बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको गृहजिल्ला चितवनमा कस्तो छ माओवादी केन्द्रको प्रभाव ?

बुधबार, ३० चैत २०७८, ०८ : ४४
बुधबार, ३० चैत २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला चितवन पछिल्लो समय राजनीतिको एउटा केन्द्र नै बनेको छ । केही अघि नेकपा एमालेले चितवनमै महाधिवेशन आयोजना गरी आफ्नो शक्ति प्रदर्शन गरेको थियो भने नेपाली काँग्रेसले पनि यो जिल्लालाई निकै महत्त्वका साथ लिने गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र, प्रचण्डकै छोरी रेणु दाहालले भरतपुर महानगरपालिकाको नेतृत्व गरेको कारण पनि माओवादी केन्द्रका लागि चितवन खास महत्त्वको जिल्ला हो । मुलुक स्थानीय तहको निर्वाचन तयारीमा जुटेको छ भने राजनीतिक दलहरु चुनाव केन्द्रित गतिविधिमा व्यस्त देखिएका छन् ।

यसै सन्दर्भमा चितवनमा नेकपा माओवादी केन्द्रको प्रभाव कस्तो छ भन्नेबारे आम चासो बढ्नु स्वाभाविक नै हो । २०६४ सालको निर्वाचनमा चितवनमा माओवादी बलियो शक्तिको रुपमा उदाएको थियो । उक्त निर्वाचनमा माओवादी केन्द्रले चितवनका ३ वटा निर्वाचन क्षेत्रमा चुनाव जितेको थियो भने एउटा क्षेत्रमा एमाले र एउटा क्षेत्रमा संयुक्त जनमोर्चाले चुनाव जितेको थियो । सो निर्वाचनमा चितवनको क्षेत्र नम्बर १ बाट एमालेका लालमणि चौधरीले निर्वाचन जितेका थिए । उनले १७ हजार ९७१ मत पाएका थिए ।

निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका रामबहादुर थापा ‘बादल’  २१ हजार ४०९ मतसहित विजयी भएका थिए । निर्वाचन क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका नारायण दाहालले १७ हजार ८०४ मतका साथ जित हासिल गरेका थिए । क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका चित्रबहादुर श्रेष्ठ २३ हजार ९४२ मतसहित विजयी हुँदा क्षेत्र नम्बर ५ बाट तत्कालीन संयुक्त जनमोर्चाका अमिक शेरचनले १४ हजार ३९७ मतका साथ जित हासिल गरे ।

दोस्रो संविधानसभा निर्वाचनमा पराजित

२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा भने माओवादीले अप्रत्याशित परिणाम हासिल गर्‍यो । चितवनबाट माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भए ।

क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका उम्मेदवार यम बहादुर परियार नेकपा एमालेका सुरेन्द्र पाण्डेसँग पराजित भए । क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार विश्वभक्त दुलाल ‘आहुति’ पराजित भए भने क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाल पनि पराजित भए ।

यता क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका खुशीराम पाख्रिन पनि पराजित भए । क्षेत्र नम्बर ५ मा पनि माओवादी केन्द्रका उम्मेदवार अमिक शेरचन पराजित भए ।

२०६४ मा चितवनका तीन वटा क्षेत्रमा निर्वाचित भएको माओवादी केन्द्र २०७० सम्म आइपुग्दा शून्यको अवस्थामा पुग्यो ।

स्थानीय तहमा एक महानगरपालिका, एक नगरपालिका

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा चितवनबाट माओवादी केन्द्रले एक महानगरपालिका, एक नगरपालिकासहित केही वडामा जित हासिल गरेको थियो । चितवनका ७ स्थानीय तहमध्ये माओवादी केन्द्रले भरतपुर महानगरपालिका काँग्रेससँग गठबन्धन गरेको थियो र मेयरमा जितसमेत हासिल गर्‍यो । महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल ४३ हजार १२७ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । उपमेयरमा काँग्रेसबाट पार्वती शाह ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन् भने एमालेकी दिव्य शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन् ।

भरतपुर महानगरका २७ वटा वडामध्ये माओवादी केन्द्रले ३ वटा वडामा मात्रै जित हासिल गरेको थियो ।

त्यस अतिरिक्त माओवादी केन्द्रले चितवनको माडी नगरपालिकाको मेयरमा पनि जित हासिल गरेको थियो । माडी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका ठाकुर प्रसाद ढकालले ३ हजार ७३ मतसहित जित हासिल गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका खेमप्रसाद महतोले ३ हजार ८२९ मत हासिल गरे ।

९ वटा वडा रहेको सो पालिकामा काँग्रेसले वडा नम्वर १ को नेतृत्व पायो भने माओवादी केन्द्रले ३ वटा वडा (२, ४ र ५) को नेतृत्व गर्‍यो । यस्तै, एमालेले ५ वटा (३, ६, ७, ८ र ९) नम्बर वडाको अध्यक्ष पदमा जित हासिल गरेको थियो ।

अन्य ५ पालिकाको हकमा माओवादी केन्द्रले जम्मा एउटा वडाबाहेक कतै जित हासिल गर्न सकेन । माओवादी केन्द्रले चितवनको इच्छाकामना गाउँपालिकाको वडा नम्बर ३ मा वडा अध्यक्ष पदमा जित हात पारेको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभातर्फ 

२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रले एमालेसँग गठबन्धन गरेको थियो । गठबन्धन हुँदा पनि चितवनमा नेकपा माओवादीको स्थान दोस्रोमा सीमित भयो । चितवनमा पहिलो शक्तिको रुपमा एमाले स्थापित हुँदा एमालेसँगै गठबन्धन गरेको माओवादी केन्द्र दोस्रो र काँग्रेस तेस्रो बन्यो ।

प्रतिनिधिसभातर्फ एमाले–माओवादी गठबन्धनले चितवनका ३ वटै क्षेत्रमा जित हासिल गर्‍यो । गठबन्धन अन्तर्गत माओवादी केन्द्रले तीनमध्ये एउटा क्षेत्र लिएर अन्य २ क्षेत्र एमालेलाई छोडेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनको ३ नम्बर क्षेत्र लिएर १ र २ मा एमालेका सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेललाई माओवादी केन्द्रले सघाएको थियो । क्षेत्र नम्बर ३ को निर्वाचनमा ‘प्रचण्ड’ले ४८ हजार २७६ मतसहित जित हासिल गर्दा काँग्रेस–राप्रपा गठबन्धनका उम्मेदवार विक्रम पाण्डे ३८ हजार ९३५ मतसहित पराजित भए ।

यता प्रदेशसभातर्फको ६ वटा निर्वाचन क्षेत्रमै एमाले–माओवादी केन्द्र गठबन्धनले जित हासिल गर्‍यो । जसमध्ये माओवादी केन्द्रले दुई प्रदेशसभा क्षेत्र र एमालेले चार प्रदेशसभा क्षेत्रमा जित हासिल गरेको थियो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (क) र (ख) दुबैमा एमालेले जित हासिल गरेको थियो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को प्रदेशसभा क्षेत्र नम्बर (क) बाट भने माओवादी केन्द्र र प्रदेशसभा क्षेत्र (ख) बाट एमालेका उम्मेदवार विजयी भए ।

यता प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेशसभा क्षेत्र नम्बर (क) एमाले र प्रदेशसभा (ख) बाट माओवादी केन्द्रका उम्मेदवार विजयी भए ।

यस्तो छ माओवादी केन्द्रको वर्तमान अवस्था

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृहजिल्ला भए पनि चितवनमा पछिल्लो समय माओवादी केन्द्रलाई धक्का लागेको छ । माओवादी केन्द्रमा प्रभावशाली मानिएका रामबहादुर थापा ‘बादल’ हाल नेकपा एमालेमा छन् । उनी एमालेमा गएसँगै माओवादी केन्द्रका केही कार्यकर्ता पनि उनको साथमा एमालेमै सामेल भएका छन् ।

संगठन सुधारका लागि प्रयास भइरहेको माओवादी केन्द्र चितवनले जनाएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकाल पछिल्लो समय चितवनमा माओवादी केन्द्रको अवस्था सुधारोन्मुख रहेको दाबी गर्छन् ।

स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच तालमेल हुने भएसँगै चितवनमा माओवादी केन्द्रले आफ्नो उपस्थिति थप बलियो बनाउन सक्ने आँकलन गरिएको छ । यद्यपि, नेपाली काँग्रेसले भरतपुर महानगरपालिकाको मेयरमै दाबी गरिरहेको छ । भरतपुर महानगरलाई माओवादी केन्द्रले पनि प्रतिष्ठाको विषय बनाएको छ । सो महानगरमा दलहरुबीच गठबन्धन बिना नै प्रतिस्पर्धा हुने हो भने माओवादी केन्द्रले जित हासिल गर्ने सो पार्टीका कार्यकर्ताको दाबी छ । तर काँग्रेसले पनि एक कार्यकाल महानगरको नेतृत्व माओवादी केन्द्रले गरेको भन्दै गठबन्धनको मर्म अनुसार अब सो महानगरमा आफूले नेतृत्व पाउनुपर्ने दाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप