बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जुर्मुराउँदै कर्णालीको क्रिकेट

सोमबार, २८ चैत २०७८, ०९ : ४६
सोमबार, २८ चैत २०७८

कर्णालीमा क्रिकेटको मोह व्यापक छ । कर्णालीको क्रिकेट वि.स २०५६ सालबाट खेलिन थालेको हो । क्रिकेटको मायासँगै सुर्खेत जिल्ला क्रिकेट संघको स्थापनाका लागि एक कार्यसमिति गठन भयो । तर, उक्त कार्यसमितिले नेपाल क्रिकेट संघ (क्यान)को मान्यता पाउन सकेन । 

फुटबल मैदानमा क्रिकेट खेल्ने कर्णालीमा क्रिकेट संघले नै मान्यता नपाउँदा क्रिकेट विकास हुने कुनै सुर भएन । उसो त अहिले पनि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा क्रिकेट खेल्नका लागि रङ्गशाला छैन । केही समयअघि कर्णाली प्रिमियर लिग (केपीएल) को सुरुवात हुँदा कालिन्चोक मैदान क्रिकेट खेल्ने मैदानको रूपमा स्थापित भयो । 

अहिले सोही मैदान पनि खेलाडीहरूका लागि क्रिकेट खेल्न योग्य छैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कर्णाली प्रदेशमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने योजना बनाएको छ । पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर पाएको कर्णाली प्रदेशले अहिले देखि तयारी थालेको छ । 

यसै कारण अहिले क्रिकेट खेल्ने र फुटबल खेल्ने खेलाडीहरू एउटै मैदानमा देखिन्छन् । क्रिकेट खेलाडीहरू खेल्ने मैदान निर्माणको अवस्थामा भएकाले फुटबल र क्रिकेट खेल्ने मैदान एउटै भयो । उसो त कर्णालीमा क्रिकेट खेलमा लागि भनेर हालसम्म कुनै मैदान छैन । न त कुनै राम्रो प्रशिक्षण केन्द्र । अभावकाबीच कर्णाली प्रदेशले गत साता ऐतिहासिक सफलता हात पार्‍यो । 

कर्णाली प्रदेश यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्‍यो । गण्डकी प्रदेशसँग पराजित हुँदै उपाधि उचाल्नबाट वञ्चित भयो । कर्णाली प्रदेशको क्रिकेट कुनै पनि क्रिकेट प्रतियोगितामा फाइनल प्रवेश गर्न सकेको थिएन । पहिलो पटक फाइनल पुगेको कर्णाली प्रदेशका लागि ऐतिहासिक सफलता थियो । कर्णाली प्रदेशका प्रशिक्षक वसन्त शाहीले कर्णाली प्रदेशलाई ऐतिहासिक सफलता दिलाए । 

यसअघि लुम्बिनी प्रदेशसँग मिलेर क्रिकेट प्रतियोगिता खेल्ने गरेको कर्णाली प्रदेशले तीन वर्ष यता आफ्नो बेग्लै टिम बनाएर प्रतियोगितामा सहभागिता जनाउने गरेको छ । कर्णाली प्रदेशले आफै सहभागिता जनाउँदै सफलता पनि हात पार्‍यो । भलै उपाधि उचाल्न सकेन तर, कर्णालीका लागि यो सफलताले क्रिकेट खेलको विकासका लागि आफ्नो मत राख्न सक्ने बनायो । 

पहिलो पटक सफलता पाउँदा निकै खुसी भएको कर्णाली प्रदेशका प्रशिक्षक वीरेन्द्र शाहीले बताए । उनले आफू प्रशिक्षक भएर आएको दोस्रो प्रतियोगितामा नै सफलता मिल्दा क्रिकेटमा कर्णालीको राम्रो भविष्य रहेको सङ्केत पाएको बताए । 

‘प्रशिक्षक भएर आएको लामो समय भएको छैन । मैले दोस्रो प्रतियोगिता खेलाउँदै थिए । सफलताका लागि म भोको थिए । क्रिकेटमा कर्णालीलाई नयाँ उचाइमा पुगाउने मेरो पहिलो सपना साकार भएको छ । यो सफलताले आगामी प्रतियोगितामा कर्णाली प्रदेशलाई पनि प्रतिस्पर्धीको रूपमा हेर्ने बनाउने छु,’ शाहीले रातोपाटीसँगको कुराकानीमा भने । 

घरेलु प्रतियोगितामा कर्णाली प्रदेशलाई उपाधिको दाबेदारको रूपमा हेरिँदैन । कर्णाली प्रदेशसँग पर्ने टिमले आफ्ना प्रमुख खेलाडी मैदानमा उतार्दैनन् । तर, यो नजारा भने अहिले बदलिने छ । त्यसको पहिलो उदाहरण हो महिला टोलीले पाएको सफलता । यो सफलता महिला पुरुष दुवै टोलीलाई दिलाउन आफ्नो लक्ष्य भएको प्रशिक्षक शाही बताउँछन् ।

‘यू–१९ क्रिकेटमा सफलता मिलेको छ । यसमा हामी खुसी छौँ तर, यति सफलताले हामीलाई पुग्दैन । सिनियर महिला र पुरुष टोलीमा पनि यसै किसिमको सफलताको आवश्यक छ । त्यसका लागि भौतिक पूर्वाधारले पनि साथ दिएको छैन । प्रदेश सरकार र क्यानले मैदान सहित एकेडेमीको विषयमा सोच्छ भने सफलता पर छैन,’ शाहीले भने । 

कर्णाली प्रदेशका लागि यसै प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी दोस्रो सूचिमा थिइन् किरण कुँवर । किरणले प्रतियोगिताको ४ खेलमा ९२ रन बनाइन् । क्षेत्रीय स्तरको प्रतियोगिता खेलेकी कुँवरका लागि यो पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता थियो । त्यसैमा पनि आफू उत्कृष्ट ब्याटरको दोस्रो सूचीमा पर्न पाउँदा धेरै खुसी लागेको कुवरले बताइन् । 

‘मेरो पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता हो । सोचेभन्दा राम्रो भयो । यो सफलताले आगामी दिनमा कर्णालीका लागि उत्कृष्ट प्रदर्शन गर्ने हौसला मिलेको छ । छोटो तयारीले फाइनलसम्म पुग्यौ । तयारी राम्रो भयो भने उपाधि जित्ने हौसला मिल्नेछ,’ कुँवरले रातोपाटीसँगको कुराकानीमा भनिन् ।  

प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिमलाई हराएको कर्णाली प्रदेशले दोस्रो खेलमा वाग्मतीलाई हरायो । सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेपनि नेट रन रेटमा समूह ‘बी’मा शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्यो । आधारमा फाइनलमा प्रवेश गरेको थियो । फाइनलमा पनि कर्णाली प्रदेश गण्डकीसँग पराजित भयो । 

‘कर्णालीको क्रिकेटको नयाँ अध्याय सुरु भएको छ’

कर्णाली क्रिकेटले पाएको सफलताले नयाँ अध्याय सुरु भएको जिल्ला क्रिकेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केसीले बताएका छन् । कर्णाली प्रदेशको इतिहासमा नै पहिलो सफलता पाउँदा आफूहरू निकै खुसी भएको बताए । 

कर्णालीको क्रिकेट विकासका लागि भौतिक संरचनाहरूले साथ दिए योभन्दा राम्रो सफलता कर्णालीको क्रिकेटले प्राप्त गर्ने बताए । सरकारले कर्णालीको क्रिकेटमा विकासका लागि सोच्ने समय आएका बताए । 

‘कर्णालीमा क्रिकेटको राम्रो सम्भावना छ । यहाँ खेलाडी छन् तर, खेल्ने ठाउँ छैन । उचित खेल मैदान र केही मात्रामा सरकारको लगानी भएमा नतिजा निकालेर देखाउने छौँ,’ केसीले रातोपाटीसँगको कुराकानीमा भने । 

केसीले यसअघि कर्णालीमा क्रिकेट चार जिल्लाको भरमा भए पनि अब एक्लै टिम बनाएर उपाधिको दाबेदार बनाउन सफल हुँदा खुसी भएको बताए । यसअघि कर्णालीको क्रिकेट टिम बाँके, बर्दिया, सुर्खेत र दाङ मिलेर टिम तयार परिन्थ्यो । 

‘हामीले पहिले टिम तयार पार्दा चार जिल्लालाई समेट्नु पर्थ्यो । वि.स २०६३ सालमा सुर्खेत जिल्लाले क्यानको मान्यता पाउँदा झनै सहज भयो । अहिले प्रदेशमा पनि जिल्ला संघले मान्यता पाउँदा आफ्नो बेग्लै टिम तयार पार्न सफल भएका छौँ । यसमा हामीलाई सफलता पनि मिलेको छ,’ केसीले भने । 

प्रदेश सरकारले क्रिकेट विकासमा ध्यान दिएको छ : मुख्यमन्त्री शाही 

कर्णाली प्रदेशका मुख्य मन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले क्रिकेटका लागि पनि छुट्टै रङ्गशाला निर्माणका लागि तयारी गरेको बताए । उनले कर्णालीले पहिलो पटक फाइनलमा पुगेको सुन्न पाउँदा आफू धरै खुसी भएको र अब क्रिकेटमा झनै विकासको आवश्यक रहेको बताए । 

शाहीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरूप कर्णाली प्रदेशमा भौतिक पूर्वाधार निर्माणको कार्य अघि बढेकाले त्यसमा क्रिकेट रङ्गशालाको अवधारणा पनि रहेको बताए । उनले खेलाडीहरूको हौसलाका लागि उचित पुरस्कारको दिने पनि बताए । 

‘कर्णालीले क्रिकेटमा पहिलो पटक फाइनलमा स्थान बनाएको सुन्दा धेरै खुसी लाग्यो । अब क्रिकेटको विषयमा पनि सोच्ने समय भएको छ । हामी दसौँ राष्ट्रिय खेलकुदको तयारीमा छौँ । भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा क्रिकेट र भलिबल मुख्य प्राथमिकतामा छन्,’ शाहीले रातोपाटीसँगको कुराकानीमा भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप