शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वर्ष २०७८ : कला क्षेत्रले क–कसलाई गुमायो ?

बुधबार, ३० चैत २०७८, १९ : १८
बुधबार, ३० चैत २०७८

वर्ष २०७८ मा नेपाली कला क्षेत्रले थुप्रै उतारचढावको सामना गर्नु पर्यो । कोरोना कहरको कारण फिल्म निर्माण, रिलिजदेखि गीतसंगीतको विभिन्न पाटो समेतमा असर पुर्यायो । आत्महत्या, दुर्घटना, कोरोना लगायत विविध कारणले यो बर्ष नेपाली कला क्षेत्रले थुप्रै हस्तीहरू समेत गुमाउनु पर्यो । यी हुन् कला क्षेत्रले २०७८ मा गुमाएका हस्ती । 
प्रेमध्वज प्रधान


वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन गत वर्षको सुरुमै बैशाख २३ गते भएको थियो । बसुन्धारास्थित न्यूरो अस्पतालमा उनले अन्तिम सास लिएका थिए । छातीमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको प्रधानमा कोरोना आशंका गरिएको थियो ।  प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’, ‘पर लैजाऊ फूलहरु’, लगायतका गीत चर्चित छन् । नेपाली गीत संगीतका शिखर व्यक्तित्वको रुपमा प्रधान परिचित थिए ।

जयनन्द लामा


लोकगायक तथा कलाकार जयनन्द लामाको गत ११ फागुनमा निधन भएको हो । उनी मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा मृत फेला परेका थिए ।  सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाएका छन् । चलचित्र र टेलिश्रृंखलामा समेत अभिनय गरेका उनी मनको बाँध, छक्कापञ्जा लगायत ठूलो पर्दाका चलचित्रमा पनि अभिनय गरेका थिए । 
पछिल्लो समय हाँस्य टेलीश्रृंखला ‘हल्का रमाइलो’मा उनले अभिनय गर्दै आएका थिए । कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, सलल पानी, लाउरे गगनको, पानीमुनि घुमाउने साँचो, मुलाको चाना लगायत उनका थुप्रै लोकगीत चर्चित छ । 

शम्भुराज थापा ‘बखते’ 


कलाकार शम्भुराज थापा ‘बखते’को गत भदौमा कोरोना संक्रमणबाट निधन भएको हो । तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । थुप्रै टेलिसिरियल तथा केही चलचित्रमा अभिनय गरेका उनी मह सञ्चारको ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’ र ‘हल्का रमाइलो’को अभिनयको कारण पनि चिनिएका थिए । ०४९ सालमा बनेको कथानक चलचित्र ‘पुकार’बाट उनको अभिनय यात्रा सुरु भएको थियो ।

रमेश केसी ‘मट्टारे


हास्य कलाकार रमेश केसी ‘मट्टारे’ को निधन गत असोज ३ गते निधन भएको हो । उनी ‘हर्के हवल्दार’को टिमले बनाउन लागेको एउटा भिडियो छायांकनकै क्रममा अचानक बेहोस भएका थिए । उपचारका लागि उनलाई गंगालाल हृदयरोग केन्द्र लगिएको थियो । अस्पताल पुर्याइए लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । लामो समयदेखि मुटुसम्बन्धि बिरामी रहेका उनले ६९ वर्षको उमेरमा संसार त्यागे । लामो समयदेखि अभिनयमा सक्रिय उनी स्टेज, रंगमञ्च, टेलिशृंखला र सिनेमामा सक्रिय थिए । 

मुकुन्द बस्ताकोटी


चलचित्र निर्देशक मुकुन्द बस्ताकोटीको चैत्र २ मा निधन भयो । पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका बस्ताकोटीको अमेरिकामै निधन भएको हो । सन् १९९४ मा बनेको ‘ज्वाला’ बाट चलचित्र निर्देशन थालेका बस्ताकोटीले ‘जलन’, ‘नातेदार’ र ‘मंगलसुत्र’ चलचित्रको पनि निर्देशन गरेका थिए ।

निशा घिमिरे 


मोडल तथा अभिनेत्री निशा घिमिरेको गत १६ भदौमा नर्भिक अस्पतालमा उपचाररतको क्रममा निधन भएको थियो । दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेर उपचार थालेको थियो । उनको मुटु र मिर्गौलाले काम गर्न छाडेपछि निधन भयो । उनी अभिनय सिक्न मुम्बई गएको बेला एक सडक दुर्घटनामा परेकी थिइन् ।

जेनी कुँवर 


अभिनेत्री जेनी कुँवर गत असार २५ गते आफ्नै थापागाउँस्थित अपार्टमेन्टमा मृत फेला परेकी थिइन् । उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो । घटनास्थलमा सुसाइड नोट पनि भेटिएको थियो । जेनीले ‘घायल’, ‘खरानी’, ‘हलचल’, ‘जिन्दगानी’, ‘मैदान’, ‘जीवनदाता’ लगायत दर्जन फिल्ममा अभिनय गरेकी छिन् । उनी फिल्म निर्माता समेत थिइन् ।

जेबी टुहुरे 


जनवादी गायक जेबी टुहुरेको निधन गत भदौ १० बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भयो । मतिष्कघातका कारण टुहुरेलाई अस्पताल भर्ना गरिएको थियो । ७८ वर्षिय टुहरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । उनको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भइ’ बोलको गीत सर्वाधिक लोकप्रिय छ । टुहुरेले १ सय ५० भन्दा बढी जनवादी गीत रेकर्ड गराएका छन् । 

राजु चौधरी


बिर्तामोडको रेडियम ब्यान्डका गायक राजु चौधरीको गत भदौमा निधन भयो । उनी ब्लड क्यान्सरबाट ग्रसित थिए । रक्तचाप अत्यन्त न्यून भएको र सास फेर्न गाह्रो भएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिएको उनलाई उपचारमा दिल्लीस्थित बीएलके–म्याक्स अस्पताल समेत पुर्याइएको थियो ।

भिम राना


चलचित्र निर्माता एवं छायाँकार भिम रानाको गत भदौमा निधन भयो । कोरोना संक्रमणसँग जुधिरहेका रानाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा निधन भएको थियो । उनी ५८ वर्षका थिए । रानाले नेपालमा सिनेमास्कोप प्रविधिमा बनेको पहिलो चलचित्र ‘माइली’को निर्माण गरेका थिए । उनले ‘माइली, लवकुश, बरमाला’ लगायत धेरै नेपाली चलचित्रको छायांकन गरेका थिए ।

उमेशनाथ अर्याल


निर्देशक उमेशनाथ अर्यालको गत २० साउनमो हृदयघातका कारण निधन भयो । ‘भीडदेखि भीडसम्म’, ‘बन्धकमा परेको जीवन’, ‘आकाश पनि चुप छ’, ‘पिँजडा’ सहित थुप्रै सफल टेलिफिल्महरुको लेखन एवं निर्देशन उनले गरेका थिए ।

लासिमित राई 

गायिका लासिमित राईको गत जेठमा निधन भयो । कोरोना भाइरस संक्रमणका कारण उनको ललितपुरस्थित सुमेरु अस्पतालमा निधन भएको हो । ५३ वर्षीया राई तीन दशकदेखि नेपाली गीतसंगीतमा सक्रिय थिइन् । 

अभिषेक पौडेल 


नेपाली चलचित्रका सम्पादक अभिषेक पौडेलको गत जेठ ५ गते कोरोनाको कारण निधन भयो । दुबै मृगौलाले काम गर्न छोडेपछि केही अगाडि मात्र पौडेलले मिर्गौला प्रत्यारोपण गराएका थिए । रुद्रपुर–८, रुपन्देहीका पौडेल विगत एक दशकदेखि चलचित्रको सम्पादन विधामा क्रियाशील थिए ।

फिल्म सम्पादनको अलावा एमिनेशन, कलर करेक्सन लगायतमा क्षमतावान पौडेलले विधवा, डि कम्पनी, बिस्फोट, रिया, दिलमा सजाएँ तिमीलाई, खै को कसको लगायत दर्जन बढी चलचित्र र कैयौं म्युजिक भिडियो सम्पादन गरेका छन् । 

विशारद बस्नेत


फिल्म निर्देशक तथा अभिनेता विशारद बस्नेतको गत असारमा कोभिड–१९ का कारण निधन भयो । मात्र ३९ वर्ष रहेका उनी ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा अन्तिम सास फेरे । भारतमा जन्मिएका विशारदले ‘यता न उता’मा सहनिर्देशन अनि ‘मिस्टर भर्जिन’ फिल्म निर्देशन गरेका थिए । नेपाल फिल्म एन्ड टेलिभिजन एकेडेमीका क्रिएटिभ निर्देशक बस्नेतले भारतमै पनि लामो समय थिएटरमा काम गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप