मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा चुनावी सरगर्मी : एमाले र गठबन्धन दल यसरी उत्रिँदै छन् मैदानमा

शुक्रबार, २५ चैत २०७८, १८ : ०७
शुक्रबार, २५ चैत २०७८

बिहिबार नेपाली काँग्रेसका काठमाडौंँ जिल्ला सभापति सबुज बानियाँ काठमाडौंका १० वटा निर्वाचन क्षेत्रका सभापति, २० प्रदेशसभा सभापति, काठमाडौंका महानगरसहित ११ नगर सभापति र पार्टीका भ्रातृ संस्थाका काठमाडौं जिल्ला अध्यक्ष सहभागि काठमाडौ जिल्ला कार्यसमितिको बैठकमा छलफलमा व्यस्त थिए ।  

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आन्तरिक तयारीबारे सो बैठक केन्द्रीत थियो । काठमाडौंका स्थानीय तहमा काँग्रेसका उम्मेदवार छनोट, गठबन्धन दलसँग सहकार्य र यही चैत २६ गते राष्ट्रिय सभागृहमा हुने कार्यक्रमको तयारीको बारेमा बैठकमा छलफल गरे । 

चुनावको मिति नजिकिएसँगै बानियाँ जस्तै अन्य दलका नेताहरुको पनि व्यस्तता बढेको छ । बिहिबार नै एमालेका काठमाण्डौं जिल्ला सह-इन्चार्ज कृष्ण राई, नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला अध्यक्ष कुसुम कार्की, माओवादी केन्द्र काठमाडौँका जिल्ला इन्चार्ज उमेश स्थापितपनि पार्टीको कार्यक्रममा व्यस्त थिए । 

हालसम्म गठबन्धन दल बनाउने वा एक्लै चुनाव लड्नेबारे निश्चय गरी नसकेको एमाले र काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले आ–आफ्नो रणनीति अनुसार चुनावी गतिविधिलाई तीब्र पारेका छन् । 

काँग्रेसले आन्तरिक रुपमा उम्मेदवार तयार पार्ने, गठबन्धनपछि आवश्यक ठाउँमा छोड्ने

काठमाडौंमा महानगरका लागि प्रमुख उपप्रमुखबाहेक अन्य पालिकाका उम्मेदवारहरू आन्तरिक तयार पार्ने काँग्रेसको रणनीति रहेको छ । काँग्रेस काठमाडौं सभापति बानियाँले गठबन्धनको रुपमा चुनावमा जाने संभावना भएकोले काठमाडौंँमा स्थानीय तहमा संभावित उम्मेदवार तयार गर्दा बाहिर सार्वजनिक नहुनेगरी आन्तरिक रुपमा गर्ने र पछि आवश्यक परेको स्थानमा उम्मेदवारी छोड्ने गरी अघि बढेको रातोपाटीलाई बताए । 

काठमाडौंमा गठबन्धन दलहरु चुनावमा कसरी जाने भन्ने सन्र्दभमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच छलफल भएको उनले बताए । बानियाँले भने, ‘उम्मेदवार छनोट गर्दा बाहिर सार्वजनिक नगरी आन्तरिक रुपमा गर्नुस्, पछि गठबन्धन हुँदा कुनै स्थानमा छोड्नुप-यो भनेपनि त्यसका लागि तयार हुनुस् भनेका छौँ । पार्टीको माथिल्लो निकायमा गठबन्धन बनाएर जाने भन्ने सहमति भइसकेको छ, पार्टीको कार्यकर्ता भएपछि पार्टीको निर्देशन मान्नु परिहाल्यो । पार्टीको निर्देशन मान्दा पनि आफ्नो अस्तित्व राखेर हामी अगाडि बढ्नुपर्छ भन्ने कुरा भएको छ ।’

उनले पार्टीले गरेको परिपत्र अनुसार जिल्लामा रहेका सबै संगठनहरुलाई सक्रिय गराएर चुनावी कार्यक्रमहरुलाई अघि बढाएको उनले बताए । उम्मेदवार छनोट गर्दा सकेसम्म सर्व सहमति रुपमा छनोट गर्ने तयारीमा लागेको सभापति बानियाँले बताए । वडा तहमा उम्मेदवार छनोटका लागि आन्तरिक तयारी करिब–करिब सकिन लागेको मेयर र उपमेयर छनोटका लागि पार्टी केन्द्रबाट कस्तो निर्णय आउँछ त्यसलाई कुरेर बसेको उनको भनाइ छ । 

माओवादी केन्द्र : वडाध्यक्षका उम्मेदवार चयन सकियो, प्रमुख र उपप्रमुख बाँकी 

माओवादी केन्द्रले काठमाडौंका स्थानीय तहमा वडा अध्यक्ष र वडा सदस्यहरुको उम्मेदवारको टुङ्गो लगाएको छ, यद्यपी सोको विवरण भने सार्वजनिक गरिएको छैन् । साथै गठबन्धन दलसँग कसरी चुनावी तालमेल गरेर जाने भन्ने बारेमा पनि छलफल भइरहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं उपत्यका कमाण्ड सदस्य हिमाल शर्माले रातोपाटीलाई जानकारी दिए । 

शर्माले भने–‘पालिका प्रमुख उपप्रमुख उम्मेदवार छनोट गरिसकेका छैनौँ, वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारहरू आन्तरिक रुपमा छनोट गरिसकेका छौँ । अहिले हामीले संगठनात्मक काममा लागिरहेका छौँ । सबै वडाहरूमा हामीले चुनाव प्रचारका लागि कार्यालयहरु खोलिसकेका छौँ । गठबन्धन दलसँग पनि वार्ता र संवाद सुरु भएको छ । सैद्धान्तिक रुपमा हामी मिलेर जानुपर्छ भन्ने कुरामा हामी एकमत रहेका छौँ । यसले अहिलेसम्म मूर्त रुप लिएको छैन्, हामी छलफलमै छौँ । माओवादी केन्द्रले गरेको तयारीका सन्र्दभमा हामी अरु दलभन्दा एक हिसावले अगाडि बढेका छौँ ।’

उनले भोलि यदी दलहरुबीचमा गठबन्धन नभएको अवस्थालाई परिपूर्ती गर्नेगरी पार्टीको कामलाई अघि बढाएको उल्लेख गरे । चुनावका लागि लक्षित गर्दै माओवादीले वडादेखि केन्द्रसम्म विभिन्न कमाण्डरहरु बनाएको छ । वडा कमाण्ड, नगर कमाण्ड, प्रदेश कमाण्ड बनाउँदै पार्टीको वर्तमान संरचनालाई कायम राखेर कमाण्ड पद्धतिबाट अघि बढेको शर्माले बताए । 

उनले भने–‘पार्टीका नेताहरुले प्रदेश, केन्द्रीय सदस्यहरुलाई पालिका कमाण्ड गर्न पठाएका छौँ । प्रदेश कमिटी सदस्यहरुलाई वडा कमाण्ड गर्न पठाएका छौँ । साथै गठबन्धन बनाउनेबारे जिल्ला तहका नेताहरुबीच एकपटक औपचारिक छलफल भएको छ । सैद्धान्तिक रुपमा काठमाडौंमा गठबन्धन आवश्यक छ भन्ने कुरामा एकमत रहेका छौँ ।’ चुनाव प्रचारका लागि प्रत्येक वडा वडामा कार्यालय समेत सञ्चालनमा ल्याइएको उनले बताए । 

एकीकृत समाजवादीले गठबन्धन बनेपछि मात्रै उम्मेदवार छनोट गर्ने 

माधव कुमार नेपाल नेतृत्वको दल नेकपा एकीकृतले स्थानीय तहमा गठबन्धन दल कसरी अगाडि बढ्ने टुङ्गोमा पुगेपछि मात्रै उम्मेदवार छनोटको कामलाई अघि बढाउने भएको छ । नेकपा समाजवादीका काठमाडौं जिल्ला अध्यक्ष कुसुम कार्कीले गठबन्धन दलबीच कसले कहाँ लिने, कहाँ छोड्ने भन्ने कुरा भइसकेपछि मात्रै आफ्नो दलको तर्फबाट उम्मेदवार तय गर्ने जानकारी दिए । 

रातोपाटीसँगको कुराकानीमा कार्कीले भने–‘हामीले अहिलेसम्म उम्मेदवार तय गरेका छैनौँ । गठबन्धन कसरी बन्छ सोही आधारमा उम्मेदवार छनोटको काम सुरु गर्छौँ । अहिले नै उम्मेदवार छनोट गरेपछि साथीहरुमा अलि अलि आशा, महत्वाकांक्षा बढ्छ । त्यसकारण अहिले हामीले उम्मेदवार तय गरिसकेका छैनौँ । छलफलसम्म चलोस् भनेका छौँ ।’

उनले पार्टी केन्द्रको निर्णय कुरेर बसेको तर चुनावी तयारी भने अगाडि बढाइरहेको बताए । कार्कीले भने, ‘तल्लो तहसम्म पनि गठबन्धन दलसँग सुमधुर सम्बन्ध नबनाउनुस्, छलफल चलाउनुस् भनेका छौँ । पार्टीको केन्द्रबाट के निर्देशन आउँछ त्यसलाई कुरेर बसेका छौँ । साथीहरुको इच्छा के कस्तो छ बुझ्ने काम मात्रै गर्नुस् । गठबन्धन दलबीच सहमति नभईकम उम्मेदवार तय गर्ने, घोषणा गर्ने, मिडियाबाजी नगर्नुस् भनेर पार्टीले भनेको छ । हाम्रो पार्टीले कहिँपनि उम्मेदवार छनोट गर्ने काम गरेको छैन् ।’

उनले गठबन्धन दलबीच एकपटक औपचारिक छलफलमा गरेको र धेरै भन्दा धेरै अनौपचारिक बैठक बस्नुपर्छ भन्ने कुरामा एकमत रहेको बताए । 

आफ्नो अवस्था थाहा पाउन वडा वडाबाट मत सर्वेक्षण गर्दै एमाले 

यता प्रमुख प्रतिपक्षी दल एमालेले भने आफ्नो अवस्था थाहा पाउनका लागि वडा वडामा कार्यकर्ता परिचालन गरेर आफ्नो अवस्था थाहा पाउन मत सर्वेक्षण गरिरहेको छ । चैत २८ गतेसम्म त्यसको नतिजा आउने र सोही अनुसार दलले उम्मेदवार छनोट गर्ने एमालेको रणनीति रहेको छ । 

एमाले काठमाडौंका सह इन्चार्ज कृष्ण राईले रातोपाटीसँग कुरा गर्दै भने, ‘अहिलेसम्म पार्टीको नीति भनेको एक्लै चुनाव लड्ने भन्ने नै हो । गठबन्धन हुने कि नहुने भन्ने सन्र्दभमा संसदीय राजनीतिमा जोसँग पनि गठबन्धन हुन सक्ने अवस्था पनि हुन्छ ।’

आफू कमजोर रहेको स्थानमा जुनसुकै दलसँग पनि आवश्यकता अनुसार गठबन्धन हुन सक्ने उनले बताए । उनले भने, ‘काठमाडौंमा हामीले वडाको परिस्थिति कस्तो छ ? त्यसको आंकलन के छ हामीलाई दिनुस् भनेका छौँ । २८ गतेदेखि सबै वडामा उम्मेदवार छनोटका लागि बैठक सुरु हुन्छ । हामी एक्लै लड्दा पनि सजिलै जित्ने ठाउँमा सर्वसम्मत उम्मेदवार छनोट गछौँ । गठबन्धन दलले असर गर्छ भन्ने ठाउँको समस्या माथिल्लो तहमा आउँछ । अन्यथा उम्मेदवार छनोटको काम तल्लो तहमा नै टुङ्ग्याउने तय भएको छ ।’

एमालेले यतिबेला टोलस्तरबाटै प्रारम्भिक मत सर्वेक्षणको काम गरिरहेको छ । तल्लो कमिटीका कार्यकर्ताहरूलाई मत सर्वेक्षणको जिम्मा दिइएको छ । अहिले आवश्यकता अनुसार एउटा पालिकामा पन्ध्र बिसवटासम्म टोल कमिटी गठन गरेर आन्तरिक रुपमा मत सर्वेक्षणको काममा लागेको राईले बताए । 

उनले भने–‘चैत २८ गतेसम्म त्यसको विवरण आइसक्छ र कहाँ हाम्रो अवस्था कस्तो रहेको छ थाहा हुन्छ । त्यसपछि कहाँ एक्लै चुनाव लड्ने, कहाँ गठबन्धन गर्न आवश्यक पर्न सक्छ, कोसँग गठबन्धन हुन सक्छ त्यसपछि मात्रै निर्णय हुन्छ ।’

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि काठमाडौंमा गठबन्धन बनाएर जाने वा एक्लै चुनाव लड्ने भन्नेबारेमा निर्णय गरिसकेको छैन । उम्मेदवार छनोट गर्ने काम अझै सुरु नभएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई बताए । यद्यपी राप्रपाले काठमाडौंको शंखरापुर नगरपालिकामा भने नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षका उम्मेदवारहरूको नाम टुङ्गो लगाएर चुनावी प्रचारको काम समेत सुरु गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप