विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय

‘चुनावमा अप्रत्याशित परिणाम ल्याउँछौँ, साँढेको धर्म दूध दिने होइन’

देश धर्मनिरपेक्ष हुनुमा कर्मले हिन्दु हुँ भन्नेहरू पनि दोषी छन् : राजेन्द्र लिङ्देन
विहीबार, १७ चैत्र २०७८, १२ : ०१
विहीबार, १७ चैत्र २०७८

राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा निर्वाचित भएसँगै उनको प्रतिस्पर्धी रहेका पूर्व अध्यक्ष कमल थापा पार्टी छाडेर हिँडे । तर लिङ्देन उनको बर्हिगमनलाई अस्वाभाविक मान्दैनन् । वैचारिक रूपमै फरक मत राखेपछि थापा राप्रपामै हुनुपर्थ्यो भन्ने अपेक्षा नै गलत भएको उनको तर्क छ ।

यो च्याप्टर क्लोज भइसकेपछि अब पार्टीको ध्यान स्थानीय निर्वाचनमा केन्द्रित गरिरहेको उनी बताउँछन् । पूर्वअध्यक्ष थापाले पार्टी छाडेर गए पनि पार्टीको संगठनमा खासै असर नपरेको उनको रिडिङ छ । शुभेच्छुकहरूले राप्रपाले स्थानीय चुनावमा तालमेललाई प्राथमिकता दिनुपर्दैन भनेर सुझावहरु दिइरहे पनि आवश्यकताअनुसार केही स्थानमा तालमेल हुन सक्ने उनी बताउँछन् । ‘पहिलेभन्दा धेरै सिट सङ्ख्या स्वाभाविक रूपमा राप्रपाले प्राप्त गर्छ । अप्रत्याशित परिणाम आउँछ,’ लिङ्देनको दाबी छ ।

यसै सन्दर्भमा अध्यक्ष लिङ्देनसँग स्थानीय चुनाव, विवेकशील साझा पार्टीसँग एकतालगायत समसामयिक विषयमा रातोपाटीका लागि मनोज न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुतसँग कुराकानीको सम्पादित अंश:

पछिल्लो समय राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीबीच एकताको चर्चा छ । एकताको प्रक्रिया कहाँ पुग्यो ?

बाहिर बजारमा सबै कुरा टुङ्गिन लागेको जस्तो प्रचार भए पनि त्यस्तो होइन । रवीन्द्र मिश्र जी र हामीबीच पटक पटक कुराकानी भएको छ । देशलाई बलियो विकल्प दिन हामीसँगै रहेर काम गर्न पाए राम्रो हुन्थ्यो भन्ने हाम्रो निष्कर्ष छ । तर, के र कसरी भन्ने प्रक्रिया प्रारम्भ भएको छैन ।

एकताका विषय अघि बढिसक्यो, अब लागि चुनाव चिन्ह र दुई पार्टीको पहिचान खुल्ने विषयमा चाहिँ कुरा नमिलेको भन्ने छ नि ?

त्यो तहसम्म कुरा भएको छैन । बजारमा यो कुरा कसरी आयो थाहा छैन । नेतृत्व तहमा रवीन्द्र मिश्र हाम्रो पार्टीसँग मिल्न तयार हुनुभयो अथवा एकीकृत रूपमा अघि बढ्न तयार हुनुभयो भने हामीले के–के कुरा सम्बोधन गरेर जान सक्छौँ, के–के सक्दैनौँ भनेर अनौपचारिक रूपमा छलफल गरेका छौँ । तर, यो विषयले औपचारिकता पाएकै छैन ।

भनेपछि, राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको पार्टीबीच एकताको चर्चालाई ठ्याक्कै कसरी बुझ्ने ?

बाहिर आएजस्तो एकताको प्रक्रिया परिपक्व भएसकेको छैन । हामी समान विचार राख्ने, देशलाई बलियो विकल्प प्रदान गर्नुपर्छ भन्ने साझा धारणा बोकेकाहरू मिल्ने, मिलाउने प्रक्रियामा अघि बढिरहेकै छौँ ।  त्यो सन्दर्भमा रवीन्द्रजीहरूसँग एकठाउँ जोडिन सक्छौँ । तर, त्यसले पूर्ण आकार लिइसकेको अवस्था होइन ।

तपाईं राप्रपा नेतृत्वमा आएको करिब ४ महिना बित्यो, व्यक्तिगतरुपमा तपाईं आफ्नो नेतृत्वप्रति आफैँ कति सन्तुष्ट हुनुहुन्छ ?

मानिस स्वभावले नै असन्तुष्ट जात हो । यो समयमा अझै धेरै कुरा गर्न सकिन्थ्यो भन्ने लागेको थियो । गर्नु पर्ने धेरै काम बाँकी नै छन् ।  यो समय खेर गयो भन्ने लागेको छ । तर, पनि कम काम भएको छैन । हामीले एउटा उचाइ प्राप्त गरेका छौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको ऐतिहासिक एकता महाधिवेशन जब प्रारम्भ भयो, हामीले हाम्रो पार्टीलाई अघि बढाउन नेतृत्व परिवर्तन गरेर जानुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ । र, नेतृत्व परिवर्तन भएपछि पार्टीले जनताको विश्वास जित्छ भन्ने हाम्रो अपेक्षा थियो । हामीले जनताको मनोभावनालाई हेरिरहेका थियौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको मुद्दा, पार्टीले जे गरिरहेको छ, त्यो प्रति जनताको असहमति र अविश्वास छैन । हाम्रो कार्यशैली, रणनीति र हाम्रो नेतृत्वमा चाहिँ जनताको विश्वास भएन । त्यसैले यो कार्यशैली र नेतृत्वमा परिवर्तन गरेर गयौँ भने जनताको विश्वास जित्न सकिन्छ भन्ने लागेको थियो । त्यो हामीले अहिले प्राप्त गरिरहेका छौँ । यद्यपि, अझ धेरै गर्न सकिन्थ्यो भन्ने चाहिँ लागेको छ ।

तपाईंलाई निर्मलनिवासले नै चुनाव जिताएको गम्भीर आरोप छ । यस विषयमा तपाईंले स्पष्टीकरण दिन आवश्यक पनि ठान्नुभएन । निर्मल निवासबाट चाहिँ कस्तो सहयोग पाइरहनु भएको छ ?

यो, स्पष्टीकरण दिइराख्नु पर्ने विषय होइन । हामी आस्थाले राजसंस्थाको पक्षधर हौँ । आम नागरिकलाई थाहा छ राजेन्द्रले राजालाई ल्याउन मिल्ने भए आज राति नै नारायणहिटीमा बसाइदिन्छन् भनेर । त्यसैले राजसंस्थाप्रति, राजाप्रति जुन मेरो आस्था हो त्यो छँदै छ । आम जनतालाई विश्वासमा लिएर आम जनताको समर्थन लिएर नेपालमा राजसंस्था पुनर्स्थापना गर्न सकिन्छ भनेर क्रियाशील छु ।

यसको अर्थ राजाले सहयोग गरेर, राजाले हार गुहार गरेर, ‘लौन राजेन्द्र तिमीहरूले मलाई केही गर्दिनुपरो’ भनेर यो गरिरहेको होइन । हामीले राखिराखेको राजसंस्थाको कुरा कुनै व्यक्तिलाई राजा बनाउने वा कुनै जात विशेषले मान्ने धर्ममात्र स्थापना गर्ने मात्र होइन । विशेष गरेर राजसंस्था र हिन्दुराज्य नेपालको स्थायित्वको आधार हो ।

यो देशलाई समृद्धिको अवस्थामा पुर्‍याउने, अथवा यो देशलाई अन्य विकसित देशहरूको दाँजोमा पुर्‍याउन पहिले त शान्ति र स्थिरता चाहिन्छ । त्यो शान्ति र स्थिरताका लागि राजसंस्था र हिन्दुराज्य नेपालको सन्दर्भमा अपरिहार्य छ भन्ने हाम्रो मान्यता हो ।

अब, महाधिवेशनमा राजाले सहयोगको कुरामा, प्रतिनिधिहरूले निर्णय गर्ने ठाउँमा राजाको के प्रभाव पर्नु ? फेरि त्यस प्रकारको साथ र सहयोगको मैले अपेक्षा पनि राखेको थिइनँ । स्वाभाविक रूपले राजा चाहिन्छ भन्ने पार्टी र त्यसको अध्यक्ष हुन्छु भन्ने भन्ने राजेन्द्रले राजा पनि मेरा लागि सकारात्मक भइदिउन्, उनको पनि सुभेक्षा रहोस् भन्ने चाहना थियो होला !

कमल थापा त स्वयम् गएर सहयोग माग्नु नै भएको थियो । र उहाँ स्वयम्ले ‘मलाई राजाको समर्थन छ’ भनेर ऋषि धमलालाई अन्तर्वार्ता नै दिनु भएको थियो । तर मैले त्यस प्रकारको खुलेआम सहयोगको अपेक्षा पनि गरेको थिइन । र, राजसंस्थाको, राजाको हस्तक्षेपबाट महाधिवेशन प्रतिनिधिहरूले यो निर्णय गरे भनेर उहाँहरूको अपमान गर्न चाहन्न । हाम्रो महाधिवेशनमा जुन निर्णय भयो, त्यसले नेपालको राजनीतिमा पुस्तान्तरणको कुरा, हस्तान्तरणका कुरा, नेतृत्व गरिरहेको पुस्ता असफल भइरहेको छ भन्ने कुरा बुझ्न सक्ने प्रतिनिधि राप्रपामा छन् है भनेर पुष्टि गरेको छ । 

निर्मल निवासको हस्तक्षेपबारे छानबिनको कुरा उठ्दा पनि सम्बोधन नगरेपछि हस्तक्षेपलाई स्वीकारेको भन्ने सन्देश पनि गयो नि ?

मलाई लाग्छ बजारमा यसरी विश्लेषण भएको छैन । कसैकसैले आफ्नो कुण्ठा पोख्नका लागि भने होलान् । राजसंस्था प्रतिवाद गर्न आउँदैन, प्रेस वक्तव्य पनि दिँदैन र यस्तो विषयलाई प्राथमिकता पनि दिँदैन । आफ्नो असक्षमता र कमजोरी पोखेर मन हलुको पार्न कसैले भन्यो होला । त्यसैले यसमा मैले स्पष्टीकरण दिनु पनि पर्दैन र यसलाई जनताले बुझिपनि सके ।

‘राजा चाहिन्छ भन्ने पार्टीलाई राजाले हस्तक्षेप गर्‍यो भने के त?’ भनेर कतिपय मान्छेले यसलाई सजिलो पनि बनाइ दिएका छन् । तथापि, यहाँ कुनै हस्तक्षेप पनि छैन, दबाब पनि छैन । र, यसलाई धेरै चर्चा गरिराख्नु पर्ने जस्तो लाग्दैन । यो अध्याय समाप्त भयो ।

तपाईंले नेतृत्वमा आए पार्टीलाई बलियो बनाउँछु भनेर आउनु भएको थियो । तर आफ्नै चुनावी प्रतिस्पर्धी कमल थापाले नयाँ पार्टी बनाएर जानु भयो ?

म खुसी छु । खासगरि हाम्रो आगमनपछि नेपालको राजनीतिमा ध्रुवीकरण सुरु भएको छ । यथास्थितिमै रमाउन चाहनेहरू, राजनीतिलाई पेसा व्यवसाय ठान्नेहरू, हामीबाट बाहिर हुनेछन् । अरू पार्टीमा रहेका मानिसहरू जो देशलाई माया गर्छन्, यो यथास्थितिबाट देश अगाडि बढ्न सक्दैन, यथास्थितिवादको अन्त्य जरुरी छ भन्छन्, उनीहरू सबै हामीसँग जोडिने क्रम सुरु भएको छ । त्यही कारणले मैले यसलाई स्वाभाविक मानेको छु ।

हिजो राप्रपामा कति मानिसहरू थिए, त्यो हाम्रो जग हो । त्यसमा म कुनै हीनताबोध गर्दिन । तर, हिजोको मतले हामीलाई राष्ट्रिय पार्टी बन्न पनि पुगेन । ३ प्रतिशत नि पुगेन । हामी त्यसलाई पनि जोगाउन चाहन्छौँ । तर, त्योभन्दा बाहिर करोडौँको सङ्ख्यामा अरू मानिस छन् । आम जनता छन्, उनीहरूलाई पनि यहाँ जोड्न चाहन्छु । त्यसैले यो ध्रुवीकरणको प्रक्रियामा जो हाम्रो चरित्रसँग मिल्दैनन्, यो ठाउँमा बस्न उपयुक्त देख्दैनन्, उनीहरू छुट्टिएर जान्छन् ।

राजनीतिलाई पेसा व्यवसाय मान्ने, राजनीतिलाई सत्ता आरोहणको भर्‍याङको रूपमा उपयोग गर्न चाहने कोही पनि साथीहरू राप्रपामा हुनुहुन्छ भने तपाईंहरू अहिले नै जानुहोस्, निकाल्नु नपरोस् भनेर मैले सार्वजनिक रूपमै आह्वान गरेको छु । र, कोही अलमलिएर रहेका छन् भने पनि त्यस्ता मानिसहरू निस्किएर जाने छन् । 

कमल थापाले नयाँ पार्टी बनाएपछि राप्रपालाई ठूलो धक्का लागेको विश्लेषण गरिरहेका छन्, के छ अवस्था ?

यति लामो समयसम्म नेतृत्व गरेको कमल थापा जस्तो मान्छे आफ्नो विगतको यात्रालाई नै निरन्तरता दिँदै अभिभावकीय भूमिकामा बस्नु भएको भए, उहाँका लागि र हाम्रालागि राम्रो हुन्थ्यो । तर, आफू हिँडिरहेको मान्यतामै गल्ती देख्नुभयो । वैचारिक रूपमै उहाँले आफूलाई परिवर्तित गर्नुभयो । त्यसपछि उहाँका लागि यहाँ स्थान रहेन ।

उहाँले वैचारिक रूपमै फरक दृष्टिकोण, फरक मान्यता राखेर लाक्पा तामाङको राप्रपा नेपालमा प्रवेश गरेर त्यसको अध्यक्ष बन्न जानुभयो । त्यसैले उहाँलाई हाम्रो शुभकामना मात्रै छ । वैचारिक रूपमै फरक मत राखेपछि उहाँ हामीसँगै हुनुपर्छ, पर्थ्यो भन्ने अपेक्षा नै गलत हो ।

यही मान्यताका साथ छुट्नु भएको भए, यही नाम चिन्हमा मुद्दा हालाहाल, अल्पमत, बहुमततिर गएको भए हामीलाई दुःखको कुरा लाग्थ्यो कि समान बिचार भएर पनि हामी किन एकै ठाउँमा बस्न सकेनौँ भनेर ? नेतृत्वका हिसाबमा मलाई पनि पीडा हुन्थ्यो कि, समान विचार भएका मान्छे आफ्नो पार्टीबाट निस्किएर जानुपर्ने के परिस्थिति पर्‍यो । त्यति पनि बुझाउन नसक्ने, मिलाउन नसक्ने मैले के नेतृत्व गरे भनेर दुख्थ्यो होला । तर, उहाँ आफ्नै हिसाबमा हिँडेपछि शुभकामना दिनुबाहेक केहि रहेन । 

भनेपछि कमल थापाले नयाँ पार्टी बनाएपछि राप्रपालाई कुनै असर पुगेको छैन ?

फरक मत राखेर जानु भयो । केही व्यक्तिहरू त्यहाँ गए पनि संगठनको संरचनामा कुनै फरक परेको छैन । त्यतिमात्र नभएर विगतमा हाम्रो नेतृत्वको राजनीतिक वैचारिक प्रतिबद्धतामाथि बारम्बार प्रश्न उठाइएको थियो । काँग्रेस, माओवादी, एमालेको विकल्प राप्रपा बन्न सक्छ तर, नेतृत्व विचारप्रति, सिद्धान्तप्रति, प्रतिबद्ध छैन भनेर भनिन्थ्यो । तर, अहिले उहाँ पार्टीबाट बाहिर रहेपछि त्यो प्रश्न बाँकी रहेन । अहिले हाम्रो पार्टीमा आउन चाहनेलाई ढोका खुलेको छ । अब, हामी विश्वस्त भयौँ कि, अब पार्टीमा धोका हुँदैन ।

तपाईंले यो भनिराख्दा, कमल थापाले नयाँ पार्टी बनाएर जाँदा दबाब महसुस गर्नुभएको होला ?

प्रारम्भमा मलाई आशङ्का थियो, केहि कठिनाइ आउन सक्छन् कि भन्ने थियो । पार्टी भित्रै रहेका अग्रजहरू, आफ्ना समकक्षी र अन्य प्रशंसकहरूलाई बुझाउन सकिन्न कि ! भ्रमहरू उत्पन्न हुने हुन् कि भन्ने दबाब थियो । तर, यहाँ आइपुग्दा त्यस्तो प्रभाव शून्य रह्यो । फेरि दोहोर्‍याउँछु, यसले संगठन विस्तारमा मद्दत गर्‍यो र हामी मज्जाले अघि बढिरहेका छौँ । हामीलाई कुनै प्रकारको दबाब छैन र निकट भविष्यमा स्थानीय तहको निर्वाचन हुँदैछ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पछि हुन्छ । त्यसैले परिणामले पनि देखिने छ कि कमल थापाले नयाँ पार्टी बनाएर जाँदा संगठन विस्तारमा मद्दत गर्‍यो । कहिलेकाहीँ श्राप पनि आशीर्वादमा परिणत हुन्छ नि त्यही भइरहेको छ ।

आफू बनेनौँ बनेनाैँ, राप्रपालाई पनि ध्वस्तै पार्ने, खत्तम पार्ने कसै–कसैको मनसाय थियो होला । त्यसैले त्यो श्राप चाहिँ वरदानमा परिणत हुनेछ, वरदानमा परिणत गर्ने छौँ ।

कमल थापाको पार्टीलाई राप्रपाले कुन नजरले हेर्छ । यसबारेमा तपाईंको सैद्धान्तिक दृष्टिकोण के ?

मेरो कुनै टिप्पणी छैन । नेपालमा यस्ता सयौँ राजनीतिक दलहरू छन् । दर्ता भएका छन् कोही नभएका छन् । त्यो मध्ये उहाँहरू एउटा दलको रूपमा दर्ता भएर आउनु भएको छ । वर्तमान संविधानलाई उहाँहरूले आत्मसाथ गरेर जानुभएको छ । हामी वैचारिक रूपमै हामी फरक छौँ, त्यसैले उहाँहरूमाथि मेरो कुनै टिप्पणी छैन । अरू राजनीतिक दलमाथि टिप्पणी गर्न पनि उचित हुँदैन ।

तपाईंले लगातार प्रमुख दलहरूबाट देश बन्न नसक्ने दाबी गर्दै आउनु भएको छ । यसबीचमा राप्रपाले चाहिँ अहिलेसम्म के गर्‍यो ?

राजा ज्ञानेन्द्रको १८ महिने प्रत्यक्ष शासनलाई छोड्ने हो भने बाँकी ३१ वर्षको समय देशमा काँग्रेस एमाले, माओवादीले नेतृत्व गरेर आए । ती ३१ वर्ष नेपालका लागि असफलताका वर्ष रहे । अब, पनि यिनै पार्टी र नेताहरूलाई निरन्तरता दिने हो भने, हामी मात्र बर्बाद नभई नयाँ पुस्ता र देशकै भविष्य पनि धरापमा पर्ने खतरा छ ।

यो घाम जस्तै छर्लङ्ग देखिएको छ । यिनै पार्टी र नेताहरूलाई आगामी पाँच वर्ष मात्र नभएर अरू कयौँ वर्ष नेतृत्व दिए पनि यो देशमा कुनै परिवर्तन सम्भव छैन । मैले सार्वजनिक रूपमै पनि काँग्रेस एमाले र माओवादीका साथीहरूलाई सोध्ने गरेको छु । यसबारे खुलेआम जवाफ माग्ने गरेको छु कि, उहाँहरूलाई अरू कति समय सत्ता दिँदा यो देश बनाउन सक्नु हुन्छ ?

वास्तवमा काँग्रेस, माओवादी र एमाले बीचमा अघोषित गठबन्धन र उनीहरूले नै निर्माण गरेको चक्रव्यूहमा देश फसेको छ । यसबाट देशलाई निकाल्ने दायित्व समयले राप्रपालाई दिएको छ ।

विगत ३१ वर्षसम्म नेपालको राजनीतिमा राप्रपा छ, २/४ सीट मन्त्री खान भयो होला, तर प्रमुख पार्टीको रूपमा छैन ।  राप्रपाले हिजो के गर्‍यो भन्दा पनि यसबीचमा सोझो घुमाउरो ढंगले यही असफल यात्राको सहयात्रीका रूपमा रह्यो । गएको महाधिवेशनमा हामीले त्यसलाई आत्मसाथ पनि गर्‍यौँ । हामीबाट गल्ती भयो, अबको मार्गचित्रमा सुधार नगरी राप्रपा देशको मुख्य पार्टी बन्न सकिँदैन, जनताको विश्वास आर्जन गर्न सकिँदैन भनेर हामी हाम्रो कार्यशैलीमा परिवर्तन गरिरहेका छौँ ।

ओहो ! यो देश बिगार्नमा हाम्रा नेता मात्र जिम्मेवार मात्र रहेनछन्, अरूले जे गरे पनि आफ्नो पार्टीको पर्‍यो, अरू चिन्हमा हातै लाग्दैन भनेर बदमास नै भए पनि ठ्याप्प ठ्याप्प भोट दिने हाम्रो हात पनि दोषी रहेछ है भन्ने कुरा जनतालाई महसुस गराउने काम गरिरहेका छौँ । अबको विकल्प भनेको राप्रपा हो भन्ने अनुभूत गराउँदै गइरहेका छौँ ।

सार्वजनिक रूपमै एमाले, काँग्रेस, माओवादीलाई विश्वास गर्नु भनेको साँढेको टाङमुनि बाल्टी थाप्दा दूध झर्छ भनेझैँ हो भन्दै हुनुहुन्थ्यो । अनि राप्रपा चाहिँ जनताका लागि जर्सी गाई हो त ?

त्यो सुन्दा अलिअलि अश्लील जस्तो पनि लाग्ने तर, जनतालाई बुझ्न के सजिलो होला भन्ने प्रसङ्गमा यो भनेको हुँ । मेरो मनमा जस्तो सुकै सुन्दर देशको कल्पना गरे पनि जनताले बुझ्दैन, जागृत हुँदैनन् भने त केहि हुँदैन । यतिका वर्ष सम्म नसुध्रिने दलहरूलाई नै मत हाल्नु भनेको त साँढेको टाङमुनि बाल्टी थाप्दा दूध झर्छ भन्नु जस्तै हो । साँढेलाई सुमसुम्याउँदा पनि हुँदैन, दानापानी थप्दा पनि हुँदैन र कुट्दा पनि हुँदैन । किनकि साँढेको धर्म नै दूध दिने होइन ।

यो कुरा समयक्रमले प्रमाणित गर्‍यो कि आकारले ठूला भएका काँग्रेस, एमाले, माओवादी बिचारले शून्य रहेछन् । योजना शून्य, सपना शून्य पार्टी रहेछन् । यस्तो अपार जनमत पाउँदा पनि यिनीहरूले जनतालाई केहि दिन सकेनन् भनेपछि पुनः केहि गर्लान् भनेर भोट दिनु भनेको त साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तै त हो ।

अनि राप्रपा चाहिँ जनताका लागि जर्सी गाई हो त ?

हाम्रो अर्थ, अबको आशा र भरोसा भनेको राप्रपा नै हो । म अत्यन्त गम्भीर छु । देशमा राजनीतिप्रति ठूलो निराशा रहेछ कि त्यो अहिले अनुभूत गरिरहेको छौँ । त्यसैले राप्रपा पनि, हामी पनि असफल भयौँ भने त यसले घोर निराशा ल्याउने छ ।

यत्रो परिवर्तनको नेतृत्व गरेका दलमाथि तपाईंको आक्रोश चाहिँ किन ? यो परिवर्तनका लागि उहाँहरूको भूमिकै रहेन त ?

उहाँहरूको खेदो खन्ने कामभन्दा पनि जनता जागृत गर्ने हाम्रो अभियानको हो । अब राजाको विरोध गरेर, यत्रो संघर्ष गरेर संविधान दियौँ भनेर राजनीति गर्ने दिन गए । संविधान बनेको ७ वर्ष भइसक्यो । संविधानले जनताको जीवनमा परिवर्तन ल्याउनुपर्‍यो नि । जनताले देख्न पाउने, छुन पाउने परिवर्तन हुन पर्‍यो नि ।  

तर, जसले जनताको जीवनमा कुनै परिवर्तन ल्याउँदैन । झन् सङ्कट थप्दै लान्छ, झन् अप्ठ्यारोमा पार्दै लान्छ भने त्यो संविधान सुनको पानामै लेखे पनि के गर्नु ? त्यसैले अब जनताले यसलाई नगदमा खोज्छन् । राजमार्गहरूलाई लोक मार्ग बनाएर, महेन्द्र पार्कलाई बीपी पार्क बनाएर, प्रजातन्त्रलाई लोकतन्त्र बनाउने परिवर्तनले त जनतालाई के फरक पार्छ र ? 

विगतमा पटक पटक परीक्षण भइसकेको तपाईंको पार्टीले चाहिँ देश बनाउँछ भनेर अब जनताले विश्वास गर्ने ?

३१ वर्षसम्म राप्रपा पनि असफलताको सहयात्री बन्यो । खासै फरक कुरा गर्न सकेन । आफ्नो मुद्दा जीवित राख्यो त्यति हो । पार्टीबाट पटक–पटक सत्ताको स्वाद लिन पाए होलान्, केही मन्त्री–प्रधानमन्त्री भए होलान्, तर राप्रपा प्रमुख, निर्णायक भूमिकामा भएन । हामी जुन जुन समयमा सत्तामा गयौँ, त्यसबारेमा हामीले आत्मालोचना गरिसकेका छौँ । अब, हामी त्यो असफलतालाई सच्चाएर नयाँ बाटोमा छौँ, नयाँ यात्रामा छौँ ।

झापामा तपाईंले प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा काँग्रेसलाई हराउनु भयो । तपाईं सांसद भएपछि जनताले अनुभूत गर्ने गरी के–के गर्नुभयो ?

पछिल्लो समय आएर थाहा भयो सांसद भनेको कुनै कार्यकारिणी पद होइन रहेछ । राजनीतिक रूपमा त्यो क्षेत्रको नम्बर वान मान्छे भए पनि विकास निर्माणमा एउटा वडा अध्यक्षको जति पनि भूमिका नहुँदो रहेछ । तर, जे अवसर प्राप्त गरे त्यसको पूर्ण सदुपयोग गरेको छु । २५ वर्षमा हुन नसकेका विकासका काम भएका छन् । सांसदहरूले प्राप्त गर्ने कोष असाध्यै बदनाम छ । त्यसको एक रुपैयाँ पनि दुरुपयोग नगरी सदुपयोग गरेको छु । विकास र सुशासनको हिसाबले मैले असाध्यै मेहनत गरेको छु भन्ने कुरा जनतालाई थाहा छ । जुन बेला म सिङ्गो निर्वाचन क्षेत्रमा उम्मेदवार बनेको थिएँ, त्यो पुरानो नगर भद्रपुरमा कालोपत्रे देखिन्थ्यो । बाँकी सिङ्गो क्षेत्रले कालोपत्रे हेर्न बिहार जानु पर्थ्यो कि बिर्तामोड आउनु पर्थ्यो । तर, अहिले कालोपत्रे सडकले नछोएका कुनै वार्ड छैनन् ।

पूर्वाधार विकासको क्षेत्रमा असाध्यै अगाडी छ । त्यहाँका चार वटा मध्ये २ वटा स्थानीय तह राप्रपाले जितेको छ । राप्रपाले जितेका ती स्थानीय निकायका प्रतिनिधिहरूको नेताको हैसियतले मैले विकास र सुशासनमा अरूभन्दा भिन्न तरिकाले काम गर्न लगाएको छु । मेरो क्षेत्रमा १२ कक्षासम्मको शिक्षा निःशुल्क छ । स्वास्थ्य उपचारमा विशेष सुविधा छन् । सुलभ औषधि पसलको स्थापना गरिएको छ । बालकक्षामा त्यही प्रकारको सुविधा छ ।

राप्रपाप्रति जनतालाई विश्वास दिलाउने तपाईंको भिजन के छ ?

विकास, सुशासन र प्रजातन्त्र यो हाम्रो प्राथमिकता हो । हामी देशभित्रै युवाहरूले गरिखाने वातावरण निर्माण गर्न सकिन्न भनेर लागेका छौँ । हामी हाम्रो बिजुलीको देशभित्रै खपत गराएर युवाहरू रोजगार बनाउन सक्छौँ ।

आज हाम्रो देशमा हामीलाई नै पुग्ने बिजुली छैन । निकट भविष्यमा ठुलो मात्रामा बिजुली उत्पादन हुँदैछ र यो बिजुली भारत, बंगलादेशलगायतका देशलाई बेच्नुपर्छ । बिजुली बेच्न एमसीसी जस्ता परियोजनाको सहायता लिएर भए पनि ट्रान्समिसन लाइनहरू बनाउनु पर्छ । यो बेचेन भने कहाँ लगेर खपत गर्ने भनेर प्रश्न गर्ने पनि छन् । तर, राप्रपा बिजुली बेच्ने पक्षमा छैन । हाम्रो बिजुली देशमै सदुपयोग गर्न सक्छौँ । सारा गाडी बिजुलीले चल्ने, ग्यासको सट्टा भन्सामा बिजुलीले चल्ने इन्डक्सन, किसानको खेत खेतमा बिजुली पुर्‍याउने, जहाँ सतहगत सिँचाइको व्यवस्था छैन, त्यहाँ भूमिगत सिँचाइको व्यवस्था गर्ने र सहुलियत दरमा विद्युत् वितरण गर्ने । संसारभरका लगानीकर्तालाई रोजगारमूलक र वातावरण मैत्री उद्योग स्थापनका लागि आह्वान गर्ने । उनीहरूलाई १०/२० वर्षसम्म कर छुटमात्र नभएर विद्युत् महसुलमा समेत छुट गराउने र देशलाई औद्योगिकीकरण लान सकिन्छ । लाखौँ युवाहरूलाई देशमै गरिखाने वातावरण निर्माण गर्न सकिन्छ । हामी यिनै सपनाका साथ जनतामा जान्छौँ ।

अहिले स्थानीय तहको निर्वाचन हुँदैछ । त्यसका लागि हामीले थोरै मात्र जितेका स्थानीय तहमा गरेर देखाएका छौँ । उपलब्ध स्रोत साधनले मात्रै पनि भ्रष्टचार नगरी, कमिसन नखाई काम गर्ने हो भने १२ कक्षासम्म पूर्ण निःशुल्क गर्न सकिन्छ । बालकक्षालाई मन्टेश्वरीको तहमा विकास गर्न सकिन्छ । आधारभूत स्वास्थ्य निःशुल्क गर्ने वा आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि बन्देज नहुने गरी काम गर्न सकिन्छ । कृषिलाई रोजगारसँग जोड्ने, कृषकहरूको उत्पादनलाई बजारसँग जोड्ने । उन्नत बिउ र मलको व्यवस्था गर्ने र पूर्वाधार विकासमा पनि नमूनालायक काम गर्न सकिन्छ भनेर हामी पार्टीको घोषणा पत्र नै तयार गर्ने तयारीमा छौँ ।

विदेशीहरूको सहयोग लिनै हुँदैन भन्नेमा म छैन । तर, विदेशीहरूको सहयोग नलिएर पनि अहिले उपलब्ध स्रोत साधनले पनि देश बनाउन सकिन्छ भन्नेमा हामी छौँ ।

आफ्ना सपना बताइरहँदा राप्रपामा पटक पटकको विभाजन, व्यक्तिवादी सोच, कमजोर संगठन र परम्परागत सोचका कारण जनमत फर्काउन चुनौतीपूर्ण छ । यसलाई कसरी जस्टिफाइ गर्नुहुन्छ ?

अहिले जनतालाई पूर्ण विश्वास छ । राप्रपामा परम्परागत फुटले वा केही नेता निस्किएर जाँदैमा केहि प्रभाव पर्दैन भन्ने उहाँहरूलाई विश्वास छ । जनताको तर्फबाट यो देशका बुद्धिजीवीहरू, देश बुझ्ने, देशको माया गर्ने मानिसहरूबाट मलाई ‘नडराउनु है’ भन्ने ढाडस आइरहेको छ । ‘नआत्तिनु है हामी छौँ, तिमीलाई के चाहिन्छ, कुन प्रकारको मद्दत चाहिन्छ हामी छौँ, तिमी खुट्टा नकमाऊ है’ भनिराख्नु भएको छ ।

हामीले नहुने कुरा गरेका छैनौँ । स्थानीय तहको कुरा गर्दा आधारभूत तहका काम हामी गरेर देखाउने छौँ । स्थानीय तहमा नेतृत्व पायौँ भने नमुना काम गरेर राप्रपाले देशै पायो भने कस्तो काम गर्ला भन्ने गरी काम गरेर देखाउँछौँ । केन्द्रीय तहमा पनि ठुला सपना देखाउँदैनौँ । म रेलको, पानीजहाजको सपना देखाउँदिनँ । अहिलेको बाटोमा सुधार गर्ने, चौडा गर्ने, काठमाडौँको जाम हटाउने/घटाउने तर्फ लाग्छौँ । भूमिहीनहरूलाई जग्गा उपलब्ध गराउने भन्दा पनि जसले उपभोग गरिरहेका छन् उसलाई मालिक बनाउनेमा हामी ध्यान दिनेछौँ ।

हिजो एमालेले प्राप्त गरेजस्तो सिट हामीले प्राप्त गर्ने हो भने २–४ वटा पुल ढिलो बन्लान्, २/४ वटा बाटाहरू ढिलो बन्लान् तर शिक्षा र स्वास्थ्य पूर्ण रूपले निःशुल्क गराउँछौँ ।

एमाले, काँग्रेस र माओवादीजस्ता दलहरूका समस्या चाहिँ के हुन् ?

जनताले धेरै ठुलो कुरा खोजको देखिँदैन । उनीहरू चाहन्छन् भ्रष्टाचार नहोस् । अहिले भ्रष्टाचार सिंहदरबारबाट वडा तहसम्म पुग्यो । जनता वाक्क छन् ।  उनीहरूको निष्कर्ष नै कुनै पनि पार्टी र नेताले केहि गर्दैनन् भन्ने छ । तर हामीले होइन है, राजनीतिबाट जनता भाग्नुहुँदैन भनेर भनिरहेका छौँ । भोट दिने कुरा छोरी दिने कुरा भन्दा ठुलो कुरा हो । तपाईंले हजार पटक बढी सोचेर दिएको छोरी त कहिलेकाहीँ लफङ्गाको हातमा पर्छ । त्यहाँ त एउटा छोरी मात्र बिग्रिन्छ तर तपाईंले दिएको भोट, गलत पार्टी र गलत नेतालाई पर्‍यो भने त देशले दुःख पाउँछ । आज देशमा त्यही भइरहेको छ । त्यसैले एक छाकमा, एक ट्वाकमा भोट बेच्ने होइन है भनेर जनतालाई जागृत बनाइरहेका छौँ ।

अब, स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा राप्रपाले चुनावी तयारी कसरी गरिरहेको छ ?

हामी अहिले ७ सय ५३ वटै स्थानीय तहमा आफ्नो उम्मेदवार तयार गर्ने र तल्लो तहसम्म हाम्रो उपस्थितिलाई मजबुत बनाउने योजनाका साथ काम गरिरहेका छौँ । वर्गीकरण गरेर प्राथमिकता दिनुपर्ने क्षेत्र पनि छन्, कतिपय ठाउँमा उपस्थिति मात्र जनाउनु पर्नेछ, त्यसैले ठाउँ अनुसार उपस्थित हुन्छौँ । हामी ठुला कुरा गर्दैनौँ ।

यसपटक राप्रपाको उपस्थिति विगतमा बन्दा बलियो र राम्रो हुन्छ । हामी धेरै स्थानमा जित्छौँ । ती स्थानहरूमा हामीले केन्द्रबाटै संयन्त्र बनाएर नमुना लायक काम गरेर देखाउँछौँ । हाम्रा उम्मेदवारहरूलाई सुशासनको सन्दर्भमा हामीले भनिसकेका छौँ कि उनीहरू सार्वजनिक रूपमा धार्मिक स्थलहरूमा भ्रष्टाचार नगर्ने, सुशासनको पक्षमा उभिने प्रतिबद्धता गरेर दरखास्त दिन जान्छन् । र, उनीहरूलाई हामीले अग्रिम रूपमै राजीनामा पनि लेखाउँछौँ ।  भोलि कोही कसैले सुशासनका विरुद्धमा काम गर्‍यो, २–४ पैसामा लोभिएर काम गर्‍यो भने त्यहाँबाट हटाउन सजिलो होस् भनेर हामीले अग्रिम राजीनामा लेखाउने तयारी गरेका हौँ ।

यस्तै, प्रतिनिधिहरूको अनुगमन गर्ने र सहयोग गर्ने संयन्त्रसमेत हामी बनाउँछौँ । हामीले स्थानीय तहमा खटाउने सबै जना विज्ञ नहुन सक्छन् । अब राप्रपालाई सिक्ने समय छैन । अब ‘डे वान’ बाटै काम गर्नु छ । त्यसैले पहिलो दिनबाटै कसरी काम गराउने भनेर विज्ञ टोली राखेर ऐन तयार गरेर कार्यान्वयनसम्म हामी जान्छौँ । जितेका स्थानीय तहमा प्राथमिकताका आधारमा, स्रोत साधनका आधारमा योजना बनाउन हाम्रो विज्ञको टोली काम गर्ने गरी व्यवस्था मिलाउँछौँ ।

चुनावमा तालमेलको सम्भावना के छ, यसबारे केही छलफल चलेको छ कि ?

हामीले चुनावी तालमेलको विषयलाई प्राथमिकतामा राखेका छैनौँ । हाम्रो शुभेच्छुकहरूको सुझाव पनि छ कि, राप्रपाले तालमेललाई प्राथमिकता दिनु पर्दैन भनेर । राप्रपाले अहिले जतिसुकै जोड गरे पनि पहिलो पार्टी हुने गरी अथवा सबै स्थानीय तहमा जित्ने गरी सिट ल्याउने होइन । भरसक निर्वाचनमा एक्लै जाओस्, जति सीटमा जित्छ, त्यसमा राम्रो गरेर देखाओस्, हामी सहयोग गर्न तयार छौँ, जनता मद्दत गर्न तयार छन्, यसले अप्रत्याशित नतिजा आउँछ भन्ने सुझावहरू छ ।

तथापि, स्थानीय आवश्यकताका आधारमा अरू राजनीतिक पार्टीहरूले हाम्रो सम्मान हुने गरी प्रस्ताव राख्यो भने चुनावी तालमेल हुन्छ । तर, अहिले हामीले कोहीसँग पनि त्यस प्रकारको छलफल चलाएका छैनौँ ।

ठ्याक्कै भन्दा ७ सय ५३ वटा स्थानीय तहमा राप्रपाले कति जित्छ होला ?

सङ्ख्यामा ठ्याक्कै भन्नु उचित होला जस्तो मलाई लाग्दैन । तर समग्रमा हाम्रो उपस्थिति राम्रो हुन्छ । पहिलेभन्दा धेरै सिट सङ्ख्या स्वाभाविक रूपमा राप्रपाले प्राप्त गर्छ । अप्रत्याशित परिणाम आउँछ ।

तपाईंहरु राजा र हिन्दुराष्ट्रको एजेण्डा बोकेको पार्टी, यसमा विश्वास राख्ने ठुलो जमात हुँदाहुँदै पनि त्यसलाई क्यास गर्न नसक्नु कहाँनेर गल्ती भयो भन्ने तपाईंलाई लाग्छ ?

हो हामी चुक्यौँ । हामीले जसको मुद्दा हो उसलाई बुझाउन सकेनौं । जन्मले कर्मले म जस्ता हिन्दु नभएका मानिसहरू हिन्दु राष्ट्र देशको आवश्यकता हो भनेर हिड्यौँ । तर, जो जन्मले कर्मले हिन्दु छन्, कति त हिन्दु कर्मकाण्डकै माध्यमबाट जिविका चलाइरहेका छन्, उनीहरू नै धर्म निरपेक्षताको पक्षमा भए । अथवा राप्रपाको पक्षमा भएनन् ।

यहाँ हामीले जसको मुद्दा हो उनीहरूलाई बुझाउन सकेनौँ । हाम्रो नेतृत्व, हाम्रो कार्यशैलीमा त्रुटी रह्यो । हामीले विश्वसनिय ढंगले बुझाउन सकेनौँ । त्यसैले अहिले हामी के विश्वासका साथ काम गरिरहेका छौँ भने, जसको मुद्दा हो उसलाई बुझाउन सक्छौँ र यही निर्वाचनबाटै आमूल परिवर्तन ल्याउने सक्छौँ भनेर क्रियाशील छौँ ।

हामी अहिले भनिराखेका छौँ, देश धर्मनिरपेक्ष हुनुमा केही पार्टी र तिनका केही नेतामात्र दोषी छैनन् है, तिनलाई भोट दिने, जन्मले र कर्मले हिन्दु हुँ भन्नेहरु पनि दोषी छन् है । तपाईंले भोट नदिएको भए, उनीहरू कहाँ संविधान लेख्न पुग्थे र धर्म निरपेक्षताको निर्णय गर्थे र ! त्यसकारण त्यो गल्ती सच्याउने एउटै बाटो भनेको राप्रपा हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप