मंगलबार, २४ माघ २०७९
ताजा लोकप्रिय

यसरी काटिएको थियो राजगुरुको टुप्पी

बुधबार, ३० चैत्र २०७८, ११ : १६
बुधबार, ३० चैत्र २०७८

कथा निकै पुरानो हो । एउटा कुनै देशमा हरिदास नामका एक धार्मिक स्वभावका राजा थिए । पूजापाठ तथा देवीदेवताको आराधना बढी रुचाउँथे । दरवार परिसरमा भगवान् विष्णुको मन्दिर बनाउन लगाएका थिए, जहाँ नित्य पूजा तथा आरती हुन्थ्यो । यो काम रामदास नामका पुजारीले गर्दै आएका थिए । रामदास जति सिधा थिए त्यति नै राजाका प्रिय पनि ।

समय बित्दै गयो । रामदासले एक दिन साँझ आरती गरी फर्कने बेला मन्दिरको ढोका लगाउन बिर्सेछन् । यही मौका छोपी कसैले मन्दिरको मूर्ति चोरेर विपत्ता बनायो । उज्यालो हुनासाथ दरबारमा हल्लीखल्ली मच्चियो । सुरक्षाको कडा घेराभित्र बाहिरबाट कोही आउन सक्ने प्रश्नै थिएन । यसको अर्थ हुन्थ्यो चोर जो भए पनि दरबारभित्रकै हो तर कसले गर्‍यो प्रष्ट थिएन ।  

राजाले तत्कालै राजगुरु षडानन्दको अध्यक्षतामा छानबिन समिति गठन गरे । समितिले तोकिएकै समयमा प्रतिवेदन थियो, जसमा चोर पुजारी रामदासको नाम उल्लेख थियो । यद्यपि चोरी रामदासले गरेका थिएनन् । 

राजालाई रामदासले चोरेकोमा विश्वासै थिएन तर समितिले दोषी देखाएपछि स्वीकार्नुको विकल्प थिएन । त्यसैले उनलाई दिइने सजायबारे निर्णय गर्न राजसभा बोलाए । सभामा व्यापक छलफल भयो । अन्त्यमा सात दिनभित्र भरपर्दो सफाइ पेश गर्न नसके टुप्पी काटेर दरबार निकाला गरिने निर्णय सुनाइयो । 

तत्कालीन समाजमा गुरुपुरोहित तथा पुजारीको टुप्पी त्यस्तो पहिचान थियो, जसलाई काट्नु कडा सजाय मानिन्थ्यो । कसैको टुप्पी काटियो भने उसले आफ्नो मात्र होइन बाबुबाजेकै इज्जत फालेको मानिन्थ्यो । बिचरा रामदासका अगाडि होइन भन्ने कुनै प्रमाण थिएन । यो कुरा कि उनलाई थाहा थियो कि भगवान्लाई । भगवान् त यसै पनि बोल्दैनथे । उनले भनेको पत्याउने कोही थिइनन् । त्यसैले चोरीको आरोपमा टुप्पी कटाएर बाबुबाजेको इज्जत फाल्नुभन्दा आत्महत्या गर्नु बेश भन्ने ठानेर घरबाट निस्के । 

जतिबेला उनी आत्महत्या गर्न कतै गहिरो कुवा खोज्दै थिए संयोगवश गाउँका चतुरे बाहुन (चतुर्भुज शर्मा) त्यतैबाट आउँदै रहेछन् । पुजारीको अवस्था देखेर उनलाई दया लाग्यो । नजिकै गएर हाल खबर सोधे । पुजारी पहिले त अनकनाए तर निकै कर गरेपछि आफ्नो दशा र व्यथा सबै सुनाए । त्यसपछि चतुरेले सम्झाउँदै भने–

‘आत्महत्या गर्नु कायरता हो । यसले तपाईँको निधारमा लागेको दाग मेटिन्न । उल्टै दोषी थियो र पो म¥यो भन्नेछन् । यसै पनि भागेर समस्या समाधान हुने होइन । सामाना गर्ने प्रयास गर्नुपर्छ । यही नै बुद्धिमानी हो ।’

त्यसपछि रामदासले लामो सास फेर्दै भने भने–

‘कुरा त हो शर्माजी ! तर के गरौँ । नखाएको बिषले ज्यादै पोल्दोरहेछ । मूर्ति चोर म होइन तर पत्याउने कसले । केही दिनमै मेरो टुप्पी काटिनेछ । त्यतिबेला कठैबरा भन्नेसम्म कोही हुने छैनन् । सबैले खाइस् र पाइस् भन्नेछन् । कुन मुख देखाएर बाँचौँ । समाज यही हो निहुँ मात्र चाहिने रहेछ ।’

‘यो त आधा मात्र सत्य हो ।’ चतुरेले थप सम्झाउँदै भने–

‘सिक्काको अर्को पाटो पनि हुन्छ, जसलाई हेर्न उसलाई उल्टानुपर्ने हुन्छ ।’

कुरो बुझ्न नसकेर रामदासले थप प्रष्ट्याउन आग्रह गरेकाले चतुरे केही पढाएर हिँडे । रामदास पनि आशावादी हुँदै घर फर्के ।

सात दिनपछि पुनः दरबार बस्यो । टुप्पी काट्ने नाउ पहिले नै खडा थियो । जब टुप्पी काटने बेला भयो तब राजाले पुजारीलाई सम्बोधन गर्दै भने–

‘रामदासजी ! तपाईँबाट यस्तो होला भन्ने ठानेको थिएन । बुद्धि बिगारी हाल्नुभयो, सजाय गर्न विवस छु । तथापि हालसम्म देखाउनुभएको इमान्दारीको कदर गर्दै अन्तिम मौका दिँदै छु । टुप्पी काट्ने बाहेक मनमा लागेको एउटा कुरा माग्न सक्नुहुन्छ ।’

त्यसपछि रामदासले विनम्रतापूर्वक भने–

‘महाराज ! चोरीको बारेमा केही भन्नु छैन । होइन भन्ने प्रमाण पनि छैन र पत्याउने पनि कोही छैनन् । त्यसैले दरवारको निर्णय शिरोधार्य छ । यदि मैले मागेको दिनुहुन्छ भने मेरोभन्दा पहिले राजगुरु षडानन्दको पनि टुप्पी काटियोस् भन्ने चाहन्छु ।’

चतुरेले उनलाई यही भन्न सिकाएका थिए । किनकि राजगुरुको गतिविधि पहिलेदेखि नै शङ्कास्पद थियो ।

नभन्दै रामदासको कुरा सुन्नासाथ राजगुरु रातोपीरो भए । अर्कोलार्ई फसाउन रचिएको प्रपञ्चको जालमा आफैँ परिने देखियो । त्यसैले कुरा बनाउन खोज्दै भने–

‘महाराज ! तत्कालका लागि निर्णय मुल्तवीमा राखियोस् ।’

राजगुरुको कुरा सुनेपछि राजाले आश्चर्य मान्दै भने–

‘कारण ?’

‘यही कि चोरी रामदासले गरेका होइनन् ।’

‘कसले गरेको हो त ?’

‘मैले नै कता लुकाउन लगाएको छु ।’

‘किन यस्तो धृष्टता गर्नुभयो ?’

त्यसपछि राजगुरुले बेलीविस्तार लगाउँदै भने–

‘दरवारमा मेरा निम्ति आफ्नोभन्दा रामदासले बढी भाउ पाउने गरेको पहिलेदेखि नै पचाउन सकेको थिइन । त्यसैले उनलाई महाराजको नजारमा गिराएर दरबारबाट बाहिर निकाल्ने निउँ खोज्दै थिएँ । यस्तैमा एक रात मन्दिरको ढोका खुलै रहेको पाएँ । मेरो लागि योभन्दा उपयुक्त मौका अर्को थिएन । त्यसैले त्यस्तो प्रतिवेदन दिनुभएको हुँ । मूर्ति चोरी भएको छैन दरबारमै सुरक्षित छ ।’

उनले सोचेका थिए रामदासको टुप्पी नकाटिएपछि आफ्नो पनि काटिने छैन । सके त माफी पाइएला नभए पनि अरू नै कुनै सजाय होला तर गल्ती गरेपछि सजाय भोग्नैपर्ने प्राकृतिक नियमबाट किन मुक्ति पाइन्थ्यो र । दरबारले रामदासलाई ससम्मान मुक्त गरी राजगुरुको टुप्पी काटेर दरबार निकाला गर्ने निर्णय ग¥यो ।

रामदास चतुरेको जयजयाकार गर्दै घरतिर लागे । राजगुरुले रामदासको सट्टा आफ्नो टुप्पी कटाएर बेइज्जतिपूर्वक दरबारबाट निस्कनुप¥यो । अरूलाई फसाउन खोज्दा आफैँ फस्न पुगे । देखासिकी गरी खा आहारिसे मरिजा भन्ने उखान किन पो खेर जान्थ्यो र ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप