शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ऐतिहासिक गद्दी बैठक सर्वसाधारणका लागि खुला

मङ्गलबार, १५ चैत २०७८, १९ : २६
मङ्गलबार, १५ चैत २०७८

वसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको छ । मंगलबार एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक उद्घाटन गरेका हुन् । 

विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पु¥याएको गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसनअन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोष मिलेर जीर्णोद्धार गरिएको हो । योसँगै गद्दी बैठकको तल्लो तलामा रहेका तीनवटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र पनि आजदेखि सर्वसाधारणले अवलोकन गर्न सकिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।  

लामो समयपछि खुला भएको उक्त ऐतिहासिक गद्दी बैठक अवलोकनका लागि सर्वसाधारणले अतिरिक्त शुल्क तिर्नुपर्दैन । यसअघि प्रवेश दरबार परिसरमा प्रवेश गर्दा तिर्दै आएको शुल्कले नै बैठकको पनि अवलोकन गर्न सकिने प्रमुख खनालले जानकारी दिए ।  

भूकम्पपछि गद्दी बैठकको जीर्णोद्धार सम्पन्न गरेर विसं २०७५ असार १३ गते अमेरिकी राजदूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । गद्दी बैठकको भुइँ तलामा एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विभिन्न किसिमका घटनाक्रम समेटेर प्रदर्शनको व्यवस्था गरिएको छ । उक्त कक्षमा पृथ्वीनारायण शाहले प्रयोग गरेका हातहतियारसमेत प्रदर्शनमा राखिएको छ ।  

त्यसैगरी हनुमान दरबारमा रहेका केही चोकलगायत दरबारसँग सम्बन्धित १०० वर्षअघिका फोटो र पुराना गरगहनासमेत यहाँ देख्न पाइने छ ।  

ऐतिहासिक महत्व

गद्दी बैठक तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९६५ मा युरोपेली वास्तु शैलीमा निर्माण गरेका हुन् । तत्कालीन समयमा उक्त बैठक कक्षमा विदेशी पाहुनालाई ओहोदाको प्रमाणपत्र दिन र राज्यको महत्वपूर्ण बैठकका लागि प्रयोग गरिन्थ्यो ।

बैठकको दायाँतर्फ ११ पुस्ते शाहवंशीय राजाहरुको तस्बिर राखिएको छ । त्यस्तै ढोकाबाट प्रवेश गर्ने बित्तिकै एउटा काठबाट बनेको कलात्मक द्वार रहेको छ । गद्दी बैठकको प्रयोग पछिल्लो समय कम भएको भए पनि हाल यसको प्रयोग राष्ट्रप्रमुख एवं अन्य विशिष्ट पाहुना जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्न आउने समयमा हुने गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप