शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा बक्स अफिस : कागलाई बेल पाक्यो हर्ष न बिस्मात

निर्माता संघ भन्छ, ‘हामीले मागेको बक्स अफिस यो होइन
मङ्गलबार, २२ चैत २०७८, ०९ : ४८
मङ्गलबार, २२ चैत २०७८

लामो संघर्ष र कसरतपछि १ साउन २०७५ मा नेपाली फिल्म क्षेत्रमा पहिलो पटक बक्स अफिस प्रणालीको सुरु भयो । तत्कालीन सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले २०७५ असार ३२ गते ‘बक्स अफिस प्रणाली’को उद्घाटन गरेका थिए । निर्माताको माग अनुसार चलचित्र विकास बोर्डले बक्स अफिस लागु त गर्‍यो । तर, त्यसको कार्यान्वयन पक्ष भने फितलो रह्यो ।

उपत्यका र उपत्यका बाहिर गरेर दुई चरणमा लागु भएको ‘बक्स अफिस प्रणाली’ पटक पटक सुधारियो पनि । तर  बक्स अफिस लागु भएको ४ वर्ष बितिसक्दा पनि  निर्माताहरूको गुनासो उही छ । अझै पनि उनीहरूले फिल्मको व्यवसाय बुझ्न वितरकमै भर पर्नुपर्छ । 

बक्स अफिस लागु हुँदा पनि हल सञ्चालक, वितरक र निर्माताबीच हिसाब–किताबको किचलो र अविश्वास उस्तै छ । एकले अर्कालाई झुक्याएको आरोप समेत सुन्न पाइन्छ । समयमै डाटा हेर्न नपाउनु, वितरक र बक्स अफिसको रिपोर्ट फरक आउनु यसको प्रमुख समस्या हो ।

बक्स अफिस सुरुवातको समय यसप्रति जति उत्साह थियो, अहिले निराशा त्यो भन्दा बढी देख्न सकिन्छ । अहिले निर्माताहरू ‘बक्स अफिस कहाँ छ र ?  त्यो झुक्याउने भाँडो हो । हामीले मागेको बक्स अफिस यस्तो होइन । बक्स अफिस विदेशी फिल्मलाई राहत र स्वदेशी फिल्मलाई आहत बन्यो’ भन्न थालेका छन् । कतिपय फिल्मकर्मी त कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेझैँ अहिलेको बक्स अफिस रहेको बताउँछन् । बक्स अफिस कहाँ र कस्तो अवस्थामा छ ? भन्ने एउटै प्रश्न हामीले फिल्म क्षेत्रका विभिन्न व्यक्तिसँग राखेका थियौ । उनीहरूको बिचार यस्तो छ । 

बक्स अफिस राम्रोसँग लागिसक्यो 

दयाराम दाहाल, अध्यक्ष चलचित्र विकास बोर्ड

बक्स अफिस अहिले सबै हलमा छ र राम्रोसँग चलिरहेको छ । फिल्म क्षेत्रका मानिसहरु आफूखुसी कुरा गरिरहेका छन् । नेपालका फिल्मकर्मीले जस्तो राजनीति अरूले जानेका छैनन् । हामीले बक्स अफिसको नियमित अनुगमन समेत गरिरहेका छौँ । केही खराबी देखियो वा कोही खराब देखियो भने तुरुन्तै कारबाही हुन्छ ।

कोरोनाले थलिएका हल भर्खर हल खुल्यो, उनीहरू मारमा छन् भनेर हामीले केही महिनायता अनुगमन गरेनौँ । अब नियमित अनुगमन हुन्छ । निर्माताले जथाभाबी बोल्नु र बक्स अफिसको रिपोर्ट बाहिर नआउनुले एक किसिमको भ्रम पारेको देखिन्छ । बक्स अफिसको रिपोर्ट जसले पायो त्यसले बाहिर हेर्न पाउने हैन । फिल्मको व्यवसाय पनि व्यक्तिले बाहिर प्रचार गरेजस्तो छैन ।

बोर्डमा आएर रिपोर्ट लिनुपर्‍यो नि । बाहिर मेरो फिल्मको यति आयो भनेर ठुला ठुला कुरो गर्दैमा फिल्मले कमाएका हुँदैन । बक्स अफिस छ, लाग्छ । सरकारले बक्स अफिसलाई कडाइ गर्छ । बक्स अफिसमा नआउने हल बन्द हुन्छ ।

हाम्रो सिस्टममा कुनै समस्या छैन । कहीँ कतै चोरी देखियो भने कारबाही हुन्छ । केही अगाडिसम्म हल खुलेन भनेर रूवाबासी भयो । अहिले हल खुल्यो ठुला ठुला कुरा गर्न थाले । हामी कहाँ विदेशी फिल्म रुचाउने र नेपाली फिल्म रुचाउने दुई थरिका फिल्मकर्मी छन् । उनीहरूले एक अर्कालाई गाली गर्दछन् ।

अहिले लुकेर, ढाँटेर कसैले छलेको भए त्यो अनुगमनको क्रममा भेटिन्छ । कसैले छलेर कमाएको छ भने त्यो गलत हो । ढिलो चाँडो त्यो कानुनी कठघरमा उभिन्छ ।

हामीले चाहेको बक्स अफिस अहिलेको होइन

आकाश अधिकारी, अध्यक्ष चलचित्र निर्माता संघ

२०६२/०६३ बाट निर्माता संघले नेपालमा बक्स अफिस चाहिन्छ भनेर अगाडि बढ्यो । धेरै ठाउँमा धेरै प्रकारका प्रस्तुति दियो । चलचित्र संघ पनि यसमा आबद्ध भयो । त्यति गर्दा पनि बक्स अफिस लाग्न सकेको थिए । त्यसपछि तत्कालीन अर्थमन्त्री युवराज खतिवडा र विष्णु पौडेललाई म आफै गएर बक्स अफिसको बारेमा विभिन्न प्रस्तुतिसहितको छलफल गरे । त्यसपछि उहाँहरूलाई लाग्यो यसमा धेरै छ । सबैभन्दा पहिले फाइदा राज्यलाई छ, त्यसपछि निर्माता र चलचित्र भवनलाई । यसमा पारदर्शिता छ । फिल्मको राजस्व हामीले अनलाइन गर्‍यौँ । अहिले बक्स अफिस कमिटी जुन टिम छ, त्यसमा राजस्व विभाग, चलचित्र विकास बोर्ड, सूचना तथा प्रविधि मन्त्रालय, अर्थमन्त्रालय लगायत सबै ठाउँबाट ब्यक्ति छन् । त्यसलाई हामी निर्माता संघले पटक पटक बक्स अफिस चुस्त दुरुस्त बनाएर अगाडि बढाउनु पर्‍यो भनेर भनेका छौँ । काम हुन सकेको छैन । कोरोना अगाडि कुरा हुँदा हामीले यसलाई अपग्रेड गराउँदैछौँ भनेर भनिएको थियो । तर त्यो के भयो केही जानकारी आएको छैन । बक्स अफिसले राज्य, निर्माता र चलचित्र भवनलाई फाइदा छ । बक्स अफिसको सफ्टवेयर किन्नका लागि राज्यले करोडौँ खर्च गरेको छ । अहिले बक्स अफिस राम्रोसँग लागेको छैन । यसले निर्माता, चलचित्र घरलाई चाहिएको कुरा दिन सकेन, राज्यलाई राजश्व उठाएर दिन सकेन भने त्यो पैसा खर्च गरेको केका लागि । त्यो पैसाको दुरुपयोग हुनुहुँदैन । 

बक्स अफिसका लागि विकास बोर्डका जति पनि अध्यक्षले पहल गरे हामीले यथाशक्य चाँडो राम्रोसँग बनाउनुपर्छ । अहिले भएको बक्स अफिस हामीले खोजेको बक्स अफिस होइन । हामीले कुनै बिचौलियाले चलखेल गर्न नसक्ने राज्य र निर्माता र चलचित्र घर र सरोकारवाला सबैले हेर्न सकोस् । अन्यले हेर्न सुविधा नहोस् । टिकट काटेको रेकर्ड तुरुन्ते निर्माता, वितरक, चलचित्र घर र नेपाल सरकारले प्रत्यक्ष देख्न पाओस् भन्ने बक्स अफिस मागेका थियौ । यस्तो नभएसम्म निर्माता लगायत सबै पक्षले व्यवसायको विषयमा आफू खुसी धारण राख्ने क्रम रोकिन्न । अहिलेको जस्तो बक्स अफिस हामीले चाहेको हुँदैन होइन । 

त्यो भएपछि सबै सुध्रिन्छ

गोपाल कायस्थ, निर्माता, वितरक

बक्स अफिस त लागेको छ । यो बिना टिकट खुल्दैन । बक्स अफिसको रिपोर्ट र निर्माताले गर्ने रिपोर्टमा अहिले आकाश जमिनको फरक भेट्न सकिन्छ । बक्स अफिसको सही रिपोर्ट दिने संस्था चलचित्र विकास बोर्ड हो । यसको अनुमान गर्ने अधिकार पनि यसैलाई छ । यसको रिपोर्ट सही मान्नुपर्छ । अहिले बक्स अफिस विकास बोर्डको हातमा छैन जस्तो लाग्छ । बक्स अफिसले काम गरेको छैन जस्तो लाग्छ ।

विकास बोर्डमा एक किसिमको रिपोर्ट हुन्छ । बाहिर निर्माताले फरक रिपोर्टको हल्ला गर्दछन् । त्यसले पनि रिपोर्टमा एक रुपता छैन । ५० लाखको व्यवसाय भयो भने निर्माताले बाहिर दुई करोडको भनेर बताउँछन् । 

कतिपय वितरक आफू खुसी रिपोर्ट दिन्छन् । म जे हो त्यही भन्छु । फिल्मसँग सम्बन्धित निर्माता र वितरकले आफू खुसी रिपोर्ट दिने र विकास बोर्डको रिपोर्टसँग नदाँज्ने र विकास बोर्डले केही नबोल्ने प्रवृत्तिले बक्स अफिसमा समस्या देखिएको हो ।

जसले जे बोल्छ । त्यसको आधारमा आधारमा करको दायरमा बढाउनु पर्छ । कसैले आफ्नो फिल्मले दुई करोड कमायो भनेर मिडियामा बताउँछ भने त्यसको आधारमा कर लिने सिस्टम गर्नुपर्छ । त्यो भएपछि सबै सुध्रिन्छ ।

म त यस विषयमा एउटा बहस चाहिएको देख्छु । बक्स अफिसको रिपोर्ट सबैले हेर्न नमिल्ने भएकोले पनि निर्माता वितरकले जे बताउँछन् । त्यो पत्याउनुपर्ने अवस्था बनेको हो । पटक पटक यस्ता कुरा उठ्ने गरेका पनि छन् । हरेक निर्माता, वितरक इमानदार नभएसम्म यस्तो समस्या आइरहन्छ । यो बक्स अफिसको समस्या होइन । इमानदारिताको हो । निर्माता, वितरक, हलवाला र विकास बोर्डले एउटै डाटा बाहिर ल्याउने व्यवस्था नभएसम्म यो समस्या समाधान हुँदैन ।

हामी बक्स अफिसमै छौँ

मधुसूदन प्रधान, अध्यक्ष, चलचित्र संघ

बक्स अफिस राम्रोसँग लागेको छ । बक्स अफिस बिना अहिले टिकट काटिँदैन । मैले बुझ्दै नसकेको कुरो यही हो । बक्स अफिस निर्माता र वितरकले बाहिर ल्याउने रिपोर्टमा आकाश जमिनको फरक हुन्छ । यो विषयमा तीनै पक्षलाई राखेर एउटा राम्रो बहस हुन जरुरी देख्छु । मिडियाले त्यसको थालनी गर्दा पनि हुन्छ । निर्माता, वितरक आफ्नो फिल्मको रिपोर्ट आफू खुसी दिन्छन् । त्यो कारणले पनि तीनै पक्षमा इमान्दारिता नभएसम्म समस्या समाधान हुँदैन । बक्स अफिसको सहित विवरण विकास बोर्डले दिने हो । बोर्डसँग अनुगमन गर्ने अधिकार समेत छ । सबैले बोर्डको डाटालाई आधिकारिक मानेर बाहिर ल्याउने हो भने बाहिरको भ्रम हटेर जान्छ । हामी हलवाला बक्स अफिसमा रहेर चलेका छौ । त्यसमा दायाँबायाँ गरेको भए विकास बोर्डले कारबाही गर्न सक्छ । निर्माता, वितरकले आफ्नो व्यवसायको विषयमा किन आफूखुसी कुरा गर्दछन् । त्यो मैले नबुझेको विषय हो । निर्माता, वितरक र हलको रिपोर्टमा बक्स अफिसको रिपोर्ट दाँजेर प्रश्न गर्नुपर्ने देखिन्छ । हामीले हलमा काट्ने टिकटको सफ्टवेयर मार्फत अटोमेटिक रिपोर्ट विकास बोर्डमा देखाउँछ । रिपोर्टको विषयमा देखिएको असमानताको विषयमा पटक पटक कुरो उठ्ने गर्दछ । 

के हो ‘बक्स अफिस’ ?

फिल्म हलमा प्रदर्शन भएपछि विद्युतीय प्रणालीको सहयोगले प्राप्त हुने वास्तविक आम्दानीलाई नै ‘बक्स अफिस’ भनिन्छ । यो प्रणाली जडान भएपछि कुन हलमा कति टिकट बिक्यो, कति आम्दानी भयो, यी सबै तथ्याङ्क छिटो र आधिकारिकता प्राप्त हुन्छ । यसले गर्दा निर्माताले आफ्नो फिल्मको व्यापारलाई सहज ढङ्गले ‘मनिटरिङ’ गर्न पाउँछन् । जसका कारण हालवाला, बिचौलिया र अन्य अनियमितता गर्ने सम्भावना कम हुन्छ । फिल्म निर्माता तथा वितरकले घरमै बसेर आफ्नो फिल्मले कति आम्दानी गर्‍यो भन्ने थाहा पाउन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप