शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एउटा तस्बिरले सामाजिक सञ्जालमा कुरीकुरी

कूटनीतिक मर्यादा विपरीत भयो : परराष्ट्रविद्, नेता भन्छन्, ‘फोन गरेर बोलाएपछि नजाने ?’
बुधबार, ३० चैत २०७८, १६ : ३०
बुधबार, ३० चैत २०७८

मंगलबार साँझ ६ बजे भारतीय दूतावास लौनचौरमा रात्रिभोजको आयोजना गरिएको थियो । सन्दर्भ थियो नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको बिदाइ । आफ्नो कार्यकाल सकेर नेपालबाट बिदा हुन लागेका उनले नेपालका प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, विभिन्न दलका नेता तथा सांसदलाई रात्रि भोज दिएका थिए ।  

सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव, श्रम तथा रोजगार मन्त्री किशन श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, कृषिमन्त्री महेन्द्र यादव, ऊर्जा मन्त्री पम्फा भुसाल लगायत मन्त्रीपरिषद्का सदस्य सहभागी थिए । 

भारतीय राजदूतको बिदाइ एवं रात्रिभोज कार्यक्रममा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, एमाले विदेश विभाग प्रमुख राजन भट्टराई, एमाले नेता सुरेन्द्र पाण्डे, सांसद शेरबहादुर तामाङ लगायत पुगेको थिए । काँग्रेसका नेताहरू विमलेन्द्र निधी, रामशरण महत लगायतका नेताहरू थिए । 

मधेशकेन्द्रीत दलबाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायत थुप्रै नेताहरू सहभागी रहेका थिए । यस्तै प्रधानसेनापति प्रभुराम शर्मा, मुख्य सचिव शंकरदास बैरागी, नेपाल सरकारका अधिकांश सचिवहरू सहभागी थिए । 

भारतीय राजदूतको बिदाइ कार्यक्रममा प्रधानमन्त्री सहित राज्यका उच्च पदस्थ कर्मचारी विदेशी दूतावासमा जानु कूटनीतिक मर्यादा विपरीत भएको परराष्ट्रविद्हरूले टिप्पणी गरेका छन् । दूतावासमा प्रधानमन्त्री सहितका पदाधिकारी सहभागी भएको तस्बिरहरू समेत यतिबेला सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका छन् । ती तस्बिरका साथ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कूटनीतिक मूल्य मान्यताको अवमूल्यन गरेको भन्दै विभिन्न प्रकारका टिप्पणी जनाएका छन् । 

सो बिदाइ कार्यक्रममा सहभागी एक उच्च पदस्थ पदाधिकारीले प्रधानमन्त्री देउवा सहित सिङ्गो मन्त्रीपरिषद्का सदस्य नै राजदूतको बिदाईका लागि दूतावास गएको देखेर आफू आश्चर्य चकित भएको टिप्पणी गरे । 

नाम उल्लेख नगर्ने सर्तमा रातोपाटीसँग कुरा गर्दै उनले भने–‘प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री प्रचण्ड, माधव कुमार नेपाल र सिङ्गो मन्त्रीमण्डल लाइन लागेर जान्छन् भन्ने मलाई लागेको थिएन । उहाँहरूलाई सबैलाई त्यहाँ देखेपछि त म चकित परेँ । उहाँहरू आउनुहुन्छ होला भनेर मैले त कल्पना नै गरेको थिइन् । त्यहाँ गएपछि त भव्य कार्यक्रममा गइएछ भन्ने लाग्यो किनभने प्रधानमन्त्रीदेखि लिएर पूर्व प्रधानमन्त्रीहरू त्यसमा पनि लगभग पुरै मन्त्रीमण्डल जस्तै थियो ।’

उनले अन्य दूतावासबाट पनि त्यसरी राजदूत बिदा हुन लागे भने प्रधानमन्त्री सहित पुरै मन्त्रीपरिषद् बिदाईका लागि जान्छन् कि जाँदैनन् भन्ने प्रश्न उठेको बताए । 

उनले भने–‘मानौँ आजभोलि नै तुरुन्तै अर्को देशको दूतावासले पनि यस्तै कार्यक्रमका लागि बोलायो भने हाम्रो प्रधानमन्त्री लगायत पुरै मन्त्रीमण्डल नै उत्रेर त्यहाँ पुग्न भ्याउनुहुन्छ कि भ्याउनुहुन्न ? त्यसरी जान सक्नुहुन्छ कि सक्नुहुन्न ? भन्ने प्रश्न उठेको छ ।’ 

सुवास नेम्वाङ भन्छन्–‘यसमा ‘हार्ड एण्ड फास्ट’ केही छैन, आलोचनाहरूलाई हार्दिकताका साथ लिन्छु’

हाम्रा छिमेकी देशका राजदूत बिदा भएर जाँदै हुनुहुँदो रहेछ । मलाई पनि निम्ता गरे । उहाँको बिदाइमा आइदिनुपर्‍यो भनेर मलाई निम्ता आएको रहेछ । त्यसैले म गएको हो । हाम्रो पार्टीबाट अध्यक्ष जाने कुरा थिएन, हाम्रो पार्टीको तर्फबाट कोही नहोलान् भनेर पनि म गएको हुँ । 

दूतावासमा दूतावासले गरेको कार्यक्रममा आउनुपर्‍यो भनेर बोलाएपछि तपाई के गर्नुहुन्छ ? कुरा चाहिँ यो हो । दूतावासले व्यक्तिगत रूपमा मलाई फोन गरेर बोलायो । उहाँ बिदाइ भएर जाँदै हुनुहुन्छ । त्यतिमात्रै हैन उहाँ बढुवा भएर सचिव पनि हुनुभयो । त्यो बिदाइ कार्यक्रममा आउनुपर्‍यो भनी मलाई फोन पनि गरे । त्यसकारण म स्वाभाविक मानेर गएँ । 

म यतिबेला कुनै जिम्मेवारीमा पनि छैन । यस्तो कार्यक्रममा जानै हुँदैन भन्ने मान्यता भयो भने भोलिका दिनमा नजाऔँला । यसमा ‘हार्ड एण्ड फास्ट’ केही छैन । म दूतावासको कार्यक्रममा सहभागी भएको विषयमा आएका सबै आलोचनाहरूलाई हार्दिकताका साथ लिन्छु । यसमा मेरो कुनै पनि टिप्पणी छैन । 

राजदूत बिदाइ गर्न प्रधानमन्त्री दूतावास धाउनु कूटनीतिक मर्यादा विपरीत : परराष्ट्रविद् 

विभिन्न देशमा नेपालको प्रतिनिधित्व गर्दै गएका पूर्व नेपाली राजदूतहरूले राजदूतको बिदाइमा प्रधानमन्त्री र मन्त्री सहभागी हुने टाढाको विषय भएको प्रतिक्रिया दिएका छन् । कतिपय नेपाली राजदूतहरूले सम्बन्धित देशको परराष्ट्र मन्त्रीलाई समेत भेट्न नसकिएको बताएका छन् । के भन्दछन् त परराष्ट्रविद्हरू : 

डा. निरञ्जन बस्न्यात, मलेसियाका लागि पूर्व राजदूत

म मलेसियाको राजदूत हुँदा त्यहाँका कूटनीतिक विभागका कर्मचारी विमानस्थलमा स्वागत गर्न आएका थिए । विदाईका बेला मन्त्री, प्रधानमन्त्रीले बिदाइ गर्ने कुरा हुँदैन । त्यहाँ मैले परराष्ट्र सचिवसम्म भेटेँ । मेरो बिदाइ हुने बेला एयरपोर्टमा परराष्ट्र विभागका उपप्रमुख अधिकृत तहका कर्मचारी आएका थिए । 

कुनै देशको राजदूत आउँदा परराष्ट्र मन्त्रालयको ‘डेपुटी चिफ अफ प्रोटोकल’ले स्वागत गर्न जान्छ । पहिले हाम्रो यही चलन थियो । बिदाइका लागि ‘डेपुटी चिफ अफ प्रोटोकल’ पनि जाँदैन । 

भारतीय राजदूतावासमा प्रधानमन्त्री सहित गएको फोटो सामाजिक सञ्जालमा देखेर म पनि चकित परेँ । पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदा पनि म ‘प्रोटोकल’ मै थिएँ । पटक पटक भारतीय राजदूतले बोलाउँदा उहाँ कहिले पनि जानुभएन् । डिनर कार्यक्रममा बोलाएको थियो, उनीहरूको गणतन्त्र दिवसको अवसरमा बोलाएको थियो । गणतन्त्र दिवसको कार्यक्रममा पनि विरलै जानुहुन्थ्यो । राजदूतको बिदाइमा जानुभएको थिएन । 

यस्तो कूटनीतिक अभ्यासले देश कति कमजोर अवस्थामा छ भन्ने देखाउँछ । यो विषयले कूटनीतिक अभ्यासमा हामी कमजोर छौँ भन्ने कुरालाई प्रष्ट पारेको छ । मेरो अनुभवमा मलेसियामा कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग भेटघाट, बिदाइ जस्ता कुरामा एकदमै कडाइ थियो । राजदूतहरूले परराष्ट्रमन्त्रीको समय माग्दा कहिले पनि पाउँदैनथे । अमेरिका, रुस जस्ता शक्तिशाली देशको राजदूत छ भने उसले परराष्ट्र मन्त्री सम्मलाई भेट्न  समय पाउँछ । भारतको राजदूत समेतले मलेसियाको परराष्ट्र मन्त्रीको समय पाउन गाह्रो पर्छ । समकक्षी रहेका परराष्ट्र सचिव वा चिफ अफ प्रोटोकलसम्म भेट्न सकिन्छ तर त्यो भन्दा माथिको पदाधिकारीलाई भेट्न गाह्रो पर्छ । कि ठूलै आपत्कालीन स्थिति हो भने मन्त्रीले राजदूतलाई भेट दिन्छन्, अन्यथा भेट दिँदैनन् । 

हामीले अहिलेसम्म राज्यले कसरी कूटनीतिक मर्यादाको अभ्यास गर्ने जानेनौँ । प्रधानमन्त्रीले नै जथाभाबी कूटनीतिक अभ्यास गरिदिएपछि अरूले केही भन्न सक्ने अवस्था पनि हुँदैन । 

यो हुँदै  नहुने पनि हैन र स्वाभाविक अभ्यास पनि हैन : दुर्गा प्रसाद भट्टराई, संयुक्त राष्ट्रसंघ, बोलिभिया, इक्वेडर, पेरु र भेनेजुयलाका लागि पूर्व नेपाली राजदूत 

मेरो निजी अनुभवमा उपप्रधानमन्त्रीसम्म आएको चाहिँ थाहा छ । दक्षिण एसियाका देशका राष्ट्रपति नै बिदाइ गर्न गएको पनि देखेको छु । मेरो बिचारमा यो हुँदै  नहुने अभ्यास पनि होइन र स्वाभाविक अभ्यास पनि हैन । 

सरकारले बनाएको परराष्ट्र मामिला सम्बन्धी आचार संहितामा के व्यवस्था छ त्यही अनुसार व्यवहार हुन आवश्यक छ । देश, काल, परिस्थिति अनुसार कूटनीतिक प्रोटोकलको अभ्यास हुने गर्दछ । सरकारले बनाएको कूटनीतिक संहिता अनुसार भयो कि भएन त्यो मुख्य कुरा हो । अहिले भएको भएको अभ्यास हुँदै नभएको हैन तर यो स्वाभाविक हैन । 

प्रधानमन्त्रीदेखि सबै लावालस्कर लागेर दूतावास जानु शोभनीय देखिएन : हिरण्यलाल श्रेष्ठ, पूर्व राजदूत, पूर्वराजदूत एवं परराष्ट्रविद्  

विनयमोहन क्वात्रा परराष्ट्र सचिवमा बढुवा हुँदैछन् । हुनेवाला भारतका परराष्ट्र सचिवसँग नेताहरूले भेट्दा दुई देशको सम्बन्ध बलियो बनाउन सहज हुन्छ । अहिले राजदूतको रूपमा बिदाइ भन्दा पनि विदेश सचिव पद सम्हाल्न लागेको सन्दर्भमा शुभकामना दिनु नराम्रो हैन । तर दूतावासमा प्रधानमन्त्री नै गएर शुभकामना दिनु चाहिँ अन्र्तराष्ट्रिय अभ्यास हुँदैन । बरु कुनै दुई देशको मैत्री सम्बन्धी कार्यक्रम राखेर त्यसमा प्रधानमन्त्री सहभागी भएको कूटनीतिक मर्यादा विपरीत हुँदैनथ्यो । 

क्वात्रा पहिलो पनि नेपाल बसेको र अहिले राजदूतका रूपमा रहेकोले उनीसँगको नेपालको राम्रो सम्बन्ध रहेकोमा दुई मत छैन । नेपालीहरूको सेन्टिमेन्ट के छ त्यसबारे उनलाई थाहा छ । नेपाल भारतको सिमानाको समस्या के छ ? सन् १९५० को भारतसँगको असमान मैत्री सन्धि, बुझिलिनुपर्ने इपिजीको प्रतिवेदन लगायतको संवेदनशीलता बुझेर भारत गएपछि उनले त्यसलाई सम्बोधन गरुन् भन्ने सोच्नु सान्दर्भिक होला । 

तर दुई देशको मैत्री सम्बन्ध कार्यक्रम राखेर भेटेको भए हुन्थ्यो त्यसरी प्रधानमन्त्रीदेखि मन्त्री सबै लावालस्कर लागेर दूतावास जानु शोभनीय देखिएन । यो कामले भोलि अरू कुनै देशको राजदूत नेपालबाट बिदाइ हुँदा प्रधानमन्त्री समेत गएर बिदाइ गर्ने बाटो खुल्यो । 

राजदूतको बिदाईका लागि देशको प्रधानमन्त्री नै कुनै अर्को देशको दूतावासमा गएको मेरो अनुभवमा छैन । यस्तो पाएको छैन । 

भारतीय राजदूत क्वात्राले नेपालको भावना बुझेका छन् । हुनेवाला परराष्ट्र सचिव भएकोले नेपाल र भारतको महत्त्वपूर्ण समस्या सुल्झाउनका लागि लागि सहज होस, त्यसका लागि भूमिका खेलून् भन्ने कामना चाहिँ गर्नुपर्छ । 

प्रचण्डको सचिवालयले भन्यो : प्रधानमन्त्री गएको ठाउँमा सहभागी भएको मात्रै हो  

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पटक पटक निम्तो गरेपछि सहभागी भएको जनाएको छ । प्रधानमन्त्री देउवापनि कार्यक्रममा सहभागी हुने भएपछि अध्यक्ष प्रचण्ड पनि सहभागी भएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

रातोपाटीसँग उनले भने–‘भारतीय राजदूत विदेश सचिव भएर जाँदै हुनुहुँदो रहेछ । उहाँले प्रधानमन्त्रीलाई पनि निम्तो गर्नुभएको रहेछ । पूर्व प्रधानमन्त्रीहरूलाई पनि भारत जाँदैछु, म जाने बेला साँझको बेला खाना खाने गरी बोलाउँछु, आइदिनुपर्यो भनेर बोलाउनु भएको रहेछ । प्रधानमन्त्री कहाँ, अध्यक्ष प्रचण्डकहाँ पनि दुई तिन पटक निम्तो आएको आई भएछ । अघिल्लो दिन पनि आएर भोलि जसरी पनि आइदिनुपर्यो भोलि पर्सी नै जाँदैछु भन्नुभयो । 

हिजो बालुवाटारमै गठबन्धनको बैठक पनि थियो । बैठक सकेर प्रधानमन्त्रीले पनि निम्तो आएको छ एकछिन पुग्दिनुपर्यो भन्नुभएछ । औपचारिक कार्यक्रम हैन एकछिन पुगिदिएर के हुन्छ र भन्नुभएपछि अरू पनि त्यहीँबाटै सँगै जानुभएको हो ।’

उनले अगाडि भने–‘राजदूतले म जाँदैछु, एकछिन साँझको खाना सँगै खाऊँ भनेपछि सहभागी भएको हो । कूटनीतिक मर्यादाको कुरा गर्ने हो भने उहाँले पनि बोलाउँदै हुँदैनथ्यो । घर घरमा गएर बोलाएपछि अनौपचारिक हिसाबले मात्र उहाँहरू सहभागी बन्नुभएको हो । प्रधानमन्त्री नगएको भए हामी नजाने निश्चित नै थियो । प्रधानमन्त्री नै जाने भएपछि प्रधानमन्त्री गएको ठाउँमा ल जाऊँ न त भनेर गइएको हो ।’ 

यतिबेला सामाजिक सञ्जालमा दूतावासमा गरिएको कार्यक्रममा प्रधानमन्त्री सहित उच्च पदस्थ अधिकारी सहभागी हुनु कूटनीतिक हिसाबले नमिलेको भन्दै आलोचना भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप