अन्तरवार्ता

माफी नमागेसम्म एमालेसँग तालमेल हुँदैन : वर्षमान पुन

‘माओवादी एक्लैले २ सय स्थानमा जित्छ, तालमेल गर्दा त्यो संख्या अझ बढ्छ’

person explore access_timeचैत २७, २०७८ chat_bubble_outline0

 नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले माओवादी एक्लै चुनाव लड्दा पनि अहिले २ सयभन्दा बढी स्थानीय तहमा जित्ने हैसियतमा रहेको बताएका छन् । अहिले सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा त्यो संख्या अझ बढ्ने उनको भनाइ छ । ‘२ सय स्थानमा एक्लै नै जित्ने अवस्था छ । त्यो बाहेक गठबन्धनमा ७५३ पालिकाबाट विगतको भन्दा राम्रो गर्छौं’, नेता पुनको भनाइ छ ।


स्थानीय तह निर्वाचनको तयारी, गठबन्धनमा हुने तालमेलको मोडालिटी, एमालेसँगको छलफललगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले नेता पुनसँग विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, रातोपाटीका  फणीन्द्र नेपालवीरेन्द्र ओलीले  नेता पुनसँग गरेको कुराकानीको सम्पादित अंश :



स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनभित्र तालमेलका लागि कुन कुन मोडलमा छलफल भइरहेका छन् ?



सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्व तहले पाँच दल मिलेर जाने निर्णय गरेको छ । त्यो कुरा सबैले स्वीकार गर्ने विषय बनेको छ । मिल्दा हामी नै मिल्ने, गठबन्धनभन्दा बाहिरका दलसँग नमिल्ने भन्ने छ । रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रमा संयन्त्र बनेको छ । त्यसमा हरेक पार्टीबाट दुई जना सहभागी हुनुभएको छ । त्यसले प्रदेश र जिल्ला संयन्त्रसँग समन्वय गरिरहेको छ ।

देशभर ७५३ स्थानीय तह छन् । पाँच दललाई भागवण्डा मिलाउन निकै सकस होला, कसरी समझदारी बनाउनु हुन्छ ?

मुख्य रुपमा हामी ‘गाइड लाइन’ बनाउँछौं । यो यो आधारमा मिल्ने वा नमिल्ने बनाउँछौं । दोस्रो, महानगर र उपमहानगरका विषय केन्द्रमा छलफल गरेर सिफारिस गर्ने हुन सक्छ । अरु नगर र गाउँपालिकाहरु प्रदेश र जिल्लातहमा सकेसम्म टुङ्गो लगाउनु पर्छ भन्ने छ । किनकि धेरै अवस्था त्यहाँ नै थाहा हुन्छ । जित्ने/नजित्ने, कुन पार्टीको संगठनको आधार के छ भन्ने त्यहाँका साथीहरुलाई थाहा हुन्छ । उहाँहरुले आपसमा मिलाउनु भयो भने कामकाजी हुन्छ भन्ने छ ।

काँग्रेसभित्रको शेखर कोइराला पक्षले सत्ता गठबन्धन गर्नुहुँदैन भनेर प्रेसर बढाइ राखेको छ । यस्तो तिक्ततापूर्ण अवस्थामा सत्ता गठबन्धनले चुनाव जित्ने स्थिति कसरी बन्छ ?

त्यो काँग्रेसको आन्तरिक विषय हो । एउटा संस्थापन पक्ष र शेखर कोइराला पक्ष बिचमा केही न केही मतभेद देखिएकै छन् । त्यो उहाँहरुको विषय भयो । मैले शेखरपक्षको कुरा नजिकबाट बुझ्दा कहीँ न कहीँ तालमेल गर्दा उहाँका पक्षका मान्छेहरुलाई टिकटमा माइनस गरिन्छ कि ? पार्टीका अरु अवसरमा बञ्चित गरिन्छ कि ? भन्ने परेको थियो । उहाँहरुले जाहाँ चान्स पाउनुहुन्छ, गठबन्धनका अरु दललाई टिकट दिने अवस्था हुन्छ कि भनेर आशंका जस्तो पाइन्थ्यो । त्यस्तो खालको डरको मनोविज्ञान देखिन्छ । त्यस्तो अवस्थामा अन्तरसंघर्ष गरेर आफ्नो पोजिसन सेक्योर गर्न खोजेको हो कि भन्ने लाग्छ । हामी पाँच दलबीच गठबन्धन मिल्यो भने पार्टीभित्रका यस्ता कुरा मिलाउने अवस्था हुन्छ ।

यदि चुनावी तालमेल भयो भने माओवादी कति सिट दाबी गर्छ ? माओवादी एक्लै लड्यो भने कति सिट ल्याउँछ ?

हामीले यसअघि निर्वाचनमा ११६ स्थानीय तह जितेका थियौं । यस्तै ७४ भन्दा बढी पालिकामा दोस्रो भएका थियौं । पछिल्लो समय पार्टीको संगठन बलियो र सुदृढ बनाएका छौं । यी सबै हेर्दा २ सय स्थानमा एक्लै जित्ने अवस्था छ । त्यो बाहेक गठबन्धनमा ७५३ पालिकाबाट विगतको भन्दा राम्रो गर्छौं ।

भरतपुर महानगरपालिकालाई माओवादी र काँग्रेस दुवैले प्रतिष्ठाको विषय बनाएका छन् । कसरी निकास निस्केला ?

काँग्रेसका साथीहरु खाली ‘भरतपुर’ भनिराख्नु भएको छ । त्यसलाई हामीले अन्यथा लिएका पनि छैनौं । त्यतिबेला दुई पार्टीको गठबन्धन थियो । उहाँहरुले १० औं हजार मत दिनुभयो । हामीले उपमेयरमा उहाँलाई मत दियौैं । विगतमा मतभेद हुँदाहुँदै पनि तालमेल भएको हो ।

यसरी सरसर्ती हेर्दा ६ महानगरमध्ये एकमा हामीले जितेका छौं । एकमा जसपा, दुईमा काँग्रेस र दुईमा एमालेले जितेको छ । एमालेले जितेको पोखरा र काठमाडौंमध्ये एकमा एकीकृत समाजवादीले दाबी गरेको छ । यसलाई समग्रमा गठबन्धनमा भएका चार पार्टीहरुका बीचमा छलफल गरेर एउटा समझदारी बनाएर जान्छौं ।

माओवादी केन्द्र र एकीकृत समाजवादी अहिलेको चुनावमा मुख्य रुपमा काँग्रेसको टेको लागेको देखिन्छ, तपाईहरु नै काँगे्रेससँग तालमेल गरेर एमालेलाई पराजित गर्ने कुरा गर्नुहुन्छ । चुनावमा यति धेरै डर रहेछ अनि किन नेकपा फुटाएर छुट्टै पार्टी बनाउनु परेको हो ?

अहिले हामी संविधानको रक्षाका लागि, लोकतन्त्र रक्षाका लागि, जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि एक ठाउँमा उभिएका छौं । हामीले राजनीतिक स्थायित्वका लागि गठबन्धन बनाएका हौं । यी एजेण्डा मिल्नेहरुबीच गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा सँगै जाउँ भन्ने कुरा छ । भोलि केन्द्र र प्रदेशमा यो एजेण्डा बाँकी रहन्छ । त्यसका लागि एक ठाउँमा बसौं भन्ने छ । एक्ला एक्लै चुनावै लड्न नसक्ने र चुनावमा जित्नै नसक्ने भएर होइन । त्यसैले यो न एमालेका विरुद्ध बनाएको गठबन्धन हो, न जित्न नसकेर बनाइएको हो ।

यो गठबन्धन निश्चित एजेण्डामा आधारित छ । त्यो रुपमा लिँदा उपयुक्त हुन्छ । काँग्रेसका साथीहरुले सुरुसुरुका दिनमा बुझ्नु हुन्थ्यो, अहिले त्यसरी बुझ्नु भएको छैन । उहाँहरु आफैले तलबाट बुझ्दै गर्दा तालमेलको आवश्यकता महशुस गर्नु भएको छ । अहिले राम्रो वातावरण बनेको छ ।

यदि काँग्रेसले चित्त बुझ्दो अंशियारी नदिए एमालेसँग मिलेर जान सकिने आशयका अभिव्यक्ति पनि तपाईहरुले दिइरहनु भएको छ । के त्यो परिस्थिति पनि बन्दै गएको हो ?

त्यस्तो होइन । काँग्रेसको मुल नेतृत्व विगतमा पनि तालमेलका पक्षमा थियो । शेखर कोइराला पक्षको टोली तालमेलको विपक्षमा हुनुहुन्थ्यो । अहिले विस्तारै विस्तारै उहाँहरु पक्षमा आएको देखिन्छ । उहाँहरु मिलेर जानुपर्छ भन्नेमा आउनु भएको छ । त्यसो भएको हुनाले गठबन्धन सकारात्मक ढङ्गले अघि बढेको छ ।

त्यसो भए गठबन्धनमा पहिलेको भन्दा राम्रो सम्बन्ध हुँदै गएको छ ?

पहिलेको भन्दा निकै नै सम्बन्ध सुधार भएको छ । उहाँ(शेखर कोइराला)पक्षले रियलाइज गर्नु भएको छ । अहिलेको निर्वाचन प्रणाली, संघ तथा प्रदेशको आगामी निर्वाचनमा तालमेल गर्नैपर्ने हुन्छ । अहिले स्थानीय तहको निर्वाचनमा गठबन्धन नगरे भनेजस्तो परिणाम आउँदैन भन्ने छ ।

काठमाडौंसहित ललितपुर, पोखरा, चितवन, विराटनगर महानगर लगायत अन्य उपमहानरमा पनि उस्तै जटिलता देखिन्छ । चुनावी तालमेलमा भागबण्डा मिलाउन निकै गाह्रो हुने त होइन ?

विभिन्न खालका धारणा आइरहेका छन् । नेतृत्वले गरेको निर्णय सबै पार्टीको पंक्तिले मान्दै आएको छ । हामीमात्रै मिलेर जाने भनेपछि देशैभरि अर्कै माहोल बनिहाल्छ । संयन्त्र बनाइएको छ, गठबन्धनभित्र संवाद हुन थालेका छन् । विगतमा कोही दलसँग मिल्दैनौँ भन्नेहरु पनि नजिक आएका छन् । यो पार्टी प्रणाली हो, पार्टीले लिएको निर्णय साथीहरुले मान्नुहुन्छ । पार्टी नेतृत्वले ग्राउण्डमा के भएको छ भन्नेमा त्यहाँको वस्तुस्थितिलाई हेरेर निर्णय गर्ने हो । त्योभन्दा अलग्गै निर्णय गर्ने होइन ।

यदि तल्लो तहमा तालमेलको अवस्था नभए केन्द्रबाट हस्तक्षेप हुने अवस्था आउन सक्छ?

सकेसम्म जिल्ला तहमै मिलोस् भन्ने छ । त्यहाँ को जित्छ, को हार्छ, कसको जनाधार कस्तो छ भन्ने कुरा तलकै कमिटीमा बढी थाहा हुन्छ । त्यसपछि बाँकी प्रदेश तहबाट टुङ्गो लागोस् भन्ने छ । यदि जिल्ला र प्रदेशबाट टुङ्गो नलागे केन्द्रबाट हल गर्छौं भन्ने छ । त्यसका लागि केन्द्रीय संयन्त्र र शीर्ष नेतृत्व तहबाट सिफारिस गरिने छ ।

तपाईहरुले एमालेसँग तालमेल गर्न खुला छौं भन्दा कतिपयले काँग्रेसलाई तर्साउन माओवादीले एमालेसँग बार्गेनिङ गरिरहेको भन्ने आरोप लगाए, तपाई आफैले पनि एमाले अध्यक्ष केपी ओलीलाई भेटेको कुरा बाहिर आइरहेको छ । खास के हो ?

राजनीतिमा कोसँग भेट्ने/नभेट्ने भन्ने सामान्य कुरा हुन् । नेपालको राजनीतिको संस्कार भनेको नमिल्नेहरुका बिचमा पनि छलफल, बहस, अन्तक्र्रिया हुने गरेका छन् । हिजो युद्धकै क्रममा पनि सत्तामा भएका दलहरुसँग संवाद हुन्थ्यो । अहिलेको संवादलाई स्वाभाविकै रुपमा लिनुपर्छ । अहिले नै एमालेसँग तालमेल हुँदैन । उहाँहरुले मिलौं भनेर अफर गर्नु भएको छ । दार्चुला, डडेलधुरामा बहुमत पालिका लिनुस् भन्न थाल्नु भएको छ । गुल्मीमा आधा स्थानीय तह गरौं भन्नु भएको छ । केन्द्रीय तहमा पनि त्यस्ता खालका अफरहरु छन् । तर अहिले संविधान र लोकतन्त्रको रक्षा मुख्य प्रश्न हो । दुईदुई पटक संसद विघटनका कुरा छन् । कुनै न कुनै रुपमा एमालेले आत्मआलोचना नगरेर, त्यसलाई नसच्याएर, सोच परिवर्तन नगरेर तालमेल गर्नुको खासै अर्थ हुँदैन । अहिले गठबन्धनमा पाँच दल छौं, त्यो निश्चित एजेण्डा आवश्यकताले भएको हो । हामीले कुर्सीका लागि गठबन्धन गरेका होइनौं । त्यस अर्थमा एमालेले गरेको गल्ती कहीँ न कहीँ करेक्सन गरेर रियलाइजेसन गरेमा राजनीतिक संवाद हुन सक्छ ।

तपाईले एमाले अध्यक्षसँगको भेटमा के पाउनुभयो ? एमालेले त्यस्तो करेक्सन गर्ला ?

यसमा कोसँग भेट भएको, कोसँग संवाद भएको भन्न जरुरी छैन । त्यस्ता छलफलमा जानुपर्छ भन्ने लाग्दैन ।

विचार नमिल्ने पार्टीहरुबीच एउटा पार्टीले अर्को पार्टीलाई मत हाल्ने र जित्ने कुरा कति उपयुक्त मान्ने ? साथै गठबन्धनको संस्कृति कति राम्रो हो ?

संघ र प्रदेशमा बिना गठबन्धन कुनै सरकार बन्दैनन् । २०६४ सालको संविधानसभा निर्वाचनपछिका सरकारहरु हेर्नुस्, लगातार गठबन्धन छन् । कमरेड प्रचण्डको नेतृत्वमा बनेको सरकारमा एमालेसँग गठबन्धन, त्यसपछि प्रधानमन्त्री भएका माधवकुमार नेपाल, झलनाथ खनाल बाबुराम भट्टराई आदि इत्यादि सबैले गठबन्धन बनाउनुभयो । त्यसपछि सुशील कोइराला नेतृत्वको सरकादेखि केपी ओली, देउवाको नेतृत्व सरकारसम्म गठबन्धन भयो । एमाले–माओवादी गठबन्धन हुँदै देउवा सरकारसम्म आउँदा जहिल्यै गठबन्धन भएको छ । एजेण्डा मिल्नेहरु एक ठाउँमा जाने कुरालाई अन्यथा लिनु हुँदैन ।

सत्ता गठबन्धनमा रहेका दलहरु कोही उत्तरतिर, कोही दक्षिणतिर फर्केका छन् । यसलाई कतिपयले अप्राकृतिक गठबन्धन पनि भन्ने गरेका छन् । यो विचार मिल्नेहरुकै गठबन्धन हो भन्ने तपाईलाई लाग्छ ?

अहिले एजेण्डा मिल्नेहरुको गठबन्धन हो । अहिले नेपालको राजनीतिमा दक्षिणपन्थी प्रवृत्तिको प्रतिनिधित्व केपी ओलीजीले गर्नुहुन्छ । हिजो उहाँले कुनैबेला पहाडे राष्ट्रवाद बोकेर हिँड्नुहन्थ्यो, अहिले धार्मिक राष्ट्रवाद बोकेर हिँडनुभएको छ । हिजो ओलीजी र मधेस अपोजिट थियो तर आज एकै ठाउँ पुग्नुचाहिँ किन ? यो मधेसको स्वायत्त, समानुपातिक, समावेशीतामा मिलेको होइन । तर धार्मिक एजेण्डामा, धार्मिक राज्यको एजेण्डामा मिलेको छ । कहिँ न कहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुले यसमा उहाँहरुलाई सहयोग गरेका छन्, यो दक्षिणपन्थ हो । हामी संघीयता, गणतन्त्र, समावेशीता, धर्म निरपेक्षता र सामाजिक न्यायका एजेण्डा, संविधानले संस्थागत गरेका प्रगतिशील एजेण्डा हुन् ।

यसबाट पछि हटेर यसलाई कमजोर पार्ने, दुईपटक संसद विघटन गर्ने होस् या सरकारमा रहँदा पूरै संविधान विरोधी निर्णयहरु गरेर हुन्, या हिजो स्थापित भएका मूल्य मान्यताभन्दा पछि हट्ने निर्णयहरु हुन्, त्यो उहाँले गर्नुभएको छ । त्यसअर्थमा दक्षिणपन्थी बाटो केपी ओलीले बोकिरहनुभएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादीले प्रगतिशील क्रान्तिकारी एजेण्डा बोकिरहेका छन् । र, अहिले तत्काल बीचमा काँग्रेस छ । अहिलेको सन्दर्भमा संविधान र लोकतन्त्र बचाउने तथा राजनीतिक स्थायित्वका लागि काँग्रेस तयार छ । यसले गर्दा अहिलेको राजनीतिक विश्लेषणमा काँग्रेस हाम्रो निकटतम शक्ति हो । दीर्घकालीन रुपमा आइडोलोजीकल्ली, पोलिटिकल्ली काँग्रेससँग हाम्रो कयौं कुरा मिल्दैन तर आजको पोल्टिक्स मिल्छ । त्यसअर्थमा गठबन्धन गरिएको हो । उत्तर र दक्षिण होइन ।

केही वर्ष यस्तै अवस्था रहने देखिन्छ । जसले गर्दा पछिसम्म नै यही समीकरण रहिरहने देखियो, होइन ?

होइन, त्यसो हुँदा शान्ति प्रक्रियाका बाँकी काम सक्ने, संविधान र लोकतन्त्रलाई स्थायित्व दिने कुरा हुन्छ । सामाजिक न्यायका मुद्दाहरुलाई लागु गरेर देश विकास, समृद्धि र सुशासनको काम गर्ने कुरा हुन्छ । यी कुरा हाम्रा कमन विषय हुन्छन् । जहाँसम्म आइडोलोजिकल कुरा छ, कम्युनिस्टहरुले आफ्नो समाजवादी साम्यवादी विचार बोक्छन्, प्रचार गर्छन्, काँग्रेसले आफ्नो लोकतान्त्रिक विचार बोक्छ र प्रचार गर्छ । तर ठ्याक्कै राज्यको आजको सरकारको र नेपालको यथार्थमा के गर्ने भन्ने कुरा कमन प्रोग्राम बनाएर हामी अगाडि बढ्छौं ।

एमाले र माओवादीहरु मिलिदिए हुन्थ्यो भन्ने पनि ठुलो संख्या छ । उत्तरी छिमेकीको पनि त्यही चाहना देखिन्छ । स्थानीय तहमा नभए पनि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पुग्दा एमाले र माओवादी एक ठाउँमा पुग्ने अवस्था हुन्छ ?

पहिलो कुरा नीतिमा मिल्ने हो । नीतिमा ओलीजीले धार्मिक राज्यको एजेण्डा छोड्नुपर्‍यो । दक्षिणपन्थी बाटो छोड्नुपर्‍यो । विगतका कमी कमजोरीहरुलाई आत्मसमीक्षा, आत्मालोचना गर्नुपर्‍यो । त्यसपछि एउटा वातावरण बन्छ । अहिले उहाँले त्यसो गर्नुहुन्न । त्यसो नगरेर ओलीजी बरु महन्थ ठाकुर, कमल थापा, राजेन्द्र लिङदेनहरुको नजिक पुग्नुहुन्छ । ओलीजी कुनै कम्युनिस्ट पार्टीको नजिक आउनुहुन्न । त्यसैले यो काल्पनिक कुरा हुन्छ । एमालेले जुन बाटो बोकेको छ, त्यसले कम्युनिस्टलाई एक ठाउँमा ल्याउन सक्दैन ।

पछिल्लो समय माओवादी किन आत्मबल गिरेजस्तो वा मनोबल कमजोर र हिनताबोधबाट ग्रसित भएजस्तो ?

यो प्रश्न नै पूर्वाग्रही छ । हिजो बरु नेकपा बनायौं, त्यसबेला ओलीजीले हेपेकोजस्तो, चेपेको जस्तो ठुलो पार्टीमा कोही पनि नभएजस्तो थियो । एउटै पार्टीमा बसेर पनि आफ्नै पार्टीका एजेण्डा नेताले उल्ट्याउने खालको थियो । आज त बरु हामी आठ लाख पार्टी सदस्य बनाएर, महाधिवेशन गरेर, क्लियर लाइन बनाएर सातै प्रदेशमा कमिटी छ । तीनवटा गैरभौगोलिक कमिटी पनि छ । ७७ जिल्लामा कमिटी बनेको छ भने ७५३ गाउँपालिका र नगर सम्मेलन भएको छ ।

तर पदाधिकारी टुङ्ग्याउन अझै सक्नुभएको छैन नि ?

सवै प्रदेशमा टुङ्गेको छ, केन्द्रमा बाँकी छ । पालिका र जिल्लामा बनिसकेको छ, ६ हजार ७४३ वडामा हाम्रो कमिटी पुगेको छ । यो त बलियो भएको हो नि । यति धेरै व्यवस्थित संगठनात्मक सिस्टममा माओवादी कहिल्यै गएको थिएन । अहिले त्यसरी अघि बढेको छ, यसले धेरै राम्रो रिजल्ट दिन्छ । हामीले आफूलाई कमजोर ठानेका छैनौँ, कमजोर ओलीजी हो । दुई तिहाइ हाराहारीको शक्ति नेकपा रहेन । आजीवन एमाले बनाउन खट्नुभएका नेताहरु त्यहाँ रहनुभएन ।

तपाईहरु मिसिएर एमालेलाई विभाजन गरिदिनुभयो भन्ने छ नि ?

आफै टुक्रा हुने अनि हामीलाई दोष दिने ? त्यो होइन । ओलीजीलाई एउटा प्रश्न छ– पार्टी फुट्छ अनि जित्ने दुनियाँमा कहाँ छ ?

५१ सालमा काँग्रेसमा विवाद भयो, ऊ कमजोर भयो । एमाले ५४ सालमा त्यस्तै भो । माओवादी ७९ सालमा फुट्यो, ७० मा कमजोर भयो । भनेपछि कुनचाहिँ पार्टी फुटेर ठुलो भएको छ ? छैन । तर ओलीजी ठुलो हुन्छु, बहुमत ल्याउँछु भनेर धक्कु लगाउनु हुन्छ, त्यो सम्भव छैन । बरु आत्मसमीक्षा गरेर संगठन निर्माण गरियो भने छिटै रिभाइभ होला नत्र उहाँको तालले हुँदैन ।

हामीले ७० सालमा पूर्वमेचीदेखि पश्चिम महाकाली अभियान चलाउँदा हजारौं मान्छे आउँथे, पछि मतदान गर्दा त मान्छे छैन । किन भन्दा पार्टी फुट्यो । फुट्दा पार्र्टीभित्रका नेता–कार्यकर्तामा असन्तुष्टि हुन्छ, निराश हुन्छ यथार्थ त्यो हो, त्यसलाई मान्नुपर्छ र एमालेलाई एक गर्ने नेकपाको पृष्ठभूमिमा एक बनाउने पो कोशिस गर्ने हो त उहाँले ।

माओवादीकै प्रसङ्ग जोडौं, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीलाई २०६४ कै अवस्थामा पुर्‍याउन सकिन्छ, त्यो तागत हामीसँग छ भनेको सुनिन्छ, प्रचण्डले भनेजस्तो पार्टीलाई त्यो अवस्थामा पुर्‍याउने योजना सफल होला ?

एजेण्डाको हिसावले अरुभन्दा प्रगतिशील क्रान्तिकारी एजेण्डा हामीले बोकेका छौं । विगतभन्दा अहिले संगठन सुदृढ गरेका छौं । साथसाथै अहिलेको इस्यु मिल्नेहरु एक ठाउँमा बसेर तालमेल पनि गरिरहेका छौं । यो सबै हिसावले हामी राम्रो गर्छौं । विगतको टुटफुटबाट शिक्षा पनि लिएका छौं । सानातिना मतभेद होलान् तर पनि सकेसम्म पार्टीलाई योजनावद्ध र व्यवस्थित बनाएर लैजानेमा सचेत भएकाले विगतभन्दा राम्रो गर्दै ०६४ को हाराहारीमा पुर्‍याउँछौं । ०६४ मा हामी पहिलो पार्र्टी बनेका थियौं, अहिले पहिलो पार्टी नै नभए पनि लेफ्टहरुको पहिलो पार्टी हुन्छौं । र त्यो बाटो, अथवा लेफ्ट मुभमेन्टका सवै शक्तिलाई सँगै लिएर जाने पनि बनाउँछौ । त्यसपछि काँग्रेससँग शक्तिमा पनि प्रतिस्पर्धा हुन्छ ।

प्रगतिशील क्रान्तिकारी एजेण्डा माओवादीसँग छन् भन्नुभयो । तर माओवादीले अघि सारेका एजेण्डा छोड्दै र विमुख हुँदै गएको नेता–कार्यकर्ता र जनताले नै भन्ने गरेका छन् । यस्तो अवस्थामा जनताले माओवादीलाई विश्वास गर्लान् ?

हामी हाम्रा एजेण्डाबाट विमुख भएका छैनौं । हामीले उठाएका एजेण्डा संस्थागत भएका छन् । संविधानसभाको एजेण्डा हिजो माओवादीको थियो, पछि राष्ट्रिय विषय भयो । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक, सामाजिक न्यायका कुराहरु मौलिक हकका रुपमा स्थापित भए । परराष्ट्र नीतिकै कुरा भयो । सुशासन विकास, समग्र देशको पूर्वाधार निर्माणमा योजनाको रुपमा व्यक्त भए । यसक्रममा कहिले हामी सरकारमा गयौं, कहिले प्रतिपक्षमा भए पनि ती एजेण्डामा देश गयो । त्यसैले हामीले उठाएका एजेण्डाबाट विमुख भएको र छोडेको होइन, सवैले स्वीकारेको हो । सवैले स्वीकार्दा के हुँदोरहेछ भने हिजो माओवादीको मात्रै हुँदा एकल दाबी जस्तो हुन्थ्यो । आज सवैले स्वीकार्दै गएपछि माओवादीको अलग पहिचान के हो ? भन्ने पनि हुँदोरहेछ । हाम्रो पहिचान के त भन्दा यति उपलब्धि भएपछि अब समाजवादतिर जाने र देशलाई योजनावद्ध विकास गर्दै गरिव, विपन्न र पछि परेकाहरुलाई अगाडि ल्याउने सामाजिक न्यायका कार्यक्रमसहित अघि जाने भनेका हौं । त्यसका लागि भौतिक पूर्वाधारको विकास गर्ने, मानवीय पूर्वाधारसहित समग्र देशको विकास गर्ने ।

कागजी रुपमा समाजवाद आइसकेको छ । तर व्यवहारिक रुपमा कहिले आउँछ ? नेता–कार्यकर्ता र नेता–जनताबीचको असमानताको ग्याप कहिले पुर्नुहुन्छ ?

पहिलो कुरा नीति नै हो । नीति नभइ हिँड्न सकिन्न । कुनै पनि घर बनाउन पहिला त्यसको डिजाइन चाहिन्छ, खुरुखुरु बनाउँछु भनेरमात्रै बन्दैन । पहिला नक्सामा निर्माणको क्लियर पिक्चर हुनुपर्छ । देश निर्माणको पिक्चर भनेको नै नीति हो । नीति बनाउने, त्यसलाई सवैले बुझ्ने बुझाउने र त्यो स्थापित भइसकेपछि त्यो अनुसार रुपान्तरित गरेर परिणाम पनि निकाल्दै जाने नै हो । अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र छ, देशले स्वीकार्यो र राजनीतिक उपलब्धि भयो । अव यसलाई आर्थिक उपलब्धिका रुपमा आर्थिक विकास र सम्मृद्धिको अधिकारका रुपमा विस्तारै अघि गइरहेको छ । समय लिन्छ । चिनियाँहरुले क्रान्ति गरेको ७० वर्षपछि बल्ल गरिवी उन्मुलन गरे । अथवा कोही पनि गरिव रहेन । ७० करोड चिनियाँहरु गरिवीको रेखाबाट माथि उठे, मध्यम वर्गमा ल्याए । ७० वर्षपछि चिनियाँहरु हरेकसँग रोजगारी, घर, न्युनतम आधारभूत औषधि उपचार भयो, १२ कक्षासम्म निःशुल्क शिक्षा भयो । हाम्रो त बल्ल आठदश वर्षमात्रै भएको छ ।

जनताको सुख र समृद्धिको सपनामा माओवादीले एकातिर घरको नक्सा बनायो अनि अर्कोतिर गारो लगायोे भन्ने टिप्पणी छ नि ?

होइन । त्यो हुँदै होइन । जहाँनिर अर्कोतिर गारो लगाएको छ, त्यसलाई भत्काएर नक्साअनुसार गर्नुपर्‍यो । फेरि यस्तो पनि हो, हिजो हामीलाई क्रान्तिबाट आएको हुनाले खिसीट्यौरी गर्ने, हुँदै नभएको आरोप लगाउने, अध्यक्षकै सवालमा डेरामा बसिरहनुभएको छ, ठुलठुला बंगला भएका अरु नेताहरुको आलोचना छैन तर हाम्रो अध्यक्षको आलोचना र आरोप लगाइरहेको हुन्छ । किनभन्दा उहाँले क्रान्तिको सपना देखाउनुभयो, परिवर्तनको सपना देखाउनुभयो । त्यो भएकाले हामीसँग बढी अपेक्षा पनि स्वाभाविक हुन्छ नै, त्यसमा अन्यथा मान्नुपर्दैन । तर यसको अर्थ हामी काँग्रेस, एमालेका अरु नेताभन्दा बिग्रियौं भन्ने होइन । त्यसो भनियो भने अन्याय हुन्छ ।

अब हुने स्थानीय निर्वाचनमा माओवादी एक्लै लड्यो भने ७५३ तहमध्ये कतिमा विजयी हुने आँकलन गर्नुभएको छ ?

पार्टीले ठ्याक्कै त्यो आँकलन निकालेको छैन । मेरो सोझो आँकलन भनेको अघिल्लो चुनामा ११६ पालिका हामीले जितेकै हो, ७४ वटामा हामी दोस्रो छौं । पछिल्लो समयको हाम्रो संगठन विस्तारहरु हेर्दा २ सय सिट हामी सजिलै जित्छौं भन्ने मेरो आफ्नो आँकलन हो । मैले सार्वजनिक रुपमा पनि भनिरहेको छु । पार्टीले बसेर ठ्याक्कै आँकलन चाहिँ गरेको छैन ।

गठबन्धन हुँदाको अवस्थामा २ सय ?

गठबन्धन हुँदा त त्यो संख्या स्वतः बढ्छ ।

त्यसो भए अब माओवादी दोस्रो पार्टी बन्छ ?

हामी कम्युनिस्ट पार्टीहरुमा पहिलो पार्टी हुन्छौं । एमालेभन्दा अगाडि हुन्छौं । अब ३०/३२ दिन बाँकी छ, त्यो तथ्यमा पनि हेर्नुपर्छ । फेरि तपाईहरुसँग बोल्नुपर्छ । सार्वजनिक रुपमा फेस गर्नुपर्छ ।

माओवादीका करिव नौ लाख सदस्य छन् भनेर तपाईहरुले भन्दै आउनुभएको छ । नेताहरु पनि त्यसै अनुसार हुनुहुन्छ । माओवादीमाथि अन्य शक्तिले चौतर्फी आक्रमण गरिरहेको भनेर नेताहरु नै भन्नुहुन्छ । तर त्यस्तो आक्रमणको प्रतिवाद एक्लो प्रचण्डबाहेक कसैले गरेको देखिँदैन, यस्तो किन भइरहेको छ ?

यस्तो पनि हो–आखिर एमालेमा पनि ओलीजीले नै त गरिरहनुभएको छ सबै । ‘अरु पाँच केजी हो, एमाले एक क्विन्टल’ भनेर ओलीजी नै त्यसरी लाग्नुपर्ने त होइन नि । कसैलाई के भन्या छ, कसैलाई के भन्दै सबैसँग झगडा गर्या छ, लिडरले त त्यसो गर्ने होइन नि ! हाम्रोमा युद्धको कमाण्ड र स्कुलिङ भएकाले पनि अध्यक्षले बोले पछिमात्रै अरुले बोल्ने कार्यशैली धेरथोर बाँकी रहेको पनि हुनसक्छ । यसलाई हामीले सच्चाउनु पनि छ ।

अर्कोकुरा, मिडिया परिचालन र आफ्नो कुरा व्यवस्थित ढंगले भन्न पनि नजानेको हुनसक्छ, यसलाई सच्याउनुपर्छ । 

पछिल्लो समय नेताहरुको कार्यविभाजनमा देखिएको असर त होइन ?

होइन, कार्यविभाजनले केही असर गरेको छैन । हामीसँग प्रवक्ता हुनुहुन्छ । हामीसँग सिनियर नेताहरु हुनुहुन्छ । केन्द्रीय कार्यालयमा काम गर्ने नेताहरु हुनुहुन्छ । मन्त्री, प्रदेश इन्चार्जहरु हुनुहुन्छ । भनेपछि कार्यविभाजन त छ नि । बोल्नका लागि कार्यविभाजनले केही पनि रोकेको छैन ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।