शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘डिजाइनर पहिरनमा रुचि बढ्दो छ’

बुधबार, १६ चैत २०७८, १३ : ३०
बुधबार, १६ चैत २०७८

फेसन भनेको परिवर्तन हो जुन जीवनलाई रोचक बनाउन आवश्यक छ । फेसनका विभिन्न क्षेत्र छन्, यसमध्ये एक पहिरन पनि हो । केही समय अघिसम्म पनि धेरैले फेसनलाई र्‍याम्पमा अचम्मका पहिरन लगाएर क्याटवाक हिँड्नुलाई बुझ्दथे । तर जसरी फेसनमा परिवर्तन आउँछन् त्यसैगरी यसप्रति मानिसको सोचमा पनि परिवर्तन आएको छ । यो परिवर्तनले नेपाली समाजलाई पनि छोएको छ । यहाँ मानिसको फेसनप्रतिको बुझाइ र रुचि दिनानुदिन बढ्दो छ । कुनै बेला कुलीन वर्ग, अभिनेता, कलाकार, मोडलहरूले मात्रै डिजाइन गरिएका ड्रेस लगाउँछन् भन्ने सोचिन्थ्यो तर हाल विवाह, पार्टी, कार्यक्रमका साथै, अफिस जानेहरूले समेत डिजाइनर ड्रेस रोज्न थालेका छन् । यसलाई मानिसहरूले आफ्नो पहिचान र व्यक्तित्व झल्काउने माध्यम ठानेका छन् ।  

त्यसैले त कतिले फेसन डिजाइनिङलाई पेसाको रूपमा अँगाल्न सकेका छन् । ती मध्येकी एक हुन्, गोमा अधिकारी । उनी विगत ६ वर्षदेखि बाटिका क्रियसन नामक बुटिकमार्फत् फेसनको क्षेत्रमा छिन् । 

औपचारिक फेसन डिजाइन कोर्ससहित यो क्षेत्रमा होमिएकी गोमा यसअघि सौन्दर्य प्रतियोगिता आयोजना गर्दथिन् । उनी प्रतियोगीका लागि ‘ड्रेस डिजाइन’ गर्थिन् । यस्तो गर्दागर्दै उनीमा फेसनप्रतिको रुचि थप बढ्यो । उनले डिजाइन गरेको ड्रेस आँचल शर्मा दीपाश्री निरौलालगायतका सेलिब्रेटी लगाउने गरेका छन् भने गोमाको डिजाइन सर्वसाधारणमा पनि लोकप्रिय बनेको छ । पछिल्लो समय फेसनको बजार कस्तो छ, कस्ता मानिसको यसप्रति बढी रुचि छ, यो क्षेत्रमा के–कस्ता कठिनाइ छन्, यसबारे गोमाले रातोपाटीसँग छोटो संवाद गरेकी छिन् । 

पछिल्लो समय फेसनप्रति मानिसको रुचि कस्तो छ ?

– फेसन मानिसको व्यक्तित्वसँग जोडिएको विषय भएकाले यसप्रति मानिसको चासो र रुचि धेरै छ । फेसन गर्न सबैलाई मनपर्छ । यसप्रति रुचि हुँदाहुँदै पनि आर्थिक अवस्थाले गर्दा कतिपयले रुचि मारिरहेको अवस्था छ । फेसन ड्रेस सामान्य भन्दा अलि महँगो समेत हुने गर्दछ । पछिल्लो समय फेसनलाई राम्रोसँग अगाडि बढाउने, डिजाइन तयार गर्ने काम बुटिकले गरेका छन् । अहिले बुटिक खोल्ने भनेपछि घरभाडा समेत महँगो भन्ने चलन छ । त्यसपछि कालीगढ, सिलाई मास्टर र डिजाइनर खर्चले पनि बुटिकका पहिरन महँगा हुन्छन् । तर, मैले यो कुरा राम्ररी बुझेकाले मानिसले आफ्नो रुचिको पहिरन न्यूनतम रेटमा पनि प्रयोग गर्न पाउन् भनेर ध्यान दिने गरेकी छु । म ग्राहकको बजेटअनुसार मटेरियल प्रयोग गरेर ड्रेस डिजाइन गर्छु ।

फेसनमा कस्ता वर्गका मानिसको रुचि बढी छ ?

– फेसनमा बढी रुचि राख्ने भनेका टिन यजर्स हुन् । उनीहरूको जति फेसनप्रति लगाव र चासो अन्यको छैन । उनीहरूले त किन्दिनु पर्‍यो भनेर परिवारलाई फोर्स गर्न मिल्यो । त्यसपछिको उमेरका मानिस जीवन संघर्षमा हुन्छन् । उनीहरू आफ्नो ध्यान फेसनप्रति भन्दा पनि जीवन सुरक्षित बनाउनेमा दिन्छन् । ४० काटे पछि संघर्षको समय अलिकति कम हुने भएकोले पनि होला, त्यस्ता वर्गका मानिसको पनि फेसनमा रुचि छ ।

गर्मी लागिसक्यो, यो समय कस्ता पहिरन उपयुक्त हुन्छ ?

– गर्मीका लागि कटनको पहिरन राम्रो हो । त्यसमा पनि कुल टाइपका र हल्का उपयुक्त हुन्छ । आउटर, हल्का सुटपाइन्ट र  लेहेङ्गा, गाऊन, वान पिस लगायत राम्रो हो ।

यो समय क्याजुअलमा वानपिस, टिसर्ट, सर्ट लगायतका डिजाइन उपयुक्त हुन्छ । फर्मलका लागि लेहङ्गा, गाऊन, सारी महिलाको लागि राम्रो हुन्छ ।

पहिरनमा कलरले कत्ति फरक पार्छ  ?

–पहिरनमा कलरले धेरै फरक पार्छ । त्यसले आकर्षक देखाउनेदेखि विभिन्न प्रभाव पारिरहेको हुन्छ । त्यसैले समरमा महिलाका लागि विशेष गरी सेतो, पिङ्क र लाइट कलरका पहिरन उपयुक्त हुन्छ ।

युवा युवतीमध्ये फेसनमा को अगाडि छन् ?

– फेसनको मामलामा केटाभन्दा केटीहरु धेरै अगाडि छन् । विशेष गरी उनीहरूको रुचिमा वान पिस, लेहङ्गा, गाऊनलगायतका छोटा परिहरन पर्छ ।

खुल्ला बजारको भन्दा डिजाइनको फेसनमा के भिन्नता छ ?

– प्रायः फेसन डिजाइन गर्ने भनेको बुटिकले हो । बुटिकको पहिरन स्टाइलिस हुन्छ । आफूले चाहेअनुसार डिजाइनमा बनाउन सकिन्छ । अर्को कुरो बुटिकले बनाएको ड्रेस बाहिर जुध्दैन । हामी एउटा डिजाइन एक जनाका लागि मात्र बनाउँछौ । खुल्ला बजारमा त एउटै डिजाइनका ड्रेस सबैका लागि हुन्छ । 

बुटिकको व्यवसाय कस्तो छ ?

कोरोना अगाडि बुटिक व्यवसाय एकदमै राम्रो थियो । कोरोनाले तीन वर्ष यता थलियो । त्यसो त कोरोनाले सबै प्रकारको ब्यावसायमा असर परेको छ । अहिले कोरोना मत्थर भएकाले आसालाग्दो अवस्था बन्दै गएको छ । 

बिवाह, ब्रतबन्ध लगायतको सिजन लाग्दै गर्दा बुटिकको व्यवसाय बढ्छ होला नि ?

– फेसनप्रति मानिसको एकदमै रुचि छ । त्यसमाथि विभिन्न सिजनले व्यवसाय त बढाउँछ नै, त्योसँगै पछिल्लो समय टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालले गर्दा चुनौती छ । सामाजिक सञ्जालमा भिडियो, तस्बिर राख्ने भएकोले मानिसहरु पहिरन युज एण्ड थ्रो गर्न थालेका छन् । त्यसैले मानिसको रोजाई सस्तो र राम्रो पहिरनमा पर्न थालेको छ ।

यो वर्ष बजारमा तपाईंका डिजाइन के कस्ता आउँछन् ?

– फेसनका डिजाइन हरेक वर्ष मात्र होइन, ३/४ महिनामा परिवर्तन हुन्छ । यो वर्ष पनि थुप्रै नयाँ डिजाइन भित्रिने हामीले अनुमान गरेका छौँ । केही नयाँ डिजाइन ल्याउने मेरो पनि तयारी छ । त्यसमा पनि हामी नेपालीले बढी लगाउने भनेको लेहङ्गा, गाऊन, सारी चोली हो । यी पहिरनका नयाँ  र आकर्षक डिजाइन यो वर्ष पनि बन्छ । 

फेसनको परिवर्तित डिजाइनले लगानीको जोखिम कति हुन्छ ?

– धेरै हुन्छ । एक त बजारमा फेसनका डिजाइन छिट्टै परिवर्तन हुन्छ । अर्को कुरो हामी तयार गरेका फेसनका स्याम्पल त्यसै बस्छन् । कतिपय ग्राहकले आफै डिजाइनका नमुनासमेत लिएर आउँछन् । त्यसले स्याम्पलका लागि गरेका डिजाइनर पहिरन समेत खेर जान्छ । हामीले मौसमअनुसार  अन्तर्राष्ट्रिय डिजाइनसमेत फलो गर्नुपर्छ ।

बुटिक व्यवसायमा प्रतिस्पर्धा कतिको छ ?

–यसमा प्रतिस्पर्धा एकदमै बढी छ । पछिल्लो समय धेरै बुटिक खुलिरहेका छन् । म अरूको सिको गरेर भन्दा पनि मौलिकतामा विश्वास गर्छु । त्यसैले अहिलेसम्म व्यवसायमा केही अप्ठ्यारो महसुस भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप