शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वागमती प्रदेश उच्च शैक्षिक संस्थाहरु निमार्ण गर्ने अभियानमा छ : मुख्यमन्त्री पाण्डे

सोमबार, २८ चैत २०७८, १४ : ०३
सोमबार, २८ चैत २०७८

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने बताएका छन् । सोमवार काठमाडौंमा चैत्र २७ गतेबाट शुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले वागमती प्रदेशले उच्च शिक्षा सम्बन्धी विधेयक पास गरिसकेको र त्यसबाट विज्ञान प्रविधिको क्षेत्रमा लगानी गर्ने तथा विज्ञान प्रविधि अध्यापन गराउने विश्वविद्यालयहरू बनाउने कार्यमा प्रदेश लागिपरेको दाबी गरे ।

उनले विज्ञान, प्रविधि सम्बन्धमा अनुसन्धानको कार्यलाई अघि बढाउन नगद प्रवद्र्धन कार्यक्रमअन्तर्गत नीति पास गरेको र सोही नीतिको आधारमा छुट्टै ऐन बनाएर वागमती प्रदेश अनुसन्धानका क्षेत्रमा अघि बढ्ने उनले बताए । मुख्यमन्त्री पाण्डेले प्रदेश अनुसन्धानका क्षेत्रमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदसँग मिलेर कम गर्न तयार रहेको समेत बताए ।

उनले आगामी बजेटमा प्रदेशले अनुसन्धानका लागि छुट्टै बजेट निकासा गर्ने र कानुनी बन्दोबस्त गरेर प्रदेश हेल्थ रिसर्च काउन्सिल नै निर्माण गरेर जान पनि तयार रहेको बताए । मुख्यमन्त्री पाण्डेले नेपालमा अनुसन्धानका क्षेत्रमा लगानी गर्ने कुरालाई फजुल खर्च भन्ने गरेको पनि बताए । उनले अनुसन्धानको क्षेत्रलाई अन्य ६ प्रदेशले सिक्ने गरेर वागमती प्रदेश अघि बढ्ने प्रतिवद्धतासमेत जनाए ।

मुख्यमन्त्री पाण्डेले भने, ‘विज्ञान प्रविधिका क्षेत्रमा अध्ययन अनुसन्धान अध्यापन आदिका क्षेत्रमा उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने, आदि कुराहरुमा पनि हामी प्रदेश सरकारको तर्फबाट अघि बढिसकेका छौँ । हामीले भर्खरै उच्च शिक्षासम्बन्धी विधेयक पास गरेका छौँ । त्यसबाट विज्ञान प्रविधिको क्षेत्रमा लगानी गर्ने र विज्ञान प्रविधिका क्षेत्रका विश्वविद्यालयसम्म पनि जन्माउने तयारी गर्ने आदि कुराहरुमा हामी अघि बढेका छौँ । हालै विज्ञान, प्रविधि सम्बन्धमा अनुसन्धानको कार्यलाई अघि बढाउन हामीले नगद प्रवद्र्धन कार्यक्रमका सवालमा एउटा नीति पास गरेका छौँ । त्यो नीतिका आधारमा हामी छिटै नै ऐन बनाउँछौँ र रिसर्चका क्षेत्रमा वागमती प्रदेश छुट्टै ढंगले अघि बढ्नेछ ।’ 

उनले वागमती प्रदेश हेल्थ रिसर्चका क्षेत्रमा काउन्सिलसँग मिलेर अघि बढ्न तयार रहेको समेत बताए । उनले भने, ‘हामी त्यसका लागि बजेट काट्न, कानुनी बन्दोबस्त गर्न, वागमती प्रदेश हेल्थ रिसर्च काउन्सिल नै निर्माण गरेर जान आवश्यक हुन्छ भनेपनि तयार छौँ । अनुसन्धानका सवालमा खर्च गर्ने हाम्रो बानी कम छ । अनुसन्धानमा भएको खर्चलाई हामीले फजुल खर्च मान्ने गरेका छौँ । बाँकी ६ वटा प्रदेशलाई सिकाउने गरेर हामी वागमती प्रदेशबाट नै अनुसन्धानका लागि काम गर्ने उदाहरण पेश गर्नेछौँ ।’

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य क्षेत्रलाई सबल, सुदृढ एवं प्रभावकारी बनाउन आवश्यक ठोस तथा अनुसन्धानका कार्यहरुलाई निरन्तर अघि बढाउँदै लैजान आवश्यक रहेको बताए । उनले नेपालमा स्वास्थ्य क्षेत्रलाई सहज, सर्वसुलभ र दूरदराजका पहुँच विहीन जनताले पनि प्राप्त गर्नेगरी व्यवस्था गर्ने कुरामा जोड दिनुपर्ने बताए ।

राज्यमन्त्री खापुङले भने, ‘स्वास्थ्य क्षेत्रलाई सबल, सुदृढ एवं प्रभावकारी बनाउन आवश्यक ठोस तथा अनुसन्धानका कार्यहरुलाई निरन्तर अघि बढाउँदै लैजान आवश्यक छ । स्वास्थ्य क्षेत्रलाई नेपालमा सहज, सर्वसुलभ र दूरदराजका पहुँचविहीन जनताले पनि प्राप्त गर्ने गरी व्यवस्था गर्ने कुरामा यहाँहरुको भूमिका महत्वपूर्ण हुनेछ । स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्रालय निरन्तर लागिरहनेछ । नेपालको राजनीति क्षेत्र अस्थिर अस्थिर नै छ ।  हामीले चाहेको स्थिर नै हो, तर पनि हामी स्थिरतातिर जान सकिरहेका छैनौँ । तर स्वास्थ्य क्षेत्रमा स्थिरता कायम होस् ।’

राज्यमन्त्री खापुङले नेपालको अहिलेको राजनीति अस्थिर नरहेको भन्दै स्वास्थ्य क्षेत्रमा भने स्थिरता कायम गर्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप