शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तान : इमरानको ‘सरप्राइज’ मा पूर्व पत्नीको आक्रोश

सोमबार, २१ चैत २०७८, १५ : २७
सोमबार, २१ चैत २०७८

पाकिस्तानमा इमरान खानले आइतबार आफ्ना विपक्षीसहित देशका जनतालाई चकित पार्ने काम गरेका छन् । इमरान खानले राष्ट्रिय सभा भंग गरेर नयाँ चुनाव गराउने कुरा गरेसँगै पाकिस्तानका नेताहरूदेखि आम जनताबाट प्रतिक्रिया आउन थालेका छन् । ।

विपक्षीहरुले इमरान खानको कदमलाई असंवैधानिक भनेका छन् र यस मामिलामा सर्वोच्च अदालतको स्वतः संज्ञानका लागि आशावादी नजरले हेरिरहेका छन् । सर्वोच्च अदालतको फैसला र नयाँ निर्वाचनअघि पाकिस्तानमा तत्कालका लागि कार्यवाहक सरकार गठन हुनसक्छ । पाकिस्तानमा लगातार चलिरहेको राजनीतिक हलचललाई लिएर सर्वसाधारणले के भनिरहेका छन् र सामाजिक सञ्जालमा के–कस्ता प्रतिक्रिया आइरहेका छन्, यसबारे जानकारी लिऔँ ।

पाकिस्तानीले सोसल मिडियामा के भनिरहेका छन् ?

पाकिस्तानका सोसल मिडियामा प्रतिक्रिया पनि समर्थक र आलोचनाबीच बाँडिएको छ । इमरान खानका समर्थक खुसी व्यक्त गरिरहेका छन् भने आलोचक विरोध गरिरहेका छन् । दुई दिनअघि देशको नाममा सम्बोधनमा इमरान खानले अन्तिमसम्म बलसम्म खेल्ने बताएका थिए ।

त्यसपछि अचानक जब संसद् भंग गर्ने कुरा भयो तब ट्वीटरमा नाएला इनायतले लेखे, ‘म अन्तिम बलमा बल नै लिएर भाग्नेछु ।’ इमरान खानकी पूर्व पत्नी रेहाम खानले ट्वीट गरिन्, ‘नयाँ चुनाव गर्ने कुरा गरेर एउटा असंवैधानिक कदमलाई जायज ठहर गर्न सकिँदैन । चुनाव गराउने निर्णय इमरानले गर्न सक्दैनन् किनभने यस्तो गर्ने संवैधानिक अधिकार उनीसँग छैन । हरेक नियम तोडेको सजाय दिएर उदाहरण पेश गर्नुपर्छ ।’

रेहाम खानले पहिला पनि थुप्रै पटक इमरान खानको आलोचना गर्दै आएकी छिन् । रेहानले ट्वीट गरिन्, ‘संविधानको कुनै इज्जत छैन । न कुनै आन्तरिक र बाहिरी खतराको कुनै चिन्ता । अब तपाईंहरुले बुझ्नुभयो होला कि म किन यी व्यक्तिसँग बस्न सकिनँ ।’ रेहामले यो पनि लेखिन्, ‘आज जसले खुसी मनाइरहेका छन्, उनीहरुले आफ्नो मूर्खतापूर्ण सोचको प्रमाण दिइरहेका छन् । मूर्खलाई चिन्नुहोस् ।’

पाकिस्तानी क्रिकेटर मोहम्मद हफिजले ट्वीट गरे, ‘पाकिस्तान जिन्दाबाद । इमरान खान तपाईं सधैँ दिग्गज रहनुहुनेछ ।’ पूर्व पाकिस्तानी क्रिकेटर वसिम अकरमले इमरान खानको हाँसिरहेको तस्बिरलाई ट््वीट गर्दै लेखे, ‘द गेम चेन्जर ।’ पाकिस्तानमा अचानक भएको फेरबदलपछि इमरान खानको सोसल मिडिया अकाउन्ट्समा यी तस्बिर पोस्ट गरिएको थियो ।

चर्चित पाकिस्तानी पत्रकार हामिद मिरले ट्वीट गरे, ‘सर्वोच्च अदालतले आइतबार भनेको थियो कि इमरान खान वा राष्ट्रपतिको तर्फबाट दिइएको आदेश अदालतको निर्णयमा निर्भर हुुनेछ । तर कार्यवाहक प्रधानमन्त्री नछानिएसम्म राष्ट्रपति आफैंले इमरानलाई प्रधानमन्त्रीको रुपमा जारी राख्न भनिरहेका छन् । यो अदालतको मानहानी हो ?’ यो पूरा मामिलामा बालाकोट र सन् २०१९ मा आमने–सामने आएका भारत–पाकिस्तानको पनि चर्चा भइरहेको छ ।

केही मानिसहरु यस्ता छन् जसले फेब्रुअरी सन् २०१९ मा आसिफ गफ्फूरको त्यो बयान सेयर गरिरहेका छन् जसमा उनले भनेका थिए, ‘हामी तपाईंलाई छक्का पार्नेछौँ, हाम्रो सरप्राइजको प्रतीक्षा गर्नुहोस् ।’ अरशद शरिफले यो सेयर गर्दै लेखेका छन्, ‘सच्चा पाकिस्तानी सधैँ आफ्ना दुश्मनलाई चकित पार्ने काम गर्छन् ।’ साराले ट्वीट गरिन्, ‘पाकिस्तान इमरान खानका लागि ऋणि हुनेछ । मन खुसी पारिदिनुभयो । लुटेरालाई यसरी चड्कन हानियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप