बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरको मेयरमा मेरो चर्चा हुनु स्वाभाविकै हो : लालबाबु पण्डित

‘विशेष परिस्थितिमा पार्टीले सांसदलाई राजीनामा गराउन सक्छ, मैले अहिल्यै बोल्न मिल्दैन’
सोमबार, २१ चैत २०७८, १७ : ४०
सोमबार, २१ चैत २०७८

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डित स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै मोरङ जिल्लामा निर्वाचन केन्द्रित गतिविधिमा व्यस्त छन् । उनका गतिविधिपछि धेरैले आगामी स्थानीय निर्वाचनमा विराटनगर महानगरको मेयरमा एमालेका तर्फबाट पण्डितले उम्मेदवारी दिन सक्ने अर्थका रूपमा हेरेका छन् ।

पूर्वमन्त्री पण्डित भने आफैँ त्यसबारेमा अहिले नै प्रष्ट मुख खोल्न चाहँदैनन् । तर, पार्टीले आवश्यक ठाने पछाडि नहट्ने उनको आशय बुझिन्छ ।

विशेष अवस्थामा प्रदेशसभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई राजीनामा दिन लगाएर स्थानीय तहमा उम्मेदवार बनाउने एमालेको रणनीति भएकाले पनि पण्डितलाई अगामी निर्वाचनमा विराटनगर महानगरको मेयरको उम्मेदवारका रूपमा धेरैले लिन थालेका हुन् । उनी स्वयं पनि मतदाताले आफूलाई माग गर्नु अस्वाभाविक नभएको बताउँछन् ।

‘जनताको बीचमा लोकप्रिय नेता उम्मेदवार भइदियोस् भन्ने चाहाना राख्नु स्वाभाविक नै हो’, पण्डितले रातोपाटीसँग भने, ‘सँगसँगै सञ्चारमाध्यम र समाजका अगुवाहरूले व्यक्ति नै तोकेर फलानो भइदिए राम्रो भनेर भन्नु पनि अस्वाभाविक होइन ।’

एमाले नेता पण्डितले विगतमा आफूले जिम्मेवारीमा रहँदा पारदर्शी र अनुशासित भएर काम गरेकाले पनि विराटनगरका जनता र मतदाताको माग आउनु स्वाभाविक भएको बताए ।

नेकपा एमालेले पूर्वमन्त्री पण्डितलाई मेयरमा उठाउन लागेको हो ? हामीले यो प्रश्नमा मोरङका एक जिल्ला नेतालाई अनौपचारिक रूपमा सोध्यौँ । ती नेताले यदि पण्डित तयार भएमा उहाँलाई उम्मेदवार बनाउन पार्टी तयार रहेको प्रतिक्रिया दिए । 

नेकपा एमालेबाट मेयरका रूपमा चर्चामा आएका पूर्वमन्त्री पण्डितसँग विराटनगर महानगरको चुनावी चर्चा र उम्मेदवारीबारे रातोपाटीले गरेको कुराकानी : 

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा गृहनगरमा तपाईंको सक्रियता बढ्दै गएको छ । अहिले विराटनगरमा के–के गर्दै हुनुहुन्छ ?

नेकपा एमालेले सांगठानिक रूपमा पालिका, वडा र टोलहरूमा समेत चुनावी गतिविधि र त्यसअन्तर्गतका अभियानलाई तीव्र बनाइरहेको छ । म पनि त्यही अभियान अन्तर्गत जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुँदै आएको छु ।

अर्कोतर्फ, निर्वाचनका लागि पार्टीले केन्द्र हुँदै वडा स्तरसम्म संयन्त्रहरू बनाएको छ । ती संयन्त्रहरूले उम्मेदवारहरू प्रस्ताव गर्छ, त्यसरी प्रस्ताव गर्दा सकेसम्म सर्वसम्मत उम्मेदवार लिएर आउँछ । यदि कुनै ठाउँमा सर्वसम्मत भएन भने अधिकारप्राप्त कमिटीले निर्णय गरेर मैदानमा उत्रने कुरा छँदैछ । त्यसका लागि पनि पार्टी केन्द्रका तर्फबाट मेरो सक्रियता रहने नै भयो ।

पार्टी फुटेको र सत्ता पक्षमा गठबन्धन बनेका कारण एमालेलाई त यसपटक चुनाव जित्न निकै कठिन हुने देखिन्छ । कसरी सामना गर्दै हुनुहुन्छ ?

एमालेलाई कुनै समस्या छैन । हामी हाम्रो रणनीति अनुसार, कार्ययोजना अनुसार अघि बढ्छौँ र जित हासिल गरेरै छोड्छौँ । यस क्रममा प्रारम्भिक स्थितिमा पार्टीको चुनाव चिन्ह लिएर टोलटोल र घरघरमा जानेगरी पार्टी सदस्यदेखि नेतृत्व पङ्क्ति लागिरहेका छौँ ।

स्थानीय निर्वाचनमा खास गरी महानगरहरूमा विभिन्न पार्टीका केन्द्रीय नेताहरूले नै उम्मेदवार बन्ने चाहाना राखेको देखिन्छ । त्यसमध्ये तपाईं पनि एक रहेको समाचार सार्वजनिक भएको छ । विराटनगर महानगरपालिकामा एमालेको तर्फबाट तपाईं उम्मेदवारी दिन तयार हो ?

चुनावको मुखमा र उम्मेदवारी चयनका बेलामा आआफ्नो पार्टीबाट सबभन्दा बढी जनताको बीचमा लोकप्रिय नेता उम्मेदवार भइदियोस् भन्ने चाहाना राख्नु स्वाभाविक नै हो । त्यस सँगसँगै सञ्चार माध्यम र समाजका अगुवाहरूले व्यक्ति नै तोकेर फलानो भइदिए राम्रो भनेर भन्नु पनि अस्वाभाविक होइन । तर, हामीले अहिले नै पार्टीका तर्फबाट कुनै पनि व्यक्तिलाई ‘म आफू उम्मेदवार हुँ’ भन्न छुट दिएको छैन । कोही समर्थक, शुभचिन्तकहरूले छस्याक छुसुक भनिगयो भने अलग कुरा हो ।

हामीले चैत २५ गतेसम्म स्थानीय तहका उम्मेदवारको नामावली प्रारम्भिक रूपमा अघि बढाउने भनेका छौँ । पार्टी केन्द्रले यो महिनाको अन्त्यमा सबै स्थानीय तहलाई उम्मेदवारको नाम पठाइसक्न भनेको छ ।

भनेपछि तपाईं पनि महानगरको उम्मेदवार बन्न इच्छुक नै हुनुहुन्छ ?

मैले अघि नै भनिसकेँ । मेरो सवालमा म आफैँ पार्टीको सिपाही हुँ र मोरङ निर्वाचन क्षेत्र ६ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पनि हुँ । त्यसो हुँदा अहिले पार्टीले सकेसम्म विशेष अवस्थामा बाहेक प्रदेश वा प्रतिनिधि सभामा रहेकाहरूलाई उम्मेदवार हुने भनेर सोचेको छैन ।

‘विशेष अवस्था’ भनेर कस्तो अवस्थालाई बुझ्ने ?

त्यो भनेको प्रतिद्वन्द्वीहरुले त्यस्तै उम्मेदवार लिएर आएको र उसलाई परास्त गर्नका निम्ति कुनै व्यक्ति नभई नहुने परिस्थिति भयो भनेमात्र पार्टीले विशेष निर्णय गरेर सम्बन्धित व्यक्तिलाई प्रदेश, प्रतिनिधिसभा या राष्ट्रिय सभाबाट राजीनामा गराएर उम्मेदवारी दिने कुराबाहेक अरू अवस्था छैन । त्यसकारण म पनि अहिले व्यक्तिगत रूपमा आफैँ बोल्न नमिल्ने स्थितिमा भएकाले गर्दा पार्टीबाट निर्णय भएर आएपछि मात्र यसको जवाफ दिन सक्छु  ।

जनता र मतादातासँग तपाईंको भेटघाट, छलफल र अन्तरक्रिया हुँदाचाहिँ विराटनगरवासीले लालबाबु पण्डितको आवश्यकता ठानेका रहेछन् भन्ने महसुस भयो कि भएन ?

हामी जनताको बीचमा हरेक ठाउँमा जाँदा पनि पार्टीप्रतिको माया व्यापकरुपमा गरेको पाइएको छ । मेरो निर्वाचन क्षेत्र भनेको विराटनगर महानगरपालिकाका ७ वटा वडा र एक नगरपालिका, अर्को गाउँपालिकाका ६ वटा वडा हुन् । महानगर, नगर र गाउँपालिकाका सबै ठाउँमा म निरन्तर पुगिरहेको छु । त्यो बाहेक अरू निर्वाचन क्षेत्रमा पनि म गइरहेकाले गर्दा जनता या मतदाताले आइदिनुस् भन्नु अस्वाभाविक भएन ।

त्यसकारण, अहिले पार्टी निर्णय प्रक्रियामा चल्ने हुँदा पार्टीको निर्णय नआइकन तलदेखि माथिसम्म मत कलेक्सनको चरणमा छौँ । त्यसैले सार्वजनिक रूपमा कतिपय व्यक्तिको नाम वा लामो इतिहास बोक्नुभएकाहरुलाई मतदाताहरूले माग गर्नुलाई अस्वाभाविक होइन मात्र भन्न सक्छु ।

आवश्यकता र परिस्थितिअनुसार पार्टीले नै निर्णय गर्ने भएकाले मैले यतिमात्रै भन्न सक्छु कि विभिन्न देशमा प्रधानमन्त्री भएका व्यक्तिहरू पनि महानगरपालिकामा मेयरका रूपमा गएका उदाहरण छन् । हाम्रो देशमा पनि डा. बाबुराम भट्टराईजीले काठमाडौँमा आँट गर्छु भन्नुभएको छ । तर, उहाँले सार्वजनिक खपतका लागि मात्रै भन्नुभएको हो वा सत्य हो, त्यो पछि नै थाहा होला । यद्यपि यसरी पार्टीका ठूला नेताहरूले चाहना राख्नु स्थानीय विकासका लागि नराम्रो होइन ।

विराटनगरका मतदाताले पनि तपाईंलाई चाहेको र तपाईं आफू पनि पार्टीले जिम्मेवारी दिए पछाडि हट्नुहुन्न भन्ने बुझ्दा फरक पर्दैन होइन ?

म पार्टीको जिम्मेवार नेता भएकाले यो विषय मैले पार्टीभित्र नै छलफलमा राख्नुपर्छ । पार्टी बैठकभन्दा बाहिर, त्यो पनि सञ्चार माध्यमबाट मत राख्नु उपयुक्त हुँदैन भनेर फेरि पनि दोहोर्‍याउन चाहन्छु । अनुशासनको घेरा नाघेर वा तोडेर म केही भन्न चाहन्नँ ।

अघिल्लो निर्वाचनमा विराटनगर महानगरमा विजय गच्छदारको पार्टीसँग तालमेल गर्दा पनि एमालेले जित्न सकेन । यसपटक त एमाले विभाजित पनि छ । यस्तो अवस्थामा विराटनगर महानगरमा जित हासिल गर्न एमालेले कसैसँग तालमेल गर्नुपर्ने अवस्था छ कि छैन ? के पाउनुभयो ग्राउण्डको रियालिटी ?

विराटनगरको सन्दर्भमा विगतमा हामीले तालमेल गरेर घाटा व्यहोरेका छौँ । त्यसैले अहिले विराटनगरको प्रमुख पदमा तालमेल हुनसक्ने सम्भावना मैले देखेको छैन । प्रमुख पद भनेको मेयर-उपमेयर पदमा कुनै पार्टीसँग पनि तालमेल गर्न आवश्यक छैन । अन्य पदको सन्दर्भमा आवश्यक पर्‍यो भने एक अर्कालाई सघाउने स्थिति बन्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप