शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा र ठाकुरबीच वार्ता : प्रधानमन्त्रीको भारत भ्रमणअघि लोसपा सरकारमा जाला ?

बुधबार, १६ चैत २०७८, १७ : ०२
बुधबार, १६ चैत २०७८

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएका छन् । सरकारमा लोसपाको सहभागिताको विषयमा ठाकुरले देउवासँग छलफल गर्न लागेका हुन् । यही विषयमा केन्द्रीत पार्टीको कार्यकारिणी समितिको बैठक पश्चात ठाकुरले बुधबार साँझ साँझ प्रधानमन्त्री देउवासँग वार्ता गर्न लागेको पार्टी स्रोतले जनाएको छ ।

स्थानीय तहको चुनाव अघि नै लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्री देउवाको तयारी रहेको छ । त्यसै विषयमा उनले लोसपाका अध्यक्ष ठाकुरसँग नियमित छलफलमा गरिरहेका छन् । छलफलमा लोसपाका अध्यक्ष ठाकुरले सरकारमा जानका लागि माहोल बनाउन कुनै न कुनै रुपमा मधेशको मुद्दा सम्बोधन गर्न सर्त अघि सारेका छन् । 

आन्दोलनका क्रममा मुद्दा लागेकाहरूको मुद्दा फिर्ता तथा थुनामा रहेकाहरुको रिहा एवं संविधान संशोधनका लागि कार्यदल गठन गर्न अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् । आफूहरुले उठाउँदै आएको माग पुरा गर्ने प्रकृया सुरु गरे मात्र आफूहरुलाई सरकारमा सहभागी हुन सजिलो हुने भन्दै अध्यक्ष ठाकुरले त्यो माहोल तयार गर्न आग्रह गरेको स्रोतले जनाएको छ । 

लोसपाले चारवटा मन्त्रालय माग गरेको छ । तर प्रधानमन्त्री देउवाले दुईटा मन्त्रालय दिन मात्र तयार भएका छन् । प्रधानमन्त्री देउवासँग दुईटा मन्त्रालय खाली पनि छन् । तर लोसपालाई सरकारमा ल्याइरहेको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव सन्तुष्ट देखिएका छैनन् । 

तैपनि प्रधानमन्त्री देउवाले आफ्नो बाध्यता देखाउँदै लोसपालाई सरकारमा ल्याउन हतार गरिरहेका छन् । सकारात्मक माहोल बने प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि पनि लोसपाका मन्त्रीहरुलाई शपथ खुवाउन सक्नेसम्मको तयारी भइरहेको छ । यस विषयमा आजको भेटघाटमा केही टुंगो लाग्ने जसपाका एक कार्यकारिणी सदस्यले बताए ।  

कार्यकारिणी समितिको बुधबारको बैठकमा पार्टीको विधानको बारेमा छलफल भएको छ । पार्टीका विधान अध्ययनका लागि कार्यकारिणी समितिका सदस्यहरुलाई वितरण गरिएको छ । 
आज बोल्ने अधिकांश नेताहरुले केन्द्रीय समिति बनाउन सुझाव दिएका छन् । लोसपाको केन्द्रीय कमिटी हालसम्म गठन गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप