बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन हुँदैन कि भनेर शंका नगर्दा हुन्छ : प्रकाशमान सिंह

सोमबार, ०७ चैत २०७८, १९ : १७
सोमबार, ०७ चैत २०७८

नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घर दैलो अभियानलाई तीव्र बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । सोमबार काँग्रेस बागमती प्रदेश कार्यसमितिको हेटौंडास्थित कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले मतदाताको घर–घरमा पुगेर उनीहरुको सुख दु:खमा सरिक हुँदै आवश्यक सुझावसमेत संकलन गर्न सकेमात्रै जनताको विश्वास र मत दुवै प्राप्त हुने बताए ।

‘स्थानीय निर्वाचन नजिकिएको छ । हामी जनताको घर आँगनमा पुग्न सकेका छौँ कि छैनौँ ? म राम्रो उम्मेदवार हुँ मैले जितिहाल्छु भनेर बसेर हुँदैन है, जनताको बीचमा पुग्न सक्नुपर्छ । उनीहरुको अवस्था कस्तो छ ?, जनहितमा पार्टीले के गर्न सक्छ ?, जनताको हामीप्रति असन्तुष्टिहरू छन् कि ? काँग्रेसले सुधार्नुपर्ने पो केही छ कि ? यी सबै विषयमा गम्भीर हुनु आवश्यक छ ।’ सिंहले भने । उनले सरकारले निर्वाचनको मिति तय गरिसकेको अवस्थामा पनि केहीमा अझै चुनाव हुँदैन कि भन्ने शंका देखिएकोले दोधारमा नपर्न आग्रह गरे । ‘सरकारले निर्वाचनको मिति तोकिसकेको छ, निष्पक्ष ढंगबाट निर्वाचन गराउन सरकार तयारी अवस्थामा छ । तर, केही मानिसहरुमा निर्वाचन तोकिएको समयमा नहुने हो कि भन्ने शंका रहेको पनि देखियो । तोकिएकै मितिमा निर्वाचन हुने, म विश्वास दिलाउन चाहान्छु । हामी विधि र प्रक्रिया अनुसार चल्ने पार्टी हौँ, चुनाव हुन्छ ।’

उनले चुनावी गठबन्धनको विषयमा भने विभिन्न स्तरबाट केन्द्रीय सम्पादन समितिले सुझाव संकलन गरिरहेको र सोही आधारमा एउटा निष्कर्षमा पुगिने स्पष्ट पारे । ‘धेरै सुझावहरु आएका छन्, कसैले निर्वाचनमा एक्लै जानुपर्छ भन्नुभएको छ, केहीले गठबन्धन नगरी हुँदैन भन्नुभएको छ । पार्टीको आन्तरिक सुझाव अनुसार नै अघि बढ्ने हो । गठबन्धन हुने नहुने वा आवश्यकता अनुसार हुने भन्ने विषय केही दिनभित्रै केन्द्रीय कार्यसम्पादन समितिले टुंगोमा पुर्याउँछ,’ सिंहले भने ।

कार्यक्रममा काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेश कार्यसमिति काँग्रेसलाई जनताप्रति अझै जवाफदेही र जिम्मेवार बनाउन सक्रिय ढंगबाट अघि बढिरहेको बताए । उनले काँग्रेस नेपाली जनताको मन मुटुमा बसेको पार्टी भएको बताउँदै काँग्रेसप्रति जनताको विश्वास अझै आर्जन गर्न सबैले आ–आफ्नो क्षेत्रमा भूमिका निर्वाह गर्नुपर्ने बताए । आन्तरिक विवादहरुलाई मिलाउँदै, सबैको सुखदुखमा सरिक हुँदै सबैको विचार भावनाको सम्मान गर्दै कांग्रेस अघि बढ्ने बानियाँले प्रष्ट पारे । काँग्रेसको संगठनलाई अझै चुस्त दुरुस्त बनाउने सन्दर्भमा प्रदेश कार्यसमितिले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।

कार्यक्रममा काँग्रेसबाट बागमती प्रदेश सरकार र प्रदेशसभामा प्रतिनिधित्व गरेका मन्त्री तथा सांसदहरु प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, १३ वटै जिल्लाका सभापतिलगायत पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । साथै प्रदेश कार्यसमितिको तेस्रो बैठक पनि आजै बस्ने भएको छ । प्रदेश महाधिवेशन पश्चात नै हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ मा पार्टीको प्रदेश कार्यालय स्थापना गरिएको थियो । सोमबार भने त्यसलाई औपचारिक रुपमा उद्घाटन गरिएको हो । कार्यक्रममा नेता सिंहलगायत काँग्रेसका नेताहरुले स्व। गिरिजाप्रसाद कोइरालाको तस्वीरमा माल्यापर्णसमेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप