ad
x
राजनीति

‘खाने बेलामा’ एमाले छाडेका ‘अभागी’

person explore access_timeचैत ५, २०७८ chat_bubble_outline1

नेकपा एमाले मोरङका इञ्चार्ज विनोद ढकालले विराटनगरमा हामीलाई हिसाब सुनाए– माधव नेपालको पक्षमा लागेर जति मान्छेले एमाले छाडे, त्योभन्दा बढी सङ्ख्यामा मानिसहरू अन्य पार्टीबाट एमालेमा प्रवेश गरेका छन् । फुटको असर नेकपा एमालेमा खासै परेको छैन ।


एमालेका केन्द्रीय नेतासमेत रहेका ढकालले सुनाएको यो सापो–नापो, हिसाब–किताबमाथि हामीले कुनै शंका–उपशंका गरेनौँ । बरु हामी एमाले विभाजन हुनुपूर्व माधव नेपाल पक्षको प्रभाव क्षेत्र मानिने उत्तरी मोरङको केराबारी गाउँपालिकातर्फ लाग्यौँ । टाउको गन्दा ढकालकै भनाइ सही हुन सक्ला । तर, राजनीतिमा कार्यकर्ताहरूको टाउकाको मूल्यचाहिँ चुनावी अङ्कगणितले शायदै गन्न सक्दो रहेछ भन्ने लाग्यो केराबारी पुग्दा ।



रमेश चेम्जोङ पञ्चायत कालमा कम्युनिस्टको गढ मानिने धनकुटाको राजारानीमा जन्मेका हुन् । त्यहाँ ३० वर्ष बिताएर उनी मोरङको केराबारी झरेको पनि ३० वर्ष नै बित्यो । उनी अहिले ६० वर्ष पुगे । अनेरास्ववियु एकताको पाँचौैँ हुँदै एमालेमा उनले ४० वर्ष बिताएका छन् । यसक्रममा उनले चार कार्यकालसम्म नेकपा एमालेको केराबारी गाउँ कमिटी प्रमुख भएर १२ वर्ष बिताएका छन् ।



अहिले रमेश चेम्जोङले आफ्नो ४० वर्षे राजनीतिक यात्रामा विश्राम लगाउँदै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन् । हाल उनी एकीकृत समाजवादीको केराबारी गाउँ कमिटी अध्यक्ष र मोरङ जिल्ला कमिटी सदस्य छन् ।



गाउँपालिकाको भवन क्रस भएर केराबारी बजारबाट अलि माथि पुगेपछि रमेश चेम्जोङको घर भेटियो । पूर्वबाट झुल्केघामले स्वागत गरिरहेको थियो । घर अगाडि फुलेको रातो फूलमा घामको प्रकाश ठोक्किँदा प्राकृतिक छटाले थप शोभा दिइरहेको थियो । कोठेबारीमा  ढकमक्क हरियो सागसब्जी, आँगन छेउमा कुखुरा, परेवा चरिरहेका थिए । खोरमा रहेको बलियो सुँगुरले स्याहार सम्भारको शुभसंकेत गरिरहेको थियो । रंगरोगन गरिएको सफा घरले भनिरहेको थियो– यो घरमा पक्कै पनि जाँगरिला मान्छे बस्छन् ।



केही महिना अघिसम्म रमेश यतिविघ्न  एक्ला थिएनन् । उनका साथमा श्रीमती थिइन् । तीनवटै छोरीहरू बिहे गरेर आ–आफ्नो घरमा गए पनि रमेशको जीवन कोठेबारीजस्तै हराभरा नै थियो, किनभने बुढेसकालमा साथ दिने श्रीमती थिइन् । ४० वर्षसम्म ऊर्जाशील समय बिताएको एमाले पार्टी पनि साथैमा थियो । तर, श्रीमतीले छाडेर जानु र एमाले पार्टी पनि छाड्नु लगभग सँगसँगै जस्तो भयो ।



रमेशलाई भेटेपछि हामीले थाहा पायौँ । घरमा उनी एक्लै बस्दा रहेछन् । नितान्त एक्लै । ६० वर्षीय पुरुष । बिहान–बेलुका खाना आफैँ पकाउने । आफैँ भाँडा माझ्ने । कुखुरा परेवा र सुँगुरलाई आफैँ चारो खुवाउने । एक्लै सुत्ने, एक्लै उठ्ने । नितान्त एक्लै । हराभरा कोठेबारीभित्र नितान्त एक्लोपना । रमेशलाई सम्झँदा हामीलाई पो बैराग लाग्यो !

‘मैले तपाईंहरूलाई केराबारी बजारमै भेट्न सक्थेँ, तर घरमा कुखुरालाई चारो दिनुपर्ने र भात पकाउनेपर्ने बेला भएकाले धेरैबेर घर छोड्न सकिनँ’ रमेशले आफ्नो ‘मजबुरी’ सुनाए ।

केही महिना अघिसम्म रमेश यतिविघ्न  एक्ला थिएनन् । उनका साथमा श्रीमती थिइन् । तीनवटै छोरीहरू बिहे गरेर आ–आफ्नो घरमा गए पनि रमेशको जीवन कोठेबारीजस्तै हराभरा नै थियो, किनभने बुढेसकालमा साथ दिने श्रीमती थिइन् । ४० वर्षसम्म ऊर्जाशील समय बिताएको एमाले पार्टी पनि साथैमा थियो । तर, श्रीमतीले छाडेर जानु र एमाले पार्टी पनि छाड्नु लगभग सँगसँगै जस्तो भयो । एकातिर पारिवारिक वियोग, अर्कातिर पार्टी वियोग । श्रीमती क्यान्सरको उपचार गर्दागर्दै भक्तपुरस्थित क्यान्सर अस्पतालमा बितेकी रहिछन् ।

हामी रमेशसँग राजनीतिक कुराकानी गर्न गएका थियौँ । तर, उनको पारिवारिक स्थितिले जिन्दगीको भावनात्मक पाटोतिर डोर्‍यायो । हामीले सोध्यौँ– क्यान्सर त निको हुने रोग हो, उहाँको निधन कसरी भयो ?’

जवाफमा उनले पत्नी वियोगको पीडा यसरी सुनाए–

ज्ञानको अभाव भन्ने कुरा साह्रै ठूलो अनिकाल रहेछ । अनुभव भन्ने कुरा धेरै ठूलो रहेछ । उनको बानीले पनि अलिकति घर गर्‍यो । चुरोट पनि खाने, रक्सी पनि खाने । उनको बानी के थियो भने केराबारीकै मेडिकलबाट खड्ग लुइँटेललाई बोलाएर यहीँ उपचार गर्नुपर्ने । यहाँ निको नहुने रोग लागेपछि त गाह्रो भो नि । हस्पिटल मरिगए जान्नँ भन्ने । नजाने । एकदम कम बोल्ने स्वभावकी । सोधेको कुरामात्रै भन्ने । बढी नबोल्ने ।

एक दिन माछा मार्न गएकी थिइन् । आकाशबाट पनि पानी पर्‍यो, खोलामा पनि भिजिन् । पुरै भिजेर आइन् । अलिकति स्वर भासिएको थियो । सुरुमा उनले भनिन्– म त हस्पिटल त गए पो !

स्वर भासिएको एक महिना भइसकेको थियो । त्यतिबेला कोरोना एकदम मच्चिएको थियो । गेटमा तगारो लगाएर मान्छेलाई घरमा आउन बन्द गरिएको अवस्था थियो । तातोपानी खानू, अदुवा बेसार हालेर खानू, दही, चिसोपानी नखानू है भनें । तर, घट्ने त कामै गरेन । अनि खड्गजीलाई सबै लक्षणहरू बताएँ । उहाँले १५–१६ सयको दबाई पठाउनुभयो । एक हप्तामा त्यो खाइसक्दा २० को २१ भयो, तर घटेन ।

उनी धामी देवारीमा धेर विश्वास गर्ने । देवारी ल्याएर फुक्दै गरेका बेला देवारीसँग भनेको सुनेँ, मलाई घरमा यादै गर्दैन, म सारो भइसकें ।

त्यसपछि लु हिँडिहाल् वीपी कोइराला धरानमा भनेर लगेँ । त्यहाँ सबै चेकजाँच गर्दा १८–१९ दिन लाग्यो । एउटा बायोस्पी गर्नुपर्ने भो ।  तर, रिपोर्ट ‘अन नोन’ भनेर आयो । डाक्टरले के भन्यो भने मैले यहाँ काम गरेको दुई वर्ष भयो, मेरो अनुभवमा यो ९५ प्रतिशत क्यान्सर हो, तर रिपोर्टमा देखिएन । बिरामी साह्रै भइसकेको छ, ठाउँमै लगिहाल्नोस् ।

अनि मैले पैसाको जोहो गरेर काठमाडौँ पठाएँ । काठमाडौँमा डाक्टरले देख्नेवित्तिकै भन्यो, योचाहिँ क्यान्सरै हो । होइन भने पनि यो चानचुने रोग होइन ।

बायोप्सी गरेपछि क्यान्सर, त्यो पनि चौथो स्टेपको भनेर आइदियो । एक्कैचोटि चार स्टेपमा पुग्यो क्या ! टाइम किल भयो । स्वर सुक्यो कि ठ्याक्कै भक्तपुर लगेको भए पहिलो स्टेपमा भेट हुन्थ्यो र उपचार सम्भव हुन्थ्यो जस्तो लाग्छ । स्वर सुक्नुचाहिँ साह्रै खतरा रहेछ ।

मेरो यो पहिलो अनुभवले के भन्छ भने अब स्वर भासियो भने म सिधै हस्पिटल जान्छु । त्यो पनि वीपी कोइराला क्यान्सर हस्पिटल भरतपुर हुन्छ कि भक्तपुर क्यान्सर अस्पताल, सिधै जान्छु । ठूलै क्यान्सर अस्पतालमा सिधै गइहाल्छु । स्वर भासियो भने यो अरूलाई पनि ज्ञानको कुरा है । सबैलाई ज्ञान होस् ।

गीत गाएको छैन । रातभरि धान नाचेको छैन । पालाम भनेको छैन । नारा जुलुसमा घोक्रो फुट्ने गरी कराएको छैन । आरामले बसेको छ । यस्तोबेला स्वर भासियो भने त्यो खतरा रहेछ । त्यसबेला ठ्याक्कै अस्पताल लगिदिएको भए समय बचत हुन्थ्यो । पैसा बचत हुन्थ्यो । उपचार गर्न सजिलो हुन्थ्यो । क्यान्सरको पहिलो स्टेपमै भेटिन्थ्यो र उपचारबाट ठीक हुन्थ्यो ।

अब के गर्ने ?

तपाई ६० वर्ष पुगिसक्नुभयो । छोरीहरू घरजम गरेर गइसकेछन् । जीवनसाथी बुढेसकालमा चाहिने लठ्ठी हो भन्छन् । तपाई घरमा एक्लै हुनुहुँदोरहेछ, अब जीवन कसरी गुजार्नुहुन्छ ? हाम्रो प्रश्नमा उनी निरुत्तरित देखिए । उत्तरित पनि कसरी होउन् ? नाति–नातिनालाई साथमा राखौँ भने हुर्किएका छैनन्, हुर्किए पनि यी बूढो मान्छेसँग उनीहरु कसरी सदाउलान् ।

०४८ मा धनकुटाबाट रकम चेम्जोङलाई प्रतिनिधिसभामा जिताउन जुटेका रमेश सोही साल केराबारी झरेपछि चार वर्षसम्म खेतीपातीमा लागे । धनकुटाले बल्ल मोरङलाई परिपत्र पठायो र उनलाई गाउँ पार्टीले खोज्यो । तर, त्यसपछि उनी वैदेशिक रोजगारीका लागि कतार गए । कतारबाट फर्केपछि उनले घरको आर्थिक स्थितिसुधारे । अहिले घरमा जुन हरियाली देखिएको छ, यसमा कतारको त्यही परिश्रमको बुँद मिसिएको छ ।

कोही विपन्न समुदायकी किशोरीलाई आश्रय दिएर केराबारी क्याम्पसमा पढाइदिने, अनि बिहान–बेलुका यस्सो खाना पकाइदिने सहारा हुन्थ्यो कि ? रमेशको व्यक्तिगत मामिलामा हामी प्रवेश गर्न खोज्यौं । जवाफमा उनले भने, ‘घरमा एक्लो पुरुष छु, त्यसरी किशोरीलाई राखेपछि समाजले अनेकथरी प्रश्न उठाइहाल्छ ।’

घरमा कोही कामदारलाई सपरिवार नै राख्ने पो हो कि ? तर, त्यसो गर्दा विभिन्न दायित्वको प्रश्न उठ्ला । पछि सम्पत्तिसम्बन्धी विवाद होला । उसोभए अर्को बिहे पो गर्ने हो कि बुढेसकालको सहारा ? यो उमेरमा कसरी बिहे गर्नु ? रमेशले सुनाए– आफन्तहरूले यस्तो उपाय पनि सुझाइरहनुभएको छ, तर म राजनीतिक मान्छे, समाजलाई पनि त हेर्नुपर्‍यो । सबै कुरालाई बिचार गर्नुपर्‍यो ।

एकजना जेष्ठ नागरिकले आफ्नो जीवनसाथी गुमाउँदाको एक्लोपना कस्तो हुँदोरहेछ भन्ने अनुमान गरियो । उनलाई खाना पकाउनका लागि भान्सामा छिर्न ढिलो भइसकेको थियो । त्यसैले अनुत्तरित प्रश्नमा रुमलिन छाडेर राजनीतिमा प्रवेश गरियो ।

यहीबीचमा छिमेकी महिला आएर चिया पकाइदिइन् र भनिन्, ‘एकमुठी धनियाँ टिपेर लान्छु है ?’ रमेशले भने, ‘जति चाहिन्छ, लैजाऊ ।’

एमालेमा बिताएका ४० वसन्त : ६ भोटको सजाय !

विसं. २०१८ मा धनकुटाको मनोरम उपत्यका राजारानीमा जन्मेका रमेश चेम्जोङ ०४८ सालमा बसाई झरेर मोरङको केराबारीमा आएका हुन् । उनले ०३७ सालसम्म डाँडाबजार स्कुलमा पढे । त्यसपछि अध्ययन अघि बढाउन सकेनन्, स्कुलबाटै राजनीतिमा लागे ।

​‘डाँडाबजार स्कुल छेउको ढुंगामा धनकुटा क्याम्पसबाट आएका विद्यार्थीको भाषण सुनेर अनेरास्ववियु एकताको पाँचौँमा लागेँ । त्यसबेला किताबमा गाता लगाउने ‘चीन सचित्र’ आउँथ्यो । त्यो हिन्दी र अङ्ग्रेजीमा दुवै भाषामा पाइन्थ्यो । त्यो पढेर प्रभावित भइयो’ चेम्जोङ भन्छन्, ‘अखिलमा बसेरै धेरै कामचाहिँ गरिनँ । तर, राजारानीबाटै ०३८ सालदेखि गाउँमै राजनीति शुरु गरेँ । टेकरत्न चेम्जोङले पार्टी सदस्यता दिनुभयो । पछि उहाँ एमालेबाट राजारानीको गाविस अध्यक्ष हुँदा मैले ८ नम्बर वडाध्यक्षमा चुनाव जितेँ ।’

०४८ मा धनकुटाबाट रकम चेम्जोङलाई प्रतिनिधिसभामा जिताउन जुटेका रमेश सोही साल केराबारी झरेपछि चार वर्षसम्म खेतीपातीमा लागे । धनकुटाले बल्ल मोरङलाई परिपत्र पठायो र उनलाई गाउँ पार्टीले खोज्यो । तर, त्यसपछि उनी वैदेशिक रोजगारीका लागि कतार गए । कतारबाट फर्केपछि उनले घरको आर्थिक स्थितिसुधारे । अहिले घरमा जुन हरियाली देखिएको छ, यसमा कतारको त्यही परिश्रमको बुँद मिसिएको छ ।

कतारबाट फर्केपछि रमेशले केराबारी गाउँ कमिटीमा काम गर्न थाले । सचिव प्रणाली हुँदा उनी दुई कार्यकाल सचिव बने । थप दुई कार्यकाल एमाले गाउँ कमिटीको अध्यक्ष भए । १२ वर्षसम्म उनले केराबारी गाउँ कमिटीको अध्यक्ष चलाए ।

हामीले सोध्यौँ, तपाईले ४० वर्षसम्म दुःख गरेको पार्टी नेकपा एमाले किन छाड्नुभएको त ? ‘एमाले छोड्ने धेरै कारणहरू छन् । एमालेमा कम्युनिस्ट पार्टीमा हुनुपर्ने गुण पनि छैन, बोली पनि छैन’ उनले भने ।

रमेशले अगाडि थप्छन्, ‘धेरै साथीहरू मलाई भन्छन्, तपाई त अभागी हुनुहुँदोरहेछ दाइ । ठूलो पार्टीमा धेरै लामो त्याग गर्नुभो । अब अहिले खानेबेलामा त्यता जानुभो । तपाईलाई दुःखै पाउन मात्रै लेखेको रहेछ । तर, हामीलाई राजनीति गरेर न हिजो केही पाउँला भन्ने थियो, न अहिले छ । म मेरो रहरले कहिल्यै गाउँ कमिटी अध्यक्ष भइनँ । बन्दशेसनभित्र साथीहरुको प्रेसरले गर्दा बनेको हुँ ।’

एमालेमै रहेको भए तपाईंले के खान पाउनुहुन्थ्यो ? कस्तो परिकार खानेबेलामा तपाईंले एमाले छाड्नुभयो ? एमाले नछाडेको भए तपाईंले गाउँपालिकाको टिकट पाउनुहुन्थ्यो कि ? जवाफमा उनी ०७४ सालको स्थानीय चुनावको ‘नोस्टाल्जिया’ मा फर्किए–

२०७४ को चुनावमा मैले साथीहरूलाई भनेको थिएँ, यो मेरो अन्तिमपटक हो, म यो कार्यावधि सम्पन्न भइसकेपछि मोर्चा र पार्टी दुईटैमा काम गर्दिनँ । एकपटक चान्स दिनोस्, मलाई वडा अध्यक्ष बन्ने रहर छ । म गाउँ कमिटीको अध्यक्षले गाउँ पालिकाकै अध्यक्ष रोज्न सक्थें । तर, माथिल्लो कमिटीबाट नवीन मगरजीले रहर गरेपछि मैले त्यसलाई स्वीकार गरेँ । साँच्चै भन्ने हो भने गाउँ कमिटीको अध्यक्ष रहेकाले पार्टीले मलाई वडाध्यक्षमा त सर्वसम्मत गर्नुपर्ने थियो । तर, त्यहाँ निर्वाचन प्रणालीमा गइयो र मलाई हराइयो ।

वडा नम्बर १० को अध्यक्षका लागि पार्टीका संगठित सदस्यमाझ मतदान गराइयो । मेरो पक्षमा मात्रै ६ भोट आयो ।, एकभोट मेरै हो, अरु पाँच जनाले दिए । जंग भुजेलको ३१ र पूर्वशिक्षक पूर्ण मगरको ३० भोट आयो । जंग एमालेका तर्फबाट वडाध्यक्षको उम्मदेवार बन्नुभयो र जित्नु पनि भयो ।

राजनीति गरेरै जिन्दगी बिते पनि म धम्की, प्रलोभन र षड्यन्त्र गर्दिनँ । पार्टीभित्र प्रतिनिधि छान्दा आफ्नै कामरेडलाई खराब भन्न मलाई नैतिकताले दिँदैन । उनीहरूलाई गलत भनेँ भने त मैले पार्टीमा यस्ता गलतहरूलाई बोकेर हिँडेको रहेछु नि त ।

म १२ वर्षसम्म गाउँ कमिटीको अध्यक्ष रहेको व्यक्तिलाई पार्टीका साथीहरूले वडामा हराए । एक भोट मेरै थियो, पाँच भोट आयो भनौँ न । तर, अहिले पनि करिब ८–१० जना साथीहरूले तपाईंलाई भोट दिएको थिएँ भन्दै हिँड्नुभएको छ । जबकि मलाई झरेको भोट पाँचजनाको मात्र हो । नदिनेले पनि भोट दिएको भन्दै हिँडेका छन् । मलाई खुट्याउनै गाह्रो भइराखेको छ ।

म अलोकप्रिय भनौँ भने दुई–दुईचोटि कार्यकर्ताहरुले नै सर्वसम्मतरुपमा गाउँ कमिटीको अध्यक्ष बनाएका हुन् । त्यो भन्दा ६ महिना पहिले मोरङ जिल्ला अधिवेशनमा प्रतिनिधि छनोट हुँदा सबैभन्दा बढी मत मेरै आएको थियो । ३१५ पार्टी सदस्यमध्ये २९९ जनाले प्रतिनिधि छनोटमा मतदान गरेका थिए । त्यसबेला मेरो २८५ मत आएको थियो ।

केराबारीको खदम खोलामा भर्खर–भर्खर क्रसर उद्योग सुरु भएका थिए । व्यवसायीहरूले मापदण्ड उल्लङ्घन गरिहाल्ने । अर्कोथरी साथीहरू बालुवा गिटी उठाउनै नदिने कुरा गर्थे । मचाहिँ मापदण्ड अनुसार गर्नुपर्छ भन्थें । यसले गर्दा मसमेत विवादमा पर्थें । मापदण्ड अनुसार काम गर्नुपर्छ, दोहन गर्नुहुँदैन भनेर म मध्यमार्गी भाषा अपनाउँथेँ । तर, हाम्रै साथीहरू पनि व्यवसायी भएकाले मेरो कुरा पचाउनुभएन । पछि थाहा भएअनुसार केपी गुटका साथीहरू पनि गुटबन्दीमा लाग्नुभएछ ।

राजनीति गरेरै जिन्दगी बिते पनि म धम्की, प्रलोभन र षड्यन्त्र गर्दिनँ । पार्टीभित्र प्रतिनिधि छान्दा आफ्नै कामरेडलाई खराब भन्न मलाई नैतिकताले दिँदैन । उनीहरूलाई गलत भनेँ भने त मैले पार्टीमा यस्ता गलतहरूलाई बोकेर हिँडेको रहेछु नि त । मैले त्यसो भन्न मिल्दैन । अहिले माथिकै नेताहरूमा एक–अर्कामा आरोप लगाउने काम भइराखेको छ । एउटै पार्टीमा हुँदा यसरी आरोप गरागर गर्न हुन्न भन्छु म । पार्टीभित्रै स्वस्थ आलोचना आत्मालोचना गर्नुपर्छ ।

निर्वाचनको निहुँ पारेर आफ्नै कामरेडलाई यो कारणले खराब हो, त्यो कारणले खराब हो भन्नुहुँदैन । साथीहरूले मलाई चाहिँ लाजै पचाएर खराबै बताए । म सोझो मान्छे, जित्छु जस्तो पनि लागेको थियो । केही साथीहरूले दाजु तपाई धरापमा पर्दै हुनुहुन्छ चाहिँ भन्थे, तर मलाई विश्वास लाग्दैनथ्यो । दुई–दुईचोटि गाउँ कमिटीको प्रमुख बनेको, जिल्ला अधिवेशनमा प्रतिनिधि हुँदा अत्यधिक मत ल्याएको । त्यसैले वडा पार्टीभित्रै, आफ्नै पार्टीका साथीहरुबाटै हार्छु भन्ने थिएन ।

‘अब सूर्य ब्राण्डमा ग्रहण लाग्दै जानेछ’

२०७४ सालको स्थानीय चुनावमा भएको अन्तरघातलाई बिर्सने हो भने केराबारी गाउँपालिका एमालेकै पकड क्षेत्र हो । यहाँ ०४९ र ०५४ का दुवै स्थानीय चुनाव एमालेले जितेको थियो । ०७४ को चुनावमा भने गाउँपालिका प्रमुख नेपाली काँग्रेसले जित्यो । तथापि गाउँसभामा भने उपाध्यक्षसहित एमालेकै बहुमत रह्यो । तर, १२ वर्षसम्म गाउँ कमिटी प्रमुख रहेर एमालेलाई जित दिलाउने रमेश चेम्जोङको भागमा चाहिँ हार मात्र पर्‍यो ।

पञ्चायतकालमा रमेशलाई पार्टी सदस्यता दिने धनकुटा चौबिसेका चर्चित एमाले नेता टेकरत्न चेम्जोङ पनि अहिले नेकपा एकीकृत समाजवादीमै लागेका छन् । राजारानीकै बासिन्दा पूर्वसांसद रकम चेम्जोङ त अशोक राईको नेतृत्वमा एमाले छाडेर जसपामा पुगिसकेका छन् ।

‘हिजो हामीले केराबारीमा लठ्ठी उठाए पनि चुनाव जित्थ्यौँ । चुनाव चिन्ह लठ्ठी राखेको भए अहिले त्यो ब्राण्ड नेम हुन्थ्यो’ चेम्जोङले रातोपाटीसँग भने, ‘अहिले साथीहरू सूर्य चिन्हलाई भगवानजस्तो गर्छन् । यो ब्राण्ड किन बन्यो त भन्दा त्यतिखेरका नेताहरूको चरित्र र काम गराइ लोकप्रिय थियो । अहिले बनिसकेको ब्राण्ड चुनाव चिन्ह सूर्य छ नि, यो ब्राण्ड कहाँ पुग्छ हेर्दै जानुहोला ।’

चेम्जोङले अगाडि थपे, ‘तत्कालै यही निर्वाचनमा झ्याप्पै समाप्त भएर जाँदैन, त्यता धेरै राम्रा साथीहरू पनि हुनुहुन्छ । तर, यो जुन सूर्य चुनावचिन्ह ब्राण्ड छ, यसमा ग्रहण लाग्दै जानेछ । फरकै पर्दैन । किनभने, हामीजस्ता मान्छेले त्यो छोड्यौँ ।’

रमेश गाउँ कमिटीको प्रमुखका रूपमा आफ्नो १२ वर्षे कालकाल सम्झँदै भन्छन्, ‘मैले जिल्लाका नेताहरु खासै चिनिनँ, आफ्नै नेता चिन्ह गाह्रो भयो । ०५७ सालयता लगातार गाउँ कमिटीमा रहें । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघिसम्म म एमाले केराबारी गाउँ कमिटीको अध्यक्ष थिएँ । म यता लागेपछि पूर्णबहादुर मगर एमालेको अध्यक्ष बन्नुभएको छ ।’

पञ्चायतकालमा रमेशलाई पार्टी सदस्यता दिने धनकुटा चौबिसेका चर्चित एमाले नेता टेकरत्न चेम्जोङ पनि अहिले नेकपा एकीकृत समाजवादीमै लागेका छन् । राजारानीकै बासिन्दा पूर्वसांसद रकम चेम्जोङ त अशोक राईको नेतृत्वमा एमाले छाडेर जसपामा पुगिसकेका छन् ।

केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्ति लिम्बु भने माधव नेपाल पक्षलाई छाडेर एमालेमै अडिएकी छिन् । एमाले नफुट्दासम्म केराबारीको पुरै गाउँ कमिटी नै माधव नेपालको पक्षमा थियो । रमेश सुनाउँछन्, ‘ओली गुटमा यहाँ तीनजना मात्रै थिए, खड्ग बस्नेत, खगेन्द्र सुवेदी र टेकबहादुर लिम्बु । उनीहरू ब्रान्डेड ओली पक्षका । यो हिसाबले हेर्दा माधव पक्षको बलियो स्थिति हुनुपर्ने । तर, शान्ति लिम्बु उतै रहनुभयो र केही साथीहरूलाई रोक्नुभयो । अहिलेको माहौल हेर्दा साथीहरूमा अवसरवाद देखियो ।’

केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की नेपाली काँग्रेसका तर्फबाट फेरि अध्यक्षमा चुनाव लड्ने तयारीमा छन् । रमेश चेम्जोङमाथि ०७४ मा एमालेले गरेको ‘अपमान’ लाई सम्झँदै कार्कीले रातोपाटीसँग भने, ‘वडा नम्बर १० मा हामी एकीकृत समाजवादीबाट रमेश चेम्जोङलाई वडाध्यक्षमा सघाउन र गठबन्धन गर्न तयार छौँ ।’

तर, काँग्रेसले केराबारी १० मा एकीकृत समाजवादीलाई छाड्न तयार भए पनि सत्ता गठबन्धनमै रहेको माओवादी यसका लागि तयार छैन । वडा नम्बर १० को वडाध्यक्ष माओवादीले दाबी गरिरहेको छ ।

बिराटनगरमा एमाले नेता विनोद ढकालले निकालेको हिसाब । अनि, केराबारीमा कार्यकर्ता रमेश चेम्जोङको बेहिसाब जिन्दगी । शायद चुनावी राजनीति भनेकै टाउकाको गणना हो, जिन्दगीको होइन !   

कमेन्ट

  1. March 19, 2022, 12:33 p.m. ramesh
    why do sad, stupid and isolated cases when highlighted like in this article always have to be about indigenous community people?
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।