शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्रको पेन्सनसँगै ‘सेवा अवधि’ घटाउने प्रस्ताव अर्थ मन्त्रालयमा

​पहुँचवालाको स्वार्थमा एसपीको पदावधि ३ वर्षे बनाउन खोजेको आरोप
सोमबार, २१ चैत २०७८, २१ : १६
सोमबार, २१ चैत २०७८

काठमाडौँ । सशस्त्र प्रहरीमा १६ वर्षमा पेन्सन सुविधा दिनुपर्ने प्रस्तावसँगै सशस्त्र प्रहरी उपरीक्षकको ‘सेवा अवधि’ घटाउने प्रस्ताव पेस गरिएको छ । सो प्रस्ताव अहिले गृह मन्त्रालयबाट अघि बढेर अर्थ मन्त्रालयमा पुगेको छ ।

सहमतिका लागी अर्थ मन्त्रालयमा पेस गरिएको प्रस्ताव अनुसार बिल्लादार जवानहरूले १६ वर्षमा राजीनामा दिन पाउने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । तर,  २० वर्षमा मात्र पेन्सन खान पाउने गरी नियमावली संशोधन गर्न प्रस्ताव गरिएको छ । इन्स्पेक्टर र सोभन्दा माथिका अधिकृतले २० वर्षमा पेन्सन पाउने सशस्त्रको प्रस्ताव छ ।

तल्लो दर्जाको मनोबल उकास्ने सो प्रस्तावसँगै सशस्त्र प्रहरी उपरीक्षकको ‘सेवा अवधि’ पनि घटाउन प्रस्ताव गरिएको छ । सशस्त्रमा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने पदभन्दा एक तह मुनिको पदमा चार वर्ष सेवा अवधि पुरा भएको हुनुपर्छ । सशस्त्र प्रहरीको नियमावलीमा भएको सो व्यवस्थालाई संशोधन गरेर अन्य पदमा बाहेक एसएसपीमा बढुवा हुनका लागी मात्र ३ वर्षे सेवा अवधि बनाउने प्रस्ताव गरिएको छ ।

सशस्त्रका आईजीपी शैलेन्द्र खनालले आफू निकटलाई फाइदा पुग्ने गरी ३ वर्षे सेवा अवधि बनाउन प्रस्ताव गरेको भनेर सङ्गठनभित्र आलोचना भइरहेको छ । सेवा अवधि घटाउनका लागी सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले २०७८ माघमा समिति गठन गरेर सुझाव लिएका थिए । समितिमा आईजीपी खनाल निकट भनेर चिनिएका डीआईजी नारायण दत्त पौडेल संयोजक, कामु एसएसपी दीपेन्द्र शाह र कानुन शाखाका एसपी युवराज अर्याल सदस्य थिए ।

आफूनिकटलाई माथि ल्याउने खेल

सिसम–१ को ब्याचबाट २०७५ वैशाख २७ मा एसपीमा बढुवा भएका अधिकृतहरूको सेवा अवधि ३ वर्ष पुरा भएको छ । सिसम–२ का अधिकृतहरू २०७५ चैत १५ मा एसपीमा बढुवा भएका थिए । एसपी पदमा ती अधिकृतहरूको सेवा अवधि २०७८ चैत १५ मा ३ वर्ष पुगेको छ ।

कायम मुकायम एसएसपी कमल तिउसिनाको एसपीमा बढुवा भएको चैत १५ मा ३ वर्ष पुरा भएको छ । सिसम–२ का तिउसिना सशस्त्र प्रहरी महानिरिक्षक खनाल निकट भनेर चिनिन्छन् । कायम मुकायम एसएसपीमा ४ नम्बरमा रहेका तिउसिना आईजीपीको सचिवालयमा कार्यरत छन् ।

आईजीपी खनाल २०७८ चैत २७ मा अवकाशमा जाँदै छन् । अवकाशमा जानुअघि पदावधि घटाएर तिउसिनालाई १ नम्बरमा ल्याउन चलखेल भइरहेको सशस्त्रका अधिकृतहरू बताउँछन् । पदावधि घटाउने गरी नियमावली संशोधन गरेपछि मूल्याङ्कन समिति बसेर फेरी मूल्याङ्कन भएपछि मात्र कामु बाट उनीहरू पूर्ण एसएसपीमा बढुवा हुन्छन् ।

सिसम–१ ब्याचका कामु एसएसपी दीपेन्द्र शाहलाई पनि बढुवा हुन आवश्यक सेवा अवधि घटाएर माथि ल्याउने चलखेल भइरहेको छ । रोचक त के छ भने, नियमावली संशोधन भएपछि बढुवा हुने तयारीमा रहेका शाह आफैँ सेवा अवधि घटाउने ‘सुझाव समिति’को  सदस्य थिए  ।

सिसम–१ र सिसम–२ का ब्याचीहरु ज्येष्ठताका आधारमा कामु एसएसपीमा बढुवा भएका हुन् । तर, एसपीको पदावधि घटाएसँगै उनीहरू एसएसपीमा बढुवा हुन योग्य मानिन्छन् । उनीहरूलाई मूल्याङ्कन समिति बसेर पूर्ण एसएसपी बनाउनुपर्ने कानुनी प्रावधान छ । कामु एसएसपी दीपेन्द्र कुँवरलाई पनि नियमावली संशोधन गरेर माथि ल्याउन चलखेल भइरहेको छ । अहिले ११ नम्बरमा रहेका कुँवर प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाका ज्वाइँ हुन् ।

‘नियमावलीमा चलखेल गर्न सकिने छिद्रहरू छन्’ सशस्त्र प्रहरीका एकजना उच्च अधिकृतले भने–‘सशस्त्र प्रहरीको नियमावलीमा संशोधन गर्नुपर्ने धेरै कुराहरू छन् तर, अहिले सेवाअवधि मात्रै घटाएर आफ्नो कार्यकालमा आफ्नालाई पुरस्कृत गर्न खोजिएको छ ।’

आईजीपी खनालको अवकाश भएपछि रिक्त हुने डिआइजीको एक सिटमा बढुवा बढुवाका लागी एसएसपीहरू रोशन कुमार थक्सु र कृष्णराज पाठक प्रतिस्पर्धामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप