शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा काँग्रेस–माओवादी आधा–आधा बाँड्नुपर्छ : अमनलाल मोदी

‘काँग्रेसले दम्भ देखायो भने मिनी गठबन्धन गर्छौँ’
बिहीबार, २४ चैत २०७८, १४ : ५६
बिहीबार, २४ चैत २०७८

नेपाली काँग्रेसले मोरङ जिल्लालाई आफ्नो परम्परागत विरासत मान्छ । एक्लाएक्लै चुनाव लड्दा काँग्रेसले यहाँ उल्लेख्य सिट जितेको पनि हो । तर, मोरङमा वामपन्थी जनमत पनि काँग्रेसको भन्दा कम छैन ।

कम्युनिस्टहरू फुटेका कारण परिणाम आफ्नो पोल्टामा पार्दै आएको नेपाली काँग्रेसले यसअघि ०७४ सालको स्थानीय निर्वाचनमा १७ तहमध्ये १० वटा स्थानीय तह एक्लै जितेको थियो । एमालेभित्रको अन्तरघातकै कारण स्थानीय तहमा काँग्रेसले यति धेरै सिट जित्न सफल भएको हो ।

जब एमाले र माओवादी मिलेर संघ र प्रदेशको निर्वाचनमा गए, काँग्रेसले नसोचेको परिणाम आयो । त्यसबेला काँग्रेसले ६ वटा संघीय निर्वाचन क्षेत्रमध्ये मुस्किलले एउटामा जित्यो । जबकि माओवादीले दुईवटा क्षेत्र जित्यो । १२ वटा प्रदेशसभा मध्ये काँग्रेसले ४ वटामा मात्र जित हात पार्‍यो ।

अहिले फेरि कम्युनिस्टहरू विभाजित भएको अवस्था छ । यो बेला सोलोडोलो १७ वटै स्थानीय तह जित्ने दाउ खोज्दै काँग्रेस नेताहरू मोरङमा गठबन्धनप्रति अनुदार बन्दै गएको माओवादी, जसपा र एकीकृत समाजवादीका नेताहरूको आशङ्का छ ।

के काँग्रेसले सत्ता गठबन्धनमै रहेका अन्य दललाई हेप्न थालेकै हो त ? यसै विषयमा हामीले मोरङ क्षेत्र नम्बर ४ बाट संघीय निर्वाचनमा विजयी बनेका माओवादीका केन्द्रीय सदस्य अमनलाल मोदीसँग कुराकानी गरेका छौँ ।

कुराकानीका क्रममा माओवादी नेता मोदीले मोरङमा काँग्रेस र माओवादीबीच आधा–आधा सिटमा भागबण्डा हुनुपर्ने शर्त राखे ।

भर्खरै माओवादीले मोरङमा केन्द्रीय तथा जिल्लाका इञ्चार्ज, सहइन्चार्जहरुको बैठक राखेको सुन्नमा आएको छ । बैठकले के निर्णय गर्‍यो ?

हाम्रो मोरङ जिल्लामा रहेका पार्टीका केन्द्रीय सदस्य, जिल्लाका पदाधिकारी, इञ्चार्ज र सहइञ्चार्जसहितको बैठक अनौपचारिक रूपमा बसेको हो । चुनावी गतिविधि के भइरहेको छ, कसरी अगाडि बढिरहेको छ भन्ने विषयमा बैठकमा छलफल भयो । समसामयिक हिसाबले पार्टीको संगठन सुदृढीकरण कसरी भइरहेको छ भन्ने विषयमा पनि छलफल भयो ।

मोरङमा माओवादीलाई काँग्रेसले धेरै हेप्यो भन्ने कतिपय माओवादी नेताहरूबाट प्रतिक्रिया आएको छ । जितेका स्थानीय तहमा प्रमुखको त कुरै छोडौँ, काँग्रेसले माओवादीलाई उपप्रमुख पनि नदिने भन्न थालेको हो ?

यो त काँग्रेसको कुरा होला । तर, अहिले हामी जसरी भए पनि लोकतन्त्र, गणतन्त्रलाई रक्षा गर्न महागठबन्धनका रूपमा गइरहेका छौँ । महागठबन्धनमा कुन पार्टी कहाँ बलियो छ, त्यसका आधारमा त गठबन्धन हुँदैन । गठबन्धनका लागि नै अहिले हामीले अभियान चलाइराखेका छौँ ।

जहाँसम्म मोरङका केही काँग्रेसका साथीहरूको कुरा छ, उहाँहरूमा मोरङमा काँग्रेस बलियो छ, अरू किन चाहियो भन्ने छ । तर, उहाँहरू भ्रममा पर्नुभयो । उहाँहरूका साथीहरू जनप्रतिनिधिका रूपमा काम गरिरहनुभएको छ । जनतामा कति डेलिभरी गर्नुभयो, कति गर्नुभएन त्यसको पनि त जनताले मूल्याङ्कन गरिरहेका छन् । पुरानै आँखाले हेरेर हुँदैन ।

के गठबन्धन नहुने र मोरङमा एक्लै चुनाव लड्ने भने भइयो त ? आफू एक्लै लड्न पनि नसक्ने अनि गठबन्धन गर्न पनि नरुचाउनेखालको जुन कुरा छ, त्यो उहाँहरूको केन्द्रीय लाइन विपरीत पनि छ । तर, सारमा त्यस ढंगले काँग्रेस जाँदैन भन्ने मलाई लाग्छ ।

मोरङमा काँग्रेसले ०७४ सालमा १० वटा पालिका जितेको थियो । एमालेले ५ र माओवादी अनि जसपाले १÷१ वटा स्थानीय त थिए । अब एमालेले जितेका ५ वटा गाउँपालिका बाँडफाँट गरेर लिने हो कि १७ वटै स्थानीय तहमा पुनः बाँडफाँट गर्ने ? गठबन्धनको मोडालिटी के हो ?

मोरङमा १७ वटा स्थानीय तहलाई एउटै बाक्सामा हालेर बाँडफाँट गर्नुपर्छ । काँग्रेसले प्राविधिक रूपमा जिते पनि मज्जाले जितेको अवस्था होइन । कतिपय पालिकामा प्राविधिक रूपमा मेयर जित्दा उपमेयर हार्ने, मेयर हार्दा उपमेयर जित्ने जस्तो भएको छ । त्यही हिसाबले १० वटा पालिकामा जित्नु भएको हो । अहिलेसम्म त्यही भोट पनि रहिरहन्छ भन्ने पनि छैन ।

अहिले एमाले विभाजित भएको छ । यस्तो अवस्थामा माओवादीले पहिलेको अवस्थामा पनि सुधार गरेको छ । माओवादी अहिले पनि तेस्रो शक्ति हो । माओवादी जहाँ गएर मिसिँदा पनि त्यो गठबन्धनले मात्रै परिणाम दिन सक्छ ।

०७४ सालमा जितेको मात्रै कुरा गर्ने हो भने त माओवादी ०६४ सालमा पहिलो पार्टी बनेको होइन ? जनमत एकै ठाउँमा रहिरहन्छ र ? जनता भनेको कसैको पेवा हुँदैन । आफ्नो अपेक्षा पूरा नभएपछि जनता अर्कोतिर बग्ने पनि हुन सक्छ । अहिले माओवादीकै जनमत राम्रो देख्छु । त्यही पनि हामी अहिले एक्लै किन लड्ने ? रिक्स किन लिने ? प्रतिगमनलाई किन सहज बनाउने ? संविधानलाई संस्थागत गर्ने कुरामा किन रिक्स लिनु भनेर एमालेले गरेको कामको विरुद्धमा गठबन्धन गरेका हौँ । हामी एक्लै लड्दा पनि पहिलेको भन्दा धेरै जित्छौँ नि । गठबन्धन भन्ने विषय हाम्रो आवश्यकता मात्रै होइन, काँग्रेसलाई पनि गठबन्धन चाहिएको छ ।

 

यो त तपाईको कुरा भयो । मोरङमा काँग्रेसले यो कुराको महसुस गरेको छ त ?

काँग्रेस कहाँ मान्छ त ? जतिखेर प्रतिगमन भयो, त्यसबेला काँग्रेस सुतेर बसेको होइन ? पछि आएको हो । पहिले गणतन्त्र ल्याउने कुरामा पनि मौन बसेको होइन ? माओवादीले जबर्जस्ती आन्दोलन नउठाएको भए काँग्रेस गणतन्त्रमा नै आउँदैन थियो । धर्मनिरपेक्षता, समावेशिताको कुरामा पनि काँग्रेस आउने अवस्थै थिएन । अहिले पनि कतिपय कुरामा काँग्रेस अडिग भएजस्तो देखिए पनि अन्तिममा सहमति गर्न आइपुग्छ ।

मोरङमा काँग्रेस त्यस्तो बलियो भएको भए कति वटा निर्वाचन क्षेत्र जितेको हो ? ६ वटा क्षेत्रमा एउटा जितेको होइन ? प्रदेशमा कति वटा जित्यो ? त्यो पनि त हेर्न सकिन्छ नि । त्यसकारण काँग्रेसले अहिले जुन दम्भ देखाउँदैछ, यो ठीक होइन ।

हामी सोध्न खोजेको कुरा, काँग्रेसले १० वटा जितेको तहलाई कुरै नगरौँ, बाँकी एमालेले जितेका ५ वटा भागबण्डा गरौँ भन्यो भने माओवादीले के गर्छ ?

माओवादी भनेको गठबन्धनको दोस्रो शक्ति हो । यो देशमा सबैभन्दा राम्रा ५ वटा स्थानीय तहमध्ये तीनवटा त माओवादीले नेतृत्व गरेकै उत्कृष्ट भएका छन् । यसरी हेर्दा मोरङमा माओवादीको हिस्सा काँग्रेसकै हाराहारीमा हुनुपर्छ । काँग्रेसले हामी १० वटा जितेका छौँ अरू थप पनि लिने भन्न थाल्यो भने स्थानीय चुनावपछि संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा पनि सोही अनुसार हिस्सा लिने हो त ? प्रत्यक्ष सिट त मोरङमा काँग्रेसले भन्दा बढी माओवादीले जितेको छ ।

केन्द्रमा पनि माओवादीले ३६ वटा जित्दा काँग्रेसले जम्मा २३ वटा जितेको छ । त्यही हिसाबले काँग्रेसले हामीलाई दिने हो त ? ३६ लाई र २३ लाई प्लस गरेर १०० प्रतिशत गरौँ अनि सोही अनुपातमा संघीय निर्वाचनमा तालमेल गर्ने हो त ? त्यसरी हुँदैन, काँग्रेसले अनावश्यक दम्भ देखाउनुहुँदैन ।

अनि नेकपा एकीकृत समाजवादी र जसपालाई चाहिँ के दिने त ?

त्यहाँ घट्नु पर्‍यो । केन्द्रीय आँखाले हेर्दा मोरङमा महानगरपालिका एउटा छ । अन्य पालिका १६ वटा छन् । तीमध्ये उहाँहरूले दाबी गरेका आधारमा यथोचित स्थान दिएर बाँकी रहेका पालिका काँग्रेस र माओवादीले लिने । यहाँ माओवादीलाई डिमोरलाइज गर्नुपर्ने र तल राख्नुपर्ने कुनै अवस्था देखिँदैन । मोरङमा स्थानीय तहको निर्वाचनको मात्रै प्रश्न होइन ।

तर, काँग्रेसले मोरङ र सुनसरीमा माओवादीलाई हेपिरहेको छ भन्ने विषयमा तपाईको पार्टीमा छलफल भएको हो ? 

मलाई त काँग्रेसले त्यसरी हेपेको भन्ने लागेको छैन । तर, काँग्रेसमा एउटा दम्भचाहिँ छ । एमाले फुटेको, माओवादी तेस्रो अवस्थामा भएका कारण सोलोडोलो हामी जित्छौँ भन्ने उसले बुझेको होला । यो उसको गलत आङ्कलन हो ।

काँग्रेसले त्यस्तो गरिरहेको छ भने नेकपा एकीकृत समाजवादी, माओवादी र जनता समाजवादी मात्रै मिल्दा हुँदैन ?

हुन्छ । हामीले मिनी गठबन्धन बनाउन पनि सक्छौँ । काँग्रेसले दम्भ देखाइरह्यो भने हामी त्यस दिशातिर जान्छौँ ।

मिनी गठबन्धनले मोरङमा कति जित्छ ?

मोरङमा एक्लै पनि माओवादीले ७ वटा स्थानीय तह जित्ने देख्छु । मिनी गठबन्धन गर्दाचाहिँ क्लीन स्वीप गरिदिन्छौ । दक्षिणी साइडमा जसपा र माओवादी मिल्दा जित्ने आधार छ । पहाडी इलाका र हाइवे लाइनमा पनि हाम्रो राम्रो अवस्था हुन्छ । किनकि एमालेको विभाजनको असर हाइवे लाइनमा राम्रै परेको छ । त्यसकारण हामी घाटामा हुँदैनौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप