शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुल्लु नगरपालिकाको मेयरमा एमालेबाट रुद्र शाही उम्मेदवार

बुधबार, ३० चैत २०७८, २१ : ०८
बुधबार, ३० चैत २०७८

दैलेखको दुल्लु नगरपालिका भूगोलका हिसाबका कर्णालीकै ठूलो नगरपालिका हो । स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरु यस नगरपालिकाको विभिन्न पदमा उम्मेदवार चयन गर्ने प्रक्रियामा छन् । नेकपा एमालेले भने मेयर पदका लागि रुद्र शाहीलाई उम्मेदवार बनाउने भएको छ । उम्मेदवार चयनका लागि भएको आन्तरिक चुनावमा उनी पहिलो भएसँगै उम्मेदवारी लगभग पक्का भएको हो ।

यो पालिकामा ०७४ सालमा सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसका घनश्याम भण्डारीले मेयर पदमा जितेका थिए । यद्यपि अधिकांश वडामा एमालेले जितेको थियो । यो पालिकामा नेपाली काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने गरेको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ को राजनीतिलाई कतातिर मोड्ने भन्ने कुरा पनि दुल्लुको राजनीतिले निर्धारण गर्ने गर्दछ । मंगलबार एमालेको उम्मेदवार चयनका लागि आन्तरिक मतदान भएको थियो, जसमा शाही ५६ मत प्राप्त गरी पहिलो भएका हुन् । दोस्रोमा नगर कमिटी अध्यक्ष हर्कबहादुर खड्काले ३३, जिल्ला पार्टी सचिव तिलक रिजालले १९, जिल्ला पार्टी उपसचिव गंगाराम दाहालले १०, डा. रमेश आचार्यले ५ र कपिल खनालले शून्य मत प्राप्त गरे ।

यस्तै, उपमेयरको उम्मेदवार चयनका लागि सात जना प्रतिस्पर्धीमा रेणु भट्टराईले ३३ मत प्राप्त गरेर पहिलो नम्बरमा सिफारिस भएकी छन् भने दोस्रोमा विना कार्कीले २९, विष्णु थापाले २७, भगवती खनालले १३, कौशिला आचार्य खनालले १५, सावित्रा खड्काले १२ र कोकिला शर्माले ८ मत प्राप्त गरेकी छन् । उपमेयरका तेस्रोमा आउने थापा अहिलेकी उपप्रमुख समेत हुन् ।

नेपाली काँग्रेससहित अन्य राजनीतिक दल भने आन्तरिक गृहकार्यमै व्यस्त रहेकाले उम्मेदवार छनोट गर्न सकिरहेका छैनन् । नेपाली काँग्रेसबाट मातृका रिजालको नाम अग्र स्थानमा छ । रिजाल पनि दुल्लु क्षेत्रमा राम्रो छवि भएका नेतामा पर्छन् ।

०७४ मा दुल्लुमा एमालेको जनाधार कस्तो ?

०७४ मा एमालेबाट बरुनाथ योगी मेयरका उम्मेदवार बनेका थिए । उनी नेपाली काँग्रेसका घनश्याम भण्डारीसँग जम्मा ६९ मतले पराजित भएका थिए । योगीले ६ हजार २८० मत ल्याउँदा काँग्रेसका भण्डारीले ६ हजार ३९ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका थिए । यहाँ माओवादीका ढकेन्द्रबहादुर शाहीले एक हजार ९२३ मत ल्याएका थिए ।

यस्तै, एमालेकी विष्णु थापाले ६ हजार ४७८ मत ल्याएर उपप्रमुखमा विजयी भएकी थिइन् । सोही पदमा काँग्रेसकी कृष्ण कुमारी शाहीले  ६ हजार १०९ र माओवादी केन्द्रकी रमा कुमारी थापा कार्कीले एक हजार ८३४ मत ल्याएकी थिइन् ।

१३ वटा वडा रहेको यो नगरपालिकाका ८ वटा वडा एमालेले जितेको छ । तर अहिले यहाँको राजनीतिक समीकरण फेरिएको छ । ०७४ मा मेयरका उम्मेदवार बनेका योगी अहिले नेकपा (एकीकृत समाजवादी)को जिल्ला अध्यक्ष बनेका छन् । दुल्लुमा उनी राम्रो छवि भएका पुराना कम्युनिस्ट नेताका रुपमा चिनिन्छन् ।

एमालेको जनधार विभाजित बनेका कारण यो पालिकामा आफूले प्रत्यक्ष फाइदा लिन सक्ने काँग्रेसको आकलन छ । यो पालिकामा सत्तारुढ गठबन्धनबीच तालमेल भएको अवस्थामा पनि काँग्रेसले मेयर पद नछाड्ने संकेत देखिएको छ ।

विगतमा एमालेबाटै मेयरमा जितेका योगी नेकपा एकीकृत समाजवादीमा सामेल भएका कारण एमालेलाई ठुलो झट्का लाग्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप