्काउमा फसिसकेको बताउँदै नेता नेपालले रातोपाटीसँग भने, ‘केपी ओली र उनको पार्टी दक्षिणपन्थी भड्काउमा फसिसकेको छ । व्यक्तिवादको आहालमा डुबिसकेको र स्वेच्छाचारिताको बाटोमा हिँडिसकेको छ । सामूहिकतालाई परित्याग गरिसकेको र राष्ट्रघाती आत्मसमर्पणवादी बाटोको नीति अवलम्बन गरेको पार्टीबाट आशा गर्नु भनेको त उही केशरजंग रायमाझी सुध्रन्छन् कि भनेजस्तो मात्रै हो ।’

एमालेसँग एकता हुन्छ भनेर भ्रम पाल्नेलाई भ्रममै बाँच्न दिऊँ भन्दै नेपालले व्यङ्ग्य गरे । उनले भने, ‘एकताको आशा गर्नु भनेको भ्रम पाल्नु मात्र हो । भ्रम पाल्ने मान्छेलाई भ्रममै बाँच्न दिनुपर्छ । कोही मान्छे जीन्दगीभर भ्रममै बिताएका हुन्छन् । कोही समयमा भ्रम चिरिन्छ अनि थाहा हुन्छ । केपी ओली सुध्रँदैनन् । नसुध्रिएपछि उनी नेतृत्वमा हुँदासम्म एकता हुने सम्भावना हुँदैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप