शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा मेयरका थरिथरि आकाङ्क्षी : पूर्वडीआईजी र हिरोदेखि पूर्वसुन्दरीसम्म !

२० हजार मतदाता थपिएको काठमाडौँमा एमाले र काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने
बिहीबार, २४ चैत २०७८, ०८ : ४८
बिहीबार, २४ चैत २०७८

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारका आंकाक्षीहरु बढ्न थालेका छन् । देशको धेरै मतदाता रहेको काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि उम्मेदवारी दिने नाममा चलचित्र अभिनेता भुवन केसीदेखि पूर्वडीआइजी रमेश खरेलसम्म चर्चामा छन् ।

केही स्वतन्त्र उम्मेदवारहरूले पनि निर्वाचनको मिति घोषणालगत्तै आफूलाई मेयरको उम्मेदवारका रूपमा चिनाउँदै मतदाता रिझाउने अभियान सुरु गरेका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा राप्रपा र एमालेले चुनावी तालमेल गरेका थिए । ठूला दलहरू काँग्रेस, माओवादी केन्द्र एकल ढंगले चुनावी प्रतिस्पर्धामा थिए । एमालेबाट प्रमुखमा विद्यासुन्दर शाक्य र उपप्रमुखमा काँग्रेसबाट हरिप्रभा खड्गी विजयी भएका थिए ।

२०७४ सालको स्थानीय तहको चुनावमा २ लाख ७९ हजार ३९ मतदाता थिए । अहिले काठमाडौँ महानगरपालिकामा २०७८ सालमा ३ लाख २४२ मतदाता छन् । बितेको ५ वर्षमा काठमाडौँ महानगरमा २० हजार ९३३ नयाँ मतदाता थपिएका छन् । उम्मेदवार बन्नका लागि साना पार्टी र स्वतन्त्र उम्मेदवारको हानथाप देखिए पनि मुख्य प्रतिस्पर्धा चाहिँ काँग्रेस र एमालेकै बीचमा हुने देखिन्छ ।

एमालेमा विद्यासुन्दर र केशव स्थापितको चर्चा : आफैँ उम्मेदवार घोषणा नगर्न पार्टीको निर्देशन

हाल काठमाडौँ महानगरका प्रमुख रहेका विद्यासुन्दर शाक्यले पार्टीले टिकट दिएमा पुनः प्रमुख पदमा उम्मेदवारी दिने बताउँदै आएका छन् । काठमाडौँका पूर्व मेयर एवं हाल प्रदेश सभा सांसद रहेका केशव स्थापित पनि मेयरका आकांक्षीका रूपमा रहेका छन् ।

तर, नेकपा एमालेले काठमाडौँ महानगर प्रमुखका दावेदारहरुलाई सार्वजनिकरुपमा उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएको छ । पार्टीका काठमाडौँ जिल्ला सहइञ्चार्ज कृष्ण राईले हालका मेयर विद्यासुन्दर शाक्यले आफूले पुनः उम्मेदवारी दिने भनेको सुन्नमा आएको र केशव स्थापितको नाम पनि चर्चामा रहेको बताए ।

महानगरको मेयरका आकाङ्क्षीहरू अरू पनि हुन सक्ने बताउँदै सार्वजनिक रूपमा दावेदारी प्रस्तुत नगर्न पार्टीको निर्देशन रहेको राईले बताए । मेयर शाक्य दोहोरिने वा नदोहोरिनेबारे पार्टीले उनीबाट ५ वर्षमा भएको कामको समीक्षा गर्ने र सोहीअनुसार निर्णय गरिने राईले बताए ।

काँग्रेसमा दर्जन बढी आकाङ्क्षी : प्रकाशमान पत्नी सिर्जनादेखि सुशन वैद्यसम्म  

नेपाली काँग्रेसबाट पनि काठमाडौँ महानगर प्रमुखमा उम्मेदवारी दिन दर्जन बढी नेता आकाङ्क्षी देखिएका छन् । हाल महानगर उपप्रमुख रहेकी कांग्रेस नेतृ हरिप्रभा खड्गीले पनि मेयर पदका लागि आफ्नो दावेदारी प्रस्तुत गरेकी छिन् । त्यस्तै काठमाडौँ महानगर कमिटीका सचिव सुसन वैद्यले पनि आफूलाई दाबेदारका रूपमा अघि सारेका छन् ।

काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहले पनि मेयरमा उम्मेदवारी दिने सङ्केत गरेकी छिन् । उनलाई मेयरको उम्मेदवार बनाउन काँग्रेसको भातृसंस्था महिला संघ काठमाडौंले निर्णय नै गरेको छ । काठमाडौँ महानगर प्रमुखमा तपाईंको पनि दावेदारी हो भन्ने प्रश्नमा रातोपाटीसँग कुरा गर्दै उनले तीन–चार दिनपछि आफ्नो धारणा सार्वजनिक गर्ने बताइन् ।

नेपाली काँग्रेसले महानगरपालिकामा पार्टीको केन्द्रीय समितिले उम्मेदवार छनौट गर्ने नीति लिएको छ ।

स्वतन्त्र उम्मेदवार पनि मैदानमा

काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि उम्मेदवारी दिने भन्दै दुई स्वतन्त्र युवा चुनावी मैदानमा उत्रिएका छन् । इञ्जिनियरसमेत रहेका र्‍यापर बालेन शाहले चुनावको मिति घोषणाअघि नै काठमाडौँको मेयरमा उठ्ने भन्दै प्रचार थालेका छन् । उनी अहिले आफ्नो भिजनसहित प्रचार प्रसारमा व्यस्त छन् ।

यस्तै पूर्व मिस नेवाः रहेकी सुनिता डंगोलले पनि चुनावको मिति घोषणा भएसँगै आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन् । स्वतन्त्र वा कुनै दलमा लागेर उम्मेदवारी दिने उनको तयारी छ । उनले हाल चुनावी घोषणापत्र लेखनका लागि सुझाव सङ्कलनको काम थालेकी छिन् ।

यता, चलचित्र अभिनेता भुवन केसी पनि काठमाडौँको मेयरका लागि प्रतिस्पर्धामा उत्रिने भएका छन् । उन्नत लोकतान्त्रिक पार्टीका अध्यक्ष अधिवक्ता स्वागत नेपालले केसीलाई मेयरमा उठाउने निर्णय गरेको बताए । रातोपाटीसँग कुरा गर्दै नेपालले भने, ‘भुवन केसीलाई हाम्रो पार्टीका तर्फबाट काठमाडौँ महानगर प्रमुखमा उम्मेदवार बनाउने निर्णय भएको छ । अहिले हामीले उहाँको सम्पत्ति विवरण मागेका छौँ । हाम्रो पार्टीका सबै नेता तथा उम्मेदवारको सम्पत्ति विवरण वेवसाइट मार्फत सार्वजनिक गर्ने नीति छ ।’

त्यस्तै, काठमाडौँ महानगर प्रमुखको दाबेदारका रूपमा पूर्वडीआइजी रमेश खरेलको पनि नाम चर्चामा छ । हालै उनले फेसबुकमार्फत आफू काठमाडौँ महानगरपालिका अन्तर्गत पर्ने नयाँ बानेश्वर मतदानस्थलको मतदाता रहेको मतदाता परिचयपत्र सार्वजनिक गरेका थिए ।

हालसालै नेपाल सुशासन पार्टी गठन गरेका खरेललाई तपाई काठमाडौँ महानगरको मेयरमा उठ्ने हो भन्ने प्रश्नमा उनले भने, ‘उठ्ने वा नउठ्नेबारे निर्णय भइसकेको छैन, अहिलेलाई फिप्टी–फिप्टीको अवस्थामा छ भनेर बुझ्नुस् ।’ स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिका प्रमुखका लागि उम्मेदवारको दाबेदारी गर्नेहरूको सङ्ख्या बढिरहेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप