बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नीला राई मृत्यु प्रकरणमा नयाँ ट्वीस्ट : लेनदेन विवादमा प्रहरीले दबाब दिएको खुलासा

आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गर्न आनाकानी
शुक्रबार, ०२ वैशाख २०७९, १६ : ४४
शुक्रबार, ०२ वैशाख २०७९

चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत नीला राई मृत्यु प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । उनलाई चैत २३ मा प्रहरीले बोलाएर बयान लिएको खुलेको छ । टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंमा बोलाएर दिनभर प्रहरीले उनलाई ‘लेनदेन विवाद’मा छलफल गराएको खुलेको हो । चैत २४ मा उनी काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत फेला गरेकी थिइन् । 

विवादको विषय थियो, ‘पशुपति क्याम्पसमा बीए तेस्रो वर्षमा पढ्ने उनको साथीको खातामा अपरिचितले पठाएको ३ लाख २८ हजार नगद ।’ इलाम घर भएका दिप सिरिहाङ भन्ने दुर्गा प्रसाद राईले नीलासँग खाता नम्बर मागे । मृतक राईकी दिदीकी छोरी यमुना राईका अनुसार ‘म भारतमा छु, अर्जेन्ट तिम्रो खाता नम्बर चाहियो भनेर दुर्गा प्रसादले बैंक खाता नम्बर मागेका थिए ।’ आफ्नो खाता नभएकोले उनले पशुपति क्याम्पसमा बीए तेस्रो वर्षमा पढ्ने एकजना विद्यार्थीको खाता नम्बर मागेर दिइन् ।

खातामा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ घर बताउने विकास तामाङका बुवाले ३ लाख २८ हजार डिपोजिट गरिदिए । सो नगद निकालेर नीला र ती विद्यार्थी सँगै गएर दुर्गाबहादुरले भनेको मानिसलाई दिएका थिए । काठमाडौं महानगरपालिका–६ कपन स्थित सरस्वतीनगरमा नीलासँगै बस्ने यमुनाका अनुसार झापा घर भएका प्रेम लिम्बुलाई उनीहरुले सो नगद दिएका हुन् । यमुना भन्छिन्,‘सो नगद सानिआमाले सुकेधारामा लगेर दिनुभएको हो ।’  ​

​विकास तामाङले सर्विया जानका लागि सो नगद बुझाएका रहेछन् । तर, सर्विया जान नपाएको भन्दै उनले नीलासँग सो रकम माग्न थाले । सो रकम उनीसँग थिएन । विकास तामाङले दिएको निवेदनका आधारमा काठमाडौं प्रहरीले नीलालाई बोलाएर पैसा तिर्न दवाव दियो । ‘पैसा नदिए पक्राउ पूर्जी लिएर थुन्छौँ भनेर प्रहरी अधिकारीले धम्की दिए’ मृतककी सानिआमाकी छोरी यमुना भन्छिन्, ‘त्यसपछि सानिआमाले निकै तनाव लिनुभो, २५ गते दिनभर फोन उठेन, एकैपटक बौद्धबाट खटिएको प्रहरी अधिकृतले फोन उठाएर मृत्युको खबर सुनाउनुभो ।’

भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया नीला चैत २४ मा मृत भेटिएकी हुन् । नीलासँगै डेरामा बस्ने खोटाङकी जेनिसा राईका अनुसार विकास तामाङले प्रहरीकै अगाडि धम्क्याएका थिए, ‘कि पैसा फिर्ता गर्, नभए जेलको बास हुन्छ ।’

विकासले नीलालाई धम्की दिँदा टेकुमा छलफल गराउने प्रहरी अधिकारी चुपचाप बसेको आरोप छ  । मुलुकी देवानी संहिता–२०७४ अनुसार लेनदेनको मुद्दा सिधै जिल्ला अदालतमा दर्ता गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगार अन्तर्गतको कसुर भएमा वैदेशिक रोजगार विभागले त्यसबारे कानुनी कारवाही गर्ने व्यवस्था छ । तर, प्रहरीले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर नीलालाई बोलाएर पैसा तिर्न दवाव दिएको थाहा भएको छ । नीलाले पैसा दिएकी भनिएका प्रेम लिम्बुलाई प्रहरीले बोलाएर सोधपुछ र अनुसन्धान गरेको छैन ।

लेनदेन मुद्दामा छलफल गराएको र पैसा तिर्न दवाव दिएको प्रशंगमा महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली भन्छन्, ‘यसबारे मलाई थाहा छैन ।’ एसपी मैनालीले भने, ‘लेनदेन मुद्दा हेर्न नै नमिल्ने भन्नेचाहिँ हुँदैन, जिल्ला प्रशासन कार्यालयबाट शान्ति सुरक्षाबारे लेखेर आएपछि हेर्न मिल्छ, प्रहरीले त्यस्ता मुद्दा नहेरे पीडित गुण्डाकहाँ जान्छन् ।’

मुद्दा दर्ता गर्न आनाकानी

प्रहरी अनुसन्धानले भने नीला राईले आत्महत्या गरेको निष्कर्ष निकालेको छ । तर खास कारण दिएको छैन ।  नीलाका दाई प्रशान्त राईले महानगरीय प्रहरी वृत्त बौद्धमा ‘आत्महत्या दुरुत्साहन’को जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आग्रह गरेका छन् । तर, प्रहरी जाहेरी दर्ता गर्न अस्वीकार गरेको प्रशान्तले रातोपाटीलाई बताए ।

बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले विकास तामाङको नाम हटाएर दिप सिरिहाङ र प्रेम लिम्बुको बिरुद्धमा मात्र जाहेरी ल्याउन भनेका छन् । ‘विकास तामाङले दुरुत्साहन गरेको प्रमाण पुग्छ’ प्रशान्त भन्छन्, ‘तर, प्रहरीले उनको नाममा किटानी जाहेरी लिन अस्वीकार गरेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप