शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बर्सेनि २० वर्षभन्दा कम उमेरका ९ हजारले गराउँछन् सुरक्षित गर्भपतन

सबैभन्दा धेरै बागमती प्रदेशमा
मङ्गलबार, ०८ चैत २०७८, १० : ०७
मङ्गलबार, ०८ चैत २०७८

नेपालमा सुरक्षित गर्भपतन गराउनेमध्ये कम्तीमा १० प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको पाइएको छ । परिवार कल्याण महाशाखाका अनुसार आर्थिक वर्ष ०७७/७८ मा ७९ हजार ९५३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । 

अनिश्चित गर्भ रहेमा १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गराउन पाइने प्रावधान छ । गएको तीन वर्षमा २० वर्षभन्दा कम उमेर समूहमा सुरक्षित गर्भपतन गराउनेहरुको आँकडा हेर्दा वार्षिक नौ हजार जनासम्मले गर्भपतन गराएको पाइएको छ । 

सुरक्षित गर्भपतन गराउने २० वर्षभन्दा कम उमेर समूहका सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन् । यस्तै, सबैभन्दा कम सुरक्षित गर्भपतन गर्ने वृद्ध समूह गरेका छन् । २०७४/७५ मा सुरक्षित गर्भपतन गराउने २० वर्ष भन्दा कम उमेरका ९ हजार ८६४ जना थिए । यस्तै २०७५/७६ मा ८ हजार १६० जनाले गर्भपतन गराएकोमा ७ हजार ९०८ जनाले सुरक्षित गर्भपतन गराएका थिए । यस्तै उल्लेखित तीन वर्षमा २० वर्षभन्दा कम उमेरका युवतीले क्रमशः १० प्रतिशत, ९ प्रतिशत, ९ प्रतिशतले सुरक्षित गर्भपतन गराएको सरकारी आँकडाले देखाउँछ  ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको परिवार नियोजन तथा सुरक्षित गर्भपतन शाखाका प्रमुख नर्स सगुन थापाका अनुसार दैनिक १४ देखि १६ जनासम्मले सुरक्षित गर्भपतन गराउँछन् । जसमा २० वर्षभन्दा कम उमेरका दैनिक एक–दुई जना आइपुग्छन्  । महिनामा करिब ४ सय ८० जनाले सुरक्षित गर्भपतनको सेवा लिन्छन् भने तीमध्ये २० वर्षभन्दा कम उमेर समूहका १५ देखि १८ जनामा सुरक्षित गर्भपतनका लागि अस्पताल पुग्ने गर्छन् । 

प्रसूति गृहमा वार्षिक रुपमा सरदरमा २१६ जनाले  सुरक्षित गर्भपतन गराएको अस्पतालले जनाएको छ । प्रसूति अस्पतालका नर्स थापाका अनुसार २० वर्षभन्दा कम उमेर समूहका युवती सुरक्षित गर्भपतनका लागि न्यून सङ्ख्यामा आउने गरेका छन् । सुरक्षित गर्भपतन गराउन सरकारी स्वास्थ्य संस्थामा भन्दा निजी स्वास्थ्य संस्थामा २० वर्षभन्दा कम उमेरका पुग्ने गरेको परिवार कल्याण महाशाखाका एक अधिकारीको भनाइ छ । 

सर्जिकल गर्भपतन गराउने अवस्था

सुरक्षित गर्भपतन मेडिकल र सर्जिकल गरी दुई तरिकाबाट गरिन्छ । २० वर्षसम्ममा सुरक्षित गर्भपतन गराउने मध्ये करिब १० प्रतिशतले सर्जिकल गर्भपतन गराएको पाइएको छ । २०७६/७७ मा २० वर्षसम्मका १२ प्रतिशत अर्थात् ९ सय ४८ जनाले सर्जिकल गर्भपतन गराएका छन् । यस्तै,२०७५/७६ मा सर्जिकल गर्भपतन गराउनेको सङ्ख्या १ हजार २८ जना अर्थात् १३ प्रतिशत रहेको छ । २०७४/७५ मा सर्जिकल गर्भपतन गराउनेको सङ्ख्या ११ प्रतिशत अर्थात् १ हजार ८५ रहेको छ ।

 नेपालमा कानुनत २० वर्ष नपुगी विवाह गर्न पाइँदैन । तर, समुदायमा २० वारी मागी तथा भागी विवाह गर्ने चलन कायमै रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । विवाहित तथा अविवाहितले गर्भपतनलाई गर्भनिरोधकको साधनको रुपमा बुझ्न नहुने स्वास्थ्यकर्मीहरु बताउँछन् । किशोर किशोरीका लागि स्कुलको पाठ्यक्रममै महिनावारी, सुरक्षित र असुरक्षित यौनसम्पर्क, परिवार नियोजनका साधन के हो र गर्भपतन भनेको के हो भनेर  जानकारी जरुरी भएको महिला स्वास्थ्य र विकासमा काम गर्दै आएकी नर्स दुर्गा सापकोटाको भनाइ छ । 

 नसै सापकोटा भन्छिन्, ‘अब, असुरक्षित यौनसम्पर्क बारेमा बुझाउँदा, गर्भनिरोधक साधनका विषयमा कुरा गर्दा वा अध्ययन गराउँदा शिक्षक शिक्षिका, घरका अभिभावकले किशोर अवस्थामा टेकेकालाई प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी गराउन पछि पर्न भएन ।’

यस्तै, जनस्वास्थ्यविद् अरुणा उप्रेतीले युवा युवतीलाई गर्भनिरोधकका साधन, परिवार नियोजनका साधन महिला/ पुरुषका लागि केके भनेर जानकारी दिन अति आवश्यक रहेको ठान्छिन् । परिवार कल्याण महाशाखा अन्तर्गतको परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख कविता अर्यालका अनुसार अपरिपक्व उमेरमा गर्भवती हुँदा स्वास्थ्यका दृष्टिले धेरै त्रास हुन्छ । त्यसैले परिवार योजना तथा प्रजनन स्वास्थ्यका बारेमा सबै उमेर समूहलाई बुझाउन अत्यावश्यक भएको उनको भनाइ छ । 

केही क्षणका लागि सजिलो बाटो अपनाउन २० वर्ष कम उमेर समूहकाले सुरक्षित गर्भपतन गराए पनि भविष्यमा स्वास्थ्यका दृष्टिले समस्या आउन सक्ने डा. उप्रेतीको भनाइ छ । विवाह पूर्व वा विवाह पछाडि दुवै जनाले अनिच्छित गर्भ रहन नदिनका लागि गर्भनिरोधकका साधन प्रयोगमा पुरुष महिलाले सल्लाह गर्न अतिआवश्यक पर्ने उनको जिकिर छ ।   

 डा. उप्रेतीका अनुसार पहिलो पटक सुरक्षित गर्भपतन गराए पनि स्वास्थ्यमा असर गम्भीर खालका असर देखिन सक्छ । पहिलो पटक सुरक्षित गर्भपतन गराउनेले खासै रगत जाँच गराउँदैनन् । यदि रगत समूह नेगेटिभ भएको खण्डमा भविष्यमा गर्भमा बच्चा बस्ने सम्भावना न्यून हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ । 

कतिले लिए सुरक्षित गर्भपतन सेवा ?

०७३/०७४ मा ९६ हजार ४१७ जनाले र ०७४/०७५ मा ९८ हजार ६४० जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । आर्थिक वर्ष ०७५/०७६ मा यो सेवा लिने सङ्ख्या घटेर ९० हजार ६७७ जना रह्यो । यस्तै, ०७६/०७७ मा ८७ हजार ८६९ जनाले मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप