शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेलम्चीको उद्घाटन : जेठसम्म काठमाडौंँमा पानी आउने, त्यसपछि फेरि ४ महिना बन्द

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र कर्मचारीबाट गरी ९ पटक उद्घाटन
मङ्गलबार, २९ चैत २०७८, १८ : ०९
मङ्गलबार, २९ चैत २०७८

खानेपानी मन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानी आयोजनास्थल अम्बाथान पुगेका छन् । उनले मंगलबार आयोजनाको सुरुङमा पानी पठाएर उद्घाटन गरेका हुन् । यो मेलम्ची खानेपानी आयोजनामा भएको नवौं उद्घाटन हो । मन्त्रीले उद्घाटन गरेसँगै सुरुङभित्र प्रतिसेकेण्ड २ सय ६५ लिटर पानी जाने गरी पठान्तरको काम सुरु भएको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले रातोपाटीलाई जानकारी दिए । 

गत असारमा भारी वर्षाका कारण बाढी र पहिरोबाट क्षति पुगेको आयोजना स्थलको मर्मतपछि काठमाडौं आउने सुरुङमा फेरि पानी पठाइएको हो । मन्त्री चौधरीले सुरुङमा पानी पठाए पनि कहिलेदेखि काठमाडाैंमा पानी वितरण हुन्छ भन्ने निश्चित नभएको खानेपानी मन्त्रालयका पदाधिकारी बताउछन् । मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले मेलम्चीको पानी कहिलेसम्म काठमाडौंमा आइपुग्छ, कहिलेदेखि वितरणको काम हुन्छ त्यसबारे आयोजनाले जानकारी नगराएको बताए । 

रातोपाटीसँग कुरा गर्दै उनले भने–‘सुरुङमा समस्या आयो भने ढिलो हुन सक्छ, समस्या आएन भने छिटो हुन पनि सक्छ । यो प्राविधिक कुरा प¥यो । अब पानी पठाउन सकिन्छ भनेर सामान्य रुपमा हामीलाई बिफ्रिङ भएको हो । प्राविधिक रुपले भोली स्मुथली पानी आउनपनि सक्छ, समस्या आउनपनि सक्छ । प्राविधिक काममा ठ्याक्कै यसो हुन्छ भन्न सकिँदैन । अब सुरुङमा पानी पठाउन सकिन्छ, पठाएर हेरौं भनेर आयोजनाका पदाधिकारीले भन्नुभएको थियो । यो दिनदेखि काठमाडौंमा पानी वितरण गर्न सकिन्छ भनेर उहाँहरुले कार्ययोजना दिनुभएको छैन् ।’

गत असार २ गते मेलम्चीको माथिल्लो भागदेखि आएको बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनको मुख्य स्थल हेडवक्र्समा क्षति पुग्नुका साथै बालुवा, ढुङ्गा, लेदो माटोयुक्त ग्रेथ्यानले आयोजना स्थल पुरेको थियो । आयोजनास्थलमा थुप्रिएको ग्रेग्यान हटाउनका लागि ३६ करोड बजेट छुट्ट्याइएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले रातोपाटीलाई जानकारी दिए । आयोजना स्थलसम्म पुग्ने अस्थायी बाटो बनाएर ३ महिना लगाई थुप्रिएको ग्रेग्यान हटाउने काम भएको थियो । अर्थमन्त्री जनार्दन शर्माले चैत मसान्तभित्र काठमाडौंमा पानी ल्याउनेगरी काम गर्न बजेट विनियोजन गरेका थिए । सरकारले लिएको लक्ष्यभन्दा केही ढिलोगरी पानी पठान्तरको काम भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । 

काठमाडौंँमा डेढ महिना पानी ल्याउन मन्त्री चौधरी मेलम्चीमा 
मंगलबार मन्त्री चौधरीले सुरुङमा पानी पठाउने कामको उद्घाटन गरेपनि आगामी जेठदेखि फेरी पानी पठाउन बन्द गर्ने तयारी रहेको छ । अहिले अस्थायी रुपमा मात्र पानी हालिएको र वर्षा सुरु भएपछि ४ महिना पानी पठाउन बन्द गरिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । 

अहिले प्रतिसेकेण्ड २ सय ६५ लिटर पानी सुरुङमा पठाएको पानी काठमाडौंको सुन्दरीजल आइपुग्न १५ दिन लाग्ने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर कुँवरले जानकारी दिए । काठमाडौंँमा पानी आइपुगेको २ दिनपछि पानी वितरणका लागि तयार हुने उनले बताए । त्यसपछि पानी कसरी र कहिलेदेखि बितरण गर्ने भन्ने काम काठमाडौं उपत्यका खानेपानी लिमिटेडको भएको उनले बताए । आज सुरुङमा पठाइएको पानी वैशाख १४ गते काठमाडौं आइपुग्ने छ । वैशाख १६ गतेसम्म सुन्दरीजल प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पुग्ने छ । काठमाडौंँमा यसरी पानी आइपुगेको झन्डै ४० दिनपछि फेरी मेलम्चीको सुरुङमा पानी पठाउन बन्द गरिने योजना रहेको छ । आगामी जेठ २५ गतेदेखि सुरुङमा पानी पठाउन बन्द गर्ने मेलम्ची खानेपानी आयोजनाको भनाइ छ । 

खोलामा धमिलो पानी आउन थालेदेखि नै सुरुङमा पानी पठाउन बन्द गर्नुपर्ने आयोजनाका प्रवक्ता पन्तले बताए । उनले भने–‘खोलामा धमिलो पानी आउन थालेदेखिनै सुरुङमा पानी पठाउन बन्द गर्नुपर्ने हुन्छ । धमिलो पानी पठाउँदा बालुवा, लेदोले सुरुङमा समस्या पार्न सक्छ । सफा पानी बगुञ्जेलसम्म मात्र सुरुङम पानी पठाइनेछ ।’ मौसमको अवस्था अनुसार जेठ २५ अघि नै वा वर्षात सुरु हुने एकसाता अघिदेखि मौसमविद्को सुझावमा सुरुङमा पानी पठाउन बन्द गरिनेछ । असारदेखि झन्डै ४ महिना सुरुङमा पानी पठाउन बन्द गरिने कुँवरले जानकारी दिए । तर आयोजना स्थलमा गर्नुपर्ने भौतिक पूर्वाधार निर्माणको काम भने जारी रहने उनले बताए । 

२०७७ चैत १५ गतेदेखि काठमाडौं उपत्यकाको चक्रपथभित्रका क्षेत्रमा परीक्षणका रूपमा मेलम्चीको पानी वितरण थालिएको थियो । सुरुमा दैनिक ४ करोड लिटर पानी ल्याइएकामा त्यसलाई बढाउँदै दैनिक ८ करोड लिटरसम्म वितरण गरिएको थियो । 

मेलम्ची खानेपानी आयोजनाको कहिले–कहिले कस्ले गरे उद्घाटन  
१)२०७४ साल चैत २९ गते मेलम्ची खानेपानी आयोजना सुरुङ ब्रेक थ्रुको उपराष्ट्रपति नन्दबहादुर पुनले सुरुङभित्रै उद्घाटन गरेका थिए । 
२) २०७६ चैत ३ गते खानेपानी मन्त्री बिना मगरले पहिलोपटक सुरुङमा पानी पठाएर परिक्षण कार्यक्रमको उद्घाटन गरेकी थिइन् । 
३) २०७७ असार २१ गते सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्विच थिचेर मेलम्ची सुरुङमा पानी परिक्षणका पठाई उद्घाटन गरेका थिए । विना पूर्व तयारी र आवश्यक सावधानी नअपनाउँदा २०७७ असार ३० गते सुरुङको ढोका फुटेर उत्पन्न भएको बाढीमा परि आयोजनाका काम गर्ने २ कर्मचारीले ज्यान गुमाएका थिए । 
४) २०७७ फागुन १० गते तत्कालीन खानेपानी मन्त्री मणि थापा, सहरी विकास मन्त्री रामवीर मानन्धर, सांसद शेरबहादुर तामाङ लगायतले एकैसाथ स्विच थिचेर मेलम्चीको सुरुङमा पानी पठाई उद्घाटन गरेका थिए ।  
५) २०७७ फागुन २२ गते काठमाडौंको सुन्दरीजलमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलबाट स्विच थिचेर मेलम्चीबाट काठमाडौं आइपुगेको पानीको उद्घाटन गरेका थिए । 
६) २०७७ चैत १५ गते केयुकेएल चावहिल महाङ्काल शाखाले सुरुङबाट ट्याङ्कीमा जम्मा भएको पानी बितरण प्रणालीमा पठाउन ट्याङ्कीको भल्भ खोलेर उद्घाटन भएको थियो । केयूकेयलका कार्यकारी निर्देशक मिलन कुमार शाक्य, काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा, महाङ्काल चौर शाखा प्रमुख उमेश मरहट्टा र खानेपानी सञ्चालन विभाग प्रमुख सतिश दत्तले एकसाथ उद्घाटन गरेका थिए । 
७) २०७७ चैत २० गते काठमाडौंंको भृकुटीमण्डपमा भव्य कार्यक्रमबीच राष्ट्रपति बिद्या भण्डारीले मेलम्ची खानेपानी वितरणको उद्घाटन गरेकी थिइन् । 
८) २०८८ चैत १९ गते खानेपानी मन्त्री उमाकान्त चौधरीले बाढीले क्षति पु¥याएको संरचना मर्मतपछि मेलम्चीको डाइभर्सन सुरुङमा पानी पठाउन शुभारम्भ गरेका थिए ।
९) र २०७८ चैत २९ गते खानेपानी मन्त्री उमाकान्त चौधरीले सुरुङमा परिक्षणका लागि पानी पठाई उद्घाटन गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप