शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वतन्त्रताको उडान भर्ने ‘मनबहादुर’

शनिबार, १२ चैत २०७८, ०७ : ११
शनिबार, १२ चैत २०७८

मदन घिमिरे चर्चित चलचित्र निर्देशक हुन् । आमाको माया, घर संसार, कस्तो साइनो, माया नमार, फैसला, स्वाभिमान, म छु नि तिम्रो, मिस्टर डन, भागी भागी नजाऊ जस्ता धेरै चलचित्रको उनले निर्देशन गरेका छन् । उनै घिमिरेले लेखेको पहिलो उपन्यास हो, ‘मनबहादुर ।’ 

आम पाठकको मन छुने खालको कथावस्तु रहेको मनबहादुर भुइँमान्छेका पीडाहरू समेटेर लेखिएको सामाजिक उपन्यास हो । मेची किनारको एउटा बस्तीमा जन्मिएको एक पात्रले भोगेका पीडालाई कलात्मक संयोजन यसमा गरिएको छ । १५ अध्यायमा समेटिएको यो उपन्यासको कथावस्तुको सङ्केत कभरपृष्ठमा देख्न सकिन्छ, जसमा दुर्गम पहाडी क्षेत्रमा ढाकरमा भारी बोकेर हिँडिरहेको एक भरियाको चित्र छ । त्यसबाट मनबहादुरको कथालाई नै यो उपन्यासले बोकेको भान हुन्छ । 

कथा संरचनाअनुसार यसको पहिलो अध्याय पूर्वदीप्ती (फ्ल्यास ब्याक) शैलीमा राखिएको छ र अन्त्यमा त्यो कथावस्तु पहिलोसँग मिल्न आएको छ । यो उपन्यासको परिवेश मेची किनार, काठमाडौं, भक्तपुर दरबार स्क्वायर, सिपाडोल, तिथली, सूर्यविनायक, वंशगोपाल र घ्याम्पेडाँडा वरिपरि घुमेको छ । 

उपन्यासको केन्द्रीय पात्र मनबहादुर हो; जो टुहुरो भएपछि काठमाडौं ल्याइन्छ, स्कुलमा भर्ना गरिन्छ तर स्कुलबाट भागेर केही समय सडक बालबालिकाहरूसँग केही समय जीवन गुजार्छ । काठमाडौं जस्तो ठाउँको कडा अनुशासन कायम गर्ने विद्यालयमा अडिन नसकी स्वतन्त्रताको खोजीमा मनबहादुर भागेको छ । हरेक ठाउँमा ऊ स्वतन्त्र भएर हिँड्न रुचाउँछ । 

धनबहादुर, सुन्तली, भँगेरी, शिव दर्जी, तुलसी साहु, बिर्खमान साहु, विष्ट, कोपिला, खलासी दाइ जस्ता पात्र यस उपन्यासमा छन् भने भक्तपुरको बिस्केट जात्रा, चुनावमा भोट हालेका प्रसङ्ग तथा ठाउँ ठाउँमा कविता एवं गीतका पङ्क्तिले उपन्यासलाई अझ रोचक र पठनीय बनाएको छ ।

उपन्यासको पहिलो अध्यायमा मनबहादुरले जीवन निर्वाहका लागि बिर्खमान साहुको पसलको भारी ओसार्ने काम गरेको देखाइएको छ । उसले भक्तपुरको तुलसी साहुकहाँबाट सामान ल्याउने गर्छ । बिर्खमानले दिएको सामानको लिस्ट लिएर घर जान्छ र भोलिपल्ट सोहीअनुसारको सामान लिन भक्तपुर जान्छ । यही नै उसको दिनचर्या बनेको छ । यसैबाट उसको बाँच्ने आधार बनेको छ । यो कथावस्तुको अन्तिम भाग भए पनि पहिलो अध्यायमा राखिएको छ र अन्त्यमा कथा यहीँ आएर जोडिन पुग्छ । 

अध्याय दुई कथावस्तुको प्रारम्भ बिन्दु हो । कथाअनुसार धनबहादुर र सुन्तलीको छोरा मनबहादुर मेची नदी किनारमा बस्थे । एक रात मेची नदीमा आएको बाढीले बस्तीसहित धेरै मानिसलाई बगाउँछ । धनबहादुर, सुन्तली र मनबहादुरलाई पनि बगाएर लैजान्छ । मनबहादुर बाँच्न सफल भए पनि आमाबाबु गुमाएर टुहुरो बन्न पुग्छ । 

सरकारी, गैरसरकारी संस्थाहरूले बाढीपीडितहरूलाई केही थान पाल र खाद्यान्न सहयोग गर्छन् । मनबहादुरको पनि पालमुनि बास हुन्छ । गीत गाउने प्रतिभाले ऊप्रति धेरैजना प्रभावित हुन्छन् । मानव अधिकारकर्मीको टोलीले उसलाई खाने, बस्ने र अध्ययनको व्यवस्था गरिदिने भनेर काठमाडौं ल्याउँछन् । तर नयाँ ठाउँमा ऊ हराएको महसुस गर्छ ।

अध्याय तीनमा मनबहादुर काठमाडौंको परिवेशको सूक्ष्म मूल्याङ्कन गर्छ । विभिन्न स्थानहरू घुम्छ, सबै आयातीत संस्कृति देख्छ । उसलाई यहाँको परिवेशले खुसी पार्न सक्दैन । अध्याय चारमा मनबहादुरलाई सेभ द चिल्ड्रेन भन्ने संस्थाले खानपान, आवाससहितको विद्यालयमा भर्ना गराइदिन्छ तर विद्यालयको पर्खालभित्र बस्न उसलाई रुचि हुँदैन । राति कसैले नदेख्ने गरी ऊ होस्टल छोडेर भाग्छ । 

अध्याय पाँचमा विद्यालयबाट भागेर मनबहादुर रत्नपार्कको भक्तपुर बसपार्क पुग्छ र बसको छतमा सुत्छ । भक्तपुर पुगेर माटाका भाँडा बनाउने ठाउँहरूको अवलोकन गर्छ । बिस्केट जात्राको दिन परेको हुँदा रथ तानेको रमिता हेर्छ । नेवारी प्रचलनबारे केही सोधखोज गर्छ र आफ्नो सानो सारङ्गी बोकेर त्यहाँबाट हिँड्छ । दत्तात्रय मन्दिरको सिँढीमा बसेर सारङ्गी रेट्दै विरहका भाका गाउँछ । 

अध्याय छमा मनबहादुर भक्तपुर दरबार स्क्वायर वरिपरि सारङ्गी रेट्दै गीत गाउने गर्छ । त्यसबापत पर्यटकहरूबाट केही पैसा पाउँछ । सडकमै बस्ने केही केटाहरूसँग उसको सङ्गत हुन थाल्छ । नसालु पदार्थ खान ती केटाहरूले उक्साउँछन् तर खाँदैन । 

अध्याय सातमा सहरी जीवनमा उसले ठूल्ठूला चोर, फटाहा र गुण्डाहरू भेट्छ भने त्यहीँ उसले मानवताका पूजारीहरू पनि भेट्छ । जाडोले मरणासन्न हुँदा लगाएको ज्याकेट फुकालेर दिने किशोरी कोपिलालाई भेटेर ऊप्रति श्रद्धाभाव प्रकट गर्छ । 

अध्याय आठमा कोपिला र मनबहादुरको अनुराग बढ्दै गएपछि कोपिलाका बाबुआमाले दरबार स्क्वायर क्षेत्रबाट लखेट्छन् । त्यहाँबाट भागेर घ्याम्पे डाँडा पुग्छ । त्यहाँ पनि उसले गीत गाउँछ । त्यसबाट शिवजी दर्जीको मन बहलाउँछ र उसले सँगै बस्न प्रस्ताव राख्छ । 

अध्याय नौमा मनबहादुर शिवजी दर्जीको धर्मपुत्र हुन पुग्छ । उसलाई पढ्न भनेर शिवजीले धेरै जोड लगाउँछ तर पढ्न चाहँदैन । उसले मनबहादुरलाई बुबा भन्छ । शिवजी लुगा सिलाउन गाउँतिर जाँदा खेतबारी खनजोत गर्छ । शिवजीले उसलाई धेरै दुःख नगर भन्छ ।

अध्याय दसमा मनबहादुर अचानक बिरामी हुन्छ । रातभरि ज्वरो नघटेपछि शिवजी विष्टहरूकहाँ गएर एम्बुलेन्स बोलाइदिन अनुरोध गर्छ । सबै विष्टहरू मनबहादुरलाई हेर्न अस्पताल आउँछन् । 

अध्याय एघारमा एक साताको अस्पताल बसाइँपछि मनबहादुर र शिवजी घर फर्किन्छन् । केही सञ्चो भएपछि उसले गाउँ, समाज, पहाडका गीत गाउँदै हिँड्छ । शिवजीले मनबहादुरलाई विवाहका लागि आग्रह गर्छ । नातिनातिना खेलाउने रहर व्यक्त गर्छ तर ऊ केही समयपछि मात्र विवाह गर्ने भन्छ ।

अध्याय बाह्रमा घ्याम्पे डाँडाबाट बेँसीमा खेत रोप्न कोदाली बोकेर मनबहादुर जान्छ । त्यहाँ रोपार बाउसेहरू दोहोरी खेल्छन् । दोहोरी खेल्दा मनबहादुरले नै जित्छ । भँगेरी नाम गरेकी रोपाहारले दोहोरीमा उसलाई आच्छु आच्छु पार्छे । त्यसबाट प्रभावित भएर शिवजीले मनबहादुरको बिहे भँगेरीसँग गरिदिन प्रस्ताव अगाडि बढाउँछ । मेलापातमा दैनिक भेटघाट हुँदा उनीहरूबीच प्रेम पनि टुसाउन थालेको हुन्छ ।

अध्याय तेह्रमा सूर्यविनायकको गणेश मन्दिरमा मनबहादुर र भँगेरीको धुमधामसँग विवाह हुन्छ । भँगेरीलाई मनबहादुरले शिवजीकै घरमा भित्र्याउँछ । त्यो खुसीले शिवजीलाई हृदयाघात हुन्छ । कुदाएर अस्पताल लैजान्छन् तर ऊ यस संसारबाट बिदा हुन्छ । 

अध्याय चौधमा मनबहादुरले शिवजीको विधिविधान अनुसार किरिया गर्छ । त्यसपछि जीवन निर्वाहका लागि भारी बोक्ने काममा लाग्छ । दुःखसँग भँगेरी र उसले जीवन गुजार्न थाल्छन् । 

अन्तिम अध्यायमा मानबहादुर जस्ता अनेकौँ व्यक्तिहरूले यस्तै दुःखले जीवन गुजारा चलाइरहेका छन् । त्यसैको वर्णन गर्दै कथा टुङ्गिएको छ । 

यस उपन्यासले हरेक मान्छेलाई विपत्ति आइपर्छ तर उसको प्रतिभाले त्यसको सामना गर्न सघाउँछ भन्ने देखाएको छ । मनबहादुरमा पनि दुःखपीडाका गीत गाउन सक्ने प्रतिभा थियो । त्यही प्रतिभाबाट ऊ मेची बगरबाट काठमाडौं आउँछ, दरबार स्क्वायरमा सारङ्गी रेट्दै गीत गाएर पैसाको जोहो गर्छ, शिवजी दर्जीले धर्मपुत्र बनाउँछ, भँगेरीले पनि पत्याउँछे, घरजम भएको छ । 

अर्को पक्ष भनेको मान्छे विपत्तिमा परे पनि उसले स्वतन्त्रता नै चाहन्छ, स्वतन्त्रताका लागि भोगविलाश त्याग्छ, त्यो कुरा यस उपन्यासले देखाएको छ । मान्छेको जीवन सोचेअनुसार चल्दैन, हरेकले सङ्घर्षबाटै आफ्नो जीवनलाई सार्थक पार्नुपर्छ भन्ने सन्देश दिएको छ ।

कथावस्तु चयन र भाषाशैलीका दृष्टिले यो उपन्यास मन छुने र सरल शैलीको छ । छोटो आयाममा लेखिएको यो उपन्यास एक बसाइँमा पढिसकिने छ । मुख्य पात्र मनबहादुरकै नामबाट शीर्षक राखिएकाले सार्थक पनि देखिन्छ । मुख्य पात्र विपन्न भएर पनि मनबहादुरको मन पनि बहादुर छ । आफ्नो स्वतन्त्रताका लागि हरेक कार्य गर्दै आएको छ । पुस्तक पढ्दा झिजो लाग्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप