शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

करिश्मा भन्छिन्– नाम र पदको स्पष्टीकरण दिँदैमा ऊर्जा खेर गयो !

‘म पदको आकाङ्क्षी छु, जिम्मेवारी नपाए पार्टीमा किन लाग्ने ?’
सोमबार, २८ चैत २०७८, १४ : ५५
सोमबार, २८ चैत २०७८

नेकपा एमालेमा प्रवेश गरेकी नायिका करिश्मा मानन्धरले आफ्नो नाम र पदका बारेमा जवाफ दिँदैमा ऊर्जा खर्च भइरहेको बताएकी छिन् । पार्टीमा लागिसकेपछि कुनै ठोस जिम्मेवारी पाउनैपर्ने उनको भनाइ छ ।

नेकपा एमालेमा प्रवेश गर्दा करिश्मालाई कुन कमिटीको कुन जिम्मेवारी दिने भन्ने टुङ्गो लागेको थिएन । अहिले पनि पदको टुङ्गो लागेको छैन । पार्टी प्रवेशपछि करिश्माले आफ्नो न्वारानको नाम सूर्यकुमारी भएको बताउँदै सूर्यचिन्हवाला पार्टी रोजेको बताएकी थिइन् । यही नामको विषयलाई लिएर धेरै जवाफ दिइरहनुपरेको उनको गुनासो छ ।

रातोपाटीसँगको छोटो कुराकानीमा करिश्माले भनिन्, ‘जब म एउटा पार्टीमा जोडिएँ, तर यहाँनेर मैले आफ्नो नामका बारेमा जवाफ दिइरहनुपर्‍यो । त्यसमा मेरो ऊर्जा खर्च भइरहेको जस्तो मलाई लागिरहेको छ, जुन हुनुपर्दैनथ्यो ।’

आफू ललितपुरमा बसोबास गरिरहेको बताउँदै करिश्माले पार्टीले मेयर वा उपमेयरमा उठ्न आग्रह गरेको खण्डमा पछि नहट्ने बताइन् । उनले भनिन् ‘यहाँ पुराना नेताहरू धेरै हुनुहुन्छ, म आएर ठक्क यो फलानो ठाउँमा चुनावमा उठ्ने भन्ने हुन्छ जस्तो लाग्दैन । तर, पार्टीले ल तिमीले गर्नुपर्छ है भन्यो भने चाहिँ म पछाडि सर्दिनँ । म तयार भएरै आएको हो ।’

पार्टीले आफूलाई ठोस जिम्मेवारी दिने उनले अपेक्षा व्यक्त गरिन् । उनले भनिन्, ‘म आकाङ्क्षी छु कुनै पदका लागि । जिम्मेवारी छैन भने तपाईं मोटिभेडेड नै हुन सक्नुहुन्न । जिम्मेवारी छैन भने तपाईंंमाथि कुनै प्रेसर नै हुँदैन । नत्र किन काम गरिराख्ने ?’ प्रस्तुत छ–करिश्मा सँगको छोटो कुराकानी

तपाईं एमालेमा प्रवेश गर्नुभएको छ, स्थानीय पार्टीले चुनावमा उठाउनेबारे केही छलफल भएको छ ? पार्टी प्रवेश गर्दै गर्दा एमालेले कुनै पद दिन्छु त भनेकै होला नि ?

त्यस्तो केही पनि छलफल भएको छैन । त्यस्तो केही पनि नेगोसिएसन भएको छैन । मैले यो कुरा इन्टरभ्युहरूमा भनिसकेकी छु । त्यस्तो नेगोसिएसन भन्दा पनि त्यो हुन्छ होला बिस्तारै । तर म आफैँमा पनि एउटा अर्को क्षेत्रको पर्सनालिटी त हो नि । त्यो कारणले पनि एक हिसाबले पब्लिक, दर्शक स्रोतसँग त जोडिएको छु ।  अहिले स्थानीय चुनावको माहौल छ यसमा मैले पार्टीलाई एउटा सदस्यको रूपमा सहयोग गर्ने हो । जस्तो– म ललितपुरमा बस्छु, मैले यहाँ मद्दत गर्न सक्छु । अन्य ठाउँमा पनि उहाँहरूलाई सहयोग हुन्छ भन्ने लागेको ठाउँमा उहाँहरूले बोलाउँदाखेरि मैले उहाँहरूलाई सहयोग गरिराखेकी छु ।

केही काम गर्छु भन्ने मान्छेलाई एउटा ठुलो पार्टी चाहिँदो रहेछ भनेर तपाईंले सार्वजनिकरुपमा भनि पनि रहनुभएको छ । यसका लागि तपाईंलाई पद पनि त आवश्यक पर्ला नि त ?

आवश्यक पर्छ । जब म एउटा पार्टीमा जोडिएँ, तर यहाँनेर मैले आफ्नो नामका बारेमा जवाफ दिइरहनुपर्‍यो । अर्थात कामको, पदको बारेमा जवाफ दिइरहनुपर्‍यो भने त्यसमा मेरो ऊर्जा खर्च भइरहेको जस्तो मलाई लागिरहेको छ, जुन हुनुपर्दैनथ्यो । यसमा सवाल पनि हुनुपर्दैनथ्यो जस्तो मलाई लाग्छ । किनभने, म यहाँ काम गर्छु भनेर राजनीतिसँग आबद्ध भइसकेपछि मैले गर्न चाहेको के, मेरो पदको आकांक्षा वा गर्न सक्ने काम के हो भन्नेतिर चाहिँ प्रश्न तेर्सिनुपर्थ्यो जस्तो लाग्छ मलाई । तर, मेरो समयचाहिँ अहिले नामका बारेमा स्पष्टीकरण दिन, पदका बारेमा स्पष्टीकरण दिनलाई खेर गइराखेको छ । मेरो योगदान कुन प्रकारको हुनुपर्छ भन्नेबारेमा चाहिँ प्रश्न हुनुन्थ्यो जस्तो लाग्छ ।

तपाईंलाई यो स्थानीय चुनावमा मेयर या उपमेयरमा जान पाए हुन्थ्यो जस्तो लागेको छैन ?

त्यस्तो केही पनि छैन । यो आफैँमा मेयर उपमेयर भनेको तीन तहको सरकारमा केन्द्र भन्दा पनि मुख्यजस्तो लाग्छ । किनभने यहाँ धेरै जिम्मेवारीहरू हुन्छन् । यसमा अधिकार पनि पर्याप्त छ, यसले गर्दा जिम्मेवारी पनि त्यस्तै छ । त्यसले गर्दा यो सहज काम होइन । मेयर भनेको एउटा ठुलो काम हो । त्यो हिसाबले मैले आफूलाई त्यो दृष्टिकोण राखेर अगाडि बढाएकै होइन राजनीतिमा ।

मैले यहाँ आबद्ध हुन्छु, केही सिक्छु, केही थाहा पाउँछु भनेर लागेकी हुँ । कहाँ अप्ठ्यारो छ, कहाँ सजिलो छ, कहाँ सच्याउनुपर्ने छ, यहाँ बसेर मैले धेरै कुराहरू सिक्न सक्छु । त्यसकारण म यो रूपमा (मेयर उपमेयरमा) असाध्यै तयार छैन । पार्टीका हरेक कमिटीमा धेरै पहिलादेखिका नेताहरू हुनुहुन्छ, उहाँहरूले नै पहिला मौका खोज्नुहुन्छ । म आएर ठक्क यो फलानो ठाउँमा चुनावमा उठ्ने भन्ने हुन्छ जस्तो लाग्दैन । तर, पार्टीले ल तिमीले गर्नुपर्छ है भन्यो भने चाहिँ म पछाडि सर्दिनँ । म तयार भएरै आएको हो ।

तपाईंले अर्कै क्षेत्रमा लामो अनुभव हासिल गरिसक्नुभएको छ........

त्यो पनि मुलुककै लागि गरेको हो । यहाँनेर हामीले नबुझेको कुरा के छ भने उ त अर्कै क्षेत्रको मानिस हो, उसलाई त केही पनि आउँदैन । तर, त्यो क्षेत्रको योगदान पनि मुलुककै लागि गरेको हो मैले । हरेक नागरिकले गर्ने त त्यही हो नि । त्यो क्षेत्रमा उसले योगदान गरिरहेको हुन्छ र परिपक्व हुन्छ । अब राजनीतिमा आउँदा चाहिँ यहाँको केही टिपिकल शब्दमा राजनीतिक खेलहरू नआउला । तर, मुलुकलाई चाहिने चिज, यो भइदिएको भए हुन्थ्यो भन्ने कुरासँग त म सचेत छु नि ।

तपाईं अहिले एमालेमा प्रवेश पनि गर्नुभयो । केही काम गर्नका लागि पद पनि चाहिन्छ । विना पद म राजनीति बुझ्छु मात्रै भन्ने हो भने तपाईं अन्य क्षेत्रमा बसेर पनि त राजनीति बुझ्न सक्नुहुन्थ्यो नि । यत्तिकै लागि त किन पार्टी प्रवेश गरिराख्नुपर्थ्यो त ?

त्यही त मैले भनेकी पनि छु, म आकाङ्क्षी छु कुनै पदका लागि । जिम्मेवारी छैन भने तपाईं मोटिभेडेड नै हुन सक्नुहुन्न । जिम्मेवारी छैन भने तपाईंमाथि कुनै प्रेसर नै हुँदैन । नत्र किन काम गरिराख्ने ? म कुन अथोरिटीले बोलिराख्ने ? त्यसो हुनाले मेरा अगुवाहरू, जसले पार्टीलाई संरक्षण गर्नुभएको छ, उहाँहरूले हाम्रो फेमिलीमा एउटा मेम्बर आएको छ भनिसकेपछि त्यो मेम्बरलाई कुन स्थान दिने भन्ने त उहाँहरूको कुरा भयो । मैले जबरजस्ती गर्ने कुरा हुँदैन । जस्तै– मेरो घरमा परिवारको कोही नयाँ सदस्य थपियो भने उसलाई के स्पेस दिने त भन्ने अगुवाले, मूलीले सोच्नुपर्छ भन्ने लाग्छ ।

भनेपछि तपाईंलाई के जिम्मेवारी दिने, पार्टीले सोच्नुपर्‍यो ?

किनभने हरेक मान्छेमा एउटा खुबी हुन्छ । हरेक मानिसमा फरक क्षमता हुन्छ । पार्टीको नेतृत्वले यसको क्वालिटी के हो ? यसलाई के काम दिने भन्ने त थाहा पाउनुपर्‍यो ।

तपाईंलाई पार्टीले काम काम दियो भने गर्न सक्छु भन्ने लाग्छ ?

एउटा त म चलचित्र क्षेत्रको मानिस हुँ । त्यो विषयमा म केही न केही बोल्छु होला । केही न केही गर्छु होला । अर्को, महिला, बालबालिका र शिक्षा मेरो धेरै लगाव भएको क्षेत्र हो । एग्रिकल्चर पनि हो अर्को । किनभने रुरल डेभलपमेन्टको कुरा गर्छौँ हामी । विकासको कुरा गर्छौँ । उत्थान गर्नुपर्ने यी दुई–चारवटा कुरा हुन् भन्ने मलाई लाग्छ । शिक्षा, महिला बालबालिकाको क्षेत्रमा मलाई चासो छ विशेष गरी ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप