शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुस्तक चर्चा : मैले बाँचेको ‘उत्सुकता’को जीवन

शनिबार, ०५ चैत २०७८, १२ : २२
शनिबार, ०५ चैत २०७८

बालबालिकालाई लक्षित गरी लेखिएको सरिता परियारको बालकथा संग्रह ‘उत्सुकता’ले जो कोहीको झन् उत्सुकता बढाई दिन्छ कि यो कस्तो विषयको पुस्तक होला भनेर । यो चित्रमय किताब बालबालिका लागि मात्र नभई हरेक उमेर र वर्गका लागि पनि ज्ञानवद्र्धक र प्रेरणादायी पुस्तक हुन सक्छ ।

म आफै पनि हामीजस्ता दलितको भोगाइको कथा विद्यालयमा किन पढाइ हुँदैन भनेर सोच्थें । दलित बालबालिकाले आफै विभेद भोग्दा हाम्रो कुरा बुझ्ने शिक्षक शिक्षिका नभएका बेला कसरी कुरा राख्छन् भनेर सोच्थें । मैले पढेकी थिएँ– नेपाली समाजमा तल्लो जातले छोएको उपल्लो जातले खाँदैन । यता साहित्यको सन्देश दिने क्रममा भनिएको हुन्छ, समाजमा विद्यमान जातभात र छुवाछूतको समस्या सामाजिक कुरीति हो । यस्ता सामाजिक कुरीति विरुद्ध कसले के गर्ने भन्ने विषय स्कुल क्याम्पसका किताबमा पाइँदैन ।

मैले पढेको सामाजिक शिक्षामा पनि जातभातलाई सामाजिक कुरीति भनेर सामान्य रुपमा मात्र उल्लेख गरेको पढेर हुर्केकी हुँ । मजस्ता धेरै विद्यार्थीले जातीय मुद्दाको विषयलाई सामान्य मुद्दा हो भनेर बुझे । तर यो पुस्तकले भने जातीय समस्याले ठूलो समस्याको रुपमा रहेको र यसले कसरी बालमस्तिष्कलाई आकार दिइरहेको हुन्छ भन्ने विषयलाई उठान गरेको छ ।

नेपालमा बालबालिकाको लागि जात व्यवस्थाबारे सजिलै बुझ्ने किताब छैन । बालबालिकाले जातभातको विषयलाई कसरी बुझ्छन् र बुझ्नुपर्छ भन्ने विषय पुस्तकमार्फत् सबैले जानून् भन्ने इच्छा मेरो मनमा थियो । कहिलेकाहीँ त अरु कसैले नलेखे म आफै लेख्छु भन्ने पनि लाग्थ्यो । सरिता परियारजस्ता दलित विषयमा सशक्त रुपमा कलम चलाइरहने व्यक्तित्वले यसै विषयमा बालबालिकाको लागि कथा लेख्नुभएकोमा सराहनाको पात्र हुनुहुन्छ ।

यस कथामा कथाकार परियारको ‘उत्सुकता’ शीर्षक सार्थक भएको छ । वास्तवमा बालबालिकाहरु जहिले पनि नयाँ कुरा जान्ने र बुझ्न खोजी नै रहन्छन् । के, किन, कसरी ? यस्ता प्रश्न गरिरहन्छन् । यस कथामा उत्सुकता बालिकाले आफू आफ्नो परिवार आफ्ना समाज र विद्यालयबारे प्रश्न गरेकी छन् । तर समाजमै भोगेका उनको प्रश्नको उत्तर न किताबमा पाइन्छ, न शिक्षक र आमाबुबासँग छ ।

कथाकारले सुरुमा नै यो कथा कल्पनामा आधारित नभई कल्पनाभन्दा पनि डरलाग्दो वास्तविकता भन्नुभएको छ । पक्कै पनि जातभात र छुवाछूतको भोगाइ डरलाग्दो र पछिसम्म पनि पिरोलिरहने शरीरकै एउटा क्यान्सरजस्तै हुने रहेछ । यो पुस्तक पढिरहँदा मैले धेरै ठाउँमा आफूलाई नै पाएँ र कताकता नराम्ररी बिथोलिएँ पनि ।

कथा पढ्दा पढ्दै बाल्यकालमा आफैले भोगेको विभेदका घटना एकपछि अर्को गर्दै मगजमा आउन थाले । एउटा मानिसले आफूजस्तै देखिने अर्को मानिसलाई गर्ने भिन्न व्यवहार सम्झिँदा उदेक लाग्यो । स्कूल पढ्दा मेरा साथीहरुले कहिले हँसीठट्टामै त कहिले रिसको झोंकमा पन्चेबाजा भनेर जिस्काउँथे । आफूलाई झन्नक रिस उठ्थ्यो तर केही गर्न सकिँदैनथ्यो । बाबाआमाले त्यतिबेलासम्म हामी तल्लो जात हो भनेर मेरो दिमागमा घुसाइसक्नुभएको थियो । मेरो बाबालाई पनि छिमेकीले उहाँको नामले हैन, हेपेर अर्कै नामले बोलाउने रहेछन् । हामीलाई हाम्रै नामले बोलाउँदा पनि गैरदलितहरुलाई सकस हुन्छ ।

उत्सुकताका अभिभावकले जस्तै मेरो घरमा पनि आमाबाबाले परम्परागत पेसालाई अँगाल्नु भएको छ । उहाँहरु दुवै जनाले लुगा सिउँदै हामीलाई हुर्काउने काम गर्नुभएको छ । कपडाबाट विभिन्न आकारको डिजाइनका लुगा सिउन उहाँ दुवै जना नै सिपालु हुनुहुन्छ ।

यस कथाले दलित समुदायका विभिन्न जातका मानिससँग भएको सीप र कलालाई राम्रोसँग उजागर गरेको छ । जसरी उत्सुकताका बाबाले आफ्नो पन्चेबाजालाई माया गरेर सधैँ काम सकिएपछि सफासँग पुछपाछ गरेर राख्छन् । हामीले आफ्नो परम्परागत सीप र कलालाई सम्मान गर्नुपर्छ भनेर पनि यस कथाले सिकाएको छ ।

कथामा पन्चेबाजाको मीठो धुनमा उत्सुकताकी आमाले अछूत हुनुको पीडा र दलित महिला हुनुको दुःखलाई गीतमार्फत् नै पोखेकी छिन् । उत्सुकतालाई पन्थेनी बज्यैले गरेको व्यवहारजस्तै मलाई पनि पसलबाट सामान लिँदा छोइन्छ कि भनेर टाढाबाट सामानहरु दिइएको घटना बिर्सेकी छैन । कथा पढ्दै जाँदा याद भयो– उत्सुकताले जसरी मेरो आफ्नै विद्यालयको शिक्षकले अँध्यारो अनुहार लगाएर मलाई पुरस्कार दिएका थिए । एउटा हाजिरी जवाफमा पनि पहिलो हुँदा मुख्य अतिथिलाई मायाको चिनो दिने बेला म क्याप्टेन हुँदाहुँदै मसँगै बसेकी अर्को साथीलाई दिन लगाइएको थियो ।

मैले र उत्सुकताले भोगेको परिस्थिति भिन्नभिन्नै भएतापनि शिक्षक शिक्षिकाले गर्ने व्यवहार भने फरक थिएन । यस्तो दुर्व्यवहारले बालबालिकाको आत्मबल घटाइदिन्छ । शिक्षकहरुले सबै विद्यार्थीलाई समान व्यवहार र संवेदनशील हुनुपर्ने सन्देश यो पुस्तकले दिन्छ ।

यस कथामा मानिसले मानिसलाई छुवाछूत गरेतापनि प्रकृतिले भने सधैँ माया र न्यानोपन दिइरहेको कुरा पनि उल्लेख छ । भन्न त मानिसलाई सबैभन्दा श्रेष्ठ, सभ्य र बुद्धिमान प्राणी भनिन्छ । तापनि जातभात बनाउने गरी मानिसको बुद्धि र ज्ञानको गलत प्रयोग हुँदै आएको छ ।

ठूली भएर लेखिका बनेकी उत्सुकताले आफ्नो कलममार्फत् यस्ता अनुभव र अनुभूतिलाई केलाउने प्रयत्न गरेकी छन् । त्यसरी नै यस कथाका पाठकले पनि यी समस्या कसरी सुरु भयो र किन सुरु भयो भन्ने प्रश्नमा गहिरो अध्ययन गर्ने बाटो खोल्न यस किताबले मद्दत गर्न सक्छ ।

यस पुस्तकले अबका बालबालिकामा पनि यी जातीय समस्या र छुवाछुतको समस्यालाई सामान्यीकरण नगरेर आफ्नै घर समाजमा प्रश्न गर्ने वातावरण सिर्जना गर्न मद्दत गर्दछ । मलाई आश छ, यस्ता प्रश्नको तत्काल जवाफ नभेटिए पनि आफैले गहन अध्ययन गरेर जवाफ खोतल्न प्रयास गर्नेछन् । जातभातका आधारमा हुने कुनै पनि किसिमका बहिष्करण र विभेद असह्य हुने कुरा सबै थरीका बालबालिकाले पनि बुझ्नेछन् । जातीय विभेदविरुद्ध लड्न हाम्रो आफ्नै कथामा आधारित पुस्तक र विचार पनि औजार हो भन्ने सन्देश यस पुस्तकले दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप