शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धरानको मेयरमा हानथाप : एमालेबाट एक पदमा ११ जना सिफारिस

आइतबार, २७ चैत २०७८, १५ : १९
आइतबार, २७ चैत २०७८

०७४ सालको निर्वाचनमा जितेर उपनिर्वाचनमा पराजित भएको नेकपा एमालेले सुनसरी धरानको प्रमुख पदका लागि ११ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेहरुमध्ये पहिलो नम्बरमा हालका उपमेयर मञ्जु भण्डारीको नाम उल्लेख छ ।

धरानमा एमाले अध्यक्ष हर्कजंग एभेङका अनुसार १ जना केन्द्रीय सदस्य, ७ जना प्रदेश समिति सदस्य, ३ जना जिल्ला सदस्य तथा १ जना पूर्व जिल्ला समिति सदस्यको नाम सिफारिस गरेको हो । जसमा भण्डारी, पूर्व मेयर मनोजकुमार मेन्याङ्बो, प्रदेश सदस्यहरु विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोर कुमार कार्की, जिल्ला सदस्यहरू मिन सुब्बा, नारायण सुवेदी, राजमणी निरौला र पूर्व जिल्ला समिति सदस्य तिर्थ मास्के रहेका छन् । 

एमाले धरान नगरसमितिले उपमेयरका लागि पनि ६ जनाको नाम सिफारिस गरेको छ । जसमा प्रदेश समिति सदस्य शुसिला पहाडी, लहरु जिमी, जिल्ला सदस्यहरू पदम इस्वो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राई रहेका छन् । 

धरान उपमहानगरपालिका पूर्वको महत्वपूर्ण र ठूलो पालिकामध्ये एक हो । धरान उपमहानगरपालिकामा ०७४ सालको निर्वाचनमा नेकपा (एमालेबाट प्रमुखका उम्मेद्वार तारा सुब्बा र उपप्रमुखमा मन्जु भण्डारी विजयी भएका थिए । प्रमुखमा जितेका सुब्बाले त्यसबेला २० हजार ९ सय ७५ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी बनेका नेपाली काँग्रेसका तिलक राईले १६ हजार १ सय २ र तेस्रो स्थानमा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ११ हजार १ सय ८० मत ल्याएका थिए । 

प्रमुख सुब्बाको निधन भएपछि खाली भएको उपनिर्वाचनमा भने काँग्रेसका तिलक राईले परिणाम उल्ट्याउँदै एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई झण्डै ३ हजार मतले पराजित गर्न सफल बने । त्यसबेलाको उपनिर्वाचनमा तिलक राईले २६ हजार ७ सय ९ मत ल्याउँदा तत्कालिन नेकपाका उम्मेदवार प्रकाश राईले २३ हजार ९ सय १४ मत पाएका थिए । वडागत परिणामलाई हेर्दा पनि धरानको २० वटा वडामध्ये एमाले एक्लैले १४ वटा जितेको थियो । काँग्रेसले ५ वटा र माओवादी केन्द्रले १ वडा जित्न सफल भएको थियो । 

एमाले स्रोतका अनुसार सिफारिस नाममध्ये प्रमुखमा भण्डारीले टिकट पाउने सम्भावना बढी छ भने उपमेयरमा पदम इस्व लिम्बूले पाउने सम्भावना छ । लिम्बू १० बुँदे पक्षधर हुन् । सो समूहलाई समेट्नकै लागि अन्य सबै उपमेयरमा महिलाको नाम सिफारिस गर्दा लिम्बू भने पुरुष रहेका छन् । ‘प्रमुखमा भण्डारी एक जनामात्रै महिला सिफारिस भएको कारण अन्तिममा भण्डारी र लिम्बूले टिकट पाउने पक्का जस्तै छ,’ एमाले स्रोतले भन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप