बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकारलाई लाग्यो चुनाव : आ–आफ्ना पार्टी जिताउने गीतदेखि डकुमेन्ट्री बनाउन कस्सिए

७५३ स्थानीय तहमा कलाकार परिचालन गर्न सांस्कृतिक संघको तयारी
आइतबार, १३ चैत २०७८, १३ : ४१
आइतबार, १३ चैत २०७८

आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै दलहरू चुनावी तयारीमा जुटिसकेका छन् । राजनीतिक दलका नेतृत्वको चटारोसँगै अहिले उनीहरूका सांस्कृतिक संगठन र भातृसंस्थाहरुको दौडधूप पनि तीव्र छ ।

उनीहरू मतदातालाई आफ्नो पार्टीप्रति आकर्षित गर्न र आफ्नो पार्टीलाई जनताका अगाडि राम्रो रूपमा प्रस्तुत गर्न गीत, नृत्य, भिडियो, वृत्तचित्र, छोटा फिल्मदेखि अनेक प्रचार सामाग्री उत्पादनमा दिलोज्यान दिएर लागेका छन् । प्रचार सामग्रीको अलावा कलाकार समेत जनताको घरदैलोमा उतार्ने तयारीमा छन् । चुनावमा कलाकारको गतिविधि कस्तो रहन्छ, उनीहरू कसरी परिचालित हुँदैछन् ? भन्ने विषयमा कलाकारसम्बद्ध राजनीतिक दलका केही भातृसंस्थालाई हामीले प्रश्न राखेका छौँ । प्रस्तुत छ, उनीहरूको धारणा जस्ताको तस्तै ।

प्रचारका लागि गीत, नाटकदेखि चलचित्रसम्म

शिवशंकर रिजाल 

महासचिव, नेपाल सांस्कृतिक संघ–नेपाली काँग्रेस

हामीले चुनावी गीतसँगै प्रचारप्रसारका विभिन्न सन्देश समेटिएका गीत बनाइरहेका छौँ । तीमध्ये एक गीत ‘घर घर जाऊँ, काँग्रेस जिताऊँ’ जनताको घरदैलोसम्म पुर्‍याउन सफल भइसकेका छौँ । कतिपय गीत रेकर्डिङको क्रममा छ भने कतिपय भिज्युअलको काम हुँदैछ । विभिन्न संगठनात्मक संरचनासमेत बनाइसकेका छौ । पहिला टिम हुन्न्थ्यो, को कहाँ पुग्थे भन्ने थाहा हुँदैन थियो । अहिले पुरै योजना बनाएर मोनिटरसमेत गर्दैछौ ।

पूर्व, पश्चिम, उत्तर, दक्षिणको मोर्चा बनाएर ७५३ वटै स्थानीय तहमा कलाकार परिचालन हुनेछन् । अहिले गीत तथा भिडियो निर्माणका लागि कलाकार टोलीहरू ठाउँ ठाउँमा क्रियाशील छन् । चुनावकै लागि नेपाली, मैथिली, भोजपुरी, थारू, अवधि, देउडा, काठे, पूर्वेलीलगायत १० वटा भाषामा गीत बन्दैछ ।

५ छोटा चलचित्र बनाउँदैछौँ, जसमा नेपाली काँग्रेसले गरेका कार्यको जानकारी हुनेछ । दुई नाटक नेपाली र अन्य भाषामा तयार हुँदैछ ।  १० लघुचलचित्र नेपाली काँग्रेसका नेता तथा विज्ञ लगायतका अभिव्यक्तिले भरिएका ‘किन काँग्रेस जिताउने भन्ने ?’ थिममा बनाउने तयारी छ । रेडियो, एफएम, सामाजिक सञ्जाल लगायतमा प्रयोग हुने पीएसएलगायत विभिन्न प्रचार सामाग्री तयार हुँदैछ । चुनावी अभियानको क्रममा घरदैलो कार्यक्रमदेखि, सभा, सेमिनार, आमसभालगायत सबै ठाउँमा परिचित अनुहार सहितका कलाकार  परिचालित हुनेछन् । 

घरघरमा गीत, संगीत र कलाकार 

दिनेश डिसी 

संयोजक, जनपक्षीय चलचित्रकर्मी संघ (नेकपा एमाले) 

निर्वाचनमा पार्टीलाई कसरी सहयोग गर्ने भन्ने विषयमा यो साता हामी बैठक गर्दैछौँ । त्यसपछि के गर्ने भन्ने तय हुन्छ । अहिले हामी संगठन निर्माणको क्रममा छौँ । हामी पार्टीले जतिबेला, जे भन्यो, त्यही गर्ने तम्तयार अवस्थामा छौँ । चुनाव प्रचारको सिलसिलामा पार्टीको सम्पर्क कार्यालय धमाधम खुलिरहेको छ, सबै परिचालित भएपछि पार्टीले दिएको निर्देशनअनुसार हामी अगाडि बढ्छौ ।

प्रचार प्रसारका लागि हामीले सामाग्री कतिपय तयार गरिसकेका छौँ, कति तयार हुने क्रममा छ । राजनीतिक रूपमा नेकपा एमालेसँग जोडिएका चिरपरिचित लगायत सबै कलाकार घरदैलोदेखि सभा, आमसभा र सबै प्रकारको कार्यक्रममा परिचालित हुनेछन् ।

जनताका लागि भावनात्मक गीत, संगीत 

चेतन सापकोटा 

उपाध्यक्ष, अखिल नेपाल जनसाँस्कृतिक महासंघ (माओवादी केन्द्र)

निर्वाचनकै लागि भनेर हामी एउटा छोटो फिल्म बनाउँदैछौँ । लोकतन्त्र ल्याउन माओवादी जनयुद्ध र माओवादीले खेलेको भूमिका र कम्युनिष्ट पार्टीको एकतामा आएको विचलन र एकता बाहेकको विकल्प केही छैन भन्ने विषयमा डकुमेन्ट्री छ । 

गीतहरू पनि बनिरहेको छ । गीत देशभरका लागि फरक फरक लय र स्थानीय भाकामा संकलन गरेर रेकर्ड गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । सांस्कृतिक टोलीहरू कसरी कहाँ कहाँ पुग्ने, के के गर्ने, स्थानीय पालिकामा कहाँ कसरी कलाकार क्रियाशील हुने भन्ने विषयमा समेत तयारी हुँदैछ । जनमानसमा माओवादीलाई ठुलो पार्टी बनाएर परिवर्तनको नेतृत्व गर्ने बनाउनुपर्‍यो भनेर बुझाउँछौ । हामी भावनात्मक तरिकाले जनतामा छिर्नेछौ ।

स्टेज कार्यक्रमदेखि घरदैलो कार्यक्रमसम्मको हाम्रो विभिन्न तयारी छ । यस्ता कार्यक्रममा हामीसँग जोडिएका, हामीलाई सपोर्ट गर्ने सबै कलाकार सहभागी गराउँछौ । पहिले हामी आ–आफ्नै तरिकाले अगाडि बढ्थ्यौँ । अहिले भने संगठनात्मक रूपमा अगाडि बढ्दैछौँ ।

अन्यको भन्दा राम्रो अभियान 

मिलन मोक्तान 

संयोजक, राष्ट्रिय प्रजातन्त्र पार्टी सांगीतिक संघ  (राप्रपा)

४ वर्षदेखि म संघको नेतृत्व गरिरहेको छु । यसको ६० जिल्लामा संगठन छ । अहिले विश्वास भएको नेता राजेन्द्र लिङ्देन हुन् । उहाँको बारेमा केही गर्न सकिन्छ कि भनेर छलफल गरिरहेका छौँ । वरिष्ठ गीतकारहरूलाई राप्रपासँग जोडेर गीत लेख्न दिइएको छ । केही गीत आएका छन् भने केही आउने क्रममा छन् । सबै गीत कम्पोज, रेकर्ड गरेर ल्याउने तरखर गर्दैछौँ । अन्य पार्टीका सांगीतिक संगठनले भन्दा राम्रो अभियान चलाउने कोसिस छ ।

कलाकारलाई घरदैलो अभियानदेखि विभिन्न कार्यक्रममा सहभागी गरिनेछ । हामी पार्टीका लागि बाटोमा हल्ला गरेर कुद्ने भन्दा पनि पार्टीलाई साँंस्कृतिक रूपमा कसरी महत्त्वपूर्ण योगदान गर्न सकिन्छ भनेर लागेका छौ । करिब डेढ सय कलाकार मात्र हामी स्टेज कार्यक्रमका लागि तयार गर्दैछौ । झण्डा र झोला बोकेर कुद्ने भन्ने होइन, हामी पार्टीका लागि भन्दा पनि देशका लागि भनेर कार्यक्रम चलाउँछौ ।

संगीतमार्फत् सुध्रिने र सुधार्ने  

कृपाराम शर्मा धमला 

अध्यक्ष, राष्ट्रिय जनसाँस्कृतिक महासंघ (एकीकृत समाजवादी)

बर्तमान अवस्थामा पार्टीको आफ्नै मापदण्ड र चुनावी एजेन्डा छन् । रणनीति, कार्यनीति, सबै शब्दहरू समायोजन गरेर प्रचारका गीतहरू बन्ने छन् । नेताले गरेको भाषणभन्दा बढी समेटिने गरेर हाम्रा शब्द गीतसंगीतमा समेटिनेछन् । पार्टीले तय नगरेसम्म जनसाँस्कृतिक महासंघ एक्लै अगाडि बढ्ने कुरो हुँदैन ।

कार्यक्रम कहाँ र कसरी गर्ने कार्ययोजना बनाउँछौ । हाम्रो पार्टीका अग्रज नेताहरू चुनावी अभियानमा होमिई सक्नुभयो । अहिले उपलब्ध भएका गीत संगीत लिएर अभिनायनमा साथीहरू छन् । केही गीत बाहिर आए, केही रेकर्डको क्रममा छ ।

हामी प्रत्येक जिल्ला जिल्लामा गीत तथा भिडियो पठाएर पनि अभियान चलाउँदैछौ । देशव्यापी रूपमा हाम्रो कलाकारकर्मी परिचालित हुन्छन् । चुनावमा मात्र होइन, जनसांस्कृतिक महासंघले जहिले पनि सांस्कृतिक अभियान, सांस्कृतिक नीति, सांस्कृतिक कार्यशैलीका विषयमा पार्टीलाई सहयोग दिने कुरो निरन्तर छ । हामी कसरी सुध्रिने र अरूलाई कसरी सुधार्ने भन्ने लक्ष्यमा पनि छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप