शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरमा धमाधम उम्मेदवार सिफारिस गर्दै एमाले

शनिबार, २६ चैत २०७८, १७ : ४८
शनिबार, २६ चैत २०७८

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले मकवानपुरले धमाधम उम्मेदवारहरू टुङ्ग्याउन सुरु गरेको छ । एमाले मकवानपुरले आगामी निर्वाचनको लागि गाउँ र वडा स्तरमा कार्यकर्ता भेला गरेर आगामी निर्वाचनको लागि उम्मेदवारहरू छनौट प्रक्रिया सुरु गरेको हो । एमालेले स्थानीय तहको निर्वाचनको लागि जिल्लाका १० स्थानीय तहको १ सय २ वडाका वडाअध्यक्षसहित सदस्य पदका उम्मेदवार टुङ्ग्याएको हो ।

वडा र पालिका कमिटीले उम्मेदवारहरू टुङ्ग्याउँदै जिल्ला कमिटीमा सिफारिससमेत गरिसकेको छ । एमालेले १० स्थानीय तहमध्ये ३ वटा स्थानीय तहको पालिका प्रमुख र उपप्रमुख सहित वडाध्यक्ष तथा सदस्यको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

एमालेले मकवानपुरको थाहा नगरपालिका, बागमती गाउँपालिका र राक्सिराङ गाउँपालिकाका लागि आगामी निर्वाचनका लागि पालिका प्रमुख र उपप्रमुख सहित वडाध्यक्ष तथा सदस्य पदका उम्मेदवार टुङ्ग्याएर सिफारिस गरेको नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अन्य ७ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवारहरू चैत्र २७ गतेसम्ममा उम्मेदवारका विषय टुङ्ग्याएर जिल्ला कमिटीमा सिफारिस गरिने छ ।

थाहा नगरपालिकाको प्रमुखमा दुई जना सिफारिस
आगामी निर्वाचनको लागि थाहा नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट २ जनाको नाम सिफारिस गरिएको छ । स्थानीय निर्वाचनका लागि नेकपा एमाले थाहा नगरपालिका कमिटीले पालिका प्रमुख पदमा बिष्णु प्रसाद ढकाल र शशीधर सुवेदीलाई सिफारिस गरेको छ ।

त्यस्तै पालिका उपप्रमुख पदमा पनि एमाले थाहा नगरपालिका कमिटीले २ जनाको नाम सिफारिस गरेको छ । उपप्रमुखमा कल्पना बलामी र चमेली वाइवालाई सिफारिस गरेको हो । एक जनामात्र उम्मेदवार सिफारिस गर्ने योजना अनुसार नगर कमिटीमा लामो समय छलफल गरि प्रत्यासी उम्मेदवारहरूबीच सहमती जुट्न नसकेपछि दुई जनाको नाम नै जिल्ला कमिटीमा पठाइएको थियो ।

२०७४ को निर्वाचनमा थाहा नगरपालिकामा एमाले विरुद्ध काँग्रेस माओवादी केन्द्रको गठबन्धन कायम भएको थियो । सो निर्वाचनमा गठबन्धनका उम्मेदवार सफल भएका थिए । गठबन्धनका तर्फबाट पालिका प्रमुखमा माओवादी केन्द्रका लवशेर विष्टले चुनाव जितेका थिए । विष्टले ९ हजार ९१ मतसहित निर्वाचन जित्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णुप्रसाद ढकालले ६ हजार ५४९ मत पाएका थिए ।

यता पालिका उपप्रमुखमा गठबन्धनका उम्मेदवार काँग्रेसका खड्ग गोपालीले चुनाव जितेका थिए । उनले एमालेकी कल्पना बलामीलाई पराजित गरेका थिए । गोपालीले ७ हजार ३०७ मत पाउँदा बलामीले ६ हजार ७४५ मत पाएकी थिइन् ।

एमाले थाहा नगरपालिका कमिटीले पालिकाका सबै वडाका वडाध्यक्ष र सदस्य पदका उम्मेदवार पनि टुङ्ग्याएको छ । पालिकाका १२ वटा वडाका वडाध्यक्ष र सदस्य पदका उम्मेदवार टुङ्ग्याएर जिल्लामा सिफारिस गरेको हो ।  

भीमफेदीमा अध्यक्षमा लामा र उपाध्यक्षमा रानालाई नै दोहोर्याउने

आगामी स्थानीय निर्वाचनको लागि एमालेले भीमफेदी गाउँपालिको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा हालका अध्यक्ष र उपाध्यक्षलाई दोहोर्याएर उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले भीमफेदी गाउँपालिका कमिटीले आगामी निर्वाचनका लागि पालिका अध्यक्ष र उपाध्यक्षमा क्रमशः वर्तमान अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई नै उठाउने निर्णयअनुसार उनीहरुको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

२०७४ को स्थानीय निर्वाचनमा भीमफेदी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदमा काँग्रेस र माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्दै दुबैमा एमालेका उम्मेदवार लामा र राना विजयी भएका थिए ।

२०७४ मा भएको स्थानीय निर्वाचनमा एमालेबाट उठेका लामाले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका रन्जित कुमार रानालाई १४४ मतान्तरले पराजित गरेका थिए ।

अध्यक्ष पदमा लामाले ३ हजार ८४२ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार रानाले ३ हजार ६९८ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्ष पदमा रानाले गठबन्धनको उम्मेदवार काँग्रेसका मोमलाल दोङलाई ३ सय ६७ मतान्तरले पराजित गरेकी थिइन् । एमालेबाट उठेकी रानाले ३ हजार ८०२ मत पाउँदा कांग्रेसका दोङले ३ हजार ४३५ मत प्राप्त गरेका थिए ।

एमाले भीमफेदी गाउँपालिका कमिटीले पालिकाका ९ वटै वडाका वडाध्यक्ष र सदस्य पदका उम्मेदवारहरू पनि टुङ्ग्याएर जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

बागमतीको अध्यक्षका लागि ४ जना सिफारिस
आगामी स्थानीय तहको निर्वाचनको लागि एमालेले मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्ष पदका लागि ४ जनाको नाम सिफारिस गरेको छ । एमाले बागमती गाउँपालिका कमिटीले अध्यक्षमा खेमराज जर्गा मगर, छिरिङदोर्जे लामा, नर बहादुर लामा र राजकुमार तिमल्सिनाको नाम सिफारिस गरेको हो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष पदका लागि भने ५ जनाको नमा सिफारिस गरेको छ । पालिका उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष धनमाया स्याङतान, गोपीकुमारी फुयाल, राधिका तिमल्सिना, शर्मिला वि.क. र सविना योञ्जनको नाम सिफारिस गरेको हो ।

सो गाउँपालिकामा २०७४ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार सर्केश घलानले जितेका थिए । घलानले एमालेका राजकुमार तिमल्सिनालाई पराजित गरेका थिए । घलानले ३ हजार २२१ मत पाएर चुनाव जितेका थिए भने तिमल्सिनाले ३ हजार ८६ मत पाएका थिए ।

राक्सिराङको अध्यक्षमा स्याङतान र उपाध्यक्षमा प्रजा

आगामी निर्वाचनमा एमालेले मकवानपुरको राक्सिराङ गाउँपालिकामा अध्यक्षमा बाबुलाल स्याङतान र उपाध्यक्ष पदमा सुन्तलीमाया प्रजाको नाम सिफारिस गरेको छ । एमाले राक्सिराङ गाउँपालिका कमिटीले आगामी निर्वाचनमा अध्यक्षमा स्याङ्तान र उपाध्यक्षमा प्रजालाई टिकट प्रदान गर्न सर्वसम्मत रुपमा नमा जिल्ला कमिटिमा सिफारिस गरेको हो ।

राक्सिराङ्ग गाउँपालिकामा यस अघि भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार पराजित भएका थिए भने दुवै पदमा काँग्रेसका उम्मेदवारले जित हात पारेका थिए । २०७४ को निर्वाचनमा सो पालिकाको अध्यक्ष पदमा काँग्रेसका उम्मेदवार राजकुमार मल्लले ३ हजार ५३९ मतसहित चुनाव जितेका थिए ।

उनले एमालेका लाल बहादुर थापा मगरलाई २ हजार ९४४ मतसहित पराजित गरेका थिए । पालिका उपाध्यक्षमा पनि काँग्रेसकी निर्मला हिम्डुङले जित्दा एमालेकी सुन्तलीमाया प्रजा पराजित भइन् । हिम्डुङले ३ हजार ५३५ मत पाउँदा एमालेकी प्रजाले २ हजार ९५० मत पाइन् ।

एमाले राक्सिराङ गाउँपालिका कमिटीले पालिकाका सबै वडाका वडाध्यक्ष र सदस्यका उम्मेदवारहरू टुङ्ग्याएर जिल्लामा सिफारिस गरेको छ ।

यी हुन् एमालेबाट हेटौंडाका वडाध्यक्ष उम्मेदवार

आगामी स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीले १९ वटा वडामध्ये १८ वटाको लागि वडाअध्यक्षसहित सदस्यहरुको नाम टुङ्ग्याएर जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

उपमहानगरपालिकाको वडा नम्बर १० बाहेक सबै वडाका लागि वडाध्यक्ष र सदस्य पदका उम्मेदवारको नाम सिफारिस गरेको हो । हेटौंडा १० मा भने आकांक्षीहरु बढी देखिएकाले थप समय लाग्ने भएको एमाले मकवानपुरले जनाएको छ । उक्त वडामा पनि छलफल जारी रहेकोले छिट्टै नै उम्मेदवारको नाम सिफारिस गरिने जनाइएको छ ।

यी हुन् एमालेका हेटौंडा उपमहानगरपालिकाको वडाध्यक्ष पदको लागि सिफारिस गरेको उम्मेदवारहरू 

१ उत्तम प्रसाद पौडेल

२ हरिबहादुर राउत

३ रामकुमार पुडासैनी/परेशमान विडारी/कल्पना लामा

४ नवीन सिग्देल

५ सुशील घिमिरे

६ विश्वराज राई

७ राजन थापा

८ बोलबहादुर कार्की/यशोदा उप्रेती/रमेशकुमार पौडेल

९ नरेन्द्र भण्डारी/लक्ष्मणप्रसाद भण्डारी÷गोमा शाह

१० सिफारिस हुन नसकेको ।

११ जुना दाहाल/रामचन्द्र न्यौपाने/दीपक शिवाकोटी

१२ राजेश नगरकोटी

१३ पेम्बा लामा

१४ दीपक खड्का

१५ सुनिल मोक्तान

१६ वसन्तप्रसाद लामिछाने

१७ भैरवबहादुर राई/लक्ष्मण खुलाल

१८ अनिल बानियाँ

१९ नरनाथ सुवेदी/इन्दिरा तामाङ/रत्नबहादुर ब्लोन

अन्य ७ वटा पालिकाका प्रमुख र उपप्रमुखहरूका उम्मेदवारहरू पनि छिट्टै नै टुङ्ग्याएर सिफारिस गरिने अध्यक्ष श्रेष्ठले बताए । ‘जिल्लाका सबै पालिका वडाध्यक्ष र सदस्य पदका उम्मेदवारहरूको सिफारिस भइसकेको छ । पालिकामा पनि उम्मेदवार छान्ने काम जारी छ । छिट्टै नै पालिका बाँकी पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंग्याउछौँ ।’ उनले भने ।

आगामी जिल्ला कमिटी बैठकबाट सबै पालिकाको उम्मेदवार टुङ्ग्याउने उनले बताए । एक जनाभन्दा बढी सिफारिस भएको हकमा जिल्ला कमिटीले निर्णय गर्ने उनको भनाई छ । एमाले मकवानपुरले चैत मसान्त भित्रै सिफारिस भएका उम्मेदवारको छनौट गरी निर्वाचनका लागि अन्तिम टुङ्गो लगाएर वैशाख १ बाट घरदैलो अभियान सञ्चालन गर्ने तयारी रहेको अध्यक्ष श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप