शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यूएई दूतावासलाई खुला पत्र

आइतबार, २० चैत २०७८, १२ : ०९
आइतबार, २० चैत २०७८

आदरणीय नेपाली दूतावास, संयुक्त अरब इमिरेटस् ! नेपालीहरूको संरक्षण गर्नुपर्ने दायित्व, देशको कूटनीतिक मर्यादा तथा आफ्ना देशका नागरिकले विदेशी भूमिमा भोग्ने गरेका सुख र दुःखको छहारी तिम्रो कार्यालय बन्नुपर्ने होइन र ? कुनै नेपालीले नेपालमै हुँदा व्यक्तिगत विचार लेखेकै भरमा गरिमामय संस्था दूतावासले आफ्नो क्षेत्राधिकार मिचेर विदेशी भूमिमा त्यहीँका प्रहरीमा उजुरी दिई थुनामा राख्न उद्दत हुनु आम नेपालीका लागि स्वीकार्य हुन सक्दैन । एकदमै असत्य आरोप लगाएर आम जनमानसबाट आएका अनुरोधलाई  उपेक्षा गर्नुलाई दूतावासका स्वार्थप्रेरित केही कर्मचारीले स्वीकार्लान् तर वैदेशिक रोजगारीमा गएको एक श्रमिकका लागि, उसको परिवारका लागि र प्रजातान्त्रिक मुलुक नेपालका कुनै नागरिकलाई यो कार्य स्वीकार्य छैन । 

यूएईका साथै अन्य मुलुकमा रहेका नेपाली दूतावासको संरक्षणमा यस्ता गैरजिम्मेवारपूर्ण कार्य भइरहेका छन् । यस्ता घटना भइरहँदा सम्बन्धित मन्त्रालय चुप लागेरै बसेको छ । नबसोस् पनि कसरी ? मन्त्री तथा सार्वजनिक ओहोदाका व्यक्ति छोटो छोटो समयमा फेरिरहन्छन् अनि दूतावासलाई कसले घच्घच्याउँछ ? 

नेपाल भ्रमणमा रहँदा यूएई भिजिट भिसासँग सम्बन्धित विचार राखेको आधारमै यूएईको अनुसन्धान ब्युरोलाई रिपोर्ट गर्‍यौ । उमाकान्तको एउटा विचारले तिम्रो कार्यालयलाई के–कति क्षति पुर्‍यायो; जसले तिमीले त्यहाँको प्रहरीमा उजुरी दियौ ? अनि तिम्रो कुन नैतिकताले परिवार तथा उमाकान्तका शुभचिन्तकलाई झुटो आश्वासन दियौ ? योभन्दा अझै गम्भीर कुरा त, तिमीले रिहाइका लागि पहल गर्ने आशा देखाएर उल्टो पत्र त्यहाँको न्यायालयलाई पनि पठाएछौ । यी सबै प्रमाण त अहिले मिडियामा प्रकाशित भइसकेका छन् नै, मैले कोट्याउनु त्यति नपर्ला । 

उमाकान्तले गलत बोलेको तथा लेखेको थिए भने यो हामीलाई स्वीकार्य हुने थियो तर आफ्नो निजी विचार तथा आफ्नै करको पैसाबाट तलब बुझ्ने तिम्रो कार्यालयलाई प्रश्न गर्दा तिमीले जबाफ दिनुपर्ने ठाउँमा उल्टै आफ्ना नागरिकलाई जेल पुर्‍यायौ । विदेशी भूमिमा तिमी पो सरकारी चिल्ला गाडी चढेर, सुट र बुटमा हिँड्छौ । कार्यालयका काम र दायित्व त हुँदै गर्छन् भन्दै घुम्छौ । कार्यालयका काम भएनन् भने पनि कसैले प्रश्न गर्ने आँट गरेको खण्डमा जेल पुर्‍याइदिहाल्छौ । तर एउटा श्रमिकको रोजीरोटी नै खोस्नेगरी यस्तो षड्यन्त्र गर्न तिमीलाई कुन कुराले प्रेरित गर्‍यो ? 

आफ्ना अहङ्कारलाई एकैछिन थाँती राखेर तिमी एक पटक उमाकान्तको ठाउँमा आफूलाई उभ्याएर सोच । विगत दस वर्षदेखि खाडीमा उनले श्रम बेचेर जीवन निर्वाह गरे, नेपालमा रेमिटेन्स पठाए । त्यसबाट बचेको समयमा पत्रकारिता गर्दै अलपत्र परेका नेपालीको उद्धार गरे । उनीहरूका लागि आवाज उठाउँदै आए । यो दुःख उनले रहरले गरेका अवश्य होइनन् । तर तिम्रो नजरमा उनी एउटा सिकारको पात्र बन्न पुगेछन् । के दूतावासका कुनै समस्या उजागर गरिदिनु एउटा नेपालीको अपराध हो ? बचेको समय पत्रकारिता गर्नु अपराध थियो ? कि विदेशी भूमिमा रहेका नेपाली नागरिकमाथि उत्तरदायी हुनुपर्ने दूतावासजस्तो संस्था नागरिकभन्दा माथि छ ? 

नेपालको संविधानको धारा १७ को उपधारा (२) ले दिएको प्रत्येक नागरिकलाई आवश्यक विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक तिम्रो नजरले देखेनछ । सायद त्यो देख्ने र अनुभव गर्न उमाकान्तको भूमिकामा एकपटक उभिन तिमीलाई आग्रह गर्दछु । 

आक्रोशका भावना दूतावाससँग जति छन्   त्योभन्दा बढी निर्दोष हुँदाहुँदै पनि जेलमा बसिरहेका उमाकान्तका शुभचिन्तकमा छन् । यी आक्रोशले तिमीलाई प्रभाव पक्कै पार्दैन । तिमीले उमाकान्तलाई पत्रकार भएरै मुद्दा हालेका हौ त ? विभिन्न समयमा दूतावासबाट आएका अभिव्यक्तिले उमाकान्त सामान्य व्यक्ति भएकैले अझैसम्म पनि नभेटेको रहेछ । के विदेशी भूमिमा पनि कसैलाई काखा र कसैलाई पाखा गर्दै शक्तिमा भएका मानिसले दुःख पाए मात्र बोल्ने गर्दछौँ तिमी ? यदि त्यसो होइन भने, विदेशी भूमिमा जेलमा पुर्‍याइएका उमाकान्तका लागि तिमीले के पहल गर्‍यौ ? अनुसन्धानमा लगेको दिनदेखि नै परिवारलाई आस्वस्त पार्दै भित्र चाहिँ जालो बुनिरहेने तिम्रो योजना थियो ? अबका दिनमा के जालो बुन्ने सोचिरहेका छौ ? फेसबुकमा लेखेको स्टाटसकै आधारमा दिएको उजुरीलाई अझै सशक्त बनाउन तिमीले केही झूटा आरोप त अझै पनि लगाउँछौँ होला ।

तर खाडीमा पसिना बगाई श्रम गर्दै आफ्नो जीविकोपार्जन गर्ने उमाकान्त जस्ता दशौँ लाख श्रमिकको आवाज सुन्छौ भने, देश विदेशमा रहेर पत्रकारिता गरिरहेका असङ्ख्य पत्रकारको मन बुझ्छौ भने, एउटा मानव भएर मानव अधिकारको सम्मान गर्छाै भने मेरो एउटा मात्र अनुरोध छ । व्यक्तिगत स्वार्थलाई थाँती राखेर कूटनीतिक मर्यादा तथा आफ्नो दायित्व पालना गरी, उमाकान्त पाण्डेविरुद्ध तिमीले जाहेरी दिएको मुद्दा फिर्ता गर । मेरो यो अनुरोधलाई इन्कार गर्न तिमीलाई केही झन्झटै हुँदैन तर तिमीले पनि विदेशी भूमिमा कोही नेपाली नागरिकले अनाहकमा जेलमा बसिरहेको हेर्न सक्दैनौँ होला । कसैको मानव अधिकार हनन भएको हेर्न सक्दैनौँ भने पुनः अनुरोध गर्दछु, उमाकान्त पाण्डेविरुद्ध तिमीले जाहेरी दिएको मुद्दा फिर्ता गर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप