बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकलमा निगरानी गरेर सुन चोर्ने दाजुभाई पक्राउ

बुधबार, १६ चैत २०७८, १३ : ०३
बुधबार, १६ चैत २०७८

मोटरसाइकलमा निगरानी गरेर सुन चोर्ने दाजुभाई पक्राउ परेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ सितलपाटी  घर भएका २४ वर्षका राजेश पाख्रीन र मनोज पाख्रीन दाजुभाई हुन् । ललितपुरको चापागाउँ बस्ने दाजुभाईलाई प्रहरीले सुन चोरेको आरोपमा पक्राउ गरेको छ ।

काठमाडौंको नरेफाँट, जडिबुटी र भक्तपुरको लोकन्थली क्षेत्रमा सुन चोरीमा संलग्न आरोपमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरले उनीहरुलाई पक्राउ गरेको हो । चैत १३ मा काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित कामख्य पेट्रोल पम्प नजिकै तिलमाया मगरको डेराबाट उनीहरुले सुन चोरेको आरोप छ ।

सो चोरी अनुसन्धान गर्दै जाँदा पाख्रीन दाजुभाइले कोटेश्वर, नरेफाँट र भक्तपुरमा सुन चोर्ने गरेको थाहा भएको छ । प्रहरीले उनीहरुको साथबाट ७ लाख ५९ हजार बराबरको चोरीका गहना बरामद गरेको छ । मोटरसाइकलमा चढेर निगरानी गर्ने उनीहरु मुलगेट खुल्ला भएको घरमा पसेर चोर्ने गर्थे । मनोजले मोटरसाइकल चलाउने र राजेश पाख्रीन घरमा छिरेर चोर्ने गरेको थाहा भएको छ ।

चोरीका गहना उनीहरुले बसपार्कमा लगेर सुन पसलेलाई बेच्ने गरेका थिए । उनीहरुविरुद्ध चोरी मुद्दामा अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप