शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरपालिकाको मेयरकी दाबेदार पूर्व मिस नेवाः

भन्छिन्, ‘मेरो उम्मेदवारी सस्तो लोकप्रियताका लागि होइन’
शनिबार, १२ चैत २०७८, १३ : २८
शनिबार, १२ चैत २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै विभिन्न स्थानीय तहमा आकांक्षी उमेद्वारहरु देखा पर्न थालेका छन् । यसै क्रममा पूर्व मिस नेवाः सुनिता डंगोलले काठमाडौं महानगरपालिका मेयरका लागि उम्मेदवारी दिने तयारी गरेकी छिन् । स्वतन्त्र उम्मेदवारी दिने वा कुनै राजनीतिक दलमार्फत् उम्मेदवारी दिने भन्नेबारेमा निर्णय नगरेपनि उनले महानगरको विकासका लागि विभिन्न योजनाका साथ चुनावी तयारीलाई अघि बढाएकी छिन् । प्रस्तुत छ पूर्व मिस नेवाः डंगोलसँग रातोपाटीले गरेको यो कुराकानी : 

तपाईंले आगामी स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाबाट किन मेयरको उम्मेदवारी दिंदै हुनुहुन्छ ?
सानै उमेरदेखि मलाई सक्रिय राजनीतिमा लाग्ने इच्छा थियो । अहिले सही समय जस्तो लागेर मेयरमा उम्मेदवारी दिने विचार गरेँ । काठमाडौं म जन्मिएको शहर पनि हो । मेरो ज्ञान, सीप र क्षमताको उच्चतम उपयोग गर्दै म जन्मेको शहरलाई सुन्दर र समृद्ध बनाउने सपनालाई मूर्त रुप दिन मैले काठमाडौंको मेयर बन्ने सोँच राखेकी हुँ । मुलुक समृद्ध बनाउन नयाँ सोँच र जोश भएका युवा चाहिन्छ । त्यसका लागि युवाहरु नै राजनैतिक नेतृत्वमा आउन आवश्यक छ । त्यसैले अहिले स्थानीय सरकारको निर्वाचनको अवसर पारेर मैले मेयरमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ । 

कुनै राजनीतिक दलमा लागेर उम्मेदवारी दिनुहुन्छ कि स्वतन्त्र ? 

काठमाडौंका जनताले सधैँ न्यायको पक्षमा मतदान गरेको इतिहास छ । म यहीँको माटोमा जन्मिएकी, हुर्केकी  नेवार समुदायको ज्यापुकी छोरी हुँ । मैले सांस्कृतिक अभियन्ताका रुपमा योगदान गरेकी छु । साथै धेरै मुलुकको भ्रमण गरेर त्यहाँको विकासको मोडेललाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेकी छु । मैले त्यहाँको विकासको अनुभवलाई यहाँको माटो सुहाउँदो विकास गर्ने योजना बनाएकी छु । साँस्कृतिक शहर काठमाडौँ कस्तो हुनुपर्छ र यहाँको विकास कसरी गर्नुपर्छ भन्ने बारेमा जानकार छु । यहाँका युवाहरुको सोँच, यहाँका युवाहरुको भावना र यहाँका युवाहरुको भिजनको प्रतिनिधित्व गर्ने युवा हुँ । 

आफू भन्दा अग्रजहरुको विज्ञता, अनुभवीहरुको ज्ञान, सल्लाह र सवै जनताको सद्भावलाई आत्मसाथ गरेर अघि बढ्नेछु । मलाई यो आर्शिवाद अवश्य प्राप्त हुनेछ भन्ने मैले ठानेकी छु । यी मेरो प्रारम्भिक योजना हुन् । मेयरको तयारीसँगै वृहत् योजनासहित अघि बढ्ने छु । मलाई विश्वास छ, मेरो योग्यता, क्षमता र जनताप्रति समर्पित हुँदै गर्दैै आइरहेको समाजसेवाले पनि यसपाली काठमाडौँबासीले मलाई मेयरको रुपमा विजयी बनाउने छन् । हुन त स्थानीय तहको निर्वाचनकै प्रसङ्गमा विभिन्न ठूला साना पार्टीहरूको सम्पर्कमा पनि छु । तर अहिलेसम्म स्वतन्त्र रुपमा अथवा पार्टीगत रुपमा कसरी उठ्ने भन्ने कुराको अन्तिम निर्णय हुन भने बाँकी छ ।  

तपाईं मिस नेवाः भइसकेको मान्छे, थप चर्चाका लागि मात्रै चुनावमा अघि सरेको भन्छन् नि ? 

धेरैजसो युवाहरुले राजनीतिलाई फोहोरी खेल भन्छन् । किनकि राजनीतिक कारणले गर्दा उनीहरुमा वितृष्णा जागेको मैले महशुस गरेकी छु । तर राजनीति भनेको राज्यको शासन–व्यवस्थासम्बन्धी नीति, राज्य–सञ्चालन र प्रणाली हो । त्यसैले राजनीतिलाई फोहोरी खेलको रुपमा विकास गर्नुहुन्न भन्नेमा म सचेत छु । राजनीति व्यापार होइन, यो समाजसेवा र विकास निर्माणसँग जोडिनुपर्छ । समाजसेवा मेरो जीवनको मूल उद्देश्य हो । त्यसलाई मूर्त रुप दिन म राजनीतिमा आउन चाहेको हो । विभिन्न क्षेत्रमा क्रियाशील भइरहेको र म सेलिब्रेटी पनि भएकाले धेरैले मलाई चिन्छन् । त्यसैले पनि सस्तो लोकप्रियताको लागि होईन, मुलुक बनाउन युवाहरुको भूमिकाको प्रतिनिधित्व गर्न म चुनावको अवसर पारेर सक्रिय राजनीतिमा आएकी हुँ । 

तपाईंंले एक अन्तरवार्तामा एमाले अध्यक्ष केपी ओलीबाट प्रभावित भएको उल्लेख गर्नुभएको रहेछ, त्यसो भने किन एमाले प्रवेश गरेर राजनीति गर्नुहुन्न ?

समृद्ध नेपाल, सुखी नेपाली बनाउने भन्ने उहाँको अभियान, उहाँले गर्ने भाषणको शैली, नेतृत्व क्षमता र युवाहरुको उहाँप्रति आकर्षणले गर्दा मुलुक बनाउन उहाँले अवश्य पनि केही गर्नु हुन्छ भन्ने मलाई व्यक्तिगत रुपमा लागेर भनेको हो । तर अहिले कुनै पार्टीमा प्रवेश गरी हाल्ने निर्णय भने लिएकी छैन ।  

तपाईंंको राजनीतिक सक्रियता जीवनभर रहन्छ वा अहिलेको चुनावमा मात्र ?

मैले अघि नै भनिसकेँ म कुनै अल्पकालीन उद्देश्य लिएर होइन, यो मुलुकमा युवाहरु राजनीतिमा आएर केही गर्नुपर्छ भनेर दीर्घकालीन सोचका साथ आएकी हुँ । मेरो राजनीतिक यात्रा दीर्घकालीन हुनेछ । 

तपाईंंले काठमाडौं महानगरमा देखेका समस्या के के हुन्,  तपाईंं निर्वाचित हुनुभयो भने के के गर्नुहुन्छ ?

मेरो ज्ञान, सीप र क्षमताको उच्चतम उपयोग गर्दै म जन्मेको काठमाडौं शहरलाई सुन्दर र समृद्ध बनाउने सपना छ । काठमाडौंलाई सांस्कृतिक नगर र राजधानीको रुपमा विकास गर्ने मसँग धेरै योजना छन् । पहिलो, फोहोरबाट उर्जा उत्पादन गर्ने प्रविधिबाट फोहोर मैलाको उचित व्यवस्थापन गर्न सकिन्छ भन्ने सोचेको छु । मैले जापान, जर्मनी आदि  देशहरुको भ्रमण गर्दा यो देखेकी हुँ । उक्त प्रविधि नेपालमा ल्याएर फोहोरलाई मोहरमा ढाल्न सकिन्छ भन्ने मेरो उद्देश्य छ । 

अहिले काठमाडौँवासीले फोहर घरबाट निकालेवापत प्रतिघर चार सय रुपैंया मासिक रुपमा बुझाउनु परेको यथार्थ हाम्रा सामू छ । हामीले उक्त प्रविधि प्रयोग गर्न सक्यौं भने महानगर आफैले बिजुली उत्पादन गरेर शहर झिलिमिली बनाउन सकिन्छ भने महानगरवासीबाट फोहर उठाउँदा उल्टै पैसा दिन सक्ने अवस्था सिर्जना हुन्छ । 

दोस्रो, काठमाडाैं महानगरपालिकालाई संस्कृति र सम्पदाको शहर भनी चिनिन्छ । महानगरपालिका क्षेत्रभित्र रहेका मूर्त–अमूर्त साँस्कृतिक सम्पदा, मौलिक भाषा, लिपि, कला तथा ऐतिहासिक साँस्कृतिक सम्पदालाई नविन सोच र रणनीतिबाट युवाहरुमार्फत् राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा संरक्षण, सम्बर्द्धन र प्रवद्र्धन गर्न सकिन्छ ।      

तेस्रो, ट्राफिक व्यवस्थापन गर्ने, एमआरटीको व्यवस्थापन गर्ने तथा ट्राफिक अनुशासन पालना गर्ने कार्यको कार्यान्वयन गराउने स्पष्ट योजना मसँग छ । मसँग काठमाडौं महानगरलाई माथि उठाउने प्रसस्त भिजन छ ।   

चौथो, अहिलेको युग सूचना र प्रविधिको युग हो । नयाँ–नयाँ प्रविधि र सूचना प्रविधिको विकास भैरहेको छ । त्यसको सदुपयोग गर्दै युवाहरुलाई समग्र महानगरको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय सन्तुलित विकासका लागि विभिन्न कार्यक्रमसहित दिगो विकास व्यवस्थित शहरीकरणको लागि आवश्यक योजना बनाई काम गर्ने योजना मसँग छ । 

पाँचौँ, कोभिड–१९ पछिको आर्थिक, सामाजिक र वातावरणीय पुनरुत्थान र सन्तुलन गर्ने, काठमाडाैं महानगर पर्यटन विकास र प्रवद्र्धन, विश्व सम्पदादेखि विश्व सम्पदासम्म पथप्रदर्शन निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने प्रष्ट योजना पनि मसँग छ । 

छैटौँ, महानगरलाई हाइटेक, डिजिटलाईज्ड स्मार्ट शहरको रुपमा विकास गर्ने । जनतालाई वडा–वडामा अनावश्यक रुपमा धाउन लगाएर दुःख दिइरहनु पर्ने युगको अन्त्य गर्न चाहन्छु । त्यसका लागि डिजिटल प्रविधिबाट अधिकांश सेवा घरमै बसेर यहाँका जनताले लिन सक्ने वातावरण बनाउने मसँग प्रष्ट योजना छ । 

स्थानीय तह चुनाव आउन अव ५० दिन जति बाँकी छ, चुनावका लागि के कस्तो तयारी गर्दै हुनुहुन्छ ? 

अहिले चुनावको लागि आन्तरिक तयारी गर्दैछु । विकास निर्माणका भावी योजना बनाउने क्रममा छु । चुनावी घोषणा पत्र आदि बनाउने कार्यमा व्यस्त छु । साथै चुनावी क्याम्पेनका लागि टीम निर्माण गर्ने काममा समेत लागि रहेको छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप