मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

११ उपमहानगरमा गठबन्धन दल एकातिर एमाले अर्कोतिर हुँदा कस्तो होला चुनावी नतिजा ?

शुक्रबार, १८ चैत २०७८, २१ : ४६
शुक्रबार, १८ चैत २०७८

आगामी स्थानीय तहको निर्वाचनमा काँग्रेस नेतृत्वको गठबन्धन एकातिर र एमाले अर्कोतिर हुने करिब निश्चितजस्तै भइसकेको छ । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा देशका ११ उपमहानगरमा सत्तारुढ गठबन्धन र एमालेबीच कस्तो प्रतिस्पर्धा हुनसक्छ भन्नेबारे चासो बढ्नु स्वाभाविक हो ।

यद्यपि बितेको ५ वर्षमा विभिन्न राजनीतिक दल टुटफुट तथा एकता प्रक्रियामा समाहित भएकाले पनि ०७४ सालको चुनाव नतिजाका आधारमा आसन्न निर्वाचनमा कस्तो मत परिणाम आउला भनेर ठ्याक्कै विश्लेषण गर्न सक्ने अवस्था भने छैन ।

हामीले यहाँ पाँच वर्षअघिको स्थानीय तह चुनावमा दलहरुले पाएको मतका आधारमा काँग्रेस र माओवादीले पाएको मत एक ठाउँमा मिसाएर प्रमुख प्रतिपक्षी दल एमालेले पाएको मतलाई एक ठाउँमा राखेर तुलनात्मक विश्लेषणको प्रयास गरेका छौं । यद्यपि एमाले विभाजन भएको अवस्थाले सो दलको मतमा कुन अवस्थासम्मको असर पार्छ भन्नेबारे अहिले नै आकलन गर्न सम्भव छैन ।

देशभर रहेका ११ उपमहानगरपालिकामध्ये प्रदेश १ मा २, मधेस प्रदेशमा ३, बागमती प्रदेशमा १, लुम्बिनी प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा एउटा छन् । २०७४ सालमा भएको निर्वाचनमा ११ मध्ये ७ वटा उपमहानगर जित्दै नेकपा एमालेले बलियो उपस्थिति देखाएको थियो । तर, धरान उपमहानगरमा २०७६ सालमा भएको उपनिर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीलाई पछि पार्दै नेपाली काँग्रेसले जितेको थियो ।

एमालेले इटहरी, जितपुरसिमरा, हेटौँडा, बुटवल, घोराही र तुलसीपुर उपमहानगर प्रमुखमा जित हासिल गरेको छ । त्यस्तै काँग्रेसले धरान, कलैया र धनगढी गरी तीनवटा उपमहानगरको नेतृत्व पाएको थियो । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालले जनकपुर र राप्रपा नेपालले नेपालगञ्ज उपमहानगर गरी एक–एकवटा उपमहानगर जितेका थिए । सो स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादी केन्द्रले कुनै पनि उपमहानगरमा जित हासिल गर्न सकेको थिएन ।

 इटहरी उपमहानगर, सुनसरी

प्रदेश १ स्थित सुनसरीको इटहरी उपमहानगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा दोस्रो चरण अन्तर्गत मतदान भएको थियो । यो उपमहानगरमा एमालेका द्वारिकालाल चौधरी २२ हजार ६८९ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका रोहितप्रसाद प्रसाईले १९ हजार ९८५ मत ल्याएका थिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका रोहित बहादुर कार्कीले ३ हजार ७१५ र माओवादी केन्द्रकी उम्मेदवार हरिमाया जिमीले ३ हजार ३६४ मत ल्याएकी थिइन् । उपप्रमुखमा पनि एमालेकै लक्ष्मीकुमार गौतम विजयी बनेकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसकी विमला सिवाकोटीले १८ हजार ३५२ मत ल्याएकी थिइन् ।

यो स्थानीय तहको प्रमुखमा काँग्रेस र माओवादी केन्द्रले पाएको मत जोड्दा २३ हजार ३ सय ४९ हुन्छ । जुन एमालेका द्वारिकलाल चौधरीले पाएको मतभन्दा ६६० मत बढी हुन्छ ।

अघिल्लो चुनावको मतका आधारमा यहाँ एमाले एकातिर र अर्कोतिर काँग्रेस–माओवादीसहितको गठबन्धन भएको खण्डमा एमाले निकै कमजोर हुने देखिन्छ । किनकि, अघिल्लो निर्वाचनको तुलनामा हाल पार्टी विभाजनका कारण एमालेको मत घट्ने देखिन्छ भने सत्तारुढ गठबन्धनमा जसपा नेपाल र एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीसमेत जोडिएको अवस्थामा ठुलो मतान्तरका साथ गठबन्धन विजयी हुने अवस्था हुन्छ ।

धरान उपमहानगर, सुनसरी

२०७४ को स्थानीय निर्वाचनमा एमाले विजयी भएको धरान उपमहानगरमा २०७६ सालको उपनिर्वाचनमा भने काँग्रेस विजयी भएको थियो । एमालेबाट विजयी तारा सुब्बाको निधनपछि धरानमा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा यसअघि सुब्बासँग पराजित भएका काँग्रेसका तिलक राईले एमाले र माओवादी एकतापछि बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई पराजित गरेका थिए ।

२०७४ सालको निर्वाचनमा एमालेका तारा सुब्बाले २० हजार ९७५ मत पाएका थिए भने काँग्रेसका तिलक राईले १६ हजार १०२ र माओवादी केन्द्रका आइन्द्रविक्रम बेघाले ११ हजार १८० मत पाएका थिए । यो आँकडा अनुसार माओवादी र काँग्रेसको मत मिसाउँदा २७ हजार २ सय ८२ हुन्छ जो, एमालेको पाएको मतभन्दा ६ हजार ३ सय ७ बढी हो ।

२०७६ सालको उपनिर्वाचनको परिणाम भने ठिक विपरीत थियो । एमाले र माओवादी एकताबाट बनेको नेकपालाई उपनिर्वाचनमा काँग्रेसले पराजित गरेको थियो ।

काँग्रेसका तिलक राईले २६ हजार ७०९ मत पाएका थिए भने तत्कालीन नेकपाका प्रकाश राईले २३ हजार ९१४ मत ल्याएका थिए । माओवादी र एमाले एकातिर हुँदा काँग्रेसले २७९५ मत बढी ल्याएर जित हात पारेको थियो ।

जनकपुर उपमहानगर, धुनषा

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका लाल किशोर साह मेयरमा निर्वाचित भएका थिए । उनले नेपाली काँग्रेसका मनोज कुमार साह सुडीलाई भारी अन्तरले पराजित गरेका थिए । उपप्रमुख पदमा पनि काँग्रेस उम्मेदवार निलम देवी कर्णलाई पराजित गर्दै राजपाकी रिताकुमारी मिश्र विजयी भएकी थिइन् ।

राजपा नेपालका लालकिशोर साहले २१ हजार ९०३ मत पाएका थिए भने काँग्रेसका मनोज कुमार साह सुडीले ११ हजार १६४ मत पाएका थिए ।  एमालेका लक्ष्मी नारायण भगतले ४ हजार ८६५ मत र संघीय समाजवादी फोरमका विष्णुदेव साहले ३ हजार ६१२ मत पाएका थिए । यहाँ माओवादी केन्द्रका चन्द्रशेखर साहले २१२८ मत पाएका थिए ।

अघिल्लो निर्वाचनमा यो स्थानीय तहमा एमाले कमजोर देखिएको थियो भने राजपा नेपालले भारी मत ल्याएको थियो ।

यहाँ माओवादी र काँग्रेसले मेयरमा पाएको मत मिसाउँदा १३ हजार २ सय ९२ हुन्छ जुन तत्कालीन राजपा नेपालले पाएको मतभन्दा ८ हजार ६ सय ११ मतले कम हो । तत्कालीन राजपाको ठुलो हिस्सा अहिले लोसपा नेपालमा सामेल छ । यद्यपि जनकपुर उपमहानगरका मेयर लालकिशोर साह भने जसपा नेपालमा छन् । त्यसैले उनको व्यक्तित्वको प्रभाव तथा जसपा नेपालका मतदाताको आकलन नगरी यो उपमहानगरमा कसको अवस्था कस्तो हुन्छ भनेर विश्लेषण गर्न कठिन देखिन्छ ।

उपप्रमुखमा पनि तत्कालीन राजपा पार्टीका तर्फबाट उपमेयर रिता कुमारी मिश्र १७ हजार १४७ मत ल्याएर निर्वाचित भएकी थिइन् । काँग्रेसकी निलम देवी कर्णले १० हजार ६०५ मत ल्याएकी थिइन् । यस्तै एमालेकी पुनम कुमारी मिश्रले ४ हजार ९७२ मत ल्याएकी थिइन् । संघीय समाजवादी फोरमकी रिता कुमारी यादवले ४ हजार २८९ मत पाएकी थिइन् ।

यद्यपि, जनकपुर उपमहानगरमा सत्तारुढ गठबन्धन घटक नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एकीकृत समाजवादीबीच तालमेल भएर अर्कोतर्फ एमाले र लोसपा नेपालबीच तालमेल भएको अवस्थामा पनि सत्तारुढ गठबन्धन नै भारी हुने आकलन गर्न सकिन्छ ।

जीतपुर सिमरा उपमहानगरपालिका

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा बाराको जीतपुरसिमरा उपमहानगरको प्रमुख र उपप्रमुखमा एमालेले जित हात पारेको थियो । प्रमुख पदमा कृष्णप्रसाद पौडेल र उपप्रमुखमा सरस्वती देवी चौधरी विजयी भएकी थिइन् ।

प्रमुखमा एमालेका कृष्णप्रसाद पौडेलले १४ हजार ८६५ मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका कृष्णवर्त सिंहले ११ हजार ९९५ मत पाएका थिए । तेश्रो स्थानमा रहेको माओवादी केन्द्रका राजन पौडेलले ११ हजार २५१ मत पाएका थिए ।

यो उपमहानगरमा हालको गठबन्धन दल काँग्रेस र माओवादीको मत जोड्दा २३ हजार २ सय ४६ हुन्छ, जुन एमालेले पाएको मत भन्दा ८ हजार ३ सय ८१ मत बढी हुन्छ ।  

यस्तै उपप्रमुखमा एमालेकी सरस्वती देवी चौधरी १४ हजार ४४९ मत पाएर विजयी भएकी थिइन् । काँग्रेसका नारायण रायमाझी १२ हजार ४९५ मत ल्याएर दोश्रो स्थानमा थिए भने माओवादी केन्द्रकी गायत्री देवी थरुनीले १० हजार ८६६ मत पाएकी थिइन् ।

उपप्रमुखले पाएको मत अन्तर्गत काँग्रेस र माओवादी केन्द्रको मत जोड्दा २३ हजार ३ सय ६६ हुन्छ जुन एमाले उम्मेदवारले पाएको मतभन्दा ८ हजार ९१२ मत धेरै हुन्छ ।

कलैया उपमहानगरपालिका

बाराको कलैया उपमहानगर प्रमुखमा काँग्रेसका राजेश राय यादव १० हजार ९०३ मत ल्याई विजयी भएका थिए भने एमालेका विनोद प्रसाद साह १० हजार ७१६ मत ल्याएर दोस्रो बनेका थिए ।

यस्तै संघीय समाजवादी फोरमका प्रमोद प्रसाद गुप्ताले ९ हजार ४०४ मत पाएका थिए । माओवादी केन्द्रका मुकेश शाहले ४ हजार ३७१ मत ल्याएका थिए । यहाँ काँग्रेस र माओवादी केन्द्रको मत जोड्दा १५ हजार २७४ हुन्छ, जुन एमालेले पाएको मत भन्दा ४ हजार ५५८ मत बढी हो ।

यस्तै उपप्रमुखतर्फ काँग्रेसकी रहमा खातुन १० हजार ५३८ मत ल्याएर विजयी भएकी थिइन् । एमालेकी प्रतिमा कुमारी यादवले १० हजार ३७२ र संघीय समाजवादी फोरमकी लक्ष्मीदेवी पटेलले ८ हजार ७०८ मत ल्याएकी थिइन् । माओवादी केन्द्रकी नाजमा खातुनले ४ हजार १४७ मत ल्याएकी थिइन् ।

काँग्रेस र माओवादी केन्द्रका उपमेयरले पाएको मत जोड्दा १४ हजार ६ सय ८५ हुन्छ जुन एमालेकी उपप्रमुखले पाएको मतभन्दा ४ हजार ३ सय १३ ले बढी हो ।

हेटौँडा उपमहानगरपालिका  

अघिल्लो स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर नेकपा एमालेविरुद्ध मैदानमा उत्रिएका थिए । यसका बाबजुद पनि प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले नै बाजी मारेको थियो । प्रमुखमा हरिबहादुर महत २३ हजार १२४ मत ल्याउँदै विजयी बने भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत ल्याएका थिए । राप्रपाका मधुकर प्रसाद अधिकारीले ६ हजार ८५७ मत पाएका थिए ।

उपप्रमुखतर्फ एमालेकी मीनाकुमारी लामा २३ हजार ४३७ मत ल्याएर विजयी भएकी थिइन् । माओवादी केन्द्रका बलराम लामाले १७ हजार ११, राप्रपाकी इन्दिरा न्यौपानेले ७ हजार ७०२ मत ल्याएकी थिइन् । हालको गठबन्धन घटक काँग्रेस र माओवादी केन्द्र यो उपमहानगरमा २०७४ सालमै गठबन्धन गरेर चुनाव लडे पनि एमाले विजयी भएको थियो । अहिले नेकपा एमाले विभाजन भएको र एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीसमेत सत्तारुढ गठबन्धनमा सामेल भएको अवस्थामा भने एमालेलाई विगतको साख जोगाउन कठिन हुने देखिन्छ ।

बुटवल उपमहानगरपालिका

बुटवल उपमहानगरमा पनि अघिल्लो निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । यहाँ पनि एक्लै चुनाव लडेको एमाले नै विजयी बनेको थियो । प्रमुख पदमा शिवराज सुवेदीले काँग्रेसका खेलराज पाण्डेयलाई हराएका थिए भने उपप्रमुखमा माओवादी उम्मेदवार जगत बहादुर पोखरेललाई हराउँदै एमालेकी गुमादेवी आचार्य विजयी भएकी थिइन् ।

प्रमुख पदमा एमालेका शिवराज सुवेदीले २३ हजार २४९ मत ल्याएका थिए । माओवादी र काँग्रेस गठबन्धनबाट खेलराज पाण्डेयले २० हजार ८५१ मत ल्याएका थिए ।

राष्ट्रिय जनमुक्ति पार्टीका जनक बहादुर थापा मगरले ११ सय ५१ मत पाएका थिए । यहाँ काँग्रेस माओवादी गठबन्धन दलभन्दा एमालेले २ हजार ३ सय ९८ मत बढी ल्याएको थियो ।

यस्तै उपप्रमुख पदमा एमालेकी गुमादेवी आचार्य २५ हजार ३०१ मत ल्याएर विजयी भएकी थिइन् । काँग्रेस–माओवादी गठबन्धनबाट माओवादीका जगत बहादुर पोखरेलले १४ हजार ७९२ मत ल्याएका थिए । राष्ट्रिय जनमुक्ति पार्टीका धनी आलेले १५०६ मत पाएका थिए । उपमेयर पदमा माओवादी–काँग्रेस गठबन्धनभन्दा एमालेले १० हजार ५०९ मत बढी ल्याएको थियो । त्यसैले यो उपमहानगरमा एमाले तुलनात्मक रुपमा बलियो देखिन्छ ।

घोराही उपमहानगरपालिका

दाङको घोराही उपमहानगरको मेयरमा एमालेका नरुलाल चौधरी विजयी भएका थिए चौधरीले २२ हजार ३० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका भुपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४८४ मत ल्याएका थिए । यस्तै माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत ल्याएका थिए । यहाँ माओवादी केन्द्र र काँग्रेसले पाएको मत जोड्दा २९ हजार ५६६ हुन्छ जुन एमालेका प्रमुखले पाएको मत भन्दा ७ हजार ५३६ बढी हुन्छ ।

यस्तै उपप्रमुखतर्फ एमालेकी सीता सिग्देल न्यौपानेले २० हजार ७९२ मत ल्याई विजयी भएकी थिइन् । उनको निकटतम प्रतिस्पर्धी काँग्रेसकी पुष्पा श्रेष्ठले १७ हजार ६०३ मत पाएकी थिइन् । यस्तै माओवादी केन्द्रकी सीता शर्माले १२ हजार ८२४ मत पाएकी थिइन् । उपमेयरमा माओवादी र काँग्रेसले पाएको मत मिसाउँदा ३० हजार ४२७ हुन्छ, जुन एमालेले पाएको मतभन्दा ९ हजार ६ सय ३५ बढी हुन्छ ।

तुल्सीपुर उपमहानगरपालिका

दाङको तुल्सीपुर उपमहानगर प्रमुखमा एमालेका घनश्याम पाण्डे २२ हजार ८५७ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९०३ मत र माओवादी केन्द्रका शेषुराम भण्डारीले ८ हजार ६९३ मत पाएका थिए । यहाँ माओवादी र काँग्रेसको मत मिसाउँदा २७ हजार ५९७ हुन्छ, जुन एमालेले पाएको मतभन्दा ४ हजार ७३९ मत बढी हुन्छ ।

यस्तै उपप्रमुखतर्फ एमालेकी माया शर्मा २१ हजार ३७ मत ल्याएर विजयी भएकी थिइन् । काँग्रेसकी देवीका नेपाली घिमिरेले २० हजार १८५ र माओवादी केन्द्रकी सीता वलीले ९ हजार ५१ मत पाएकी थिइन् । यहाँ माओवादी केन्द्र र काँग्रेसको मत मिसाउँदा २९ हजार २३६ हुन्छ, जुन एमालेले पाएको मतभन्दा ८ हजार १९९ बढी हो ।

नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज उपमहानगरको मेयरमा तीन ठूला दललाई पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा विजयी भएका थिए । उनले १२ हजार ५१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका सुरेश कुमार कनोडियाले ८ हजार ७३० मतमात्र प्राप्त गरेका थिए । माओवादी केन्द्रका दामोदर आचार्यले ७ हजार १९८ मत र एमालेका समसुद्दीन सिद्दिकीले ६ हजार ९६५ मत पाएका थिए ।

यहाँ काँग्रेस र माओवादी केन्द्रको मत मिसाउँदा १५ हजार ९२८ हुन्छ, जुन राप्रपाले पाएको मत तथा एमालेले पाएको मतभन्दा धेरै हो । यदि राप्रपा र एमालेको मत मिसाउने हो भने १९ हजार ४८० हुन्छ जुन माओवादी केन्द्र र काँग्रेसले पाएको मतभन्दा ३ हजार ५५२ मत बढी हो ।

यो उपमहानगरपालिका उपप्रमुख पदमा काँग्रेसकी उमा थापा मगर १० हजार ७३१ मत ल्याएर विजयी भएकी थिइन् । राप्रपाकी रमा रानी गुप्ताले  ८ हजार ९२४ मत ल्याएकी थिइन् । यस्तै एमालेकी शान्तिदेवी ढकालले ७ हजार ७७३ मत र माओवादी केन्द्रकी कलामुन अन्सारीले ७ हजार ६७ मत ल्याएकी थिइन् ।

धनगढी उपमहानगरपालिका

धनगढी उपमहानगरमा नेपाली काँग्रेसका नृपबहादुर वडले स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित गर्दै जित हात पारेका थिए । वडले १४ हजार ३२४ मत पाएका थिए भने हमालले ११ हजार ५२७ मत पाएका थिए । यस्तै माओवादी केन्द्रका राम समझ रानाले १० हजार २०९, एमालेका दुर्गाप्रसाद जोशीले ९ हजार ९४६ मत ल्याएका थिए । यहाँ एमालेभन्दा माओवादी केन्द्र र नेपाली काँग्रेसको राम्रो उपस्थिति देखिन्छ । काँग्रेस र माओवादी केन्द्रको मत मिसाउँदा २४ हजार ५३३ हुन्छ, जुन एमालेको पाएको मतभन्दा १५ हजार ४८७ बढी हो ।

उपप्रमुखमा काँग्रेसकी सुशीला मिश्र भट्ट १७ हजार ४०८ मत ल्याएर विजयी भएकी थिइन् । एमालेका रुकमणि देवकोटा १२ हजार ७६३ मत ल्याएर दोश्रो स्थानमा रहँदा माओवादी केन्द्रकी शान्ति अधिकारी क्षेत्री १० हजार २५२ मतसहित तेस्रो स्थानमा रहिन् । उपमेयरले पाएको मतका आधारमा काँग्रेसको मत र माओवादी केन्द्रको मत जोड्दा २७ हजार ६६० मत हुन्छ, जुन एमालेले पाएको मतभन्दा १४ हजार ८९७ मत बढी हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप