बुधबार, २५ माघ २०७९
ताजा लोकप्रिय

नाञ्जिङको त्यो यात्रा

शनिबार, १२ चैत्र २०७८, १० : ५१
शनिबार, १२ चैत्र २०७८

नाञ्जिङ विमानस्थलमा जहाजबाट बाहिर निस्किएर करिब १५ मिनेट हिँडेपछि सुटकेस संकलन गर्ने ठाउँ आइपुग्यो । त्यहाँ केहीबेर कुरेपछि हाम्रो टोलीको सुटकेस भटाभट आउँन थाल्यो । संकलन गर्दागर्दै मेरो सुटकेस पनि आइपुग्यो । मेरो सुटकेसको जिपर त फुस्केको रहेछ । तै सामान छताछुल्ल भएको रहेनछ । तर सामान आएको ठाउँबाट तल ओरालेपछि केही सामान बाहिर खस्यो । बाहिर निस्किएको सामान तह लगाउन खोज्दा सुटकेसभित्र राखेको पचास रुपैयाँको १२–१५ वटा नोट पनि बाहिर छरियो । गुइझाउ विमानस्थलमा हामीलाई स्वागत गर्न आएका चिनियाँ विदेश विभागका (एक महिला सहित) तीनैजना कर्मचारी त्यहाँदेखि हाम्रो चीन यात्राको पूरै दिन हामीसँगै रहेका थिए ।

सुटकेसबाट नोट छरिएको देखेर ती महिला कर्मचारी सरलाले ठट्टा गर्दै भनिन् “ओ हो, सुटकेसमा पनि यत्रो पैसा राख्ने तपाईं त धेरै धनी हुनुहुँदोरहेछ ।” हामी सबै हाँस्यौं । भएको के थियो भने काठमाण्डुबाट लगाएर हिँडेको कोटको भित्री खल्तीमा पचासका केही नोट रहेछन् । त्यहाँ ती नोटका केही काम नहुने भएकोले खस्ला भनेर मैले चीनमा पहिलो बास भएको गुइझाउ पार्क होटेलमा ती नोटहरू सुटकेसभित्र हालिदिएको थिएँ ।

पूर्वी चीनको दोश्रो ठूलो शहर नाञ्जिङ जिआन्सु प्रान्तको राजधानी हो । चीनको प्रसिद्ध नदी याङसे यही शहरमा पर्दोरहेछ । चीनको इतिहास र संस्कृतिमा यो शहरको महत्वपूर्ण स्थान छ र तेश्रो शताब्दीदेखि बीसौं सताब्दीको मध्यसम्म विभिन्न चिनिया राजवंश तथा गणतन्त्रीय सरकारको यो राजधानी रहेको थियो । राष्ट्रिय तथ्यांक कार्यालयको मूल्यांकनमा यो शहर सुद्रिढ विस्तृत शक्तियुक्त सातौं शहर ठहरिएको रहेछ र दीर्घकालीन बिकासको प्रचूर सम्भावना भएको दोश्रो शहर रहेछ । सन् २००८ मा चीनको राम्रो आवास सूचीको सम्मान यसले प्राप्त गरेको रहेछ । प्रकृति सूचांक अनुसार यो शहर तेश्रो प्रमुख अनुसन्धान केन्द्र रहेको शहर मानिँदो रहेछ जहाँका उच्च स्तरीय विश्वविद्यालय तथा अनुसन्धान इन्स्टिच्युटहरू प्रख्यात छन् । चीनका विश्वविद्यालयहरूमा यहाँको विश्वविद्यालय तेश्रोमा पर्दोरहेछ ।

विमानस्थलबाट बाहिर निस्कँदा साँझको पाँच बजिसकेको थियो । हामीलाई बाहिर व्यग्रताकासाथ बसले कुरिरहेको रहेछ । हामी बस चढ्नासाथ ऊ फुर्किएर हल्लिन थाल्यो । धेरैबेर उसले बसिरहन मानेन । १५ मिनेट भित्रैमा ऊ फूर्ति गरेर दौडिन थाल्यो । यो शहर सम्म मैदानमा फैलिएको रहेछ । पहाड चैं यहाँ कतै देखिएन । यहाँ विस्तृत मैदान कतै कतै मात्र देखियो । धेरैजसो ठाउँ रूखै रूखले ढाकिएको रहेछ । बाटाहरू तीन तीन लेनका आउने र जाने रहेछन् र हरेक लेन चौडा रहेछन् । निकैबेरपछि माउताइमा देखिएको भन्दा सानो हरियो ढिस्कोका शृंखला देखियो । यहाँको शहरमा पनि प्रशस्त बहुतले घरहरू रहेछन् । त्यसो त दुई, तीन तले राम्रा घरहरू पनि देखियो । शायद ती निजी घर होलान् । साइनबोर्ड भएका घरमा सबैतिर चिनीया अक्षरमा लेखिएकोले ती ठूला भवन के के हुन् भन्ने बुझ्न नसकिए पनि बाटामा जाँदै गर्दा बसबाटै एउटा भैंतले घरको साइनबोर्डमा भने चिनियाँ अक्षरका साथै अंग्रेजी अक्षर पनि लेखिएकोले त्यो जिम्नेसियम घर हो भन्ने कुरा बुझ्न कठिन भएन । त्यसैगरी त्यस घरको अलि पर अर्को एउटा भैंतले चौडा घर देखियो ।  शाङ्घाई भक्सवैगन लेखिएको त्यस घरभित्र थुप्रै गाडीहरू थिए । शायद त्यो कम्पनीको बिक्रेताको प्रदर्शन कक्ष होला ।

यसरी जाँदैगर्दा केहीबेर पछि बाटाका दुबैतिर जंगल तेर्सिन थाले । म मन्त्रमुग्ध भएर घरी यता घरी उता हेर्न थालें । जंगल झनझन फुल्न थाल्यो र बिस्तारै उसलें  साउती ग(यो “तिमीलाई मेरो साम्राज्यमा स्वागत छ । मनग्गे हाम्रो रसास्वादन गर । हाम्रा पातका रंगले आफ्ना आँखालाई शितलता प्रदान गर ।” म प्रफुल्लित भएर घरी तिनका नाच हेर्थें घरी केही लच्किएर हाम्रो बसलाई छुन खोजेको तिनका छटा नियाल्थें । यति हुँदाहुँदै पातहरूले बाई बाई गर्न थाले । किन यति छिटै बाई बाई गरेको होला, हामीसँग अब तिनीहरूको मन भरिएछ कि क्या हो भन्ठानेको त तिनका बस्ती सकिएको पो रहेछ । आफ्नो सीमा बाहिर हामी जान लागेकोले तिनले बिदाइको हात हल्लाएका रहेछन् । तुरुन्तै फेरि बहूतले घरहरू हाँस्दै हामीलाई स्वागत गर्न थाले । अनि एकैछिनमा सुरसाको मुखभित्र पसे झैं हाम्रो बस एउटा लामो सुरुङभित्र पस्यो । यसको मुखदेखि नैं भित्र निकै चौडा पाइप जस्तो पेट पूरै चहकिलो थियो मानौं हामी झारपानसको उज्यालो देखिरहेछौं । जे भएपनि हामी सुरुङको पेटभित्र पसिसकेका थियौं । हामी आत्तियौं भन्ने ठानेर होला उसले मेरो कानमा फुसफुसायो “धन्दा नमान एकैछिनमा खुला आकाशमुनि एक सुन्दर शहरमा तिमीहरूलाई म पु-याउने काम गर्छु ।” नभन्दै उसले हाम्रो बसलाई पुच्छरपट्टिको मुखबाट के ओकलेको थियो हामी नीलो आकाशमुनिको सुन्दर शहरमा पुग्यौं ।

शहरभित्र दुई दुई लेनका एकतर्फी दुइटा बाटा छन् । तिनका छेउमा दुबैतिर साइकल र मोटरसाइकल चलाउनका लागि छुट्टै बाटा छन् । फेरि तिनका छेउमा पदमार्ग दुबैतिर छन् । कतै बहुतले घरहरू छन् भने कतै दुई तीन तले घरहरू पनि रहेछन् । बहुतले घरहरू व्यवसायिक प्रयोजनका लागि र साना घरहरू निजी प्रयोगका लागि होला भन्ने मैले लख काटें । सडकमा गाडीहरू गुडिरहेका छन् भने अर्को सडकमा स्कुटी वा मोपेड़ र साइकल पनि त्यत्तिकै कुदिरहेका छन् । पदयात्रीको चाप पनि कम देखिएन तर धक्कमधक्का चैं हैन । एउटा अर्को अचम्मको कुरा मैले यहाँ देखें । बाटामा जाँदाजाँदै पदमार्गमा कतैकतै साना ब्यापारीहरू सामान राखेर बेचिरहेका देखियो । बिस्तार बसको गति धीमा हुँदै गयो । किन धीमा गरेको होला ! अचम्म मान्दै थिएँ बस घ्याच्चै रोकियो । घडी हेरें । ६ बजेर १० मिनेट भएको थियो । बस रोकेको कारण त हामीलाई राखिने नाञ्जिङको हुआइआन शहरको न्यू सेन्चुरी ग्राएण्ड होटेल पुगिसकेकोले पो रहेछ । होटेलभित्र रिसेप्सनमा पुगेपछि होटेल प्रमुखले हामीलाई स्वागत गरे । त्यसपछि पहिलेका होटेलमा जस्तै गरी नाम अनुसार हामीलाई कोठाको कार्ड दिइयो । हामी हाम्रो कोठा बाहिर पुग्दा त्यहाँ हाम्रो सुटकेस पु(याइसकिएको रहेछ ।   

सात बजे हुआइयान महानगर जनकाङ्ग्रेसका स्थायी समिति सदस्य तथा पार्टी सचिब याओ जिआयोडोङ्गले हाम्रो सम्मानमा रात्रिभोजको आयोजना गरेका रहेछन् । त्यस होटेलको चिङ्घे हलमा उक्त रात्रिभोजका लागि हामीलाई जानु थियो । त्यसैले औपचारिक पोसाकमा दस मिनेट अगाडि प्रतिक्षालयमा हामी सबै जुट्यौं । हाम्रो यात्राभर हामीसँगै रहेर हामीलाई अत्यन्त सहयोग गर्ने चिनियाँ विदेश विभागका ती तीनजना मित्रहरूले हामीलाई साथ लिंदै होटेलकी परिचारिकाको पथप्रदर्शनमा अगाडि लागे । एकैछिनमा हामी चिङ्घे हलमा पुग्यौं । हल निकै ठूलो थियो । हलमा हामी र महानगरपालिकाका समेत गरेर पैंतीस, छत्तिस जना वरिपरि बसेर भोजन गर्ने एउटा ठूलो गोल आकारमा टेबल राखिएको रहेछ । टेबलमाथि सेतो कपडा ओच्छ्याइएको छ । मेचमा लेखिएको नाम अनुसार हामी बस्यौं । हरेक मेच अगाडि टेबलमा एकै खालका खानेकुराहरू राखिएका छन् । विदेश त अलिअलि घुमेकै हो । अतिविशिष्ट व्यक्तिहरूसँग पनि तिनका समकक्षी विदेशीहरूको निमन्त्रणामा साथै गएको पनि हुँ । तर यति धेरै मानिस सँगै बसेर एकैपल्ट भोजन गरेको पहिलोपल्ट देखें ।

दुवै टोलीका नेता उठेर उपहार आदान प्रदान गरेपछि उनीहरूसँगै सबैजना बस्यौं । अनि  याओ जियाओडोङ्गले उठेर सानो मन्तब्य दिए ।  हाम्रो टोली नेता चक्रपाणि खनाल “बलदेव“ ले प्रत्युत्तर मन्तब्य दिएपछि माउताइको प्याला समातेर दुवै नेताले टोस्ट गरे । त्यसपछि खाना खाने कार्यक्रम सुरु भयो । केही परिचारिकाले सबैको सानो गिलासमा माउताइ  राख्दै आइन् । मैले र हकी कुल्लाह मुसलमानले आआफ्नो टेबलमा राखेको जूस खायौं । टेबलमा राखेको कुकिज र खाने मसला खाँदै थियौं, परिचारिकाहरूले हरेकको अगाडि टेबलमा राखेको प्लेटमा खानेकुरा राखिदिंदै गए । त्यो खानेकुरा सकिंदा नसकिंदै अर्काथरीले नयाँ प्लेट राख्दै पुरानो उठाउँदै गए । नयाँ प्लेटमा फेरि अर्को थरी खाना आइपुग्यो । यो क्रम चलिनैरह्यो । पछि त मैले आफूलाई नयाँ प्लेट नराख्न अनुरोध नैं गर्नुप(यो । राति दस बजेर तीस मिनेटसम्म यो क्रम चलिनैरह्यो । त्यस कोठाबाट हिंड्नु अघि याओ जियाओडोङ्गले हामी हरेकको मेचनिर आएर टोस्ट गर्न थाले । उनले देखाएको आत्मियताले म पुलकित भएँ । मसँग पनि टोस्ट गर्न आए । मैले जुसको गिलाससँग टोस्ट गर्दा उनले माउताइसँग टोस्ट गर्न कर गरेनन् । खुसी भएरै टोस्ट गरे । मेरो बारेमा बुझ्न चाहे ।  मैले छोटकरीमा आफ्नो विषयमा भनें । उनले पनि आफ्नो विषयमा भने । राति कोठामा पुग्दा एघार नाघिसकेको थियो । 

बिहान साढे आठ बजे त्यही होटेलको जमिनमुनिको ठूलो कक्षमा हामी चमेना गर्न गयौं । यहाँ पनि हामी पुग्दा दुई चार जनाभन्दा बढी ग्राहक थिएनन् । हामीले खान सुरु गरेपछि उक्त कक्ष भरिभराउ हुनथाल्यो । चमेना खाएपछि सवा नौ बजे हामी बसमा चढ्यौं । ढिला नगरी हाम्रो बस जनवादी गणतन्त्र चीनको पहिलो प्रधानमन्त्री झाउ एनलाइको पहिलेको घर हेर्न होटेलबाट आधा घण्टाको गुडान गरेर यही हुइयान शहरको एकछेउतिर लाग्यौं । यही नैं झाउ एनलाइको जन्मघर रहेछ ।

त्यहाँबाट हाम्रो बस नानजिङ अन्तर्राष्ट्रिय प्रदर्शन केन्द्रतिर दौडियो । हुइयान एउटा समतल भूमि भएपनि त्यहाँ केही साना पहाडहरू रहेछन् । यहाँको सबभन्दा अग्लो पहाड छ सय छपन्न फिटको रहेछ । यहाँ थुप्रै ताल र नदीहरू छन् । दश काउन्टी मिलाएर २१ अप्रिल १९४९ मा यसलाई जिल्लाको स्तर दिइयो र जनवरी १९५३ मा यसलाई जिआङसु प्रदेशमा गाभियो । डिसेम्बर २१, २००० मा यसको पुरानो हुआइयिनबाट अलिकति बदलेर हुइयान नाम दिइएको रहेछ । अहिले यसले चारवटा जिल्ला र चारवटै काउन्टी परिचालन गर्दोरहेछ । सन् २०१० को जनगणना अनुसार यो महानगरपालिकाको जनसंख्या ४,७९९, ८८९ रहेछ । यो प्रदर्शन केन्द्र हेक्जी न्यू सिटीमा अवस्थित रहेछ । यो केन्द्रको सम्मुखमा हेक्जी बिजिनेस डिस्ट्रिक्ट रहेको छ । जिआङसु प्रदेशको यो एउटा ऐतिहासिक ठाऊँ हो । यस केन्द्रको क्षेत्रपÞmल एक लाख बीस हजार वर्ग मिटर छ । यसमा ६ वटा रङ्गमन्च, ३८ सभाहल आदि छन् र ४५०० अन्तर्राष्ट्रिय स्तरको ठूला प्रदर्शन मण्डप छन् । त्यसमाथि अरू दुई रङ्गमन्च र व्यवसायीक होटेल बन्दैछन् । यस केन्द्रको खाका प्रसिद्ध अमेरिकन टिभीएस डिजाइन कम्पनीले गरेको हो र यस केन्द्रले अन्तर्राष्ट्रिय स्तरका ठूला ठूला सभाहरूको आयोजना गरिसकेको छ ।

यसपछि हामी नाञ्जिङ म्युजियमतिर लाग्यौं । यो नाञ्जिङको ऐतिहासिकस्थल रहेछ । सन् १९३३ मा बनेको यस म्युजियमले झन्डै ८० बिगाहा क्षेत्र ओगटेको छ । यसमा मुख्य दुइवटा भवन छन् । त्यसमध्ये कला प्रदर्शन हलमा एघार शाखा छन् । ती शाखाहरूमा कास्य सामाग्री हल, हरित सामाग्री हल, चित्रकला हल, कास्चोबी हल, माटाका भाँडाकुँडा हल, पोर्सेलिन भाँडाकुँडा हल, लाहाका भाँडाकुँडा हल, लोककथा हल, आधुनिक कला हल, हस्तलिपि तथा चित्रकारिता र बहुमूल्य वस्तु हल हुन् । बहुमूल्य वस्तु हल हामीले हेर्न पायौं वा पाएनौं अहिले सम्झना छैन । चित्रकारिता सम्बन्धि कुरा आफ्नो दिमागमा खासै जम्न नसक्ने र अत्यन्त कम जानकारी भएकोले त्यसको वर्णन मेरो बुता बाहिरको रह्यो । विभिन्न वस्तुबाट निर्मित भाँडाकुँडाले चैं मेरो मन खिचेकै हो । कतिपय भाँडाकुँडाहरू धेरथोर हाम्रो देशका भाँडाकुँडा जस्तो लागे पनि तिनका आकार र नाप हाम्राभन्दा निकै फरक थिए । कतिपय भाँडाकुँडा अति आकर्षक थिए । यद्यपि कतिपय भाँडाकुँडा प्राचीन कालका थिए तर तिनले पनि मलाई आकर्षित नगरी रहन सकेनन् । मिङ वंशको काठका प्राचीन फर्निचर पनि हाम्रा वर्तमान पÞmर्निचरभन्दा कम थिएनन् । ती उन्नत स्तरका थिए । त्यसैगरी साना साना टायलको चिप्स जस्तो वस्तुहरू चाँदीको तारले एकअर्कासँग जोडिएको मानिसको पूर्ण कदको पोसाक सहितको सम्पूर्ण शरीर ढाकिने गरी लगाएर सुताएको थियो । सोध्दाखेरी जवाफ पाइयो “त्यो पोसाक पहिले राजाहरूलाई मृत्यू पश्चात लगाइदिएर गाडिने चलन थियो । धेरैपछि चिहान उत्खनन गर्दा भेटिएको त्यो पोसाक यहाँ ल्याएर राखिएको हो ।” प्राचीन कालमा बुन्ने गरिएको तान पनि त्यहाँ रहेछ ।

त्यति मात्र हैन, जमाजम्मी दश मूर्तिशाला (दलानं)मा रहेको र सत्र हजार वर्ग मिटर ओगटेको यस भवनमा प्राचीन चीन चिनाउने मूर्तिहरूमा बिभिन्न राजवंशको र प्रागैतिहासिक जानकारी दिन राखिएका मूर्ति तथा काठ, माटा र काँसका हस्त कलाकारिताको प्रदर्शन हुनेगरी भाँडाकुँडा, जनावर आदि पनि समेटिएका छन् । पच्चिस सयभन्दा बढी वस्तुका साथै दुई हजार बहुमूल्य सांस्कृतिक स्मृति चिन्ह रहेको यो अजायब घरमा पाँच सय जति अत्त्युत्तम खालका छन् । यी बस्तुहरूले चीनका बिभिन्न ऐतिहासिक कालका राजनैतिक,आर्थिक,सांस्कृतिक तथा सामाजिक विकासक्रमका साथै बिभिन्न कालमा उसको बैदेशिक सम्बन्धको जानकारी पनि दिएको छ ।

यहाँबाट निस्किएर फेरि हामीले बसको यात्रा जारी राख्यौं । घडीमा एघार बज्न थोरै बाँकी हुँदा हामी शाण्डोङ प्रान्तको कुफु शहर पुग्यौं । यो शहरमा चीनका प्रसिद्ध गुरू, सम्पादक, राजनीतिज्ञ तथा महान दार्शनिक कन्पÞmुसियसको मन्दिर रहेछ । त्यो कन्पÞmुसियसको मन्दिरतिर जाने बाटो मूल बाटोसँग जोडिएको रहेछ । मूल बाटोमा अलि परै बसले हामीलाई ओरालिदियो । करिब पाँच मिनेट हिंडेपछि सडकबाट हामी बायाँतिर मोडियौं । हाम्रो अगाडि बिशाल खुल्ला ढोका (हाम्रो नयाँ सडक को जस्तो) उभिएको थियो । उसले मुस्कुराउँदै भन्यो “स्वागत छ, प्रिय पाहुनाहरू । मलाई ठिङ्ग उभिएको देखेर सुर्ताउनु पर्दैन । म तिमीहरूलाई रोक्न उभिएको हैन, स्वागत गर्न पो उभिएको हो । हेर न, मसँग न खापा छ न चौकोस । रोक्न उभिएको भए खापा सहित उभिएर खापा बन्द गरिहाल्थें नी ।” म उसको शालीन उभ्याइमा मख्ख परें । हामीलाई आधा घण्टा घुम्ने समय दिइएको थियो ।

हामी त्यो खुल्ला ढोकाबाट छिरेर अगाडि बढ्यौं । भूईंमा स्लेट छापिएको रहेछ । ढोकाभित्र सडकको दुबैतिर पसलहरू रहेछन् कतै तयारी लुगाका त कतै रेस्टुरेन्ट । अलि अगाडि बढेपछि त्यो सडक काठमाण्डुको बसन्तपुर जस्तै चौडिएर चोक बनेको रहेछ । चोकको दायाँपट्टि नहर रहेछ । छेउमै पुल भएको त्यस नहरमा थुप्रै डुङ्गाहरू लामबद्ध अडिरहेका थिए । म एकछिन नहर हेर्नमा अलमलिएँ, साथीहरू कता पुगेछन् कुन्नि । लाग्यो अगाडितिरै गए होलान् । नहरबाट फर्केर चोकतिर के लागेको थिएँ म अचम्मको दृष्य देखेर स्तम्भित भएँ । यहाँ त भारतको कलकत्तामा जस्तै मान्छेले तान्ने रिक्सा रहेछ ।  मानिसहरू बसेका रिक्सा मानिसले नै तानिरहेका थिए । यस्तो रिक्सालाई प्रतिबन्ध लगाउन प्रान्तीय सरकारको ध्यान किन नगएको होला  ! म साथीहरूलाई खोज्दै हिंडें । त्यो चौडा चोक सकिएपछि फेरि स्लेट छापिएको चौडा बाटो सुरू भयो । बाटोको एकातिर अगाडि तीनजना पछाडि तीनजना बस्न मिल्ने सिट भएको हाम्रो टेम्पो जस्तो तर फराकिलो आठ नौ वटा गाडी यात्रुको प्रतिक्षामा उभिरहेका थिए । सबभन्दा अगाडिको गाडीमा चारजना बसिसकेका थिए । त्यो गाडी शायद अरू दुइजनाको प्रतिक्षामा भएकोले अडिरहेको थियो । यहाँ पनि सडकको दुबैतिर पसलहरू थिए । साथीहरू पसलभित्र छिरे कि भन्ने लागेर बाटोबाटै हेर्दै अलि परसम्म गएँ । मलाई कन्फुसियस मन्दिर पनि हेर्नु थियो । कतापट्टि हो थाहा थिएन । दुई तीन जनालाई सोधें । भाषाको समस्याले पत्तो पाउन सकिन । निकै पर पुग्दा पनि कुनै साथी नभेटिएकोले समय घट्किएला भनेर म सिधै पछाडि फर्किएँ र फेरि चौडा चोकमा आइपुगें । यताउति हेर्दै थिएँ एकजना महिलाले आफ्नो क्यामेरा मलाई थमाएर उनको र उनकी महिला साथीको फोटो खिचिदिन अनुरोध गरिन् । ओ हो यिनी त अंग्रेजी बोल्दिरहिछन् । फोटो खिचिदिसके पछि कन्फुसियस मन्दिर कता छ भनेर उनलाई सोधें । उनी चिनीया भएपनि अंग्रेजी बोल्ने भएकोले मलाई उत्तर पाउन अप्ठेरो भएन । धत्तेरी, चोकको एकापट्टि नहर र अर्कोपट्टि कन्फुसियस मन्दिर रहेछ । म त्यतैतिर हानिएँ । भित्र त धेरैबेर लाग्ने भएकोले समय थिएन । म पÞmर्किनै लागेको थिएँ अघि फोटो खिच्न अनुरोध गर्ने महिला मतिरै आइपुगिछन् । उनले भनिन् “भित्र हिंड, म तिमीलाई पनि टिकट काटिदिन्छु ।”

मैले मुस्कुराउँदै भनें “धन्यवाद, माफ गर्नुस, मसँग समय छैन ।”

हात हल्लाएर बिदा भै अघि पसेको खुल्ला ढोकातिर फर्कंदै थिएँ, साथीहरू त तयारी पोसाकको पसलभित्र लुगा छान्दै हुनुहुँदो रहेछ । आफूलाई किन्न नपर्ने भएपनि एकछिन साथीहरूसँग त्यहाँ अलमलिएर हामी सबै त्यही ढोकामा आइपुग्यौं । त्यहाँ सबै जम्मा भैसकेपछि चिनीया साथीहरूले हामीलाई मूलबाटो काटेर पारीपट्टि लगे । त्यहाँ बसले हामीलाई अधैर्य भै कुरिरहेको थियो । त्यसैले होला त्यो थर्थराइरहेको थियो ।

दस मिनेट जति दौडिएपछि शहरको जियाङ रोडमा हामी खाना खान गयौं । यो सडक वारिपारी थुप्रै सरकारी कार्यालय रहेछन् । यहाँ सीबीडी लेखिएको ठूलो भवन पनि रहेछ । यसको पूरा नाम सेन्ट्रल बिजिनेस डिपार्टमेन्ट रहेछ । त्यस शहरका प्रमुखले हाम्रो सम्मानमा दिवाभोजको आयोजना गरेका रहेछन् । एउटा कोठामा राखिएको दुइवटा टेबलमा बसेर हामीले भोजन ग(यौं । भोजन सुरु हुनुअघि औपचारिक कार्यक्रम भयो । हाम्रो टोली प्रमुख र त्यस शहर प्रमुखवीच उपहारको आदान प्रदान भयो । त्यसपछि दुबैले सबैलाई शुभकामना साटासाट स्वरूप गिलास जोड्नुभयो । सानो भाषण सकिएपछि हामीहरू खाना खान थाल्यौं । त्यहाँ एक घण्टा जति बिताएपछि तल ओर्लिएर त्यस रेस्टुरेन्टको ढोकामा उभ्भिएर सामूहिक फोटो सेसन चल्यो । त्यहाँबाट हामी आतिथेयसँग छुट्टियौं ।

यसपछि हामी त्यहाँका शहरहरू हुँदै आँफू बसेको होटेल फर्कियौं । बिहान यहाँबाट जाँदा बाटा तुवाँलोले ढाकेर यताउता मुस्किलले देखिने भएपनि फर्किंदा दिन राम्रो भैसकेको थियो । त्यसैले याङ्ग्त्शे नदी राम्ररी देखियो । 

निकै चौडा यो नदी चीनको कम्युनिस्ट पार्टीका प्रथम अध्यक्ष तथा चीनमा जनवादी शासन स्थापनाका प्रवर्तक, चिन्तक तथा युद्ध कमान्डर माओ त्शेतुङ्गले शत्रुसँग बच्न तीनपल्टसम्म त्यो नदी पौडिंदै पार गरेका हुन् । यहाँ थुप्रै ठूला डुङ्गा र साना जहाज तैरिरहेको देखियो । कोलकोताको हावडामा बनेको नयाँ पुलमा गाडी रोकेर नदी अवलोकन गर्न निषेध गरिएजस्तै यहाँ पनि पुलमा गाडी रोक्न मनाही गरिएको रहेछ । हाम्रा केही साथीहरू गाडी रोकाएर फोटो खिच्न लालायित हुनुहुन्थ्यो । नियम थाहापाएपछि वहाँहरूले केही बोल्नु भएन । बसबाटै पटक पटक फोटो खिच्दै हामी अगाडि बढ्यौं । बाटामा हामीले धान र गहुँका थुप्रै खेतहरू देख्यौं । बतासको मन्द बहावमा तिनीहरू कम्मर मर्काइ मर्काइ नाचिरहेका थिए र शिर हल्लाएर हामीलाई स्वागत अनि खिन्न हुँदै तुरुन्तै बिदाइ गरिरहेका थिए । ती गहुँ र धानका बालाहरूले साउती गर्दै भने “किन यस्तो हतारमा आएर हतारमै छुट्टिएको  ?”

मैले पनि साउती गर्दै भनें “माफ गर, यस्तै भयो । अर्को पाली मौका मिल्यो भने पक्कै तिमीहरूसँग मनग्गे समय बिताउने छु ।”

मैले साउती नसक्दै हामी त धेरै टाढा पुगिसकेछौं । लौ, अब मनमोहक सुनौलो फूल लिएर अपार तोरीका भीडले हामीलाई स्वागत गर्दै नाचिरहेका रहेछन् । मलाई लाग्यो ती मीठा कर्णप्रिय गीत सुसेलिरहेका छन् । बसको बन्द बट्टाभित्र नभएको भए शायद हामीले गीतको सुसेली सुन्न पाउने थियौं । तर बसले हामीलाई त्यो मौका नैं दिएन । त्यो सुसेली सुनेर हामी लट्ठिन्छौं र आफ्नो यात्रा नैं बिर्सेर त्यहीं पसारो पर्छौं भनेर होला बस हावालाई पछि धकेल्दै अगाडि बढ्दै रह्यो । वास्तवमा हामीले देखेको त्यो भेग कृषिक्षेत्र नैं रहेछ । चिनीया अर्थव्यवस्थामा त्यस शहरले निकै मद्दत पु(याइरहेको छ । त्यहाँ किसानलाई बस्न सरकारले परिवार पिच्छे दुई तले भवन बनाएको छ । घरहरू चिटिक्क परेका र रंग रोगन गरेका छन् । यहाँ राजमार्ग चार चार लेनका रहेछन् । आरू र अन्य थाहा नभएका फलफूलका खेती पनि मनग्गै देखियो ।  

भोलिपल्ट बिहानको खाजा खाएर हामी चाउ एनलाइको जन्मथलो हेर्न गयौं । पौने दस बजे हामी उनको घरको मूल ढोकामा पुग्यौं । मूल ढोका बाहिर स्लेट छापेको चौंडा चोक रहेछ । त्यो चोक जाने सडकको नाम राजकुमार सडक रहेछ । मूल ढोकाको माथि चिनीया लिपिमा लेखिएको अक्षर मैले त्यो भाषा नजानेकोले बुझिन र हामीसँगै भएकी सरला नाम दिइएकी चिनीया केटीले भनिन् “यो अक्षर डेंङ सिआओ पिङले लेखेका हुन् र यसको अर्थ ’चाउ एन लाइको घर’ लेखिएको हो ।”

त्यो घरमा जमाजम्मी ३२ वटा कोठा रहेछन् ।  एउटा कोठाभित्र पलङमा ओछ्यान पनि राखेर सिनित्त पारिएको थियो । त्यो चाउको बाआमाको कोठा रहेछ । अर्को कोठा चाउको पनि त्यसैगरी सजाइएको थियो । अर्कोतिर उनको अध्ययन गर्ने कोठामा दराज र केही किताबहरू राखिएका थिए । काठका मेच र टेबल पनि सफासुग्घर थिए । उनलाई पढाउने शिक्षक र उनको मेच टेबल राखिएको छुट्टै कोठा रहेछ । यसरी हामी केही कोठा हेरेर फर्कंदै थियौं अर्कोतिर उनको भान्छा कोठा पनि देखियो ।  त्यहाँ उनले खान प्रयोग गरेका सामानहरू राखिएका थिए । अलि उता चोयाको कप्टेराले बारेको उनको करेसा बारी पनि देखियो जहाँ अहिले पनि हरिया साग लहलहाइरहेका थिए । मैले सजिलै लाख काटें (त्यतिखेर जसरी नैं अहिले पनि बारी सागसब्जीले टन्न पारिएको रहेछ । अर्कोपट्टि उनले पानी खाने गरेको इंनार पनि रहेछ । बगैंचामा जापानी प्रधानमन्त्री तानाका काकुएइले उपहार दिएको साकुराको बोट हरिया पात सहित हाँगा फैलाएर बिस्तार नाचिरहेको थियो । अहिले त्यो भवनलाई पर्यटन केन्द्रमा परिणत गरिएको रहेछ ।

यहाँबाट हामी चाउ एनलाइको स्मृति भवन हेर्न गयौं । बिस्तृत क्षेत्रमा फैलिएको त्यो भवन छिर्ने निकै ठूलो ढोका अगाडि विभिन्न खालका फूलहरू फुलिरहेका थिए । दिन धूमिल भएपनि त्यहाँको वातावरण निकै रमणीय लाग्यो । ढोकाबाट भित्र छिरेपछि हाम्रो दायाँतिर डुङ्गा चलाउन मिल्ने निकै चौडा नहर रहेछ । हामी अगाडि बढ्दै गयौं । मूल भवन अगाडि पूर्ण कदको चाउ एनलाईको मूर्ति रहेछ । हामी सबैले त्यहाँ फोटो खिच्यौं । उक्त स्मारकका प्रमुखले हामीलाई स्वागत गरे । उनीसँग संयुक्त फोटो खिचाउन हामीले केही समय बितायौं । त्यसपछि ती प्रमुख र कर्मचारीहरूले हामीलाई स्मारक भवनभित्र लगे । भित्र चाउको ढलौटको मूर्ति रहेछ ।  हामी सबैलाई मूर्ति वीचमा पर्ने गरी मूर्तिको अगाडि उभ्भिन लगाए । उनीहरूकै सुझाब अनुसार हाम्रा टोली प्रमुख हाम्रा वीचमा उभिनुभयो । त्यसपछि हाम्रो आधा कदभन्दा ठूलो बुके हाम्रो टोली प्रमुखलाई दिएर मूर्तिमा अर्पण गर्न लगाएपछि तीनपल्ट टाउको झुकाउन लगाइयो । केही अरू कोठाको भ्रमण गरेर हामी त्यहाँबाट फर्कियौं ।

त्यहाँबाट हामी बस चढेर बजारतिर लाग्यौं । बजार बाहिरको चौडा सडकको छेउमा बस रोकियो । बसबाट ओर्लिएर खापारहित एउटा ठूलो दर्शनढुङ्गाको ढोकाबाट छिरेर अगाडि बढेको त स्लेट छापेको सानो गल्ली रहेछ । लामो त्यस गल्लीको दुबैतिर ससाना घरहरू रहेछन् । प्रायः घरहरूमा साना पसलहरू रहेछन् । कतै झिलैयाँ जस्ता खानेकुरा बनाएर प्लास्टिकमा पोको पारिरहेको देखियो भने कतै डोनट जस्ता खानेकुरा पनि देखियो । अगाडि बढ्दै जाँदा केही दुइतले घरहरू र बाटाहरूले समेत आधुनिक सामग्रीको कुनै हस्तक्षेप खेप्नुपरेको देखिएन । अचम्म लागेर सोद्धा थाहा भयो त्यहाँ त पुरातन वस्तुको जगेर्ना गर्ने उद्देश्यले मर्मत गर्नुपर्दा पनि नयाँपन नदेखियोस भनेर ध्यान पु(याउने गरिएको रहेछ । एकछिनमै एउटा घरको ढोकाबाट छिरेपछि हामी एउटा चोकमा पुग्यौं । त्यहाँको दुइतले भवन पनि पुरानै शैलीको थियो र त्यो रेस्टुरेन्ट रहेछ । पुरानै खालको भ(याङ चढेर एकतला माथि पुगेपछि अलि साँगुरो कोठामा दुइवटा गोलो टेबल र वरिपरि मेचहरू राखिएका रहेछन् । वेनलाउ नामक त्यस रेस्टुरेण्टमा हामीले खाना खायौं ।

त्यहाँबाट पुनः बस चढेर हामी चिनीया कम्युनिस्ट पार्टीको हुइयान महानगरको पार्टी स्कूलतिर रवाना भयौं । बृहत् क्षेत्रमा फैलिएको त्यो पार्टी स्कूलमा चार, पाँचतले थुप्रै भवन रहेछन् । पार्टी स्कूल हाताभित्र हाम्रो बस रोकिएपछि हामी बसबाट ओर्लियौं । त्यस महानगर जनसरकार चिनीया कम्युनिस्ट पार्टी विदेश तथा समुद्रपार शाखाका पार्टी सचिब वु किनले हामीलाई स्वागत गरे । त्यहाँबाट पथप्रदर्शन गर्दै शिक्षालयका पदाधिकारी सहितले एउटा तीनतले लामो भवन पछाडि लगे । त्यसक्रममा एकजनाले त्यहाँ भएको शिक्षालय भवनमा तीनवटा ठूला हल भएको र यस शिक्षालयमा जिल्ला र शहर स्तरीय पार्टीका जिम्मेवारहरूलाई प्रशिक्षण दिइन्छ भन्ने जानकारी गराए । त्यो स्कूल सन् १९४० मा स्थापना भएको रहेछ । अहिले त्यहाँ ६०० भन्दा बढी विद्यार्थी बस्ने छात्राबास छ । सन् १९९३ मा आएर प्रशासनिक विद्यालय निर्माण गरिएको त्यस शिक्षालयमा ८८ कर्मचारी, ५ प्रशासक र ८ उपप्रशासकका साथै बीस हजार शिक्षकले काम गर्दारहेछन् । त्यो पार्टी स्कूल केन्द्रीय नीति पालनामा कटिबद्ध छ । बिभिन्न स्तरका दर्शन, सामाजिक शिक्षा, बिज्ञान आदि पढाइ हुने त्यस शिक्षालयको शिक्षामा श्रेष्टता हासिल गर्ने उद्देश्य रहेको छ । सन् २००० देखि २०१५ सम्म जम्मा पन्द्र वर्षको अवधिसम्ममा उत्तम शिक्षालय प्रमाणित भएर त्यसले थुप्रै पुरस्कार पाएको रहेछ । जाँदाजाँदै ठाउँठाउँमा साना साना नोटिस बोर्डमा चिनीया भाषामा लेखिएको कुराको अर्थ सोद्धा थाहा भयो त्यो त “जनताको सेवा गरौँ” लेखिएको रहेछ । बाहिर चउरमा एउटा ठूलो ढुङ्गामा सिम्रिक रङले लेखिएको अक्षरको अर्थ पनि त्यही नै रहेछ ।  

उनीहरूले हामीलाई शिक्षालय भवनतिर लगे । भित्र एउटा दलानमा पुगेपछि भित्तामा अंग्रेजीमा “नेपालबाट आउनुभएका पाहुनालाई हुइयान पार्टी स्कूल हार्दिक स्वागत गर्दछ” लेखिएको ब्यानर टाँसिएको देख्यौं । ब्यानरपट्टि ढाड फर्काएर पार्टी स्कूल विभागका पदाधिकारीहरूसँगै उभ्भिएर हामीले फोटो खिच्यौं । फोटो सेसनपछि हामीलाई भित्र लगियो । ढोकामै हुइयान नगरका पार्टी सचिब तथा उपाध्यक्ष शेन जाइहोंगले स्वागत गरे । ढोकाभित्र एउटा निकै ठूलो हल रहेछ । हामीलाई त्यतातिर जान अनुरोध गरियो । भित्र गएर आ(आफ्नो नाम लेखेको मेचमा बसे पछि हामी प्रत्येकले आ(आफ्नो छोटकरी परिचय दियौं । हामी हरेकको अगाडिको टेबलमा छोपिएको कपमा तातो ग्रीन टी राखिएको थियो । बेलाबेलामा परिचारिकाहरू थप्न आउँदा रहेछन् । सरलाले नेपालीबाट चिनीया र चिनीयाबाट नेपालीमा अनुबाद गर्ने काम गरिरहिन् । परिचय कार्यक्रमपछि शेन जाइहोंगले भाषण गरे । सुरुमा चिनीया कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले बिकासको छलाङ मारेको प्रष्ट्याए । नेपालका कम्युनिस्टहरू एकजुट भएर मात्र नेपाल र नेपालीको हित हुनसक्छ भन्ने हामीलाई लाग्छ भन्ने कुराको साथै त्यस पार्टी स्कूलले त्यहाँका जनताको बैचारिक, बौद्धिक आदि बिषयको बिकासमा महत्वपूर्ण योगदान दिएको कुरा प्रष्ट्याए । त्यस पार्टी स्कूलको बिषयमा पनि उनले राम्ररी प्रकाश पारे । त्यसपछि हाम्रो टोली नेता चक्रपाणि खनाल (बलदेव)ले आफ्नो मन्तब्य राख्नु भयो ।    

वहाँले भन्नुभयो “म नेपाली जनता, हाम्रो पार्टी तथा भ्रमण दलका सदस्य समेतका तर्फबाट तपाईहरूलाई अभिवादन गर्न चाहन्छु । यहाँहरूको न्यानो मित्रवत स्वागतले हामी पुलकित भएका छौं । चीन आएर हामीले जुन बिकासको तीब्रता अनुभूत गर्न पायौं त्यसले हामीलाई ज्यादै प्रभावित तुल्याएको छ । यस देशको बिकासमा निश्चित रूपमा चिनीया कम्युनिस्ट पार्टीको नेतृत्व पूर्ण सफल भएको हाम्रो ठम्याइ छ । सर्वविदित कुरा हो कि कुनै पनि देशको उन्नति र अवनतिमा त्यस देशको राजनीतिले अहम भूमिका खेलेको हुन्छ र राष्ट्रको राजनीतिप्रति जनताको आस्था र विश्वास भएमा मात्र जनताको समर्थन प्राप्त हुन्छ । अनि जनताको त्यही समर्थनले उनीहरूको समर्पणलाई प्रेरित गर्दछ । त्यो कुरा हामीले चीनमा प्रष्ट रूपमा अनुभूत गर्न पायौं । चिनीया जनताको लगन र मेहनतलाई हामी सलाम गर्न चाहन्छौं ।

नेपालमा कम्युनिस्टहरूको बाहुल्य छ । बहुसंख्यक जनता कम्युनिस्ट पक्षधर छन् । यो कुरा मैले कल्पना वा अन्दाजको आधारमा भनेको हैन । नेपालको हरेक चुनावको कूल मतगणनाले त्यो कुरा साबित गरिसकेको छ । यसले गर्दा प्रतिक्रियावादीहरूको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ । त्यसैले कम्युनिस्टहरू वीच फूट गराउन उनीहरू हरेक हथकण्डा प्रयोग गर्छन । त्यो कुरा बुझेर पनि बिभिन्न खालका स्वार्थका कारण कतिपय कम्युनिस्ट पार्टीहरू जुटभन्दा फूटतिरै रमाइरहेको देखिन्छ । यो कुरालाई गहनताकासाथ बुझेर विभाजित रहेका कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउने प्रणका साथ हाम्रो पार्टीका अध्यक्ष लगनशील रहनु भएकोछ र वहाँको प्रयासले छिटै केही परिणाम ल्याउने छ । यो कुरा तपाईंहरूले चांडै सुन्न पाउनु हुनेछ । त्यो प्रक्रिया त्यत्तिमै टुङ्गिने छैन र एउटै सिङ्गो कम्युनिस्ट पार्टी नबनुन्जेल त्यो प्रयास जारी राख्ने हाम्रो पार्टीको दृढ अठोट छ ।

तपाईंहरूको यो हुइयान महानगरको यो पार्टी स्कूलको उद्देश्य, क्रियाकलाप, यहाँका कर्मचारी, शिक्षक आदि विषयमा तपाईंले दिनुभएको जानकारीले हामीलाई केही कुरा सिक्ने अवसर दिएको छ । यस जानकारीबाट हामी अनुगृहित भएका छौं । हाम्रो पार्टीमा पनि पार्टी स्कूल बिभाग महत्वपूर्ण अङ्गको रूपमा रहेको छ । हामीले पाठ्यक्रम बनाएर अध्यापन कार्य सुरू गरिसकेका छौं । यद्यपि यो कार्य घनिभूत रूपमा अगाडि बढिसकेको छैन निकट भविष्यमै हामी यसलाई देशको ग्रामिण इकाईसम्मै पु(याउने लक्षका साथ अघि बढिरहेका छौं । तपाईंहरूले हामीहरूप्रति दर्शाउनुभएको मीठो स्नेहको लागि पुनः तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु । धन्यवाद ।”

कार्यक्रम सकिएपछि हामी बाहिरियौं । यसपल्ट हामीलाई बिदाई गर्न बससम्म शेन जाइहोङ आँफै पनि हामीसँगै आए । बस चढेपछि हामीलाई शुई डुकोउ कम्युनिटी सब डिस्ट्रीक अफिस  निरिक्षण गर्ने पूर्व घोषित कार्यक्रम अनुसार त्यतै लगियो । बाटामा लिन ताओ (हामीसँग भ्रमण भरी सँगै रहेका चिनीया) ले हामीलाई चीनको पार्टी र सरकारको बारे जानकारी दिए । 

उनले भने “चीन समाजबादी राजनैतिक ब्यवस्था भएको देश हो । कम्युनिस्ट पार्टीको नेतृत्वमा यहाँ बहुपार्टी ब्यवस्था छ जसमा नौवटा प्रजातान्त्रिक पार्टीहरू अस्तित्वमा छन् । यहाँको सर्बोच्च राजनैतिक अङ्ग जनकंग्रेस हो जसले जनतामा अधिकार प्रत्यायोजन गरेको छ । राष्ट्रको संपूर्ण राजनैतिक अङ्ग (तलदेखि माथि सम्म नैं) मा निर्वाचन हुन्छ । स्वतन्त्र, निष्पक्ष र निर्भयताका साथ जनताले आफ्ना प्रतिनिधि चुन्छन् । जनकंग्रेसको लागि दुई हजारभन्दा बढी प्रतिनिधिले दुई सयलाई मात्र निर्वाचित गर्छन् । यो निकाय परामर्शदात्री समिति हो । एक अरब पैंतीस करोड भन्दा बढी जनसंख्या भएको देशको सर्बोच्च राजनैतिक निकायमा जम्मा दुई सय निर्वाचित प्रतिनिधि हुन्छन् ।” यो थाहापाउने सम्पूर्ण नेपालीलाई हाम्रो देशको उपल्लो निकायमा त्यतिखेर ६०१ प्रतिनिधि हुनु र हाल प्रतिनिधि सभामा २७५ र राष्ट्रिय सभामा ५९ गरी ३३४ जना प्रतिनिधि हुनु लाज लाग्दो कुरा हैन त ?

उनले पुनः भने “समाजबादी पार्टी व्यवस्थाले मूलतः चारवटा कुरामा ध्यान दिन्छ । पहिलो भनेको चिनीया कम्युनिस्ट पार्टीको नेतृत्व । दोश्रो जनकंग्रेसको ब्यवस्था । तेश्रो सम्पूर्ण राजनैतिक अङ्गको निर्माण निर्वाचनद्वारा र चौथो भनेको अल्पसंख्यक जातिको स्वशासन । अल्पसंख्यक जातिहरू धेरै थरिका भएकाले यस्तो ब्यवस्था गरिएको हो ।”

आफ्नो कुरा जारी राख्दै उनले भने “केन्द्रीय कमिटीमा १८० सदश्य हुन्छन् । (हाम्रा नीं ?) । प्रत्येक पाँच वर्षमा निर्वाचनद्वारा नयाँ केन्द्रीय कमिटी निर्वाचन गरिन्छ र त्यो कमिटी नैं देशको सर्बोच्च नेतृत्वदायी आधिकारिक संस्था हो । यही कमिटीले २५ सदस्यीय राजनैतिक ब्यूरो र ७ सदस्यीय स्थायी कमिटी सदस्यको निर्वाचन गर्छ । (हाम्रो देशको पार्टीहरूको नेतृत्वदायी संस्थाको स्थिति हेर्दा लूट जस्तो लाग्दैन त ?) । स्थायी कमिटीका नेताहरू राष्ट्रका सर्बोच्च नेता हुन् । यी सात जना सामूहिक राष्ट्रपति जस्तै हुन् । यिनै सात जनाले राष्ट्रको बिभिन्न क्षेत्रको व्यक्तिगतरूपमा जिम्मा पाएका हुन्छन् । कसैले पार्टी, कसैले जनकंग्रेस, कसैले सरकार, कसैले राज्य परिषद, कसैले राजनैतिक परामर्श, कसैले अदालत र कसैले सेना । अहिले केन्द्रीय सैन्य आयोगको अध्यक्ष सि जिन्पिङ रहेका छन् । चिनीया विशेषतायुक्त अवस्था अनुसार राष्ट्रले यहाँ मार्क्सबाद लेनीनबाद र माओ विचारधारामा आधारित राजनैतिक ब्यवस्था तय गरेको हो । प्रत्येक पार्टी सदस्यले विधान र घोषणापत्र पढ्नु अनिवार्य छ । त्यसका साथै राष्ट्राध्यक्ष सिले केन्द्रीय कमिटीमा गरेको सम्बोधन भाषण पनि अनिवार्यरूपमा पढ्नु पर्छ ।”

पौने पाँच बजे हामी डिस्ट्रिक कमिटी को सेल कमिटीमा रहेको सामुदायिक क्षेत्रको सांस्कृतिक कार्यक्रम कार्यालय पुग्यौं । त्यहाँ तीनवटा टेबलमा चार चार जना बुढाबुढीहरू तास खेलिरहेका थिए भने केही हेरेर बसिरहेका थिए । त्यस कार्यालयको चारवटा पार्टी शाखामा असी असी जना पार्टी सदश्य कार्यरत रहेछन् । त्यस भवनको बाहिर सरकारको नीति तथा कार्यक्रम बोर्डमा लेखेर राखिएको छ । एउटा कोठामा स्वास्थ सम्बन्धि तालिम दिइरहेको देखियो । त्यहाँ केही स्वयंसेवकहरू हातमा सेतो पट्टी बाँधेर उभिएका थिए । अर्को घरको एउटा कोठामा वयस्कहरूलाई दुइजना पार्टी सदस्यहरूले हस्तकलाको प्रशिक्षण दिइरहेको पाइयो । त्यहाँ तालिका अनुसार बिभिन्न किसिमको तालिम दिइने रहेछ । प्राङ्गणमा हामी निक्लदा केही मानिसहरू बाजा बजाएर गीत गाइरहेका थिए ।

यसपछि हामी अर्को सामुदायिक क्षेत्र गयौं । त्यस क्षेत्रको नाम स्याङजाङ रहेछ र यो उयाङ शहरमा पर्दोरहेछ । त्यहा बीस हजार भन्दा बढी मानिस बस्छन् । हामी पार्टी निर्माण कार्यालय पनि गयौं । त्यहाँ पनि साइनबोर्डमा पार्टी नीति लेखेर राखिएको रहेछ । त्यहाँको प्रचलित भनाई रहेछ “युद्धकालमा पार्टी कमिटी सेनाको नेतृत्वमा हुनुपर्छ तर शान्तिकालमा त्यही कमिटी जनताको नेतृत्वमा हुनुपर्छ ।” त्यहाँको कमिटीमा नमुना सदस्यको प्रावधान पनि रहेछ । त्यस क्षेत्रमा दुइसयभन्दा बढी शाखा रहेको र प्रत्येक शाखामा दस सदस्य हुने रहेछन् । पाँचवटा टोलीमा विभाजित ती शाखाहरूले शिक्षा, सुरक्षा, प्रचार, चिकित्सा, बिरामी र अशक्त टोलीको जिम्मेवारी बहन गर्ने रहेछन् । त्यहाँको कार्यालयमा वृद्धवृद्धा तथा अशक्तलाई सेवा दिने छुट्टाछुट्टै कोठा छन् । बालबच्चाका आमाबाबु काममा जानुपर्दा बच्चाहरूको हेरचाह गर्ने कोही नहुनेहरूका लागि हेरचाह गर्न यहाँ एउटा छुट्टै ठूलो कोठा रहेछ । तिनै बच्चाहरूको मनोरंजन तथा खेलका सामानका अतिरिक्त त्यहींका सदस्यहरूले बच्चाहरूका लागि बनाएका थुप्रै चित्रहरू पनि राखिएका रहेछन् ।

हामी त्यस भवनको दोश्रो तलामा पुग्यौं । त्यहाँको एउटा ठूलो कोठामा संगीत सिकाइँदो रहेछ । हामी पुग्दा बाजा बजाएर गीत गाउँदै गरेको देख्यौं । त्यो अभ्यास भैरहेको बेला रहेछ । त्यहाँबाट फर्किएर हामी अर्को जिमखाना भएको कोठामा गयौं जहाँ केही युवाहरू कसरत गरिरहेका थिए । घुम्दै फेरि अर्को कोठामा पुगेको त त्यहाँ अग्नि नियन्त्रणका साधनहरू टन्न सजाएर राखेको देखियो । सँगैको कोठामा ती साधनहरू प्रयोग गर्ने तरिका सिकाइरहिएको थियो ।  त्यसपछि हामी एउटा ठूलो हलमा पुग्यौं । त्यहाँ पनि बुढाबुढीहरू बसेर तास खेलिरहेका थिए । त्यताबाट हामी भुइँ तलाको एउटा हलमा गयौं । त्यस हलमा सातवटा कम्प्युटरमा केही केटी र केही केटाहरू काम गरिरहेका थिए । उनीहरूका टेबल अगाडि केही मानिसहरू बसेर तिनीहरूसँग कुरा गरिरहेका थिए । त्यहाँबाट जनताले चाहेका बिषयमा सल्लाह, सुझाब, जानकारी आदि दिइने रहेछ । त्यहाँबाट बाहिर निस्कँदा ५ः४० भैसकेको थियो । बसबाट अगाडि बढ्दै जाँदा सडकमा तीनवटा नेपालकै जस्तो रिक्सा पनि देखियो ।

हामी जिङ हाङ नदीको किनार हुँदै अगाडि बढ्यौं । यो नदीसँगै समानान्तरमा रहेको पदमार्गको समानान्तरमा लम्बिएको सडकको पारीपट्टी पनि पदमार्ग छ । ती पदमार्गसँगै विभिन्न खालका घरहरू छन् । कुनैमा रेस्टुरेन्ट रहेको छ त कुनै निवास छन् भने अरू व्यापारिक स्थल पनि छन् ।  जिङ हाङ नदीमा नौका बिहार गर्न जाने स्थानको अगाडि सडक पारीपट्टी ताओले भने अनुसार सङ जिङ राजाले आफ्नो गुरुको सम्झनामा ३०० वर्ष अगाडि बनाएको बासट्ठि मिटर अग्लो आकर्षक कलाले भरिपूर्ण मन्दिर रहेछ । त्यो मन्दिर अवलोकन गरेर हामी रेस्टुरेन्टमा बेलुकीको खाना खान गयौं । खाना खाइसकेर ७ः५५ मा त्यहाँबाट बाहिरिएर नदीको वारी र पारीको झिलिमिली बत्ति र पारी पट्टिका बहुतले घरहरू समेट्ने गरी आफ्नो एकल र समूहको फोटो खिच्दै हामी नौका विहारका लागि नदीको किनारै किनार पदमार्ग भएर अघि बढ्यौं । साँझको ८ः०६ मा हामी नौकामा पदार्पण ग(यौं । आमने सामने भएर तीन तीन जना बस्न हुने आठवटा आरामदायी (सुविधाजनक) मेच भएको र नौकाको ढोकाभित्र छिर्ने बित्तिकैको बायाँपट्टि एउटा सानो रेस्टुरेन्ट र वरिपरी झ्याल भएको त्यो नौकाले हामीलाई लिएर यात्रा सुरू ग-यो ।

यो नदी पश्चिम बंगालको हुग्ली नदी जस्तै मानव निर्मित हो । बेइजिङबाट हाङझाउ प्रान्तसम्म जलपारबहनको लागि तत्कालिन सोङ राजबंशको पालामा निर्मित यो नदी विश्वको सबैभन्दा लामो (१,७७६ मिटर) नहर वा कृत्रिम नदी रहेछ । नौकामा बसेपछि हामीलाई माइकबाट बोल्दै हाम्री गाइडले अंग्रेजी भाषामा त्यहाँको जानकारी दिन थालिन् । वरिपरिका रङ्गीचङ्गी बत्तीले अकल्पनीय सौन्दर्य झल्काइरहेका थिए । साँझको मन्दमन्द शितल बतासको आनन्ददायी मिठास लिंदै हामी एउटा पुलनिर आइपुग्यौं । नदीको एकापट्टिको ठाउँ  र अर्कोपट्टिको ठाउँलाई जोड्ने पुल भएको हुनाले यो पुल इयुजिउ नामले चिनिन्छ । यो पुल र नदीको दायाँबायाँ खोला वारिपारी डिलमा झिलिमिली बलिरहेका बत्तीको प्रतिच्छाया (टक) पानीमा परेकोले पानीमा समेत बत्ती बलिरहेको भान हुन्थ्यो र पानी समेत चम्किरहेको थियो । त्यस पुलमुनिबाट नदीको अर्कोतर्फ नौकालाई जान दिन ढोका बनाइएको रहेछ । यो पुलको इतिहास ६०० वर्षभन्दा बढीको रहेको छ । यो नदी चारदेखि पाँच मिटरसम्म गहिरो छ । हामी चढेको नौकाको देब्रेतिर मजदुर संस्कृति विभागको कार्यालय झल्झलाकार भएर खुसियाली छरिरहेको थियो ।

नौका बिहार गर्दै हामी अर्को पुलनिर गयौं । त्यो पुल १९५९ मा बनेको रहेछ । त्यो पुल रातको अँधेरोमा चम्किएर यस्तो ज्योति परावर्तन गरिरहेको थियो कि म एकछिन अर्कै दुनियाँमा छु भन्ने भान हुन पुग्यो । नौका भित्रबाट फोटो खिच्दा बाहिरको नदीको पानी हाम्रो आगमनमा अत्यन्त चम्किएर हामीलाई स्वागत गरिरहेको भान भयो । पौने नौ बजे हाम्रो जलयात्रा सकियो र हामी होटेल फर्कियौँ ।

माओवादी केन्द्र विदेश विभागका सचिव पौड्यालको 'भ्रमण १० दिनको' पुस्तकबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप