शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दोहोरी साँझका सबै खराब छैनन् : अस्मिता डल्लाकोटी

शनिबार, २६ चैत २०७८, २३ : ०४
शनिबार, २६ चैत २०७८

अस्मिता डल्लाकोटीको यतिबेला चारैतिर चर्चा छ । ‘छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ को विजेता घोषणा भएसँगै उनको चर्चा अझ चुलिएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा उनले ‘नगरकोट दोहोरी साँझ’ को प्रतिनिधित्व गरेकी थिइन् । देशभरका ४५ बढी जिल्लाबाट ६१ टोली सहभागी प्रतियोगितामा उनको टिम विजय हुन सफल भयो ।

विजय भएपछि लोक दोहोरी तर्फको यो वर्षको राष्ट्रिय रनिङ शिल्डसँगै २ लाख ५० हजार रुपैयाँ, पदक र प्रमाणपत्र उनले टिमले प्राप्त गर्‍यो । अन्तिम स्पर्धामा गामबेसी दोहोरी साँझलाई पछि पर्दै उनको टिम विजेता घोषित भएको थियो । प्रतिस्पर्धामा आफ्नो टिमले आत्मविश्वास र सशक्त प्रस्तुति राखेको कारण उत्कृष्ट हुन सफल भएको उनी बताउँछिन् ।

‘विजेता चुनिँदा एकदमै खुसी छु । पुरस्कार जित्ने नै लक्ष्यले प्रतियोगितामा भिडेको थिएँ । त्यो पुरा भयो,’ अस्मिताले भनिन् . अस्मिता विगत ५ वर्षदेखि यो प्रतियोगितामा नियमित भागी लिँदै आएकी थिइन् । ‘विगतको तुलनामा यो वर्ष विजेता हुने आस बढी नै थियो, सफलता पनि हात पर्‍यो,’ उनले खुसी शेयर गरिन् ।

प्रतियोगिता अस्मिता एक्लैले जितेकी भने होइन । यसमा उनलाई जीवन सिग्देलको साथ थियो । ‘यस अगाडि सिङ्गल भिड्दै आएकी थिएँ । यो पटक जीवन जीसँग सहकार्यले पनि जित्न सहज भयो,’ उनले सुनाइन् ।

खारिने अवसर

अस्मिता र जीवन जस्ता एकसेएक गायक गायिका प्रतियोगितामा सहभागी थिए । गायन राम्रो मात्र हैन गीतले निर्णायक, दर्शक सबै रिझाउन सफल भएकोले जित हासिल भएको अस्मिता बताउँछिन् । उपाधि त छदैछ, प्रतियोगिताबाट धेरै कुरा सिक्ने र जान्ने अवसरको अलावा उनको कन्फिडेन्स समेत बढेको बताउँछिन् । यसको साथै पहिलेभन्दा बढी जिम्मेवारी थपिएको उनले महसुससमेत गरेकी छन् । ‘अगाडि बढ्न हौसला त मिल्ने नै भयो नि’ उनी भन्छिन्, ‘यसको खुसी शब्दमा भन्न सक्दिन ।’

दोहोरी गीतबाट जित हासिल भएको यो पहिलो भने होइन । विभिन्न मेला–महोत्सवमा आयोजना हुने प्रतियोगिता पनि उनले जित्दै आएकी छिन् । प्रतियोगिता मार्फत आफ्नो पहिचान हुने र देश विदेशमा समेत सजिलै चिनिने उनको बुझाइछ ।

सबै नराम्रा हुँदैनन्

दोहोरी साँझमार्फत् विगत ६ वर्षदेखि लोकदोहोरी अगाडि बढाउँदै आएकी उनी पछिल्लो समय ‘नगरकोट दोहोरी साँझ’ मा आबद्ध छिन् । उनको परिवारमा दोहोरी गाउने उनी एक्लो सदस्य हुन् । सानैदेखि गाउँघरमा आयोजना हुने विभिन्न मेला महोत्सव, रत्यौली लगायतमा गायिकाको रूपमा आफूलाई प्रस्तुत गर्दै आएकी उनलाई घरदेखि दोहोरी साँझसम्म डोर्‍याउने काम आफ्नो फुपूले गरेको बताउँछिन् ।

जन्मथलो धादिङ जोगिमारा भएपनि कर्मथालो काठमाडौँ बनाउँदै आएकी उनी अहिले कपुरधारा बस्दै आएकी छन् । रातको १२ बजेसम्म दोहोरी साँझमा काम गर्नु परे पनि उनले लोक दोहोरी र अध्ययन एकसाथ अगाडि बढाइरहेकी छन् ।

दोहोरी साँझमा काम महिलालाई समाजको हेर्न दृष्टिकोण सकारात्मक छैन । यो उनले पनि महसुस गरेको बताउँछिन् । ‘केही व्यक्तिले दोहोरी साँझमा काम गर्ने प्रति नजरमा फरक परेको छ । हरेक क्षेत्रमा राम्रा नराम्रा मानिस हुन्छन् । दोहोरी साँझमा पनि राम्रा कलाकार छन्,’ उनले भनिन् ।

दोहोरी साँझमा काम गर्ने गायक गायिकाले सबै प्रकारको गीत गाउनुपर्ने हुन्छ । किनभने त्यहाँ उपस्थित दर्शकले गीत फर्माइस गर्दछन् । आफू भने बढी पूर्वेली र काँठे भाका गाउने उनी सुनाउँछिन् । ‘काँठे र पुर्वेर्ली गाउन सजिलो छ । धेरैको रुचि पनि हुन्छ’ उनले कारण खोलिन् ।

प्रेमकथा ठिक 

लोक दोहोरीको आकर्षण सबैमाझ बढ्दो छ । स्कुले केटाकेटीदेखि बृद्धबृद्धासम्मले दोहोरी गाएको र त्यसमा रमाएको देख्न पाइन्छ । अचेल भोजभतेर, विवाह, मेला महोत्सव सबैतिर लोक दोहोरी प्राथमिकतामा पर्छ । लोक दोहोरी अचेल रमाइलोका लागि धेरै प्रयोग हुन थालेको यही क्षेत्रका गायक गायिका बताउँदै आएका छन् । अस्मिताको बुझाइ पनि यही हो । उनी यसमा प्रयोग गर्ने चलन भित्रिएको बताउँछिन् ।

‘पहिले लोक दोहोरीमा प्रेमकथा विषय बन्थ्यो । त्यो धेरै चल्थ्यो । अचेल त यसमा दाजुभाइ, दिदीबहिनी लगायत अनेक घटना समेत समेटिन थालेका छन्’ अस्मिता भन्छिन्, ‘पछिल्लो समय लोक दोहोरीमा अनेक प्रयोग हुन थालेको छ ।’

हुन त पछिल्लो समय लोकदोहोरी फोहोरी भएको आरोप सहित आलोचित हुँदै आएको छ । उनले पनि लोकदोहोरी फोहोरी भएको महसुस गरेकी छन् । आफू र आफूजस्तै कलाकारबाट मात्र दोहोरीको विकृति  नियन्त्रण हुने उनी बताउँछिन् । उनले थपिन् ‘हामी सबै कलाकारले अब सचेत भएर दोहोरी गाउन थाल्यौँ भने  शुद्धीकरण आफै हुन्छ ।’

पुराना पिडामा

पुराना लोक गायक गायिका अहिले धेरै हराएका छन् । केही पलायन भएका छन्, भने कतिपय आर्थिक पिडामा छन् । उनी आफैले पनि यो क्षेत्रमा भविष्य देखेकी छैनन् । ‘म यसैमा भविष्य छ भनेर लागेको होइन,’ उनले भनिन्, ‘कहिलेसम्म हुन्छ राम्रो गरौँ । भविष्यमा बनाउन सकिन्छ भने बनाऔँ भन्ने छ ।’

उनले यो क्षेत्रमा रोज्नुको कारण नाम र दाम पनि हो । ‘कहिले, कसरी, कुन गीत श्रोता दर्शकले रुचाउँछन् भन्न सकिन्न’ उनले अगाडि भनिन् ‘श्रोता दर्शकले गीत रुचाएको दिन नाम, दाम र अवसरको ढोका एकसाथ सबै खुल्छ ।’ आफ्नै युट्युब च्यानल खोलेर पनि बाच्न सकिने अवस्था अहिले भएकोमा पनि उनी जानकार छिन् ।

एल्बमले काम दिलाउँछ 

दोहोरी साँझ, मेला महोत्सवको अलावा उनी एल्बम मार्फत दर्शक श्रोतासँग जोडिँदै आएकी छन् । करिब ५ वर्ष अगाडि पहिलो एल्बम ‘जुनी जुनी’ ल्याएकी उनका ‘अरेली’, ‘कसम तिमी हौ’, ‘चौतारीमा बरको छायाँ’ लगायत दर्जन बढी एल्बम बजारमा आएका छन् । उनी छिट्टै ‘मुस्किल छ भन्ने’ नयाँ एल्बम ल्याउने तयारीमा छिन् । जसमा उनले चिज गुरुङसँग गायन सहकार्य गरेकी छन् । 

अचेल गीतका एल्बम बिक्री त हुँदैन । एल्बमको लगानी बालुवाको पानी जस्तै हो । तर पनि उनले लगातार गीत संगीतमा लगानी गरिरहेकी छन् । ‘कुन बेला कुन गीतले हिट गराउँछ । भाग्य खोल्छ भन्न सकिन्न । झन् भाइरल भइयो भने त के चाहियो र,’  उनले एल्बमको निरन्तरताको विषयमा भनिन्, ‘गायन निरन्तरताका लागि पनि नयाँ गीत बनाउनुपर्छ । नयाँ गीत भयो भने मेला महोत्सव, देश विदेशका कार्यक्रममा अवसर मिल्छ ।’ विभिन्न कार्यक्रमको अवसरले बाच्न र चल्न सजिलो हुने उनी सुनाउँछिन् । भनिन् ‘एल्बमको ठुलो उपलब्धि यो बाहेक केही छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप