शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मूल्यवृद्धिसँगै निर्माण सामग्री अभाव, बढेको मूल्यमा समेत पाउन मुस्किल

मङ्गलबार, १५ चैत २०७८, १५ : १५
मङ्गलबार, १५ चैत २०७८

चर्को मूल्यवृद्धिसँगै बजारमा निर्माण सामग्री अभाव चुलिएको छ । रूस–युक्रेन युद्धलाई कारण देखाएर शतप्रतिशतसम्म बढेको डण्डी बढेकै मूल्यमा पनि पाइन छाडेको हो । बजारमा मागअनुसारको डण्डी पाउनै छाडिएको निर्माण व्यवसायी बताउन थालेका छन् ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बजारमा बढेकै मूल्यमा पनि निर्माण सामग्री पाइन छाडेको रातोपाटीलाई बताए । ‘रुस–युक्रेन युद्ध सुरु भएलगत्तै मूल्य बढाउन थालेका उद्योगीले बढेको मूल्यमा आयात गरेका छैनन्,’ उनले भने, ‘पहिला नै आयात भइसकेको स्टक सामानमा मूल्य बढाइएको छ ।’

डण्डी नै छैन बजारमा । बढेको मूल्यमा आयात भएन । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नयाँ आयात भएन । ‘पहिले नै भएको आयातमा मूल्य समायोजन भयो । अहिले अड्कली अड्कली डण्डी बिक्री गरिराखेका छन्,’ उनले भने, ‘फलस्वरूप बजारमा डण्डीको अभाव देखिएको छ ।’

हाल डण्डीको मूल्य प्रतिकिलो १३५ रुपैयाँ छ । यसअघि, प्रतिकिलो ६० रुपैयाँमा पाइने डण्डी अहिले शतप्रतिशत बढेको छ । यस्तै, ५५/५७ रुपैयाँ प्रतिलिटरमा पाइने बिटुमिनको मूल्य बढेर ११८ रुपैयाँ प्रतिलिटर पुगेको छ भने प्रतिलिटर ८५ रुपैयाँ पर्ने डिजेल/मट्टितेलको मूल्य १३८ रुपैयाँ पुगेको छ ।

यसैगरी, सिमेन्टको मूल्य प्रतिबोरा २० रुपैयाँले उकालो लागेको छ । निर्माण व्यवसायीका अनुसार यतिबेला बजारमा ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ६७५ रुपैयाँ र पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ६५० रुपैयाँसम्म पुगेको छ । यो प्रतिबोरा आएको १० प्रतिशतको वृद्धि हो । सिमेन्टमा धेरै मूल्य नबढे पनि अन्य सामग्रीको मूल्य बढ्दा आयोजनाको निर्माण अघि बढाउनै मुस्किल परेको महासंघका अध्यक्ष सिंह बताउँछन् ।

नेपाल रोलिङ मिल एसोसिएशनका अध्यक्ष किरण शाखःले प्रतिस्थापन बजेटदेखि नै डण्डी उत्पादनमा समस्या आएको बताए । उनले अर्थमन्त्रीले ३० मध्ये ६ वटा उद्योगलाई मात्रै फाइदा हुनेगरी ‘स्पञ्ज आइरन’ आयातदर शून्य गरेदेखि डण्डी उत्पादन र यसको मूल्यमा समस्या आएको रातोपाटीलाई बताए ।

‘६ वटा उद्योगलाई मात्रै फाइदा पुग्नेगरी ल्याइएको बजेटबाट २४ वटा उद्योग धरासायी बनेका छन्,’ उनले भने, ‘यसबाट २४ वटा उद्योग धरासायी बने र ६ वटा उद्योगको आधिपत्य कायम भयो ।’ सोही समयदेखि आवश्यकता अनुसारको आपूर्ति नगर्ने गरेको ६ वटा उद्योगले अहिले एकाधिकार कायम गरेर मूल्य वृद्धिसँगै सामान अभाव गराएको उनको आरोप छ । ‘स्पञ्ज आइरन’बाट फलामे डण्डीको कच्चा पदार्थ बिलेट उत्पादन हुन्छ । सोही बिलेटबाट डण्डी उत्पादन गरिन्छ ।

खासगरी रुस–युक्रेन युद्धको असरका कारण वाह्य बजारमै डण्डी बनाउने कच्चा पदार्थको मूल्य बढेको छ । यस्तै, डण्डी पगाल्न प्रयोग गरिने कोइलाको मूल्य समेत बढेको छ । यसका साथै पेट्रोलियम पदार्थको मूल्य समेत बढ्दा ढुवानी लागत बढेको छ । तर, अन्तर्राष्ट्रिय बजारमा डण्डीको कच्चा पदार्थको मूल्य बढेपछि नेपालका उद्योगीले आयात गरेका छैनन् । पहिले नै एक/दुई महिनालाई पुग्ने गरी ल्याइएको स्टक सामानमै मूल्य समायोजन गरेका छन् ।

तर, बढेको मूल्यमा समेत मागअनुसारको डण्डी आपूर्तिमा आनाकानी डण्डी उद्योगीहरूले गरिरहेका छन् । ‘उनीहरूले डण्डी खटाइ–खटाइ दिइरहेका छन्,’ महासंघ अध्यक्ष सिंहले बताए । यसरी निर्माण सामग्रीको मूल्य बढ्नुका साथै बढेको मूल्यमा समेत सामान नपाएपछि निर्माण क्षेत्र नै प्रभावित बन्ने निर्माण व्यवसायीको भनाइ छ । ‘हामीले आयोजनाको ठेक्का लिँदा सबै निर्माण सामग्रीको मूल्य बढेको थिएन । त्यसैले सस्तो मूल्य कोट गरेर ठेक्का परेको थियो,’ सिंह भन्छन्, ‘अहिले मूल्य दोब्बरले बढेको छ । निर्माण सामग्रीको मूल्य सस्तो राखेर लिएको ठेक्का मूल्यले आयोजना सम्पन्न गर्न सकिँदैन । त्यसैले सरकारले यसलाई छिटो सम्बोधन गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप