बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्मनको खोजी र जीवन विज्ञान

सोमबार, २१ चैत २०७८, ११ : ३९
सोमबार, २१ चैत २०७८

खुसी आफैँ हुने हो । आफ्नो जीवनको निर्माता हामी आफैँ हौँ । जस्तो चाह्यो त्यस्तै बनाउने क्षमता हामीभित्र छ भन्ने त सुनेको थिएँ तर सही मार्ग भने अवलम्बन गर्न सकेको थिइनँ । मन यत्रतत्र छरिएको थियो आफ्नो, बनाउन सकिरहेको थिइन । अनियन्त्रित मनमा अनियन्त्रित विचार हुनु स्वाभाविक नै थियो । आन्तरिक ऊर्जा मनले खपत गरिरहेको कारण शरीरप्रति ध्यान दिने अवस्था कम थियो । फलस्वरूप त्यसको प्रतिक्रिया शरीरले स्वाभाविक रूपमा देखाइरहेको थियो ।

निरन्तर बहिर्जगतको सूचानाहरूसँग आफू जोडिँदै जाँदा मनमा द्वन्द्व, डर, त्रास बढ्दै गएको थियो । आत्मविश्वास कमी महसुस हुँदै गयो; सङ्काचले आफूभित्र डेरा जमाउँदै गयो । होडबाजी देखासिकी सँगसँगै म को हुँ ? किन जन्म लिएँ ? मेरो जीवनको लक्ष्य के हो ? आदि प्रश्नहरू आफूभित्र उठ्न सकिरहेको थिएन । जिम्मेवारी पनि त्यत्तिकै उठाएको थिएँ । डर त्रासले आँट साहसको कमीमा पूरा गरेका जिम्मेवारीहरू पनि त्यति सफल हुन सकिरहेको थिएन । यदाकदा कहीँकतै भित्री कुनामा बेचैनी थियो । जीवनको सार के हो ? मजस्तै अरू पनि हुन् मेरो कारण अरू कसैलाई दुःख नहोस् भन्ने पुकार चलिरहन्थ्यो । एउटा सत्य अवश्य छ । त्यसको खोजी गर्नु पर्दछ भन्ने भावका साथमा भित्र विद्रोह चलिरहन्थ्यो । जे अरूले गर्नु हुँदैन भन्ने भाव राख्थे त्यही कार्य गर्न मन लाग्थ्यो । खुसी हराएको निरस जीवन थियो ।

दुःखले मानिसभित्र खोजी जन्माउँछ । त्यही आफूभित्रको खोजी नै अध्यात्म रहेछ । बेचैन मन विचारहरूको द्वन्द्वमा पनि भित्र केही त अवश्य छ भन्ने खोजी बढ्दै गएको थियो । त्यसैले त वैज्ञानिक विश्लेषणले भरिएका आध्यात्मिक प्रवचनतिर दृष्टि लगाउन थालेको थिएँ । त्यसमध्ये कान्तिपुर टेलिभिजनबाट प्रसारित हुने कार्यक्रमहरू नियमित रूपमा प्रत्येक दिन बिहान हेर्थेँ । स्वामी हरिदासजीको प्रवचनप्रति लगाव थियो । मेरो अन्तरतमको खोजीको शुभारम्भ त्यस दिन भयो जुन दिन उक्त टेलिभिजनबाट जीवन विज्ञान कार्यक्रम प्रारम्भ भयो । जीवन विज्ञान नामले नै मेरो मनलाई तत्काल खिच्यो । त्यसमा पनि श्रद्धेय सद्गुरुदेव द्वयका महावाक्यले त्यो मेरो हृदयको अतृप्त प्यासलाई परमतृप्तिमा बिस्तारै लान थाल्यो; भाव जोडियो । निरन्तरको खोजी अब सार्थक बन्ने भयो आशाका नयाँ ऊर्जाहरू सञ्चार हुन थाले । अरूको दुःखमा आँशु आउने कोमल हृदयले त्यो सद्गुरुदेव द्वयका परम प्रेमलाई अनुभूति गर्दै जान थाल्यो । किनकि त्यो परमतत्त्वको परम प्रेम सद्गुरुका वाणीहरूमार्फत प्रकट हुने हुँदा आफूभित्र सञ्चार हुने ऊर्जाले कहिले सद्गुरुदेवसँग मिलन होला भन्ने गहिरो छटपटी उत्पन्न गराउँदै थियो ।

हृदयको तार जोडिएको अनुभूति हुँदै गएको थियो, लोडसेडिङको समयमा पनि अनुकूल समय मिलाएर सद्गुरुदेव द्वयका ब्रह्मवाक्य प्रत्येक दिन सुन्नुपर्ने आदत बनेको थियो । आशाका भाव तरङ्गहरू निर्माण हुँदै गइरहेका थिए । कुन कार्यक्रममार्फत कसरी जीवन विज्ञान प्रवेश गर्ने भन्ने अन्तद्र्वन्द्व चलिरहेको थियो । आफूले चिनेजानेको कुनै व्यक्ति पनि जीवन विज्ञानसँग जोडिएको जानकारी थिएन । हामीले गरिआएको धार्मिक कृत्य जुन सतही थियो; त्योसँग सूक्ष्मभन्दा सूक्ष्म त्यो मौनको केन्द्रबाट प्रवाहित ज्ञानको मेल हुने प्रश्न नै थिएन । जति सूक्ष्म त्यति शक्तिशाली हुन्छ भनेझैँ सद्गुरुदेवका प्रत्येक शब्द अनि प्रत्येक वाक्यमा गरिमाको अनुभूति भइरहेको थियो । अन्तर्मनमा सत्यको प्यास अनि सद्गुरुदेवको प्रेमपूर्ण वाणीभित्र त्यो गहन सत्यता थियो । मैले जे खोजेको थिएँ त्यो जीवन विज्ञानबाट अवश्य पाउँछु भन्ने पूर्ण विश्वास मैले प्राप्त गरिसकेको थिएँ ।

करिब डेढ वर्षको अन्तरालमा त्यो हिम्मत पनि जुटाएँ । ऊर्जा विज्ञान कार्यक्रममार्फत जीवन विज्ञानसँग जोडिएँ । सद्गुरुदेव द्वयबाट प्राप्त हुने त्यो दिव्य अलौकिक प्रेमको अनुभूति पहिलो दिन मै प्राप्त गरेँ, आफूभित्र दिव्य ऊर्जा, अलौकिक शक्ति छ भन्ने ऊर्जा विज्ञानले अनुभूति गरायो । परमात्माले हाम्रो रक्षा अनि हामीमाथि प्रेम करुणा वात्सल्यता कसरी वर्षाउँछ, हामीलाई सबल सुयोग्य बनाउन आफूले कति कष्ट उठाउँछ त्यसको बोध सद्गुरुदेव द्वयसँगको सत्संगबाट हुँदै जान थाल्यो । छटपटी, चिन्ता, तनाव, दुःख, रोग, शोक आदि त हामीलाई सक्षम बनाउन पो आउँदा रहेछन् भन्ने ज्ञात हुँदै गयो ।

जीवन विज्ञान ज्ञानको गङ्गा रहेछ । यहाँ निरन्तर नयाँ ज्ञान मात्र प्रवाहित हुँदो रहेछ । विषय परिस्थिति एउटै छ तर मनस्थिति अनुरूप नवीन प्रयोग हुने हुँदा जोसुकैको निमित्त अत्यन्तै श्रेष्ठतम् स्थान रहेछ भन्ने अनुभूति हुँदै गयो । फलस्वरूप बोध, लय, चक्र, मौन आदि कार्यक्रमपश्चात प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेँ । त्यो प्रशिक्षक प्रशिक्षणको समापनको दिन सद्गुरुदेव द्वयबाट प्राप्त ऊर्जाका कारण निरन्तर अगाडि बढिरहेको छु । शब्द–शब्दमा प्रेम करुणाका ऊर्जाको प्रवाहले जो कोही तृप्त बन्छ, निरन्तर साधना गर्दै जाने उत्प्रेरणा मिल्छ । सद्गुरु यस्तो पूर्णताको पराकाष्ठा रहेछ; जस्तोसुकै विक्षिप्त विचलित मनको पनि उपचार त्यो स्रोतबाट हुँदो रहेछ । निर्मल निष्कपट निश्चल ती नेत्रहरूबाट वर्षिने प्रेम हृदयले सहज रूपमा पहिचान गर्न सफल हुँदो रहेछ । रसपूर्ण सुमधुर वाणीहरूले मृत कोषिकाहरूमा पनि जीवन्तताको ऊर्जा सञ्चार गर्दाे रहेछ । अगाडि गएर बोल्न सक्ने क्षमता सद्गुरुदेवले धारण गर्नुभएको वस्त्रले जुटाइदिए भने अरू वर्णन गर्न म असमर्थ छु ।

जीवन विज्ञान यस्तो स्वतन्त्रता सिकाउने पाठशाला हो; जहाँ जीवनको सबै आयामहरूका चर्चा हुन्छन् भने त्यही अनुरूप समाधानका उपाय पनि प्राप्त हुँदो रहेछ । विशुद्ध मानवतावादी संस्था भएका कारण मानव मात्र भए पुग्छ । जस्तोसुकै पृष्ठभूमि होस्, आदत बानी व्यवहार आवरण होस्, त्यसको कुनै पर्वाह हुँदैन । जुनसुकै धर्म सम्प्रदायका मानिसले पनि सहज अनि सम्मानजनक रूपमा जीवन विज्ञानमा प्रवेश पाउँछ । यहाँ मात्र प्रेम छ । विश्वभरमा अहिले अध्यात्मको क्षेत्रमा जति पनि प्रयोग हुन्छन् ती सम्पूर्ण प्रयोगहरू जीवन विज्ञानमा हुने गर्छन् । वेदान्त दर्शनदेखि बाइबल कुरान सबैलाई समदृष्टिले हेर्ने जीवन विज्ञान अध्यात्मको आधुनिक प्रयोगशाला हो किनकि यहाँ खोजी आफ्नो क्षमताको प्रतिभाको हुन्छ । जीवन ऊर्जाको पहिचान गर्नको निमित्त ऊर्जा ध्यान विधिको प्रयोग गराइन्छ; जुन अहिलेसम्मको नवीनतम प्रयोग हो ।

आफूमा स्थित बन्नको निमित्त बाहिरी जगतसँग समन्वय गर्दै अन्तर्जगतमा प्रवेश गराइन्छ ताकि विरोध र निषेधको अवस्था मनमा नआओस् अनि मनको स्वभाव नियम अनुरूप साधना विधिहरूले गर्दा मन सहज राजी बनोस् । मैले जीवनमा जे खोजेको थिएँ ती सम्पूर्ण खजाना जीवन विज्ञानभित्र अनुभूति गर्न पाएँ । पिताबाट प्राप्त प्रेमभित्रको स्वतन्त्रतालाई सद्गुरुदेव द्वयको परमप्रेमले अझ परम स्वतन्त्र बन्न सक्ने बनाइदिएको छ । कहीँकतै कुनै बाध्यात्मक स्थिति नबनाई साधकलाई परमात्माको रूपमा राखेर त्यही अनुरूप आचरण गर्ने सद्गुरुदेव द्वयका प्रत्येक कृत्य रहस्यात्मक अनि कूट कूट ज्ञानले भरिएको देख्दा निरन्तर नयन अश्रुपूर्ण बन्छन् ।

प्रेममा सम्मान, आदर, श्रद्धा, आदि हुन्छ जहाँ आनन्द मात्र हुन्छ । प्रेम कमलको फूलजस्तै कोमल र सुन्दर हुन्छ भनेर परमरहस्योद्घाटन गराउने सद्गुरुदेवहरूमा पूर्ण समर्पित बन्ने त्यो क्षणको पर्खाइ निरन्तर चलिरहेको छ । जीवन जेको खोजीका लागि प्राप्त भएको थियो, अब त्यो पूर्णतामा उपलब्ध हुने स्पष्ट मार्ग प्राप्त भएको छ । हे परमात्मा तिमी सद्गुरुको माध्यमबाट प्रकट हुँदा रहेछौ अनि प्रेमको वर्षा गराउँदा रहेछौँ, हामीले मात्र दृष्टिको निर्माण गर्नु जरुरी छ । अब हृदयमा मात्र अनुग्रह भाव र स्वीकार भावले भर्नु जरुरी छ ।

सबैमा आफूभित्र दृष्टि निर्माण गर्ने क्षमताको विकास होस् । जीवन पूर्णताको मार्गमा अग्रसर होस् । यही शुभेच्छा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रिता न्यौपाने
रिता न्यौपाने
लेखकबाट थप