शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारलाई गाली गर्दै ओलीले भने– प्रहरी भाइहरुले झुक्केर ताली हान्नुहोला नि फेरि !

बिहीबार, २४ चैत २०७८, ०० : ०२
बिहीबार, २४ चैत २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले भोटको नभई विकासको राजनीति गर्ने पार्टी भएको बताएका गरेका छन् । बुधबार पार्टी निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले विकास र समृद्धिलाई पन्छाएर सत्तारुढ गठबन्धन र सरकारले भोटको राजनीति गरेकाले देशको अर्थतन्त्र चौपट भएको दावी समेत गरे ।

‘यो सरकार तुरुन्तै ढलेन भने जति दिन रहन्छ त्यति देशलाई बर्बादीतिर धकेल्छ’, ओलीले यसो भनेपछि कार्यक्रममा उपस्थित प्रहरीतर्फ हेरेर हाँस्दै भने, ‘प्रहरी भाईहरुले झुक्केर ताली हान्नुहोला नि फेरि !’ उनले वर्तमान पाँच दलीय सरकार आफै कुहिएर फतक्क झर्ने पनि बताए । आफै ढल्ने सरकारमाथि एमालेलाई वर्तमान सरकार ढालेको वात नलागोस् भन्दै उनले सरकार कुहिसकेको दावी गरे ।

‘अहिलेको यो गठबन्धन सरकार कहिलेसम्म रहन्छ ? यो त कुहिसकेको छ । तर, कुहिएको फल पनि कुहिने वित्तिकै खत्रक झर्दैन’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ ।  उनले कुनै पनि रुखको फल झर्नलाई मज्जाले कुहि सक्नुपर्ने पनि बताए । ‘यो कुहिँदैछ । यो झर्ने बेलातिर जाँदैछ । यो झर्छ, झर्ने समय हामीले पर्खनुपर्छ’, ओलीले भने, ‘मर्नै लागेको मान्छे बाच्दै बाँच्दैन भनेपनि त्यतिबेला प्वाक्कै हिर्काएर त्यतिबेलै मर्यो भने ज्यान मुद्दा लाग्छ । त्यसैले यो सरकार ढाल्न हामी कोशिस नै गर्दैनौ । यो सरकार ढालेको वात पनि नलागोस्, आफै कुहिएर फतक्क झरोस् ।’

एमाले पार्टी सवैको सुख, सुविधा, न्याय र समृद्धिका लागि भएपनि अहिलेका पाँच दल आफ्नै सुख सुविधाका लागि बनेको ओलीको आरोप छ । उनले एमाले र पाँच दलीय गठबन्धन बीचको फरक छुट्याउँदै भने, ‘हामी सबैको सुख भन्छौ, उनीहरु आफ्नो सुख भन्छन्, हामी सबैको न्याय भन्छौ उनीहरु आफ्ना लागि भन्छन्, हामी र पाँच दलीय गठबन्धन बीचको फरक यहीँ हो ।’ उनले आफुहरु त्यस्तो नगर्ने भन्दै सवैको सुख र समृद्धिका लागि लड्ने दावी गरे ।
आफ्नो नेतृत्वको सरकारले आठवटा औद्योगिक क्षेत्र खोलेको, लगानीको वाताबरण बनाएको भन्दै बाँसबारी छाला जुत्ता कारखाना खाएकाहरुले खै उद्योग खोलेको भनेर सोध्ने गरेको बताए ।

‘हामीले आठवटा औधोगिक क्षेत्रहरु खोल्यौ, अनेक उद्योग स्थापना गर्न आव्हान र सुरु पनि गर्यौ’, ओलीले भने,‘कतिपय नयाँ उद्योग सञ्चालन गर्यौ, ती मान्छेहरुले हामीलाई सोध्न अप्ठेरो मान्दैनन्, जसले छाला जुत्ता खाए । बाँसबारी छाला जुत्ता खानेहरूले हामीलाई सोध्छन् खै उद्योग स्थापना गरेको ? जसले सिमेन्ट कारखाना, इँटा टायल खाए ।’ नेपाली काँग्रेसलाई लक्षित गर्दै ओलीले भक्तपुर इँटा, हरिसिद्धि इँटा, हिमाल सिमेन्ट खानेहरूले कसरी सोध्न सकेको बताए । उनले चोभारमा सुख्खा बन्दरगाह बनाउन लाग्दा काँग्रेसले शिलान्यास गरेको भन्दै त्यही बन्दरगाहको हिजो उद्घाटन गरेकोमा धन्यवाद दिए ।

‘यसले राम्रै गर्छ भनेर भन्नुभयो । यतिवेला थाहा पाउनुभएछ । तीन वर्षपछि ।’ त्यसक्रममा उनले पाँच दललाई गधाको कथासँग तुलना गर्दै भने, ‘हाम्रा मित्रहरु शिलान्यास गर्ने बेलामा विरोध गर्छन् । उद्घाटन गर्ने बेलामा कुरो बुझ्छन् र वत्ति बाल्न जान्छन् । ’

उनले विगतमा आफुले प्रतिकूलताका बीचमा सरकार चलाएको पनि बताए । ‘बिचार गर्नुस् त कसरी चलायौ होला प्रतिकूलतामा । यतापट्टि प्रचण्ड, उतापट्टि माधव नेपाल, पर्तिर झलनाथ खनाल राखेको छ । उता अर्को छ । देश भन्नेबित्तिकै देशभन्दा पहिला मेरो कुरा भन्नुछ भनेर उफ्रिन्छ, दुई घण्टासम्म कराउँछ’, ओलीको भनाइ छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप