शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वर्ष २०७८ : यी सेलिब्रेटी जसले कसे लगनगाँठो

बिहीबार, ०१ वैशाख २०७९, १६ : ००
बिहीबार, ०१ वैशाख २०७९

वर्ष २०७८ मा सेलिब्रेटीका काम, प्रेमसम्बन्ध, विवाद र विवाह चर्चाको बिषय नै बनिरह्यो । गायक, गायिका, अभिनेत्रीदेखि हास्य कलाकारसम्मले यो बर्ष लगनगाँठो कस्न सफल भए । कोरोना कहरले सबैजसोको विवाहमा खासै तामझाम भने भएन । कतिपयको भने विवाहको हल्ला मात्र चल्यो । यी हुन् यो बर्ष विवाह र इन्गेजमेन्ट गर्ने सेलिब्रेटी ।

मनोज गजुरेल (हास्य कलाकार)  


चर्चित हास्यकलाकार मनोज गजुरेलले गत असोजमा वैवाहिक जीवनमा बाँधिए । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै उनले विवाह सार्वजनिक गरेका थिए । मनोज र मञ्जुले भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका थिए । मनोजले मञ्जुसँग दोस्रो घरजम गरेका हुन् । उनको पहिलो विवाहको ४ वर्षअघि सम्बन्ध विच्छेदमा टुंगिएको थियो ।

रेखा थापा (अभिनेत्री) 


अभिनेत्री रेखा थापाले यसै बर्ष विवाह गरेकी छन् । उनले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग कोर्ट म्यारिज गरिन् । कोर्ट म्यारिज गरेको केही सातापछि गत फागुनमा उनको विवाह सार्वजनिक भएका थियो । रेखाको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँग उनले विवाह गरेकी थिइन् । छवि सँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो । फिल्म ‘हिरो’बाट अभिनयमा डेब्यु गरेकी रेखाले एक दशकसम्म चलचित्र क्षेत्रमा राज गरिन् । पछिल्लो समय राजनीतिमा बढी सक्रिय उनको फिल्म क्षेत्रमा  निर्माता, निर्देशक र अभिनेत्रीको परिचय बनेको छ ।

यम बराल (गायक)


लोकप्रिय गायक यम बरालको दोस्रो बिहे गत पुस महिनामा सार्वजनिक भएको थियो । उनले गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग गत मंसिरमा बिहे गरेका थिए ।  बरालले गीतालाई काठमाडौंमा किनेको नयाँ घरमा भित्र्याएका थिए । गीता नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महिला खुल्लातर्फ बागमती प्रदेश अधिवेशन प्रतिनिधिको उम्मेदवार थिइन् । गायक बरालको पहिलो विवाह आकृति राणासँग भएको थियो । राणासँग उनले सन् २०११ मा सम्बन्ध विच्छेद गरेका थिए ।

दिनेश काफ्ले (हास्य कलाकार)


हास्य कलाकार दिनेश काफ्लेले पनि गत असोजमा घरजम गरे । उनले सिन्धुली घर भएकी नर्बदा थापासँग लगनगाँठो कसेका हुन् । दिनेशले नर्बदासँग मागी विवाह गरेका थिए । उनीहरुको विवाह समारोह सिन्धुलीको सुनकोसी गाउँपालिका–४ मा आयोजना भएको थियो । दिनेश लामो समयदेखि कमेडी कलाकारको रुपमा सक्रिय छन् ।

डा.सन्तोष उपाध्याय (मिस्टर नेपाल)


‘मिस्टर नेपाल २०१९’ का विजेता डा. सन्तोष उपाध्याय माघमा विवाह बन्धनमा बाँधिए । उनी पोखराकी आरती पराजुलीसँग हिमालय होटल कुपण्डोलमा लगनगाँठो कसेका थिए । केही वर्षदेखि प्रेममा रहेका आरती र सन्तोषले पारिवारिक सहमतिमा विवाह गरेका हुन् । आरती पेसाले चार्टर एकाउन्टेन्ट हुन् ।

प्रिया भण्डारी (गायिका)


बद्री पंगेनीसँग ‘सैं पनि एमाले, मै पनि एमाले’ बोलको गीतमा स्वर दिएर चर्चामा आएकी गायिका प्रिया भण्डारी गत मंसिरमा दाम्पत्य जीवनमा प्रवेश गरिन् । गायिका भण्डारीले अमेरिका बस्ने प्रभात अधिकारीसँग १२ मंसिरमा बुटवलमा लगनगाँठो कसेकी थिइन् । प्रभात पाल्पाका युवक हुन् । 

रविन लामिछाने (गायक)


लाइभ लोक दोहोरीका प्रखर गायक रविन लामिछाने मंसिरको तेस्रो साता विवाह बन्धनमा बाँधिए । गोरखा स्थायी घर भएका रविनले बुटवल निवासी सपना ढकालसँग लगनगाँठो कसेका हुन् । सपना र रविनले केही समयदेखिको प्रेम विवाहमा परिणत गरेका हुन् । सपना विगत ४ वर्षदेखि जर्मन बस्दै आएकी छन् । गायक रविन लामिछानेको ‘फुल्यो असारे’, ‘झल्लुराम’, ‘हुने वाली बुहारी’ लगायत थुप्रै गीत चर्चित छन् ।

रेश्मा घिमिरे (मोडल तथा अभिनेत्री) 


मोडल तथा अभिनेत्री रेश्मा घिमिरेले पनि गत मंसिरमा विवाह गरिन् । उनको अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग विवाह भएको हो । रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा भएको थियो । प्रभातसँग इन्गेज्मेन्ट गरेको एक वर्षपछि उनले विवाह गरेकी हुन् । प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा भने म्युजिक भिडियोकी सफल मोडल हुन् । 

प्रविशा अधिकारी (गायिका)


पछिल्लो समयकी चर्चित गायिका प्रविशा अधिकारी पनि गत मंसिरमा विवाह बन्धनमा बाँधिइन् । उनले निर्माण सिटौलासँग लगनगाँठो कसेकी हुन् । प्रविशा र निर्माणको विवाह समारोह झापा चारपानेमा आयोजना गरिएको थियो । निर्माणसँग प्रविशाले मागी विवाह गरेकी हुन् । पेसाले इन्जिनियर रहेका निर्माण अमेरिका निवासी हुन् । प्रविशा चलचित्र र आधुनिक गरेर थुप्रै गीतमा स्वर दिएकी छन् । उनी यस वर्षको रियालिटी शो ‘द भ्वाइस किड्स’ मा जजको रुपमा रहेकी छन् ।

सुदर्शन थापा (निर्देशक तथा अभिनेता)


निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल सुप्रिया कटुवाल पनि यसै बर्ष वैवाहिक जीवनमा बाँधिए । उनीहरुले बालुवाटारको एक होटलमा वैवाहिक समारोह रचाएका थिए । सुप्रियासँग एक वर्ष लामो प्रेम सम्बन्ध उनले विवाहमा परिणत गरेका थिए । सुप्रिया मोडलिङ हुँदै पछिल्लो समय टेलिभिजनमा समाचार बाचिकाको रुपमा कार्यरत छिन् भने सुदर्शन फिल्म निर्देशनमा सक्रिय छन् ।

सुपुष्पा भट्ट (अभिनेत्री)


अभिनेत्री सुपुष्पा भट्टले निर्माता प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरिन् । उनले राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा रौनकसँग लगनगाँठो कसिन् । कोरोना महामारीका बीच उनीहरुले गत बैशाख १५ गते इन्गेजमेन्ट गरेका थिए । रौनकले ‘कबड्डी र मिस्टर झोले’ फिल्मको निर्माण गरेका छन् । फिल्म ‘रणवीर’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुपुष्पाले  ‘छ माया छपक्कै’ र  ‘चपली हाइट ३’ मा अभिनय गरेकी छन् ।

सन्ध्या केसी (अभिनेत्री) 


अभिनेत्री सन्ध्या केसीले विवाह गरेकी छन् । उनले  आफूले आभूषण ज्योति कंसाकारसँग असारमा कानुनी बिहे गरेको सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी थिइन् । फिल्म ‘ड्रिम्स’बाट अभिनयमा प्रवेश गरेकी उनी पछिल्लो समय ‘पण्डित बाजेको लौरो’ फिल्ममा देखिएकी थिइन् । 

रश्मी तामाङ (मोडल) 


चर्चित मोडल रश्मी तामाङले पनि गत बैशाखमा विवाह गरेकी हुन् । गोर्खाको अनिल राना मगरसँग सुटुक्क बिवाह गरेर उनी अमेरिका उडेकी थिइन् । त्यसपछि मात्र उनले सामाजिक संजाल मार्फत विवाह सार्वजनिक गरिन् ।  लोक तथा आधुनिक गीतका म्युजिक भिडियोको लोकप्रिय मोडल रश्मीले ६ सय बढी गीतमा मोडलिङ गरेकी छन् ।

विवाहको चर्चा 
केही सेलिब्रेटीको भने विवाहको चर्चा हल्लामा सीमित रह्यो । केहीले इन्गेजमेन्ट गरिसकेको त कोही लिभिङ टुगेदरमा बसिरहेका छन् । 

ईशानी श्रेष्ठ (पूर्व मिस नेपाल)


पूर्व मिस नेपाल तथा मोडल ईशानी श्रेष्ठको व्यापारी तरुणप्रताप साहसँग इन्गेजमेन्ट यसै बर्षको कात्तिकमा भएको थियो । न्यू हायात होटलमा आयोजित इन्गेजमेन्टमा दुबैले औंठी साटेका थिए । इन्गेजमेन्ट समय विवाह ६ पुसमा बताइएको थियो । तर विवाहको समाचार बाहिरिएको छैन । सन् २०१३ मा मिस नेपाल उपाधि विजेता ईशानीले यसै बर्ष ‘मिस वल्र्ड’मा पनि सहभागी भएकी थिइन् । नेपालबाट मिस वल्र्डमा ब्युटी विथ पर्पस विधामा जित्ने उनी पहिलो हुन् ।

ईन्दिरा जोशी (गायिका)


गायिका ईन्दिरा जोशीले पनि यसै वर्ष प्रेमी सार्वजनिक गरिन् । प्रेमी शरद केडियाले हेलिकोप्टरमा खुम्बु पुगेर उनलाई फिल्मी शैलीमा औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेका थिए । ईन्दिराले विवाहको प्रस्ताव स्वीकार गरेको बताएकी छिन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रेमीसँगको आफ्ना तीनवटा फोटो पोस्ट गर्दै यसबारे जानकारी दिएकी थिइन् । विवाह छिट्टै गर्ने बताइएपनि अहिलेसम्म भएको छैन । इन्दिराका प्रेमी शरद केडिया फेसन डिजाइनर हुन् ।

सृष्टि श्रेष्ठ (अभिनेत्री)


पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्लबीच पनि यसै बर्ष विवाह हुने चर्चा थियो । सृष्टि र सौगात दुबैले आफूहरु छिट्टै विवाह गर्ने बताउँदै लिभिङ टुगेदरमा रहेको समेत जानकारी दिएका थिए । उनीहरूले २०७९ मा विवाह गर्ने मिति सारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप