शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरका अधिकांश पालिका उपप्रमुखको दाबी– अब नेतृत्वको अवसर पाउनुपर्छ

बिहीबार, १७ चैत २०७८, १० : ४८
बिहीबार, १७ चैत २०७८

 मकवानपुरका अधिकांश पालिकाका उपप्रमुखहरुले अब आफूले नेतृत्वदायी भूमिका पाउनुपर्ने आकांक्षा राखेका छन् । मकवानपुरका १० वटा स्थानीय तहमध्ये अधिकांश पालिकाका उपप्रमुखले प्रमुख पदका लागि दावी गरेका हुन् । मकवानपुरमा एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिका छन् । १० पालिकामध्ये ९ वटामा महिला र एक पालिकामा पुरुष उपप्रमुख छन् ।

२०७४ को निर्वाचनमा एमालेले १० वटा स्थानीय तहमध्ये ६ वटामा प्रमुख र ८ स्थानीय तहमा उपप्रमुख पद जितेको थियो । एमालेले हेटौंडा उपमहानगरपालिका सहित मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, मकवानपुरगढी गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको थियो भने बकैया गाउँपालिका र बागमती गाउँपालिकामा उपप्रमुख पद जितेको थियो ।

त्यस्तै, नेपाली काँग्रेस र माओवादी केन्द्रले २/२ वटा स्थानीय तहमा नेतृत्व लिएका थिए । काँग्रेसले राक्सिराङ गाउँपालिकामा पालिका प्रमुख र उपप्रमुखसहित बकैया गाउँपालिकामा प्रमुख पद जितेको थियो । माओवादी केन्द्रले बागमती गाउँपालिका र थाहा नगरपालिकामा पालिका प्रमुख पद जितेको थियो ।

‘महिला पनि पालिका प्रमुखको जिम्मेवारी लिन सक्षम छन्’

मकवानपुरको ९ वटा स्थानीय तहका उपप्रमुखले महिला पनि पालिका प्रमुखको जिम्मेवारी लिन सक्षम रहेको बताएका छन् । पार्टीले अवसर दिएको खण्डमा पुरुषसरह जिम्मेवारी लिएर काम गर्न महिला पनि सक्षम रहेको उनीहरुको भनाइ छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकी उपम्रमुख मिना कुमारी लामा, बागमती गाउँपालिकाकी धनमाया स्याङ्तान, बकैयाकी सरला बोलखे, मकवानपुरगढीकी हर्कमाया रुम्बा, इन्द्रसरोवरकी उमाकुमारी लामा, कैलाशकी सुकुमाया थिङ, राक्सिराङकी निर्मला हिम्डुङ, मनहरीकी मनिला विष्ट र भीमफेदीकी पार्वती रानाले पालिका उपप्रमुख भएर काम गर्दै आएको अनुभवले पनि आफूहरुले अब प्रमुखको भूमिका पाउनुपर्ने दाबी गरेका हुन् ।

उनीहरुले पार्टीले विगतको कामको मुल्याङ्कन गरेर लैंगिक विभेद नगरी पालिका प्रमुखको भूमिकामा महिलाहरुलाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे । पालिका प्रमुखको काम कुनै एउटा विशेष लिङ्गले नभइ आफ्नो जिम्मेवारी र लगनशिलताले गर्ने भएकाले त्यसलाई सबै दलले विचार गर्नुपर्ने उनीहरुको भनाइ छ ।

सबै क्षेत्रमा महिलाहरु जिम्मेवारी लिएर काम गर्न अब्बल रहेकाले राजनीतिक दलहरुले त्यसलाई सहज रुपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा विगतको काम र सक्रियताको मुल्याङ्कन गर्दै पालिका प्रमुखको भूमिकामा महिलालाई अवसर दिनुपर्ने उनीहरु बताउँछन् ।

आकांक्षी धेरै भएकाले म उपाध्यक्ष नै दोहोर्‍याउछु : लामा

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमाकुमारी लामाले अध्यक्षमा आफ्नो आकांक्षा रहे पनि पुनः उपाध्यक्षमै दोहो¥याउने बताएकी छन् । उनले माथिल्लो तहमा जाने इच्छा सबैको हुने भए पनि पार्टीभित्र धेरै आकांक्षी भएकाले आगामी निर्वाचनमा आफूले पुनः उपाध्यक्ष मै उम्मेदवारी दिने बताइन् ।

यद्यपि उनले आफू पालिका अध्यक्ष पदका लागि पनि सक्षम रहेको दाबी गरिन् । विगत ४ वर्षदेखि पालिका उपाध्यक्ष रहेर काम गर्दै आएको अनुभवलाई पार्टीले मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ ।

‘सकेसम्म माथिल्लो तहमा जाउँ भन्ने इच्छा सबैको हुन्छ । मेरो पनि छ । तर, पार्टीको निर्णय हामीले मान्नुपर्ने हुन्छ । त्यसो हुँदा म फेरि उपाध्यक्षमा नै दोहोरिने अवस्था पनि बन्न सक्छ,’ उनले भनिन्, ‘तर, अध्यक्षमा दाबी भने रहन्छ । विगत ४ वर्षदेखि मैले पालिकाको उपाध्यक्ष भएर काम गरेको छु । पार्टीले त्यसको मूल्याङ्कन गरेकै होला ।’

आफूले अध्यक्ष पदका लागि पार्टीमा छलफल पनि सुरु गरेको उनले बताइन् । ‘तर, आकांक्षी धेरै छन् । केही पुरुष साथीहरुले पनि आकांक्षा व्यक्त गर्नु भएको छ,’ उनले भनिन्, ‘त्यसैले पनि मैले पाउने सम्भावना धेरै कम छ तर, दाबीचाहिँ मेरो रहन्छ ।’

उनी २०७४ को निर्वाचनमा एमालेबाट इन्द्रसरोवर गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।

अध्यक्ष पदमा मेरो दाबी : मनिला विष्ट

२०७४ को निर्वाचनमा एमालेबाट मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी मनिला विष्ट अहिले नेकपा एकीकृत समाजवादीका आवद्ध छिन् । आगामी निर्वाचनमा उनी पालिका अध्यक्षमा उम्मेदवार बन्ने भन्दै लविङ गरिरहेकी छन् । पार्टीले विगत ४ वर्षदेखिको काम र सक्रियताको आधारमा आगामी निर्वाचनमा आफूलाई अध्यक्षको उम्मेदवार बनाउने उनले विश्वास व्यक्त गरिन् ।

यद्यपि, राजनीतिक दलहरुमा महिलाले नेतृत्व पाउने विषय अलि कठिन हुने उनको भनाइ छ । ‘पालिका अध्यक्ष पदमा मेरो दाबी छ । पार्टीले मेरो कामको मूल्याङ्कन गरेर मलाई टिकट दिन्छ भन्ने मेरो विश्वास हो,’ उनले रातोपाटीसँग भनिन्, ‘तर, त्यति सहज भने छैन । पार्टी संगठनहरुमा महिलालाई नेतृत्व दिने कुरा अलि गाह्रो नै हो । तर, मेरो हकमा त्यसो हुँदैन ।’

अध्यक्ष मल्लले छोडे पालो मेरै हो : हिम्डुङ

राक्सिराङ गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिम्डुङले पालिका अध्यक्ष राजकुमार मल्लले छाडेमा अध्यक्ष बन्ने पालो आफ्नै भएको बताएकी छन् । उनले पालिका अध्यक्षमा आफ्नो दाबी भए पनि आगामी निर्वाचनमा अध्यक्ष मल्लले दोहोरिने इच्छा राखेका कारण आफू पुनः उपाध्यक्षमै उठ्ने बताइन् ।

अध्यक्ष मल्लले माथिल्लो नेतृत्वमा जाने इच्छा गरेमा भने आफू अध्यक्ष पदमा दाबी गरेर अघि बढ्ने उनले बताइन् । २०७४ सालको निर्वाचनमा राक्सिराङमा अध्यक्ष र उपाध्यक्ष दुवै काँग्रेसले जितेको थियो ।

‘अध्यक्षमा अघिल्लो पटक काँग्रेसका राजकुमार मल्ल र उपाध्यक्षमा मैले निर्वाचन जितेर आएका हौं । अध्यक्षज्यूले दोहोरिने इच्छा राख्नुभएको छ । पालिकामा मिलेर जाने भन्ने छलफल पनि भएकाले उहाँलाई मैले अध्यक्ष छोड्नु पर्छ र म पुनः उपाध्यक्षमा दोहोरिने अवस्था बन्छ,’ उनले भनिन्, ‘यदि उहाँ माथिल्लो तहमा जाने इच्छा राखेर अघि बढ्नु भयो भने म पनि अध्यक्षमा दाबी गर्छु ।’

महिलाहरु सधैँ दोस्रो वरियतामै बसेर नहुने भन्दै उनले नेतृत्व गर्ने अवसर महिलाले पनि पाउनुपर्ने बताइन् । ‘काँग्रेसले त्यो अवसर दिन्छ भन्ने मेरो विश्वास हो,’ उनले भनिन्, ‘यद्यपि त्यो त्यति सहज भने छैन ।’

म अध्यक्षको दावेदार हुँ : थिङ

मकवानपुरको विकट कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङले आफू पालिका अध्यक्ष पदको दावेदार रहेको बताएकी छन् । उनले आगामी निर्वाचनमा पार्टीले पालिकाको अध्यक्ष पदमा महिलालाई पनि अवसर दिनुपर्ने भन्दै आफ्नो दाबी रहेको बताएकी हुन् ।

उनले विगत ४ वर्षदेखि पालिका उपाध्यक्ष पदमा रहेर काम गरेको अनुभवले पनि अध्यक्ष पदको जिम्मेवारी सम्हाल्न सहज हुने भएकाले पार्टीले आफ्नो कामको मूल्याङ्कन गरेर अध्यक्ष पदमा उम्मेदवार बनाउने विश्वास व्यक्त गरिन् ।

अध्यक्ष पदमा टिकट ल्याउने विषयमा आफू पार्टी नेतृत्वसँगको छलफलमा रहेको उनको भनाइ छ । २०७४ को निर्वाचनमा उनी एमालेबाट पालिका उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।

‘म पालिका अध्यक्षको दावेदार हुँ । पार्टीले पनि महिला नेतृत्वलाई अवसर दिनुपर्छ । म पार्टी नेतृत्वसँग त्यस विषयमा छलफल गर्ने क्रममै छु । मेरो विगत ४ वर्षदेखिको पालिका सञ्चालनको अनुभवले पनि मलाई पार्टीले विश्वास गरेर टिकट दिन्छ,’ उनले भनिन्, ‘मैले चुनाव जित्छु । पार्टीले कामको मूल्याङ्कन पनि त गर्छ नि ।’

नयाँ साथीलाई अवसर दिनुपर्छः रुम्बा

२ पटक पालिका उपाध्यक्ष पदमा रहेर काम गरेकी मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले पालिकामा नयाँ नेतृत्व आउनुपर्ने धारणा व्यक्त गरिन् । तत्कालीन गढी गाविस र हाल मकवानपुरगढी गाउँपलिकाको उपाध्यक्ष रहेर काम गर्दै आएकी रुम्बाले नयाँ नेतृत्वलाई जिम्मेवारी दिन आफू तयार रहेको बताइन् ।

नेकपा एमालेबाट २०७४ को निर्वाचनमा पालिका उपाध्यक्ष पदमा निर्वाचित भएकी उनले आफ्नो कुनै पनि पदमा दावी नरहेको बताइन् । उनले पार्टीले उठाएको अवस्थामा भने आफू जिम्मेवारी लिन तयार रहेको बताइन् ।

‘म पार्टीको निर्देशन मान्छु । मेरो खासै केही आकांक्षा छैन । मैले २ कार्यकाल स्थानीय तहमा पालिका उपाध्यक्ष भएर काम गरिसकेँ । म नै हुनुपर्छ भन्ने माग छैन,’ उनले भनिन्, ‘नयाँ साथीहरुले पनि नेतृत्वमा आउने अवसर पाउनु पर्छ भन्ने मेरो मान्यता हो । त्यसैले म नयाँ साथीहरुलाई अवसर दिएर सहयोग गर्न चाहन्छु ।’

पार्टीले योग्य उम्मेदवार छनौट गरेर पठायो भने उनीहरुलाई सहयोग गर्न आफू तयार रहेको तर, पार्टीले आफूलाई नै उठाएको खण्डमा पछि नहट्ने उनले बताइन् ।

अवसर पाए पालिका हाँक्न सक्छु : स्याङ्तान

​​

बागमती गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङ्तानले अवसर पाएको खण्डमा आफू अध्यक्ष भएर पालिका हाँक्न सक्ने बताइन् । उनले आगामी निर्वाचनमा पार्टीले टिकट दिएको खण्डमा पालिका अध्यक्ष पदमा उम्मेदवार बन्ने आकांक्षा राखिन् ।

पालिका अध्यक्ष पदमा पार्टीबाट धेरै जना आकांक्षी रहेका कारण अध्यक्ष पदका लागि आफू खुलेर अघि बढ्न नसकेको उनको भनाइ छ । २०७४ सालको निर्वाचनमा एमालेबाट पालिका उपाध्यक्षमा निर्वाचित भएकी उनी आफ्नो अनुभवले पनि पालिकाको नेतृत्व हाँक्न सक्षम हुने दाबी गर्छिन् ।

‘पार्टीले जिम्मेवारी दिएको खण्डमा म पालिका हाँक्न सक्छु । बागमतीमा एमालेको अवस्था सुध्रिएको छ,’ उनले भनिन्, ‘पार्टी विभाजनको असर त्यस्तो छैन । छिटफुट असर देखिनु सामान्य नै हो । तर, संगठनको अवस्था मजबुत छ ।’

मैले पालिका अध्यक्षको अवसर पाउनुपर्छ : बोलखे

२०७४ सालको निर्वाचनमा मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवार पराजित भए । उपाध्यक्ष पदमा भने एकालेकी सरला बोलखेले जित हात पारिन् । पालिका उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गर्दै आएकी बोलखेले आगामी निर्वाचनमा आफू स्वतः अध्यक्ष पदको दाबेदार भएको बताइन् । उनले पुनः उपाध्यक्ष पदमा उठ्ने इच्छा नभएको भन्दै अध्यक्ष पदमा आकांक्षा व्यक्त गरेकी हुन् । उनले आगामी निर्वाचनमा पार्टीले आफूलाई टिकट दिएर एक कार्यकाल अध्यक्षको जिम्मेवारी लिने अवसर दिनुपर्ने बताएकी हुन् ।

‘म पुनः उपाध्यक्ष बन्न चाहन्न । मेरो आकांक्षा भनेको अध्यक्ष बन्ने हो । त्यसका लागि म सक्षम पनि छु,’ उनले भनिन्, ‘महिला नेतृत्वलाई पार्टीले अवसर पनि दिनुपर्छ । तर, आकांक्षी धेरै हुँदा पार्टीमा समस्या हुने देखिन्छ । त्यसलाई मिलाएर पार्टीले मलाई टिकट दियो भने म पालिका सञ्चालन गर्न सक्छु भन्ने मेरो विश्वास हो ।’

म मेयर नै बन्ने हो : गोपाली

मकवानपुरको थाहा नगरपालिकाको उपमेयर खड्ग गोपालीले आफू मेयर बन्ने दाबी गरेका छन् । काँग्रेसका गोपाली २०७४ सालको निर्वाचनबाट थाहा नगरपालिकाको उपमेयर पदका उम्मेदवार भएर निर्वाचित भएका थिए ।

उनले गठबन्धनको नाममा पुनः उपमेयरमा उठ्ने चाहना नभएको भन्दै आफू मेयरमै उठ्ने बताए । ‘अघिल्लो निर्वाचनमा पनि मेयर भनेर भोट मागेर हिँडियो । गठबन्धन हुँदा उपमेयरमा परियो,’ उनले भने, ‘म फेरि पनि उपमेयरमा उठ्न चाहन्न । अब म मेयरमा उठ्ने हो । म नेपाली काँग्रेसको तर्फबाट मेयरमा उठ्ने हो ।’

आफूले मेयर पदका लागि तयारी गरेको र सोही अनुसार पार्टीले मूल्याङ्कन गरेर पार्टीले आफूलाई उम्मेदवार बनाउने उनको अपेक्षा छ ।

मेरो उम्मेदवारी मेयरमा : लामा

हेटौंडा उपमहानगरपालिकाको उपमेयर मिनाकुमारी लामाले आफू मेयरको दावेदार भएको बताएकी छन् । उनले आफू कर्ममा प्रतिवद्ध भएकाले पनि आगामी निर्वाचनमा पार्टीले आफूलाई मेयरमा अघि बढाउने विश्वास व्यक्त गरिन् ।

२०७४ को निर्वाचनमा एमालेबाट हेटौंडाको उपमेयरमा निर्वाचित भएकी उनी हाल नेकपा एकीकृत समाजवादीमा छिन् । उपमेयरका रुपमा आफूले हासिल गरेको अनुभवले पनि आफू मेयरका लागि सक्षम रहेको उनको भनाइ छ ।

‘मेरो दावी हेटौंडा उपमहानगरपालिकाको मेयरमा हो । पार्टीले पनि मलाई अगाडि बढाउँछ भन्ने विश्वास छ,’ उनले भनिन्, ‘सोही अनुसार पार्टीभित्र छलफल पनि भएको छ । पार्टी नेतृत्वले पनि महिलाहरुलाई अवसर दिने काम गरेको छ ।’

पार्टीले महिलालाई प्रमुख भूमिकामा अघि बढाउने विश्वास छैन : राना

मकवानपुरको भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले आगामी निर्वाचनमा पालिका अध्यक्षमा दाबी रहेको बताएकी छन् । विगतको निर्वाचनमा एमालेबाट भीमफेदी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित रानाले आफ्नो दाबी अध्यक्षमा रहे पनि पार्टीले टिकट नदिने बताइन् ।

पार्टीले महिलालाई पालिका प्रमुखको भूमिकामा अघि बढाउनेमा आफूलाई विश्वास नरहेको उनको भनाइ छ । समाजमा रहेको पितृसत्तात्मक सोच, पैसा र पावरको खेलका कारण पार्टीमा महिलाहरु पछि पारिने गरेको उनले बताइन् ।

‘मेरो दाबी अध्यक्षमा हो तर, मैले अध्यक्षमा टिकट पाउने अवस्था छैन । मेरो आकांक्षाले अध्यक्ष दावी गरेरमात्र पाइन्न,’ उनले भनिन्, ‘पार्टीले जिम्मेवारी दिएको खण्डमा म पछि हट्दिनँ । तर, पार्टीले महिला नेतृत्वलाई पालिका प्रमुखमा अघि बढाउँछ भन्नेमा म विश्वास गर्दिन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप